रुसी हमलामा फक्स न्युजका पत्रकार मारिए

रुसी हमलामा फक्स न्युजका पत्रकार मारिए

एजेन्सी  |  विदेश  |  चैत्र २, २०७८

रुसी हमलामा अमेरिकी संचार माध्यम फक्स न्युज नेटवर्कका २ पत्रकारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । राजधानी किभ नजिकै भएको रुसी सेनाको गोलाबारीमा उनीहरूको मृत्यु भएको फक्स न्युज च्यानलले जनाएको छ । 

मारिनेमा ५५ वर्षीय पियरे जाक्रेजिवस्की र २४ वर्षीया ओलेकसान्द्रा ससा कुभस्यानोभा छन् । युक्रेनी नागरिक कुभस्यानोभा फक्स न्युजका लागि सल्लाहकारका रूपमा काम गर्थिन् । 

हमलामा फक्स न्युजकै संवाददाता बेन्जामिन हल घाइते भएका छन् । गम्भीर घाइते हलको उपचार भइरहेको छ । मारिनेमध्ये पियरे लामो समयदेखिका द्वन्द्व पत्रकार हुन् । उनले इराक युद्धदेखि अफगानिस्तान हुँदै सिरियासम्मको युद्धको समाचार समेटेका थिए ।