रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापित

रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापित

एजेन्सी  |  विदेश  |  चैत्र १३, २०७८

२४ फेब्रुअरीदेखि सुरु भएको रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापित भएका छन् ।युक्रेनमा एक महिनादेखि जारी युद्धले ४३ लाख बालबालिका विस्थापित भएका हुन् । 'यो संख्या देशको अनुमानित ७५ लाख बालबालिकाको आधाभन्दा बढी हो’, राष्ट्रसंघीय बाल कोष युनिसेफले भनेको छ । 

त्यस्तै, युद्धका कारण विस्थापित १ करोड मानिसमध्ये आधाभन्दा बढी बालबालिका छन् । युद्धका कारण १८ लाखभन्दा बढी मानिस शरणार्थीको रूपमा विभिन्न देशमा पुगेका छन् भने अरू २५ लाख मानिस युद्धग्रस्त देशभित्रै विस्थापित भएका छन् ।

युनिसेफ प्रमुख क्याथरिन रसेलले भनिन्, ‘युद्धले दोस्रो विश्वयुद्धपछि सबैभन्दा छिटो बालबालिकाको ठूलो संख्यामा विस्थापित गरेको छ । ‘यो एउटा डरलाग्दो संकेत हो, जसले आउने पुस्ताका लागि दीर्घकालीन परिणामहरू निम्त्याउन सक्छ’, उनले चेतावनी दिइन् । 

यसैबीच रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ बालबालिका मारिएका छन् । रुसी हमलामा २०० बालबालिका घाइते भएका छन् । युद्धमा युक्रेनतर्फ ठूलो भौतिक क्षति भएको छ ।