रुस-युक्रेन युद्धको एक महिनाः ७ देखि १५ हजार रुसी सैनिक मारिए, २० लाख युक्रेनीले देश छाडे

रुस-युक्रेन युद्धको एक महिनाः ७ देखि १५ हजार रुसी सैनिक मारिए, २० लाख युक्रेनीले देश छाडे

एजेन्सी  |  विदेश  |  चैत्र १०, २०७८

रुस र युक्रेनबीचको युद्ध सुरु भएको एक महिना पूरा भएको छ । रुसले गत २४ फेब्रुअरीका दिन युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो । 

युद्ध सुरु भएको एक महिनाको अवधिमा युक्रेनमा ७ देखि १५ हजार रुसी सैनिक मारिएका दाबी उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)ले गरेको छ । 

नेटोका वरिष्ठ अधिकारीका अनुसार युद्धमा मारिने तथा घाइते हुने रुसी सैनिकको संख्या ३० हजार देखि ४० हजार रहेको छ । 

रुसले २ मार्चपछि युक्रेनसँगको युद्धमा आफ्ना कति सैनिक मारिए तथा घाइते भएका छन् भन्ने सार्वजनिक गरेको छैन । 

रुसले अफगानिस्तानमाथि १० वर्ष कब्जा गर्दा १५ हजार रुसी सैनिक मारिएका थिए । 

युक्रेनले पनि युद्धमा आफ्ना कति नागरिक तथा सैनिकको मुत्यु भयो भन्नेमा स्पष्ट हुन सकेको छैन । युक्रेनका राष्ट्रपतिले करिब २ साताअघि युद्धमा १ हजार ३०० युक्रेनी सैनिक मारिएका जनाएका थिए । 

युद्धका कारण हालसम्म २० लाखभन्दा बढी युक्रेनीले देश छाडेको जनाइएको छ । उनीहरू छिमेकी देशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।