नेपाली लेखक संघको अबको बाटोः पार्टीको शुभेच्छुक हुन किन आनाकानी ?

नेपाली लेखक संघको अबको बाटोः पार्टीको शुभेच्छुक हुन किन आनाकानी ?

घनेन्द्र ओझा  |  दृष्टिकोण  |  चैत्र १६, २०७८

१०४ वर्षे जहानियाँ राणा शासनको जरो उखेलिसकेपछिको खुला राजनीतिक, सामाजिक वातावरणमा लोकतन्त्र पक्षधर, स्वतन्त्रताका हिमायती, जनअधिकारका अगुवाहरू बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल ‘गोठाले’, विजय मल्ल जस्ता लेखक, स्रष्टाहरूको तेज र विद्रोही मस्तिष्कबाट जन्मिएको अवधारणा हो- लोकतान्त्रिक लेखक, स्रष्टाहरूको साङ्गठनिक एकता । यही अवधारणाको मूर्त रूप थियो- नेपाली लेखक संघको सुरूवात, २००८ सालमा ।

लोकतन्त्र नै सर्वोत्तम शासन प्रणाली भएको स्वीकार्ने, लेखकीय स्वतन्त्रतालाई प्रमुख स्थान दिने र लेखक, स्रष्टालाई सम्मान गर्ने व्यक्तित्वहरूको अगुवाइमा जन्मिएको नेपाली लेखक संघ नेपालमा सङ्गठित भएका साहित्यिक संघसंस्थाहरूमा अग्रणिमा पर्छ । तथापि, नेपाली लेखक संघले यसबीचमा निरन्तर आफ्ना काम र गतिविधिहरूलाई अगाडि बढाउन सकेको पाइँदैन । यसको कारण यसका जन्मदाता व्यक्तित्वहरूमा समयको बेफुर्सदी वा त्यस समयको राजनीतिक वा अन्य केही कारण हुन सक्ला । तथापि, लोकतान्त्रिक लेखक, स्रष्टाहरू सङ्गठित र संस्थागत हुने त्यसबेलाको प्रयास उल्लेख्य मान्नुपर्छ ।

त्यही बीपी, देवकोटा, गोठाले आदिले सुरु गरेको नेपाली लेखक संघलाई नै पुनर्जीवन दिएर अहिलेको नेपाली लेखक संघ क्रियाशील छ । २०६४ सालमा संस्था दर्ता ऐन, २०३४ अन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत् दर्ता कायम भई नेपाली भाषा, साहित्य, वाङ्मयको विकास, विस्तार र समृद्धिमा सक्रिय छ संघ ।
नेपालका हालका गिनेचुनेका प्रतिष्ठित अग्रज लेखक, स्रष्टादेखि नवसर्जकसम्मलाई आफ्नो खोकिलामा च्यापेर राखेको छ संघले । तथापि, केही लेखक, स्रष्टाहरूलाई अझै पनि संघको छातामुनि गोलबद्ध गर्न सकिएको अवस्था छैन । यो काम भने पक्कै समयमै र छिटै गर्नेछ संघले भन्ने विश्वास गरौँ ।

संघले पुनर्जीवन पाएको पनि डेढ दशक भइसकेछ । यसबीचमा संघमार्फत केही कामहरू अवश्य भएका छन् तर ती चर्चामा त्यति आउन सकेनन् । ऐतिहासिक र बृहत् अर्थ अनि महत्त्वका काम संघले यसबीचमा गर्न पो सकेन कि ! भन्ने पनि लाग्छ बेलाबेला । त्यसभित्रका कथा, कहानी पनि अर्कै होलान्, त्यतातिर नछिरौँ ।

यस आलेखमा उठाउन खोजिएको विषय र सन्दर्भ केही फरक छ । फरक यस मानेमा कि लेखक संघलाई हाम्रा पूर्वनेतृत्वले ‘स्वतन्त्र’ र ‘निष्पक्ष’ विशृद्ध लेखक, स्रष्टाहरूको संस्था बनाउने सोच राख्नुभयो । सोच आफैँमा नराम्रो होइन, थिएन । तर, यस सोचले निम्त्याएको समस्या भने वर्तमानमा संघले भोगिरहेको अवस्था छ । प्रस्ट भन्दा- कुनै पनि ‘स्वार्थमूलक’ संघसंस्था ‘स्वतन्त्र’ र ‘निष्पक्ष’ हुनै सक्दैन । त्यसमा पनि नेपाली लेखक संघलाई हामीले भनेकै छौँ- ‘लोकतान्त्रिक लेखक, स्रष्टाहरूको साझा संस्था ।’

तब, लेखक संघले ‘निष्पक्ष’ र ‘स्वतन्त्र’ बन्ने आधार र हैसियत गुमाइसक्यो । भन्नुको अर्थ, लेखक संघ ‘लोकतन्त्रवादी’हरूको संस्था भइसक्यो । राजनीतिक हिसाबले निरङ्कुश, कम्युनिस्ट र लोकतान्त्रिक आदि प्रमुख शासन प्रणाली कायम छन् विश्वमा । र, यिनै अनुसारका राजनीतिक दल तथा संघसंस्था खुलेका पाइन्छ । यस हिसाबले नेपाली लेखक संघले घोषित रूपमै लोकतान्त्रिक बताइसकेको अवस्था छ । यो ‘लोकतन्त्र’ शब्द अन्ततः राजनीतिसँगै जोडिन्छ ।

अर्कातर्फ नेपाली लेखक संघको स्थापनामै बीपी कोइराला जस्ता लोकतन्त्रका आदर्श पुरुषको संलग्नता र योगदान देखिन्छ । अनि, हामी लेखक संघमा आवद्ध लेखक, स्रष्टाहरू बारबार बीपी-मार्गका अनुयायी भएका दाबी पनि गरिरहन्छौँ । बीपी-मार्ग भन्नुमा पनि दुई बाटा छन्- राजनीतिक र साहित्यिक । हामीले भनिरहेको बीपी-मार्ग साहित्यिक अवश्य होइन किनभने हामी सबै लेखक, स्रष्टा बीपीको साहित्यिक लेखनको मार्ग वा धारबाट लेखिरहेका छैनौँ । हामी विविध धारबाट लेखिरहेका छौँ, सिर्जना गरिरहेका छौँ । यस अर्थमा हामी बीपीको साहित्यिक धारका अनुयायी हुँदै होइनौँ ।

बीपीको अर्को मार्ग हो- राजनीति । साहित्य र राजनीति दुवैमा अत्यन्त सम्मानित बीपी कोइराला लोकतन्त्र, जनअधिकार, शान्ति र समृद्धिमा विश्वास गर्थे । उनी आफूलाई ‘राजनीतिमा प्रजातन्त्रवादी, साहित्यमा अराजकतावादी’ भन्थे । सँगसँगै बीपी स्वयं पनि लेखकीय स्वतन्त्रताको चर्को वकालत गर्थे । उनको मान्यता थियो कि लेखक, स्रष्टा लेखकीय हिसाबले स्वतन्त्र छ, कुनै वाद, पक्ष वा समर्थन र विरोधका लागि लेखक खुला छ ।

तर, अन्ततः बीपी कोइराला भन्नु नै राजनीतिक स्वतन्त्रताको पर्याय हो । नेपाली राजनीतिक इतिहासको बलियो खम्बा हो बीपी । अनि, उनी पनि त दुई रूपमा प्रस्तुत छन् नेपाली साहित्य र राजनीतिका सन्दर्भमा- एकातिर स्वतन्त्र लेखक, स्रष्टा र अर्कातिर चर्को लोकतन्त्रवादी राजनेता ।

यहाँ उठाउन खोजिएको सन्दर्भ संकेत पक्कै बुझियो भन्ने लाग्छ ।

प्रस्ट बीपीको विचार मान्ने र कांग्रेसका कुनै न कुनै पार्टी जिम्मेवारीमा रहने नै छौँ हामी तर लेखक संघभित्र भने ‘स्वतन्त्र’ र ‘निष्पक्ष’ लेखक, स्रष्टा भएका बताइरहेका छौँ । यसो गर्नु इमान्दारी हो भन्ने लाग्दैन । बरू बीपीले भनै भनेजस्तो भनौँ न- ‘हामी राजनीतिमा कांग्रेस हौँ, लेखक संघ कांग्रेसकै शुभेच्छुक संस्था हो तर लेखनमा हामी स्वतन्त्र र निष्पक्ष छौँ ।’

हामीले नेपाली लेखक संघलाई कुनै पनि राजनीतिक दलबाट निरपेक्ष राख्ने प्रयास विगतमा गर्‍यौँ । हामीसँग ‘लोकतान्त्रिक स्रष्टा’बाहेकको अरू कुनै राजनीतिक ‘वैधता’ छैन । देशमा अहिले लगभग सबैजसो राजनीतिक दलहरू ‘लोकतान्त्रिक’ भइसकेका छन् । उसो त, निर्वाचन आयोगले नै ‘लोकतान्त्रिक’ नभई दल दर्ता नगरिदिने भएपछि बराहरूको बाध्यता पनि हुन सक्छ, लोकतान्त्रिक बनिदिनु । जे भए पनि, लोकतन्त्र भन्नेबित्तिकै नेपाली जनले सबैभन्दा पहिला सम्झिने भनेकै नेपाली कांग्रेसलाई हो । कांग्रेस भन्नेबित्तिकै सम्झिइने पहिलो व्यक्ति बीपी कोइराला नै हुन् ।

र, उनै बीपी कोइरालाले प्रतिपादन गरेको अवधारणा ‘प्रजातान्त्रिक समाजवाद’लाई मान्ने, अनुसरण गर्ने, आदर्श ठान्ने लेखक, स्रष्टाहरू नै नेपाली लेखक संघमा आवद्ध हुने हुन् । लेखक संघले आफ्नो प्रस्ट नीति नै बनाएको छ- लोकतन्त्रमा आस्था राख्ने लेखक, स्रष्टा मात्र यसका सदस्य बन्न पाउँछन् ।

तब, यो कसरी ‘स्वतन्त्र’ र ‘निष्पक्ष’ बन्न सक्छ ? कसरी सबै विचारधाराका लेखक, स्रष्टालाई नेपाली लेखक संघमा समेट्न कसरी सकिन्छ, जबकि सबै लेखक, स्रष्टा लोकतन्त्रमा विश्वास गर्दैनन्, बीपीको राजनीतिक मार्गमा हिँड्दैनन् ।

यसर्थ, अब नेपाली लेखक संघ प्रस्ट हुनु जरुरी छ कि लेखक संघ अन्ततः बीपीको राजनीतिक दर्शन, जुन नेपाली कांग्रेसको राजनीतिक मार्ग हो, त्यही मार्गमा हिँड्नुपर्छ । राजनीतिक आवद्धता नेपाली लेखक संघका निम्ति आवश्यकता र अपरिहार्यता दुवै भइसकेको छ ।

यो किन पनि भने, नेपाली लेखक संघ सुरु भएको केही वर्षपछि स्थापना भएको बामपन्थी लेखक, स्रष्टाहरूको संस्था प्रगतिशील लेखक संघ आजसम्म निरन्तर सक्रिय छ । आफ्नो राजनीतिक विधारधाराका लगभग सबै लेखक, स्रष्टाहरूलाई गोलबद्ध गराउन सफल पनि छ । निकै ठूलो आकारमा आफूलाई फैलाइसकेको छ त्यस संस्थाले । तर, हामी अर्थात् नेपाली लेखक संघ भने देशका सबै जिल्लासम्म समेत पुग्न सकिरहेका छैनौँ । राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरका बृहत् र ऐतिहासिक कार्यहरू गर्न सकिरहेका छैनौँ ।

यसको प्रमुख कारण यो पनि हो कि हामीसँग कुनै राजनीतिक आवद्धता आजसम्म छैन । प्रस्ट बीपीको विचार मान्ने र कांग्रेसका कुनै न कुनै पार्टी जिम्मेवारीमा रहने नै छौँ हामी तर लेखक संघभित्र भने ‘स्वतन्त्र’ र ‘निष्पक्ष’ लेखक, स्रष्टा भएका बताइरहेका छौँ । यसो गर्नु इमान्दारी हो भन्ने लाग्दैन । बरु बीपीले भनै भनेजस्तो भनौँ न- ‘हामी राजनीतिमा कांग्रेस हौँ, लेखक संघ कांग्रेसकै शुभेच्छुक संस्था हो तर लेखनमा हामी स्वतन्त्र र निष्पक्ष छौँ ।’

यही कारण नेपाली लेखक संघलाई नेपाली कांग्रेसले चिनेको छैन, चिन्दैन । पटकपटक कांग्रेसले सरकार बनाउँछ, अरू संघसंस्थाले राज्यकोषबाट लाखौँ लिएर काम गर्छन् । लेखक संघले किन त्यसो गर्न सक्दैन ? राज्यकोषबाट भाषा, साहित्यका लागि छुट्याइएको बजेट सदुपयोग गर्दै नेपाली वाङ्मय, भाषा र साहित्यका लागि लेखक संघबाट काम गर्न किन सकिएन ? यसको प्रमुख कारण यही हो कि लेखक संघलाई कांग्रेसले चिन्दैन ।

तर, यता हामीचाहिँ  भनिरहन्छौँ- नेपाली लेखक संघ लोकतान्त्रिक (कांग्रेसी) लेखक, स्रष्टाहरूको संस्था हो ।

यो आत्मरतिबाट अब मुक्त हुन जरुरी छ हामी । हामीले नेपाली वाङ्मय, भाषा र साहित्यमा उठिरहेका विविध वैचारिक बहस र छलफलहरूमा राजनीतिक हिसाबले समेत उपस्थिति जनाउन आवश्यक छ । र, यसका लागि संघलाई स्पष्ट राजनीतिक पहिचानसमेत दिएर अघि बढ्नु आवश्यक छ ।

यो भनेको अब नेपाली लेखक संघले नेपाली कांग्रेसको वैधानिक शुभेच्छुक संस्थाको हैसियत प्राप्त गर्नुपर्छ । पार्टीका अधिवेशन, महाधिवेशनमा पनि नेपाली लेखक संघबाट प्रतिनिधित्व हुनुपर्छ । पार्टीका विभिन्न तहका समितिहरू (केन्द्रीय समितिदेखि) नेपाली लेखक संघबाट प्रतिनिधित्व हुनुपर्छ, पदाधिकारी र अन्य पदमा । यसो भएमा मात्र नेपाली लेखक संघको अर्थ र औचित्य देखिनेछ, नभए सामान्य गैरसरकारी संस्थाको हैसियतभन्दा माथि नेपाली लेखक संघ जान सक्ने देखिँदैन ।

अर्कातर्फ निकै लामो इतिहास बोकेर, बीपी कोइरालादेखि लक्ष्मीप्रसाद देवकोटा, गोविन्दबहादुर मल्ल जस्ता साहित्यका हस्तीहरूको विरासत बोकेको नेपाली लेखक संघ आज यही अवस्थामा मात्र हुनुपर्ने हो र ? भन्ने जिज्ञासा पनि अस्वाभाविक होइन । र, यस्तो जिज्ञासा उठाउनुमा लेखक संघ र हामी यसका सञ्चालकका भूमिकामा रहेकाहरूकै बढी कारण छ भन्न लजाउनुहुँदैन । बरू अबका दिनमा लेखक संघलाई के कसरी राम्ररी र प्रभावकारी ढङ्गले अगाडि लैजान सकिन्छ भनेर ठण्डा दिमागले सोच्नु जरूरी भएको छ ।

यसरी हेर्दा अबको लेखक संघले केही काममा गम्भीरतापूर्वक ध्यान दिनुपर्नेछ । जस्तो कि-

- विगतमा भए, गरिएका कामकारबाहीको गहन समीक्षा गर्दै त्यसबेलाका कमीकमजोरीप्रति सजग हुँदै आगामी कार्यव्यवहार गर्नुपर्छ ।

- देश संघीयतामा गएपछिको संघीय संरचनाअनुसारको संघको पनि साङ्गठनिक संरचना बनेको अवस्था छ । सोहीअनुसार जिल्ला र प्रदेश शाखाहरूको सक्रिय क्रियाशीलता हुनुपर्छ ।

- नेपाली र समग्र नेपालमा प्रचलित भाषा, साहित्य र वाङ्मयको सम्वद्र्धन, विकास र विस्तारका लागि राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम तर्जुमा गरी स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरका सम्म कार्यक्रम गर्नुपर्छ ।

- हरेक प्रदेश र जिल्लाले ३ महिनामा कम्तीमा एउटा साहित्यिक वा भाषासम्बद्ध कार्यक्रम (गोष्ठी, अन्तक्र्रिया, सम्मेलन, महोत्सव वा प्रकाशन) गर्नुपर्छ ।

- नेपाली र नेपालमा प्रचलित अन्य भाषा र साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तित्वहरूसँग निरन्तर अन्तर्क्रिया, सम्वाद र उनीहरूलाई याथोचित सम्मानका कार्यक्रम गर्नुपर्छ ।

- नेपाली लेखक संघको वैचारिक मार्ग, समाज-संस्कृति-कला-साहित्य-सङ्गीत र सामाजिक-राजनीतिक पक्षलाई हेर्ने र बुझ्ने दृष्टि र कोण केके हुन्, तिनलाई प्रष्ट पारेर दस्ताबेजका रूपमै सार्वजनिक गर्नुपर्छ । यसो गर्दा लेखक संघको आफ्नो बाटो पनि प्रष्टिनेछ ।

- नेपाली लेखक संघसँग आर्थिक कोष भएको अवस्था छैन ।बैंकमा खाता छ तर खातामा रकम छैन । यसले गर्दा योजनामा परेका वा पारिएका र गर्न भनेर सोचिएका कामहरू पनि गर्न सकिएको छैन । यसर्थ कोषलाई बलियो बनाउन सहयोगदाताबाट सहयोग लिने, राज्यबाट विभिन्न योजनामार्फत बजेट प्राप्त गर्ने वा आफ्नै प्रयासमा गरिने कुनै कार्यमार्फत भए पनि संस्थाको कोष बलियो बनाउनुपर्नेछ ।

यीबाहेक पनि धेरै कामहरू लेखक संघले आगामी दिनमा गर्नुपर्नेछ । सबैभन्दा पहिला भने लामो समयदेखि कोमामा रहेका संस्थालाई स्फुर्तीका साथ चलायमान बनाउनु छ र माथि उल्लेखित कामहरूमा अघि बढ्नु छ ।

(नेपाल लेखक सङ्घकाे 'घरपत्रिका' 'लेखक' वर्ष १४, अंक ५, २०७८ चैतबाट)