'पीर'ले निम्त्याएको पीरलो

'पीर'ले निम्त्याएको पीरलो

रूपक अलङ्कार  |  दृष्टिकोण  |  चैत्र ९, २०७८

देश त हाम्रो हल्लैहल्लाको देश हो, त्यस कारण यहाँ सामान्य कुरा पनि ठूलै परकम्पका साथ मैदानमा आइपुग्छ । केही हप्ता पहिले प्रकाश सपुतको ‘पीर’ गीतले हल्ला पिट्यो । हल्लाको बाढीमा धेरै बगे । कलाकारहरू त बग्ने नै भए । राजनीतिका पेसेवरहरू पनि यस बाढीमा मजाले बगे । हुँदाहुँदा आममान्छे, जसको काम गीत सुनेर अह्लादित हुने मात्र हो, उनीहरूलाई समेत बाढीले बगायो ।

म त अहिले पनि बगिरहेकाले यो आलेखमा लागेको छु । गीत रिलिज हुनेबित्तिकै हेर्ने प्रयास गरेको थिएँ तर लयले खासै आकर्षण नगरेकाले प्रकाश पराजुलीको ‘खै त हाँसेको ?’ बोलको लोकगीत सुनेर आनन्द लिएँ ।

तर, भोलिपल्टसम्म त पीरले दुनियाँलाई पीर पारिसेकछ । रातारात भाइरल भएछ । लाखौँ मानिसका आँखाले गीतलाई स्पर्श गरिसकेछन् । आफू ढिलो भएकामा मैले आफैँलाई सरापेँ । त्यतिन्जेलसम्ममा यसका पक्ष/विपक्षमा तर्क राख्न प्रत्येक व्यक्ति सबल भइसकेको देखेँ । हरेकले आफ्नो औकातअनुसारका ठाउँमा सो गीतलाई लिएर निन्दास्तुति गरे । गीत नसुनेको र भिडियो नहेरेका वर्षौं भएका मान्छेले पनि उक्त गीत नसुनी, नहेरी आफूलाई शान्त राख्न सकेनन् । नेता, कार्यकर्ता, बुद्धिजीवी, पत्रकार, साहित्यकार सबैले उक्त गीतका सन्दर्भमा कसैले सोधिहाले के भन्ने भनेर आफूलाई तयार राखे । आजका दिनसम्म आइपुग्दा उक्त गीतका सबै विवाद सकिइसके । अब निकट भविष्यमा अर्काे विषय आउनु समाजको चरित्र हो तैपनि अर्काे विषय नआउन्जेल यसैलाई आधार बनाऊँ न त ।

कसैको सिर्जना विवादित हुनु कुनै नौलो घटना होइन यो विश्वमा । चाहे गीत होस्, चाहे चलचित्र वा पुस्तक, विवादमा परेका छन् । कतिपय अवस्थामा सर्जकलाई उत्कृष्ट रचनाले भन्दा विवादित रचनाले बढी परिचित र चर्चित बनाएको देख्न पनि पाइन्छ । प्रकाश सपुतकै कुरा गर्ने हो भने पनि पीरका तुलनामा पहिलेका गीत उत्कृष्ट बनेका छन् । त्यस कारण सिर्जनाको लोकप्रियतालाई ‘भ्युज’को संख्याले सम्बोधन गर्न सक्दैन । विवादमा परेपछि यसप्रति उदासीन र निरपेक्ष रहेका मानिसले पनि जानकारी राख्न खोज्छन्, भएको त्यही हो अहिले ।

कुनै राजनीतिक या साम्प्रदायिक हिसाबले विवाद उठ्यो भने सम्बन्धित सिर्जनाले तीब्र गतिमा चर्चा पाउँछ । यस पटक पनि भएको त्यही हो । प्रकाश सपुतको गीतलाई विशेषगरी जनयुद्धको पृष्ठभूमिबाट आएका व्यक्तिहरूले मनपराएनन् भने केही राजनीतिक बाध्यता र राजनीतिको सामाजिक चरित्र बुझेका बुद्धिजीवीहरूले पनि मनपराएनन् । माओवादीप्रति रिसराग हुने वर्गले माओवादीलाई खुच्चिङ भनेर रमाउनका लागि प्रकाशको पक्ष लिए । गीत, संगीतलाई मनपराउने विशुद्ध भावुक दर्शक, श्रोताले पनि प्रकाशलाई नै अन्याय परेको बताए ।

यसरी एउटा गीतलाई लिएर लोक नै वादविवादमा उत्रिए । ‘गीत त त्यस्तो होइन, दृश्यचाहिँ सकारात्मक छैन’ भनेर उम्किन मिल्दैन किनभने गीतलाई नै दृश्यमा प्रस्तुत गरिएकाले गीतको भाव त्यही नै हो भन्ने नै बुझिन्छ । यहाँ भएको पनि त्यही हो । तर, एउटा कलाकारले सबैलाई सकारात्मक सन्देश दिने र कसैको पनि चित्त नदुखाउने स्वभावअनुसार अहिले विवादित दृश्य सम्पादन भएर विवादले समाधानको बाटो समातिसक्यो ।

केही समयआघि पशुपति शर्माको ‘लुट्न सके लुट्’ बोलको गीतले पनि विवादित हुने सौभाग्य पाएको थियो । त्यतिबेला नेकपा एमालेलाई पेट पोलेको थियो भने अहिले नेकपा (माओवादी केन्द्र)लाई पेट पोलेको छ । जनतालाई भने यी दुवै गीत समाजको वास्तविकता लागेको हो । आफूलाई भन्न मन लागेको तर भन्न नपाएको कुरा नै गायकले भनिदिएको जस्तो जनतालाई लागेको होला । तर, सबै सत्य प्रिय हुँदैनन् भनेर सर्जकले बुझ्नुपर्ने रहेछ ।

आफूलाई चित्त नबुझेको, मन नपरेको वा आफ्नो प्रतिष्ठामा आँच आउने कुराको विरोध सबैले गर्छन् । हातखुट्टा भाँच्ने वा ज्यान लिनेजस्ता धम्की आउनु पनि स्वाभाविक हो । अझ राज्यसत्ताले त यस्ता कुरालाई दमन नै गरेर छाड्छ । आफ्नै सिर्जनाका कारण निर्वासनमा परेका सर्जक, लेखकहरूको नाम विश्वभरबाट संकलन गर्ने हो भने सूची नाइल नदी जत्रो बन्ला !

नेपालकै सन्दर्भमा भन्ने हो भने कृष्णलाल अधिकारी ‘मकैको खेती’ नामक कृति लेखेका कारण राणाहरूको कोपभाजन भएर जेल परे । जेलमै उनको मृत्यु भयो । ‘सूक्तिसिन्धु’ले समाजको मर्यादालाई रसातलमा पुर्‍यायो भनेर लेखकहरूलाई दण्ड गरियो । किताब जफत गरेर बालियो । प्रकाशनमा रोक पनि लगाइयो । अहिले सो किताब बजारमा किन्न पाइन्छ । हाम्रो समाज रसातलमा पुगेको छैन ।

पञ्चायतलाई जुगौँ जोगाउनका लागि साहित्यमा अंकुश लायायो राज्यसत्ताले । अहिले देशमा पञ्चायत छैन । ज्ञानेन्द्रको छोटो शासनकालमा पनि समाचारमा ‘सेन्सरसिप’ लगाउनेदेखि अनेक खालका उपद्रो देखायो राज्यले । अहिले उनी पनि नारायणहिटीबाट वनबास गए । ‘बलिदान’ नामक चलचित्र पनि ब्यान्ड गरियो । चलचित्र अहिले पनि चल्न सक्छ तर रोक्नेहरूको नामोनिशान छैन ।

एकताका संस्कृत भाषा र यसमा भएको शास्त्रले हाम्रो समाजलाई अघि बढ्नै दिएन । समाजलाई अघि बढाउन पहिला संस्कृतशास्त्रलाई बाल्नुपर्छ भनेर माओवादीले संस्कृत विश्वविद्यालयको पुस्तकालय नै बालिदिए । त्यसपछि अघि बढेको हाम्रो समाज आज कहाँ पुगिसक्यो, सबैलाई थाहा नै छ ।

बाल्न मानिसले विश्वेश्वरप्रसाद कोइरालाको ‘सुम्निमा’ पनि बाले । अमर न्यौपानेको ‘सेतो धर्ती’ पनि च्याते । मौजुदा संविधान पनि बालेकै हुन् । एउटा उन्मादमा, एक किसिमको मूर्खतामा वा बेबकुफीमा यस्ता घटना हुन्छन् । माओवादी वार्तामा आउँदा मैले पनि माओको जीवनी किनेँ तर बीचमै वार्ता भाँडियो, किताब आगोमा हाल्नुपर्ने अवस्था आयो । किताब जलाउन मनले नमानेकाले आवरण च्यातेर लुकाइयो ।

पुस्तकमा, गीतमा तथा चलचित्रमा विचित्रको शक्ति हुन्छ, जसले मानिसको मस्तिष्कमा बिस्तारै आगो लगाउँछ । मानिसलाई उद्वेलित बनाउँछ । यो बम पड्काएजस्तो होइन तर त्योभन्दा दीर्घकालिक र शक्तिशाली हुन्छ । यस तथ्यबाट जानकार भएरै मानिसहरू वैचारिक हतियार प्रयोग गर्छन् र त्यसबाट तर्सिन्छन् पनि ।

कुनै बेला गीत गाएरै जनता जगाउन सफल भएका माओवादी तथा एमालेहरू अहिले सपुत र शर्माका गीतबाट आत्तिनुपर्ने कारण पनि यही हो ।  बेलाबेलामा गीत, संगीत तथा पुस्तकको विषयमा हुने हल्लाहरू यसकै गम्भीर परिणाम हुन् ।