राष्ट्रसंघका महासचिवप्रति जेलेन्स्की असन्तुष्ट

राष्ट्रसंघका महासचिवप्रति जेलेन्स्की असन्तुष्ट

एजेन्सी  |  विदेश  |  बैशाख ११, २०७९

युक्रेन भ्रमणअघि रुसको भ्रमण गर्न खोजेको भन्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको आलोचना गरेका छन् । महासचिव गुटेरेसले मंगलबार मस्कोको भ्रमण गर्दै छन् । मस्को भ्रमणका क्रममा गुटेरेसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गर्नेछन् ।  

मस्को भ्रमणलगत्तै उनी युक्रेनको राजधानी किभ पुग्ने कार्यतालिका छ । युक्रेन भ्रमणका क्रममा महासचिव गुटेरेसले बिहीबार किभमा युक्रेनी राष्ट्रपति पुटिन र विदेशमन्त्री दिमित्रो कुलेबासँग भेट गर्नेछन् । युक्रेन युद्ध अन्त्यका लागि राष्ट्रसंघमाथि चर्को दबाब छ । रुस र युक्रेन दुवै राष्ट्रसंघका संस्थापक सदस्यहरू हुन् । 

रुसले २४ फेब्रुअरीदेखि युक्रेनमा हमला गरिरहेको छ । युक्रेनमाथिको रुसी हमलामा २१३ बालबालिकाको मृत्यु भएको छ । हमलामा ३८९ जना घाइते भएका युक्रेनको महान्यायधिवक्ताको कार्यलयले जनाएको छ । 

यसैबीच युरोपको सुरक्षा र सहयोग संगठनले पूर्वी युक्रेनमा हिरासतमा रहेका विशेष अनुगमन मिसनका सदस्यहरूको रिहाइ सुरक्षित गर्न काम गरिरहेको जनाएको छ ।