२ लिग लिडर रियल र सिटी भिड्दै

२ लिग लिडर रियल र सिटी भिड्दै

एजेन्सी  |  खेलकुद  |  बैशाख १३, २०७९

यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सेमिफाइनलको पहिलो लेगमा म्यानचेष्टर सिटी र रियल मड्रिडबीच प्रतिस्पर्धा हुँदै छ । प्रतिस्पर्धा यो हिसाबमा पनि हुनेछ कि सिटी संसारमा सबैभन्दा बढी रुचाइने र हेरिने इंग्लिस प्रिमियर लिगको शीर्षस्थानको टोली हो । 

अर्काे टोली रह्यो रियल, जुन स्पेनिस ला लिगमा उपाधि जित्न मात्र एक अंकको खोजीमा छ । ऊसँग अझै ५ खेल बाँकी छन् । दुवै टोली २ लिगमा शीर्षस्थानमा छन् ।  

यस अर्थमा पनि यो खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । खेल नेपाली समयअनुसार आज (मंगलबार) मध्यराति पौने १ बजे सिटीको घरेलु मैदान इतिहादमा हुनेछ । 

दोस्रो लेग रियलको घरेलु मैदानमा ४ मेमा आयोजना हुनेछ । यसपछिको फाइनल खेल भने अर्काे महिना फ्रान्स राजधानी पेरिसमा हुनेछ । 

पहिलो लेगअघि सिटीका प्रशिक्षक पेप ग्वार्डिओला  र रियलका प्रशिक्षक कार्लाे एन्सेलोटी दुवै आ-आफ्नो बलियो ११ लाई मैदान प्रवेश गराउनेछन् र फाइनल नजिक पुग्ने योजनामा छन् । 

केभिन डे ब्रुयन, बर्नाण्डो सिल्भा, फिल फोडेन, रियाद मेहरेज, रहिम स्टर्लिङ, रोड्री, केली वाल्कर, गाब्रियल जेसुस गोलरक्षक इडर्सन रियलका लागि घातक हुन सक्छन् । 

यता, रियलले पछिल्लो समय उच्च लयमा रहेका फरवार्ड तथा कप्तान करिम बेन्जेमालाई मुख्य हतियार बनाउनेछ । अन्तिम ८ को खेलमा उनले पेरिस सेन्ड जर्मेन (पीएसजी)विरुद्ध ह्याट्रिक गरेका थिए । 

उनको साथमा भिनिसिअस जुनिअर, कासेमिर, लुका मोड्रिक, डेभिड अलबा जस्ता खेलाडी छन् र उनीहरूले सिटीलाई घरेलु मैदानमा दबाब सिर्जना गर्न सक्छन् ।