राजनीतिको दूषित भेल: भेलमा पसेर सफा गर्ने कि खोलाको तीरमा नाक थुनेर गाली गर्ने ?

राजनीतिको दूषित भेल: भेलमा पसेर सफा गर्ने कि खोलाको तीरमा नाक थुनेर गाली गर्ने ?

रूपक अलङ्कार  |  दृष्टिकोण  |  बैशाख १४, २०७९

देशमा चुनावको माहोल सुरु भएको छ । राता, हरिया र पहेँला झण्डाले गाउँ, शहर मात्र नभएर पाखा पखेरासमेत रंगीन भएका छन् । भूगोल नै रंगीन भएपछि समाज र समाजका मानिसहरू नरंगिने कुरै भएन । मानिस सामाजिक प्राणी त हुँदै हो साथै राजनीतिक प्राणी पनि हो । 

अहिलेको समय राजनीतिबाट निर्देशित छ । सम्पत्ति र शक्तिको संचय राजनीतिमा भएका कारण राजनीति नै बलवान् हुनु स्वाभाविक कुरा हुन्छ । त्यसैले राजनीतिक दलका नेताहरूसित शक्ति संचय भएको छ ।

सार्वभौम सम्पन्न नेपाली जनता भन्दाभन्दै पनि शासन र शक्तिको बागडोर भने दलीय नेतृत्वमा नै जम्मा भएको छ । त्यही भएर यतिबेला मानिसको चासो, चिन्ता र चाकरी राजनीतिका शक्तिकेन्द्र तथा उपकेन्द्रतिर सोझिएका छन् ।

राजनीतिको दुर्गण भनेको राम्रो म, ठूलो म, उत्कृष्ट म, सर्वमान्य म (मत्तः परतरं नान्यत्) भन्ने भावनाको लागु पदार्थमा झुम्नु हो । यसरी झुमेपछि आगेपिछे, उपर निचे केही पनि देँखिदैन ।

यसरी सत्या सत्यको छ्यान विचार गर्न नसकेर मनोलोकमा विचरण गर्दा आउने मजा चिताई नसक्नुको हुन्छ । सत्तामा पुगेपछि अब फर्किनुपर्दैन र सत्ताबाट झरेपछि होसहवास गुम भएजस्तो हुनु पनि राजनीतिकै विशेषता हो ।

हाम्रो जस्तो मुलुकमा राजनीतिको गति अत्यन्त तीब्र छ । कुनबेला के हुन्छ भनेर सोच्दासोच्दै केही भइसकेको हुन्छ । बहुमत त के दुई तिहाइ बहुमत ल्याएर पनि पूरै अवधि सत्ता सम्हाल्न नसक्ने प्रभावशाली नेता पनि हाम्रै देशमा छन् भने चुनावमा हारेर सरकारको नेतृत्वमा ढुक्कले विराजमान हुने प्रतिभाशाली नेता पनि यहीँ छन् ।

आफैँले बारबार नेतृत्व गरेर महत्त्वपूर्ण पार्टी बनाइसकेपछि आफ्ना विचार र कार्यक्रम लागु गरेर र्काे चुनावका लागि जित सुनिश्चि गर्नुपर्नेमा पार्टी नै फुटाएर देश निर्माण गर्ने विकासवादी नेता पनि यहीँ छन् । क्रान्तिकारी विचार र रणनीतिमार्फत युग परिवर्त गर्ने ल्याकत भएका तर आफैँलाई परिवर्तन गर्ने हैसियत नभएका र आफ्ना  असन्तुष्ट सहयात्रीलाई पाखा लगाउँदै पार्टी बचाउन दशकौँ नेतृत्वमा रमाउने क्रान्तिकारी नेताको पनि हामीसित खाँचो छैन ।

यस्तै विशेषण खोज्दै जाने हो भने नेपालका राजनीतिक दलका नेताहरूको अनुहार खासै सफा देखिँदैन । अहिले हुने चुनावले पनि सफा अनुहार खोज्न सक्दैन । अलिक बढी सफा अनुहार आए भने त्यो नै हाम्रो सफलता हो । 

‘म आफ्नो घरको राजा झुपडी नै भए पनि’ भन्ने देवकोटाको कवितालाई दुरूपयोग गरिएको छ । उत्पादक भन्दा बिचौलियालाई शक्तिशाली बनाएको रहेछ नयाँ नेपालको नयाँ संविधानले जुन कुरा हिजोभन्दा आज बढी महसुुस भइरहेको छ । 

जनताको भोटले मात्र यो देशमा सरकार बन्दैन र बने पनि टिक्दैन भन्ने कुरा थाहा पाउन धेरै पुरानो इतिहास निफन्न पर्दैन । जनताको भोटले सरकार बन्लान् तर सरकार जोगाउने शक्ति यो देशमा छैन ।

बीपी पनि जनताको भोटले प्रधानमन्त्री बनेका थिए । मनमोहन जनताको भोटले प्रधानमन्त्री बनेका थिए । प्रचण्ड पनि पहिलो पटक जनताकै भोटले प्रधानमन्त्री बनेका हुन् । तर, उनीहरूको सरकार जनताले आफूले दिएको भोट फिर्ता मागेकाले ढलेको भने अवश्य पनि होइन । प्राविधिक रूपमा त्यस्तो देखिए तापनि सत्य त्यो होइन । सत्य हामी सोझासाझा जनतासम्म आई नै पुग्दैन । आइपुग्ने हो भने एक पटक निर्वाचित उमेदवारमा अर्काे पटक जित्नुपर्ने कारण बाँकी रहँदैन ।

यसै पनि बहुदलीय राजनीतिक प्रणाली त्यति न्यामूलक छैन । एकातिर 'ज्यादा जोगी से मठ उजाड' भन्ने उखानलाई यसले चरितार्थ बनाउँछ भने अर्कातिर बहुसंख्यक जनतामाथि अल्पसंख्यकले राज गर्छन् । बहुमत ल्याउने दल वा व्यक्ति प्रथम भनिरहँदा बहुमत नल्याउने धेरै दल वा व्यक्ति बाहिर रहने सम्भावना रहिरहँदो रहेछ ।

राजनीतिक वा वैचारिक स्वतन्त्रताका नाममा अनेकौँ दलको बाढी जनताले थेग्नुपरेको छ । धेरै राम्राबाट एउटा राम्रो छान्न पाएको भए त ठिकै थियो तर धेरै नराम्राबाट एउटा नराम्रो छान्नुपरेको छ । जनता तनावग्रस्त छन् । २ वटा मात्र दल हुँदा हुन् त कति मजा हुन्थ्यो होला । त्यसो भन्ने मान्छेलाई अहिले मगज बिग्रेको पनि भन्न सक्लान् तर २ दलीय प्रतिस्पर्धाको सुरुवात भएका दिन नेपालको राजनीति स्थिर पनि हुन्छ र शक्तिशाली पनि हुन्छ ।

राजनीतिक संगठनका आधारमा हेर्ने हो भने नेपाल अहिले पनि भुरेटाकुरे, बाइसेचौबीसे राज्यमा विभाजित छ । सय जना समर्थक पनि नभएका मानिस दलका नेता भएर हिँडेका छन् । दल दर्ता गराएर खल्तीमा बोकेर हिँड्ने पनि यहीँ छन् । माफिया गिरीका लागि सबैभन्दा मलिलो माटो नै राजनीति भएको छ, जसका लागि पार्टी ने बेचिएका घटना पनि छन् । ठूलो दलको दोस्रो तेस्रो वा त्यस्तै वरीयताको नेता बन्नुभन्दा नयाँ दल खोलेर राजनीतिक भागबण्डामा हलो अड्काउन सजिलो भएको छ ।

‘म आफ्नो घरको राजा झुपडी नै भए पनि’ भन्ने देवकोटाको कवितालाई दुरूपयोग गरिएको छ । उत्पादक भन्दा बिचौलियालाई शक्तिशाली बनाएको रहेछ नयाँ नेपालको नयाँ संविधानले जुन कुरा हिजोभन्दा आज बढी महसुुस भइरहेको छ । 

सत्ता प्राप्तिका लागि जस्तोसुकै सम्झौता पनि गर्ने, पूर्वपश्चिम मुख फर्किएका दलसित पनि गठबन्धन गर्ने, रूपरङ र छेकछन्द नमिल्ने समूहसित पनि एकता गर्ने । जब सत्ताको सुराकमा छिरिन्छ अनि आफ्नो आफ्नो बाटो लाग्ने दुर्वृत्तिले लोकतान्त्रिक मुलुकको राजनीतिलाई गाँजेको छ । राजनीति र बेइमानी एकै सिक्काका २ पाटा बनाइएको छ । 

राजनीति यति दूषित भेल भएको छ, जानेर बीचमा मिसिनुभयो भने पनि तपाईँ यसै प्रदूषित बन्नुहुनेछ । चोखिनलाई छेउमा उभिनुभयो भने पनि सकेसम्म त भेलले तपाईंलाई मझधारतिरै तान्छ नताने धोबी खोलाको तीरमा उभिएर नाक थुनेर खोलालाई गाली गर्ने बनाउँछ । यो भेलमै पसेर भेललाई सफा गर्ने मानिसको खोजी नै चुनावको प्राथमिकता हुनुपर्छ ।