‘१४ किसानले आत्महत्या गर्दा कति किसानलाई भेट्नुभयो ?’

‘१४ किसानले आत्महत्या गर्दा कति किसानलाई भेट्नुभयो ?’

एजेन्सी  |  विदेश  |  बैशाख १२, २०७९

भारतका विपक्षीले पंजाबका मुख्यमन्त्रीको चर्को आलोचना गरेका छन् । मुख्यमन्त्री भगवन्त मानको दिल्ली भ्रमणको विपक्षीले आलोचना गरेका हुन् । राजधानीका विद्यालय र अस्पतालको अध्ययन गर्न भन्दै उनले दिल्लीको भ्रमण गर्दै छन् । कंग्रेस र अकाली दलले भ्रमणलाई राजनीतिक नाटक र प्रचारबाजी भनेका छन् ।  

कंग्रेस नेताहरू नभजोत सिंह सिन्धु, अमारिन्दर सिंह राजा र अकाली दलका दलजित सिंह चिमाले मुख्यमन्त्रीको भ्रमणको चर्को आलोचना गरेका छन् । 

‘पछिल्लो एक महिनामा आम आदमी पार्टी नेतृत्वको सरकार रहेको पंजाबका १४ जना किसानहरूले आत्महत्या गरेका छन् । १४ जना किसानहरूमध्ये तपाईंले कति जनालाई भेट गर्नुभयो ? तपाईं बारम्बार दिल्ली जानुहुन्छ ’, अमारिन्दर सिंह राजाले लेखेका छन्, ‘आशा गरौँ, तपाईंले दिल्लीको असफल कोभिड फाइटिङ मोडल यहाँ ल्याउनुहुन्न ? के सरकार दिल्लीबाट ५ वर्ष चल्छ ?’

आफ्ना वरिष्ठ अधिकारीहरूसँगै मुख्यमन्त्री मान ‘दिल्ली मोडेल’ सिक्न र पंजाबमा यसलाई दोहोर्‍याउन सोमबार राष्ट्रिय राजधानीमा स्वास्थ्य संस्थान र विद्यालयहरूको भ्रमण गर्ने बताइएको छ । आम आदमीले पंजाबको सत्तामा आउनुअघि राज्यका स्कुल र अस्पतालहरूको अवस्था सुधार गर्ने वाचा गरेको थियो ।
दिल्ली सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुख्यमन्त्री अरविन्द केजरीवाल र मानले पंजाबमा ‘दिल्ली मोडेल’लाई कसरी अनुकूलन गर्न सकिन्छ भनेर बुझ्न उनीहरूको टोलीसहित सरकारी विद्यालय, अस्पताल र क्लिनिकहरूको भ्रमण गर्नेछन् ।’