यो पटक मेरो पनि दाबी छ

यो पटक मेरो पनि दाबी छ

बम बानियाँ  |  साहित्य  |  बैशाख ५, २०७९

हिँडियो भन्दै देश र जनता
तरियो थुप्रै खोलानाला
छाम्दा गोजी खाली छ
 बचेको त्यहि विचार छ  
त्यो पनि आक्रान्त छ
समाज निर्माणको 
नयाँ खाका कोर्ने सदियौं देखिको सपना छ 
ओ कमरेड
पर्दैन चढाउन चाकडी भने
पर्दैन किन्न टिकट भने 
राखेर इमान धरौटी
यो पटक मेरो पनि दावी छ 
खुल्ला भन्नुस् मैले टिकट पाउन 
के के सर्त पुरा गर्नुपर्छ 
म उठे भने 
सदियौं योगदान गरेका योद्धाहरू 
विना हिचकिचाहट दुई हप्ता त हो खट्नुपर्ने
हिँडेरै त हो जनताको घरमा जाने
चुनावी खर्च नमाग्ने हो भने
मेरो पनि यो पटक दावी छ 

मलाइ दिनु भो टिकट भने 
भन्दिन आकास झार्छु 
सानासाना बाँकी काम गर्छु
तर  
गर्दिन भोजभतेर 
किन्दिन जनताको मत 
दिन्न झुटा आश्वासन 
जितेपछि
मनाउँदिन विजय उत्सव 
खरिद हुदैन नयाँ कुर्सी  र कार्पेट 
किन्दिन  औपचारिक पोसाक 
खै के मा हुन्छ र खर्च 
 
ढोग्नु पर्दैन मलाई
चुनावपछि पनि म आफै ढोग्छु जनतालाई
ढोग्नलाई हात जोड्नु नै पर्छ र 
सेवा दिए हुदैन र 
पर्दैन आउन जनता मेरो टेवलमा 
म आफै आउँछु तपाईको मझेरी मा
हुनेछ जनताको उज्यालो अनुहार
मन्जुर छ भने यी सर्त 
कमरेड मेरो पनि यो पटक दावी छ 
जितेपछि मेरा केही सर्त हुनेछन्
म ज्यु र साहेबको सम्बोधन खान्न
शिलन्यास र उद्घाटनमा जान्न
बुझाउनेछु सम्पत्ति विवरण
उठेर काम गर्छु मेरो अवधिभर 
माग्नेछैन फेरि दोहोर्याएर टिकट
यी सर्तमा
के मन्जुर छ एउटा टिकट ?