नाममा समाजवादी: राजनीतिक दलहरूको सेवा र व्यवहार भने दलाल पुँजीवादीको

नाममा समाजवादी: राजनीतिक दलहरूको सेवा र व्यवहार भने दलाल पुँजीवादीको

रूपक अलङ्कार  |  दृष्टिकोण  |  चैत्र १६, २०७८

यसै पनि हाम्रो देशमा वसन्त ऋतुको बडो महत्त्व छ । वसन्तको मादकतामा हराउने बानी परेका नेपालीलाई सरकारले वैशाखमा स्थानीय चुनावको घोषणा गरेर रोमान्टिक बनाइदिएको छ । रमाइलो के छ भने, वसन्तमा मतदान गरे पनि नतिजा आउँदा जेठको आधाउधी भइसक्ने छ ।

चुनावको नतिजा अवश्य पनि धेरैका लागि उखर्माउलो गर्मी हुनेछ भन्ने सन्देश दिन पनि वसन्तमा चुनाव ग्रीष्ममा नतिजाको व्यवस्था गरेको होला सरकारले । सरकार पनि कम बाठो  छैन ।

देशमा चुनाव लाग्दै छ । चुनाव सबै चाडबाड मध्ये रोमाञ्चक र अह्लादकारी चाड हो । यो कुनै निश्चित जात, धर्म, भूगोल तथा सम्प्रदायको पर्व होइन, हो त सिंगो देशको पर्व हो । सारा नेपालीको उत्सव हो । सबै नेपालीको पर्व भएकाले यसलाई सम्पन्न गर्ने धर्म पनि हामी नेपालीकै हो । त्यसैले लागौँ अब चुनावलाई निर्बाध रूपमा सम्पन्न गर्नका लागि । 

अब देशलाई दिन दुई गुना रात चार गुना चुनावको प्रसूति व्यथा लाग्नेछ । प्रचारप्रसार दिनमा भए पनि टिकटको मोलतोल रातमा हुने देश हो यो । उम्मेदवार आफ्नै मात्र बर्कतमा मैदानमा उत्रिने ल्याकत राख्दैन कि क्या हो ! जनताले चिनेको भन्दा चन्दा दिनेको मानमनितो छ पार्टीमा । भोट जनताले दिने भएकाले त्यस्ता प्रत्यासीहरू जनता देखेर थुरुथुरु हुन्छन् पनि । त्यस्तालाई उभिनका लागि र समाउनका लागि छुट्टाछुट्टै हाँगाको व्यवस्था हुनुपर्छ अन्यथा उम्मेदवार लड्ने मात्र होइन, बङ्लङ्गै पछारिन पनि सक्छ ।

अब दिनदिनै सडकमा र्‍यालीहरू निस्किन्छन् । झण्डाले सडकहरू रातै, हरियै, पहेँलै जस्ता पनि हुन सक्छन् । र्‍यालीमा आउनेहरूले गाउँ-शहर गुन्जायमान हुनेगरी नारा लगाउनेछन् । उस्तै परे अर्काे पार्टीका नाउँमा मूर्दावाद पनि भन्नेछन् । क्यैगरी जम्काभेट भएमा हात हालाहाल गर्न पनि सक्नेछन् ।

तिनका नेताले पढाए जसरी अरूलाई दुत्कारेर आफ्नो पार्टी र नेता ठीक, अरू पार्टी गोबर र नेता गोबर गणेश भन्न पनि तिनलाई अप्ठ्यारो लाग्ने छैन र अझ गौरवान्वित पनि हुनेछन् । 

प्रायः सबै मानिस लुछाचुँडीमा पर्नेछन् । सकेसम्म बालिग मताधिकार भएका सबै मानिसलाई पार्टीको कुनै न कुनै डामेरै छाडिनेछ । यदि डामिएनन् भने तिनीमाथिको लुछाचुँडी चलिरहनेछ । चुनावका सेरोफेरोमा हुने मासु-भातको भोजन पनि यिनको निधारमा नलेखिन सक्छ । तर, हाम्रा राजनीतिक दल यति लाटा छैनन्, त्यसैले सबै मानिसलाई संगठनका कुनै न कुनै तह र तप्कामा घिसारेर नल्याई छाड्नेछैनन् ।

गाउँ, शहर, टोल सबै राजनीतिका बासी पुराना नाराले गुन्जायमान हुनेछन् । किनभने कुनै पनि राजनीतिक दलका घोषणापत्रमा यहाँभन्दा पहिलेका कार्यक्रम घट्नेवाला छैन । घट्नका लागि त काम भएको हुनुपर्छ । सत्ताको लुछाचुँडीमा नै यतिका वर्ष बितिगएपछि घोषित कार्यक्रम पूरा हुने भनेको घोडेजात्राको भोलिपल्ट मात्र हो ।

राम्रा काम गरेर जनताका नजरमा उठेका नेता पनि स्थानीयस्तरमै छन् । भोलिका दिनमा आफ्नो गाउँटोलको मुहार फेर्न खोजे केही गर्न सक्ने पनि यिनैले हुन् । त्यस कारण स्थानीय तहको निर्वाचनमा कम सम्पत्ति भएका तर नवीन सोच र जाँगर भएका जनसेवी व्यक्तित्वले पनि चुनावमा भाग लिने अवस्थाको सिर्जना गर्नुपर्छ

हुनत पहिले आउने भनेको स्थानीय चुनाव हो । स्थानीय चुनावले पनि बोकेर हिँड्ने त यिनै दलहरूलाई नै हो । चुनावको एक मात्र उद्देश्य आफ्ना उम्मेदवारले जित्नु हो । चुनावमा नजिती सत्ताको मलाई मार्न सजिलो छैन । येनकेन प्रकारेण चुनाव जित्नु वर्तमान समयको माग हो । जित्नका लागि पैसाको बाढी चलाउन परोस् या छेउटुप्पो नमिल्ने दलसित गठजोड गर्नुपरोस्, तयार हुनै पर्छ । हावा जता बगेको छ, त्यता नलाग्ने हो भने टिक्न गाह्रो छ । 

जुनसुकै दलसित आँगालो मार्न तयार हुनुपर्छ, चाहे त्यो हिजोको लम्पसारवादी होस् वा प्रतिगामी होस्, चाहे मण्डले, कुण्डले, उग्रवादी, जातिवादी, क्षेत्रीयतावादी या विखण्डनवादी, जोसुकै होस् । फाइदा हुन्छ भने कोरीको त खुट्टा मोल्नुपर्छ भन्ने हाम्रो मान्यता छ, यी त भए राजनीतिक दल, त्यो पनि देश र जनताका नाममा अहोरात्र जीवन व्यतीत गरेका ।

जब नेतृत्वले नै यस्तो नीति अख्तियार गर्छ भने फुटपाथका कार्यकर्ताले मन अमिलो बनाएरै भए पनि स्वस्ति गर्नु उनीहरूको राजनीतिक धर्म वा कर्तव्य हुन आउँछ । 

स्थानीय निकायको चुनाव पनि कम महँगो छैन । पार्टीका लागि जीवन बिताएर मात्र हुनेवाला छैन । अब भएको अलिकति घरखेत पनि चुनावका लागि बिताउनुपर्ने परिस्थिति देशमा निर्माण भएको छ । नाममा समाजवादी भए पनि हाम्रा पार्टीहरू दलाल पुँजीवादी छन् । त्यस कारण पुँजी न सुजीको ...ले अब चुनाव जित्ने अवस्था देखिँदैन ।

मतदाताहरू अत्यन्त बिकाउ हुँदै गएका छन् । ‘ताक परे तिवारी नत्र गोतामे’को सूत्रमा जनताले आफूलाई ढालिसकेका छन् । भोट चाहिने भए पैसा खर्च गर्नुपर्छ भन्ने धारणालाई जनमानसले अँगालिसकेको छ । सर्वत्र यस्तो नहोला तर राजनीतिको मूल चरित्र यही भएको छ  ।

जनताका लागि स्थानीय चुनावको बढी महत्त्व छ । खासमा जनप्रतिनिधि भनेका स्थानीय चुनावबाट आउने नेता नै हुन् । संघीय संसद्‌मा छिर्न या सांसदलाई भेट्न गाडी चढेर छुट्टै ठाँटबाँठका साथ आउनुपर्छ । त्यत्रो हैसियत सोझा निमुखा जनतासित छैन । त्यस कारण उनीहरूले रुने, कराउने भनेको स्थानीय जनप्रतिनिधिसितै हो ।

राम्रा काम गरेर जनताका नजरमा उठेका नेता पनि स्थानीयस्तरमै छन् । भोलिका दिनमा आफ्नो गाउँटोलको मुहार फेर्न खोजे केही गर्न सक्ने पनि यिनैले हुन् । त्यस कारण स्थानीय तहको निर्वाचनमा कम सम्पत्ति भएका तर नवीन सोच र जाँगर भएका जनसेवी व्यक्तित्वले पनि चुनावमा भाग लिने अवस्थाको सिर्जना गर्नुपर्छ ।

खसी ढालेर भोज खुवाउन सक्ने मानिसलाई मात्र उम्मेदवार बनाउने हो भने राजनीतिको आत्मा मर्छ । राजनीति सेवा हो भन्ने परिभाषा पनि मर्छ । यसतर्फ राजनीतिक दलले सोच्न भ्याउलान्, नभ्याउनलान्, विवेकी मतदाताले भने सोच्नै पर्छ ।