नयाँ युगको पदचाप : 'भ्रष्टचार नियन्त्रण एक व्यक्तिबाट संभव छैन समाजकै साथ चाहिन्छ'

पुस्तक चर्चा

नयाँ युगको पदचाप : 'भ्रष्टचार नियन्त्रण एक व्यक्तिबाट संभव छैन समाजकै साथ चाहिन्छ'

बम बानियाँ  |  साहित्य  |  बैशाख २, २०७९

नयाँ युगको पदचाप पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुदाँ व्यक्त गरिएका विचारहरूको संगालो हो । ०७७ मा प्राज्ञ स्मृति प्रतिष्ठानबाट प्रकाशित पुस्तकको प्राविधिक पाटोको भन्दा वैचारिक  तथा विचारको कार्यन्वयन पक्षको बारेमा केही महत्वपुर्ण विषयहरु यहाँ प्रस्तुत गरिएको छ । 

पुस्तकमा प्रचण्ड प्रधानमन्त्री छँदा को पहिलो कार्यकालका १४ वटा र दोस्रो कार्यकालका ४६ वटा सम्बोधनहरूलाई समावेश गरिएका छन् । साथै सरकारका नीति तथा कार्यक्रमलाई पनि परिशिष्टमा राखिएको छ ।  यो पुस्तक आम परिवर्तनको पक्षमा रहेका पाठकहरूका लागि मात्रै नभएर प्रचण्डलाई आलोचनात्मक दृष्टिकोणले हेर्नेहरूका लागि पनि  महत्वपुर्ण अध्ययन सामाग्रीको रुपमा पुस्तकलाई लिन सकिन्छ । 

प्रचण्ड भन्नासाथ नेपाली राजनीतिको परिवर्तन नेतृत्व गर्ने अग्रगामी नेता, माओवादी जनयुद्धको नायक तथा नेपालको संविधान २०७२ मार्फत् संघीयता, धर्मनिरपेक्षता, समावेसी तथा समानुपातिक आदि जस्ता एजेण्डा स्थापित गर्न प्रमुख भुमिका खेल्ने नायकको रुपमा स्थापित नाम हो ।

जनयुद्धबाट शान्ति प्रकृयामा आउँदा को प्रचण्डको जुन प्रकारको आर्कषण, विश्वास थियाे, त्यो संसदीय अभ्यासमा छिरेर खुल्ला चुनावी राजनीतिमा प्रवेश गरी ०६४को चुनावमा प्रथम पार्टी भएर जनताको माग र आफ्ना एजेण्डा अनुसारको काम पुरा गर्न नसकेपछि विस्तारै स्खलित हुदै गएको भने हो,  तर यसका थुप्रै कारणहरु छन् । सदियौंदेखि राज्य शासन गर्दै आएका राजा र संसदीय अभ्यासका नेताहरुसँग एक्कासी काम गर्दा धेरै कठिनाइका बाबजुद प्रचण्ड अगाडि बढ्दै आएको परिस्थिति छ । जनताको चरम विश्वासका पात्र बनेका प्रचण्डका जीवनमा ताली र गाली अहिलेसम्म पनि उतिकै सुन्न पाइन्छ ।

तीसको दशकदेखि हालसम्म निरन्तर राजनीतिक जीवनको आरोह अवरोहमा सक्रिय जीवन गुजार्दै आएका प्रचण्डको यो पुस्तकमा प्रचण्ड सकारमा हुँदा के गर्न खोजेका थिए ? कति गर्न संभव भयो ?  के कति काम अव गर्न बाकी छ ? जस्ता महत्वपुर्ण विषयहरु समावेश भएका छन् । २०६५ को पहिलो कार्यकाल र ०७३ को दोस्रो कार्यकालमा  प्रचण्ड नेतृत्वको सरकारले गरेका उल्लेख्य केही कामहरु यहाँ उल्लेख गरिएको छ ।  

प्रचण्डका सम्बोधनहरूमा प्रायः यो देशका समस्याहरु, वर्तमान परिस्थिति र अप्ठ्याराहरु ती समस्याहरु, वर्तमान परिस्थिति र अप्ठ्याराहरु समाधान गर्ने उपायहरु छर्लङ्ग देखिन्छन् । यसले के देखाउँछ भने प्रचण्ड एक दुर दर्शी नेता हुन । उनमा देश निर्माण गर्ने स्पष्ट खाका छ । तैपनि उनी किन समय समयमा बिवाद र आलोचनाका पात्रका रुपमा आउँछन ?

यो नेपाल जस्तो भूराजनीतिक अवस्थामा रहेको मुलुकमा स्वभाविक हुने गर्दछ । नेपाली राजनीतिको खेल वैदेशिक रणनीति, कुटनीति, दुई ठुला देश भारत र चिनको वीचमा रहेको नेपालको सम्बन्ध र भारतप्रति सधै निर्भर हुनुपर्ने अवस्थाको बीचबाट नेपाली मोडेलको राजनीति अगाडि बढाउनु पक्कै पनि त्यति सहज छैन भने निचोडमा पुग्न खोजेको देखिन्छ । कतिपयले राजनीतिक खेलाडी भन्ने गर्छन् भने कतिले संसदीय अभ्यासमा कम अनुभवी नेताको आरोप लगाउने गरेता पनि प्रचण्ड राष्ट्र र राष्ट्रियता परिवर्तनको पक्षमा निरन्तर लागिरहने एक अथक योद्धाको पहिचान बनाउन भने सफल भएका छन् ।

यो पुस्तकमा प्रस्तुत उहाँका विचार र सरकारमा हुँदाका कार्यन्वयन पक्षलाई हेर्दा निकै गतिलो तालमेल भने देखिन्छ तर एक सरकारले सुरुवात गरेका राम्रा कामलाई पनि अर्को सरकारले पुरा गर्नुपर्नेमा ती जतिसुकै राम्रा काम भएपनि काटेर अर्को काम थाल्ने सरकारी खराव प्रवृत्तिले नेपालको विकासले गति लिन नसकेको देखिन्छ । राजनीतिले सही दिशा लियो भने समृद्धि आउछ भन्ने निकै महत्वपुर्ण विचार पुस्तकमा उल्लेख गरेको पाइन्छ  ।

राजनीतिक रुपमा देशलाई अगाडि बढाउन कुनै सरकारी पदको लोभ नगरी अरुलाई पद दिएर आफु परिवर्तनको पक्षमा उभिएर काम गरेका बढि उदाहरण भेटिन्छन् । जस्तै नेकपा एकताको विषय होस या संविधानको रक्षा गर्न काग्रेस लगायत अन्य दलहरुसंग गठबन्धनको सरकार बनाउन होस् । एउटा चुनौतीपूर्ण समयको नेतृत्व गर्दै आएका नेता प्रचण्डले आफु सरकारमा रहँदा पहिलो कार्यकालमा नीति निर्माणमा बढि केन्द्रित भएको देखिन्छ भने दोस्रो कार्यकालमा कार्यन्वयन पक्षलाई जोड दिएको प्रष्ट हुन्छ । 

काठमाडौँ उपत्यकाको सडक विस्तार कार्यलाई सम्पन्न गरि सहरी सडक चापको समस्यालाई सुधार गर्नुका साथै मध्य पहाडि लोकमार्ग, उत्तरदक्षिण लोकमार्ग जस्ता दिर्घकालिन महत्वका योजनाहरु अगाडि सारिएको थियो । कृषि र पशु विमाको सुरुवात पनि यहि कार्यकालमा सुरु गरिएको थियो भने स्वास्थ्य क्षेत्रमा ७० प्रकारका औषधीहरु नि:शुल्क वितरण गरि सर्वसुलभ स्वास्थ्यको लागि कार्यन्वयनको सुरुवात गरिएको थियो साथै नयाँ नेपाल,स्वस्थ नेपाल नारा अघि सार्दै सबैलाई आधारभूत स्वस्थ्य निशुल्क गरिएको थियो  ।

'अव सबै देशबासीलाई आव्हान गर्छु,  आउनुहोस् हामी सबै एक ठाउँ उभिए। र राजनीतिलाई भावना र उत्तेजना होइन, आर्थिक समृद्धिमा केन्द्रित गरौं । सपनाहरूको क्रान्ति धेरै भयो अव हामीलाई उपलब्धिको क्रान्ति चाहिएको छ । आउनुहोस् विभेद र वहिस्कारलाई अस्वीकार गर्दे राष्ट्रिय एकतालाई मजबुत पारौं । आर्थिक क्रान्तिका लागि साझा संकल्प गरौं, समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गरौ ।’ 

मुलुकमा लगानी बोर्ड स्थापना गरि लगानी उत्पादन र रोजगारीका लागि काम सुरु गरिएको थियो । प्राकृतिक प्रकोप तथा द्धन्द्धका कारण मर्कामा परेका र गरिबीको रेखामुनि रहेका साना किसान तथा घरेलु उद्यमीहरु ले कृषि विकास बैंक तथा अन्य बैंकहरुबाट दिएको रु ३० हजार सम्मको ऋणको साँवाब्याज र १ लाखसम्मको ऋणको पुरै ब्याज र हर्जना  मिनाहा गरेको थियो ।

यस्तै विश्वविद्यालय प्राविधिक शिक्षालाई प्राथमिकता दिदै कृषि वन तथा पशु विश्वविद्यालय र सुदुरपश्चिम विश्वविद्यालय स्थापना गर्नुका साथै कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान र सुदुर पश्चिम स्वस्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिएको देखिन्छ । यो निकै महत्वपुर्ण काम हो । सबैखाले सामाजिक सुुरक्षा भत्ता बृद्धि गर्ने, लोपोन्मुख जाति प्रोत्साहन भत्ता अपाङ्ग भत्ताको व्यवस्था गरिएको यस पुस्तकमा उल्लेख छ ।

प्राविधिक शिक्षा विस्तारका योजना अनुसार भोजपुर,चितवन, खोटाङ, रोल्पा,गोरखा, रोल्पामा पोलिटेक्निकल स्कुलहरू स्थापना भएको थियो । मुक्त कमैया,हलियाको समस्या समाधानको खाका अगाडि सारिएको थियो । र कार्यन्वयन समेत भैरहेको छ । 

नेपालमा खास कृषि उत्पादनमा जोड दिनुपर्ने, कृषिका उत्पादनहरूमा आत्मनिर्भर हुनुपर्ने, शिक्षामा  प्राविधिक र रोजगारमुलक हुनुपर्ने, स्वास्थ्य निःशुल्क र सर्वसाधारणको पहुँचमा हुनपर्ने विषयहरु अगाडि सारिएका भएपनि स्थीर सरकार नभएको कारण प्रचण्ड सरकारकाले सुरुवात गरेका योजना र विचारहरु अझै स्थापित र कार्यन्वयन हुन सकिरहेको भने देखिदैन । 

२०६४ चैत्र २८ गते भएको पहिलो संविधान सभा निर्वाचन पछि ०६५ साउन ३१ गते गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हालेका प्रचण्डले तत्कालिन सेनापति रुकमाङ्गत कटुवाललाई सेवाबाट विदा दिने निर्णयमा राष्ट्रपतिले असंवैधानिक हस्तक्षेप गरेपछि २०६६ वैशाख २१ गते पदबाट राजीनामा दिनु परेको थियो । मुलुकको परिवर्तनमा यो राजीनामा निकै महत्वका साथ अझै समीक्षा गरिने गरेको देखिन्छ । यो सरकार एक कार्यकाल पुरा टिक्न पाएको भए देशले थप अग्रगति लिने अनुमान गरिएको थियो । 

३९१ पृष्ठको यो पुस्तक नयाँ युगको पदचापभित्र विशेष गरेर नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारको दुबै कार्यकालको लिखित दस्तावेजको रुपमा अगाडि सारेको देखिन्छ । आज देश माओवादीका एजेण्डामा अगाडि बढिरहेको तर देशको खास नेतृत्व चाहिँ माओवादीले गर्न नपाएकोले देशले सोचेजति गति लिन नसकेको कारण पनि केही असल कामहरुलाई पाठक मार्फत् जनतामा अगाडि लैजाउ भन्ने उदेश्यले यो पुस्तक छापिएको देखिन्छ । यो निकै पठनशीळ  सामाग्री बन्न पुगेको  छ । 

पुस्तकमा दोस्रो पटक प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा २०७३ साउन २० गते गठित सरकारले गरेका केही उल्लेखनीय उपलब्धिहरु यहाँ उल्लेख गरिएन भने पुस्तक चर्चा नै अपुरो हुन जान्छ । यो पटक संविधान कार्यन्वयन, राज्य पुनःसंरचना तथा निर्वाचनमा उल्लेखनीय काम भएको देखिन्छ । लगभग दुई दशकसम्म जनप्रतिनिधि विहिन स्थानिय तह नयाँ संविधानबमोजिम ७४ वैशाख ३१ गते स्थानीय तह निर्वाचन हुने घोषणा भएको थियो ।

एकात्मक र केन्द्रिकृत शासन व्यवस्थाको अन्त्य हुदै सङ्घात्मक व्यवस्थाको लागु हुदै थियो । शान्ति प्रकृया र संक्रमण कालको व्यवस्थापनका कामहरु सुरु गरिए । द्वन्द्व प्रभावितलाई राहत, सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन, वेपत्ता छानविन आयोग गठन गरि शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्‍याउने कामको सुरुवात भयो । प्रचण्ड सरकारकै पालामा मुलुकमा आर्थिक परिसूचक चौबिस बर्ष यताकै उच्च ६.२ प्रतिशत बृद्धि हासिल गरेको कुरा उल्लेखनीय मानिन्छ । अर्को तर्फ विगत बाह्र बर्ष यताकै सबैभन्दा कम मुल्य बृद्धि कायम भएको थियो ।

लोडसेडिङको अन्त्य र उर्जा क्षेत्रको विकास इतिहासकै उल्लेखनीय कार्य यो सरकारको पालामा भएको थियो । जनताको दैनिक जीवन र औधोगिक उत्पादनका लागि विकराल बन्दै गइरहेको उर्जा संकट (अठार घण्टा सम्म हुने लोडसेडिङ)लाई समाधान गर्न उज्यालो नेपाल अभियान संचालन गरि लोडसेडिङको अन्त्य गरिएको थियो । यसमा तत्कालिन उर्जा मन्त्री जनार्दन शर्माको सिफारिसमा नियुक्त विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ आज पनि चर्चाको शिखरमा छन् ।

प्रचण्ड सरकारले सुरुवात गरेको  एउटा सफल र ऐतिहासिक काम थियो । साथै ५५६ मेगावाटको तामाकोशी जलविद्युत आयोजना लगायत दर्जनौ उर्जासम्बन्धी योजनाहरु सुरुवात भएको देखिन्छ । 

विपद व्यवस्थापन र भुकम्प पुनः निर्माण सम्बन्धि  विगतका सरकारले गर्न नसकेका पुनः निर्माण र राहत वितरणका काम द्रुत गतिमा भएका थिए । खानेपानी सडक निर्माणमा काठमाडौं बासीको लामो सपनाको परियोजनाको लगभग पुर्ण गर्नेसम्मको काम भएको थियो । काठमाडौं निजगढ फास्ट ट्रयाक आयोजना नेपाल आफैले गर्ने निर्णय गरेको थियो । यो परियोजना कार्यन्वयनमा गइसकेको छ । शिक्षा,स्वास्थ्य,यातायात, वातावरण तथा बजार अनुगमन र आपुर्ति व्यवस्थापनमा योजनाबद्ध काम भएको पुस्तकमा उल्लेखित छ ।

प्रचण्डले आफ्नो विचार दिनेक्रममा नेपाली इतिहासले कोल्टे फेरेको, इतिहासका संवेदनशिल बिषयलाई भुल्न नहुने, नेपालमा सहमती सहकार्यबाट मात्रै अगाडि बढ्न सकिने जस्ता विषयहरु राख्नुभएको छ भने २००७ सालको परिवर्तनबाट नेपाली आधुनिक राजनीतिको ढोका खुलेको तर्क सान्दर्भिक लाग्छन् । भ्रष्टचार नियन्त्रण एक व्यक्तिबाट संभव छैन समाजकै साथ चाहिन्छ र  भ्रष्टचार निवारण देश निर्माणको पहिलो सर्त भनिएको छ ।

पुस्तकमा जनयुद्ध किन जरुरी थियो ? यो कसरी उपलब्धिमूलक बन्यो ? र यसले नेपाली समाजमा के कस्ता सामाजिक, सांस्कृति तथ राजनीतिक रुपान्तरणका काम गर्न सफल भयो भन्ने औचित्यको पुष्टि गरिएको छ । नेपालमा अढाइ सय बर्ष लामो सामन्ती राज्य सत्ताको जगलाई जरादेखि  हल्लाएर गणतन्त्र नेपालको स्थापना गर्नु नै एउटा उदाहरण थियो ।

तत्कालिन नेकपा एमालेका नेता ( हाल समाजवादी पार्टीका बरिष्ठ नेता ) झलनाथ खनाललाई प्रधानमन्त्री बनाउने, संविधान निर्माणका लागि तत्कालिन एमालेका नेता ( हाल समाजवादी पार्टीका अध्यक्ष) माधव कुमार नेपाललाई संविधान सभामा ल्याउने प्रस्ताव राख्ने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नु र तत्कालिन नेका सभापति शुशील कोइरालालाई राष्ट्रपति बनाउने र आफु प्रतिपक्षमा बस्ने प्रस्ताव राखेर नेपालको संविधान २०७२ जारी गर्ने वातावरण बनाउनु, आफुले प्रधानमन्त्री पदबाट राजीनामा दिएर नेकाका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा बनाउने प्रस्ताव गर्नु निकै ऐतिहासिक कदम र त्यागको रुपमा लिन सकिन्छ । पदमा बसेर मात्रै होइन पद त्याग गरेर पनि आफ्नो देश निर्माणका एजेण्डा पुरा हुन सक्दछन् भने त्याग गर्नुपर्छ भन्ने पाठ सिक्न सकिन्छ । 

समग्रमा पुस्तक भित्रका विषयहरु प्रचण्डका विचारहरूलाई ऐतिहासिक दस्तावेजको रुपमा प्रस्तुत गरिएको छ । देशका बाँकी कार्यभार पुरा गर्न, संविधान र लोकतन्त्रको रक्षा गर्न अझै नेकपा (माओवादी केन्द्र) तथा यसको नेतृत्व प्रचण्डको भूमीका र आवश्यक्ता रहेको स्पष्ट हुन्छ । नेपाली जनताले एकपटक तीनै तहमा बहुमत दिएर पठाए माओवादीले उठाएका एजेण्डाको जीत हुने र देशले छिट्टै समाजवाद उन्मुख समृद्धिको यात्रा सुरु गर्ने दावी छ ।

नेतृत्वमा समय समयमा उठी रहने लगातार प्रचण्डको एकल नेतृत्वको जवाफमा प्रचण्डले नेतृत्व लिन खुल्ला आव्हान गरेको देखिन्छ भने अझै एक दशक उर्जा वान राजनीति गर्ने दावी पनि प्रस्तुत भएको पाइन्छ । समय र परिस्थितिसँग नेपाली भुगोल र माटो सुहाउँदो मार्क्सवादी चिन्तन र व्यवहारको प्रयोग गर्न प्रचण्ड निकै गतिशिल देखिन्छन् ।

देशलाई निकाश दिन विभिन्न समयमा विभिन्न कदमहरु चाल्न सक्ने नेताको रुपमा पनि यो पुस्तकका विचारले प्रचण्डलाई उभ्याएको छ ।  प्रचण्ड कै शब्दमा भन्नुपर्दा  ‘आज देशले हामीसँग हाम्रै क्रान्ति कालको अर्थ र औचित्य खोजेको छ । राजनीतिक लोकतन्त्र स्थापित गर्ने गर्ने दिशामा त हामी करिब सफल भयौं । तर समाजिक लोकतन्त्र, समृद्ध र न्यायपूर्ण समाज निर्माणको काम गर्न अझै बाँकी छ ।' 'अव सबै देशबासीलाई आव्हान गर्छु,  आउनुहोस् हामी सबै एक ठाउँ उभिए। र राजनीतिलाई भावना र उत्तेजना होइन, आर्थिक समृद्धिमा केन्द्रित गरौं । सपनाहरूको क्रान्ति धेरै भयो अव हामीलाई उपलब्धिको क्रान्ति चाहिएको छ । आउनुहोस् विभेद र वहिस्कारलाई अस्वीकार गर्दे राष्ट्रिय एकतालाई मजबुत पारौं । आर्थिक क्रान्तिका लागि साझा संकल्प गरौं, समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गरौ ।’ 

समग्रमा प्रचण्ड एक युगीन नेताको रुपमा स्थापित नाम बनेको छ । नयाँ युगको पदचाप अझै धेरै पाइला बाकी नै छन् । बाकी कार्यभार युवा नेतृत्वको काँधमा भने जाने नै छ र जानुपर्छ । 

पुस्तक : नयाँ युगको पदचाप  प्रधानमन्त्री हुँदा व्यक्त विचार संगालो अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’
प्रकाशक: प्राज्ञ स्मृति प्रतिष्ठान
पहिलो संस्करण :२०७७ असोज 
पृष्ठ:३९१