निल्नु न ओकल्नु : बेमौसममा चलेको केशव स्थापितको 'थुतुनो' !

निल्नु न ओकल्नु : बेमौसममा चलेको केशव स्थापितको 'थुतुनो' !

अनुरोध शर्मा  |  दृष्टिकोण  |  बैशाख १६, २०७९

नेपाली समाजमा एउटा आहान प्रचलनमा छ- थुतुनु र ....नो जथाभावी नचलाउनु ।

थुतुनु भनेको मुख अथवा बोली हो, ....नो भनेको जननेन्द्रिय अथवा सिधा भन्दा लिंग । यी २ चिजलाई नियन्त्रण र वशमा राख्न सकिएन भने इज्जत र धन दुवैमा क्षति पुग्छ ।

यसै कारण माथिको आहान जन्मिएको हो ।

मुख खानका लागि मात्र होइन, आवाज वा बोली पनि मुखबवटै निस्कन्छ । सम्वाद र सम्पर्कको आधार मुख र त्यसबाट निस्कने बोली नै हो । र, मान्छेको बोलीमा उसको आचरण, चरित्र र व्यवहार झल्किन्छ पनि भनिन्छ । यसर्थ, मीठो, नम्र, भद्र र शान्त बोल्ने मान्छे धेरैको प्यारो पनि हुन्छ ।

रूखो, कर्कश, दुर्वाच्य बोल्नेलाई धेरैले मन पराउँदैनन्, भलै ऊ जतिसुकै इमान्दार होस् व्यवहारमा ।

यसको मतलब- व्यक्तिको बोलीवचन उसको आवरणको सौन्दर्य जस्तै हो, जसले उसको बाहिरी व्यक्तित्वलाई उजिल्याएर भित्री सौन्दर्यको भ्रममा राखिरहन सक्छ ।

मीठो बोलेरै मानिसको मन र मत जित्नेहरू समाजमा धेरै छन् । कसैको मधुर बोलीमा लट्ठिनेहरू अहिले पनि प्रशस्त छन् हाम्रो वरिपरि ।

यो सन्दर्भ अहिले खुब चर्चामा रहेको राजनीतिक माहोलमा मिल्न जान्छ । विशेषगरी काठमाडौंका प्रमुखका प्रत्यासी केशव स्थापितको पछिल्ला केही वर्ष यताकै बोलीवचनसँग माथिको सन्दर्भ जोड्नु उपयुक्त देखिन्छ ।

केशव स्थापितबारे अनेक 'र्‍युमर' त छँदै छन्, उनका बाहिरै देखिने/देखिइरहेका बोली र व्यवहार पनि कम चर्चाका विषय बनिरहेका छैनन् ।

भर्खर मात्र स्थापितको 'थुतुनु' अनावश्यक ठाउँ र सन्दर्भमा 'चम्किएको' छ । केही दिनमै सम्पन्न हुने स्थानीय निर्वाचनमा महानगर प्रमुखका पुन: उम्मेदवार बनेका स्थापितले सार्वजनिक रूपमै एक महिलालाई जिज्ञासा राख्ने क्रममा उनी सुन्दर रहेकी तर 'थुतुनु' ठीक नभएको भनेर 'ह्युमिलिएट' गर्दै अपमान गरे ।

कुनै समय नेकपा एमालेका 'आर्थिक पिल्लर' भनेर चिनिएका स्थापित राजधानी काठमाडौंका धनाढ्य हुन् । एमालेका 'दु:खका दिन'मा राम्रै आर्थिक भरथेग गरेका भनिएका स्थापितलाई २०५४ सालको स्थानीय निर्वाचनमा काठमाडौंको प्रमुख बनाएर 'गुन' तिरेको थियो । पछि राजा ज्ञानेन्द्रले पनि उनै स्थापितलाई टीका लगाइदिए काठमाडौं प्रमुखमा ।

पक्कै हो- स्थापितले त्यस समय काठमाडौंको विकास र व्यवस्थापनका लागि केही उल्लेख्य काम गरे । तथापि, उनको महत्त्वकांक्षी स्वभाव र 'ल्याङ्फ्याङे' तालले उनको छवि क्रमशः धमिलो बन्दै गयो । हक्की र विद्रोही स्वभावको जथाभावी प्रदर्शनले उनलाई कमजोर बनाउँदै लग्यो ।

अस्थिर तर उत्तेजक वृत्तिका कारण आम जनको विश्वास गुमाउँदै गए स्थापित । विगतमा महानगर प्रमुख हुँदा उनले गरेका राम्रा कामका लागि आजसम्म उनै केशव स्थापितलाई महानगरबासीले  सम्झिरहन्छन् पनि । तर, पछिल्लो समय केशव माथि भनिए झैँ 'थुतुनु' र '‍‍....नो ' दुवै काण्डबाट बदनाम भए/भइरहेका छन् ।

विगतमा आफू महानगर प्रमुख हुँदा एक महिला कर्मचारीमाथि 'यौन दुर्व्यवहार' गरेको आरोप आजसम्म बल्झिरहेको छ । भलै, उक्त आरोप आरोपमै सीमित छ- अदालत पुगेको छैन ।

यसैबीच भर्खर मात्र स्थापितको 'थुतुनु' अनावश्यक ठाउँ र सन्दर्भमा 'चम्किएको' छ । केही दिनमै सम्पन्न हुने स्थानीय निर्वाचनमा महानगर प्रमुखका पुन: उम्मेदवार बनेका स्थापितले सार्वजनिक रूपमै एक महिलालाई जिज्ञासा राख्ने क्रममा उनी सुन्दर रहेकी तर 'थुतुनु' ठीक नभएको भनेर 'ह्युमिलिएट' गर्दै अपमान गरे ।

उक्त घटनाले स्थापित प्रतिको 'आम नजरिया' पुन: बदलियो । पुरानै राजनीतिक घरानाको विरासत बोकेकी सापेक्षमा राम्रै प्रतिस्पर्धी सिर्जना सिंहसँग खास प्रतिस्पर्धा गर्नुपर्नेछ स्थापितले यस पटक । सिंह पनि काठमाडौंकी 'लोकल' हुन् र गणेशमान सिंहको तथा बहुदलपछि काठमाडौं महानगरका पहिलो प्रमुख पीएल सिंहको परिवारकी सदस्य, वर्तमान कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहकी श्रीमती पनि हुन् ।

यसर्थ, राजनीतिक संलग्नता र सक्रियताका हिसाबले उति सशक्त नभए पनि अन्य आधारमा सिर्जना केशवका लागि सबल प्रतिस्पर्धी नै मानिन्छिन् । यस्तो बेला बढी संयम, जिम्मेवार र शान्त रहेर काठमाडौं बासीको मन र मत जित्नुपर्ने स्थापित सनकी र उत्तेजक कुरा गरेर किन आफैँलाई भड्खालोमा जाक्दै छन् ? यो बुझी नसक्नु छ ।

उसो त, स्थापितको विगतलाई यसबेला सामाजिक संजालमा यसरी उचालिँदै छ, यसले पनि उनलाई अप्ठ्यारोमा त पार्छ नै ।

केशव स्थापितका गुणहरू:

१. सांसदहरूलाई अपहरण गरी होटलहोटलका  कोठाकोठामा मदिरा र यौनकर्मीहरू पुर्‍याएको आफैँले खुल्ल मखुला भन्दै हिँड्न सक्ने ।

२. सुन तस्करीहरूसँग साँठगाँठ गरी बामदेव (तत्कालीन गृहमन्त्री)कहाँ पैसा पुर्‍याएको आफैँ भन्दै हिँड्न सक्ने ।

३. प्रकाश टिबडेवालसँगको मिलोमतोमा देशकै ठूलो एलसी काण्ड गरेर रेकर्ड राख्न सक्ने ।

४. मेयर हुँदा कामनपाको सबै जग्गा र सम्पत्ति कमिसन खाएर गन्द्रुकको भाउमा बेच्न (५० वर्ष लिजमा) सक्ने ।

५. नेपाली नारीको अस्मितामा बारम्बार अपमान (राष्ट्रपति विद्या भण्डारीसहित अहिले भावना रावतसम्म) गरिरहन सक्ने ।

६. खुल्लमखुला यौनहिंसा गर्न र अश्लील शब्द बोल्न नहिच्काउने ।

७.  बाँकी उहाँका गुणहरू तपाईंहरुलाई जानकारी भए शेयर गर्दै थप्दै जानुस्, भोट बढाउन मद्दत गर्दै जानुस् अनि काठमाडौं महानगरपालिकाको मेयर बनाउनुस् ।