'मारिओपोलका हजारौँ सर्वसाधारणलाइ रुस लगियो'

'मारिओपोलका हजारौँ सर्वसाधारणलाइ रुस लगियो'

एजेन्सी  |  विदेश  |  चैत्र १४, २०७८

युद्धबाट ध्वस्त जस्तै बनेको मारिओपोलका हजारौँ सर्वसाधारणलाई रुसले जबर्जस्ती आफ्नो भूभागमा लगेको युक्रेनले आरोप लगाएको छ । युक्रेनी बन्दरगाह शहर मारिओपलमा पछिल्लो २ सातादेखि रुसी हमला जारी छ । रुसले मारिओपोलको पूर्वमा रहेको बेजिमेन्नेमा रहेको अस्थायी शिविरमा अनुमानित ५ हजार जनाको बसोबास गराएको स्याटलाइट तस्बीरहरूमा देखिएको छ ।

युक्रेनका उपप्रधानमन्त्री इरयाना भेरेसचुकले किभसँग संयोजन नगरी ४० हजार मानिसलाई युक्रेनबाट रुसी भूभागतर्फ लगिएको बताएकी छन् । 

अहिले रुसमा रहेका मारिओपोलका एक शरणार्थीले भने, ‘हामी सबैलाई बलजफ्ती नियन्त्रणमा लिइयो ।’ 
केही युक्रेनी अधिकारीहरूले रुसका कार्यहरूलाई चेचेनहरूलाई ‘फिल्ट्रेसन क्याम्प’मा ‘निर्वासन’ गरिएको घटनासँग तुलना गरेका छन् । चेचेन्यामा रुसी युद्धमा हजारौँ चेचनलाई अस्थायी शिविरमा लगेर सोधपुछ गरिएको र उनीहरूमध्ये धेरै बेपत्ता भएका थिए । 

सर्वसाधारणहरूलाई आफ्नो क्षेत्रमा निर्वासन गर्नु युद्धरत पक्षका लागि मानवअधिकार उल्लंघन हो । रुसी सेनाको घेराबन्दीमा रहेको मारिओपोलबाट १ लाख ४० हजार मानिस भाग्न सफल भए पनि १ लाख ७० हजार अझै फसेको सिटी काउन्सिलले जनाएको छ । 

३ सातादेखि जारी रुसी गोलाबारीले शहरलाई भग्नावशेषमा परिणत गरेको छ । हमलाका कारण त्रसित स्थानीय  बेसमेन्ट र बंकरमा लुकेका छन् ।  पिउने पानी, खाना र औषधिको चरम अभाव छ । मारिओपोलमा मृत्यु हुने सर्वसाधारणको वास्तविक संख्या अझै यकिन नभएको बताइन्छ । 

तुलनात्मक रूपमा मारिओपोलका थोरै नागरिकहरू दुवै पक्षले सहमति जनाएका मानवीय कोरिडोरबाट भागेका छन् ।