खेलौना विमानसँगको प्रेममा पागल!

खेलौना विमानसँगको प्रेममा पागल!

एजेन्सी  |  विदेश  |  फाल्गुन ३०, २०७८

हँगेरीकी एक महिला एउटा खेलौना विमानसँग प्रेममा पागल बनेकी छन् । २८ वर्षीया सान्ड्रा आफूले खेलौना विमानसँग पहिलो पटक वास्तविक प्रेम पाएको दाबी गर्छिन् । सो विमान सान्ड्राकै शब्दमा उनीसँग भएको सबैभन्दा असल पार्टनर हो । असल प्रेमीकाको नाताले उनले विमानलाई के पो गर्दिनन् ? चुम्बन गर्छिन्, हरेक दिन शुभरात्रि र शुभबिहानीको कामना गर्छिन् । 

बुढापेस्टकी यी युवतीको विमानसँगको चक्कर जनवरीदेखि चलेको हो । त्यसलाई उनले लुफान्स भनेर बोलाउन रुचाउँछिन् । उनले त्यसलाई ६०० पाउन्डमा अनलाइनमा किनेकी हुन् । 

‘योसँग किन माया बस्यो मलाई नै पत्तो छैन । यसलाई केबल म माया गर्छु’, उनी भन्छिन्, ‘ऊ सुन्दर छ । ऊ मेरो आत्मीय साथी हो । बिहान उठ्नेबित्तिकै म उसलाई हेर्छु । सुत्नुअघि मैले दर्शन गर्ने अन्तिम पनि यही हो ।’

मिररमा प्रकाशित एउटा रिपोर्टअनुसार सान्ड्राले पहिलो पटक ३ वर्षको उमेरमा प्लेन देखेकी थिइन् । किशोरावस्थामा विमानमा काम गर्ने सपना देखेकी थिइन् ।

उनले सन् २०२१ मा उड्डयन क्षेत्रमा काम गर्ने अवसर पाइन् । तर, गत वर्ष काम छाडेपछि खेलौना विमानसँगको सम्बन्धमा जोडिइन् । 

आफू वास्तवमै विमानसँग प्रेममा परेको उनले दाबी गरेकी छन् । लुफान्स उनीसँग भएको अहिलेसम्मकै सबैभन्दा उपर्युक्त पार्टनर हो । उनी भन्छिन्, ‘मैले पहिले कुनै पार्टनरसँग यस्तो निकट महसुस गरेकी थिइनँ । जीवनमा पहिलो पटक म प्रेममा छु । औसत व्यक्तिभन्दा बढी मैले सधैँ विमानहरू मनपराएकी छु ।'