काठमाडौँका मतदाताको 'धर्मसंकट' : स्वतन्त्र मत परीक्षित 'गफास्टक'लाई कि शालीनलाई ?

काठमाडौँका मतदाताको 'धर्मसंकट' : स्वतन्त्र मत परीक्षित 'गफास्टक'लाई कि शालीनलाई ?

ज्ञानमित्र  |  दृष्टिकोण  |  बैशाख १९, २०७९

मतदाताका  निम्ति स्थानीय निर्वाचन बडो धर्म संकटको विषय हुन्छ । दलीय दलदलमा फसेका  प्राणीहरूका लागि विवेक र प्रज्ञाको कुनै महत्त्व हुँदैन । दलले जहाँ निर्देशन दिन्छ, उसले त्यहीँ छाप लाउने काम गरेर आफ्नो विश्वास प्रदर्शन गर्छ ।  चितवन, काठमाडौं मात्र होइन, जहाँजहाँ गठबन्धन अन्तर्गत चुनाव हुन गइरहेको छ, त्यहाँका मतदाताले पार्टीको निर्देशन बमोजिम चुनाव चिह्नलाई सदर गर्नुपर्ने हुन्छ ।

देशभर २-४-८-१० प्रतिशत भए पनि यस्ता मतदाता होलान्, जसका लागि स्थानीय निर्वाचन दलगत राजनीतिभन्दा व्यक्तिको इमान्दारी, कार्यशैली, उसको क्षमता एवं स्थानीय समस्या निराकरण हेतु उम्मेदवारको उद्यमशीलताको अर्थ राख्छ । यस्ता मतदाताका लागि स्थानीय निर्वाचन जटिल समस्या भएर आउँछ ।

नामांकनको दोस्रो दिन बेलुका फोन बज्छ- 'म वडाको अध्यक्ष पदमा उठेको छु, भोट हाल्न आउनुहुन्छ, होइन ?'

यस सोधाइको अर्थ के हो भने, म काठमाडौं महानगरपालिकाको जुन वडामा मतदाता छु, अहिले म त्यहाँ बस्दिनँ । केहीबेरमै अर्को साथीको फोन आयो, 'हाम्रो साथी यस पटक वडा अध्यक्षमा उठेको छ, तपाईंलाई थाहा छ, ऊ बडो सामाजिक र धार्मिक प्रवृत्तिको मानिस हो, तपाईंले सहयोग गर्न आउनुपर्‍यो ।'

निश्चय पनि फोनमा भएको कुरा ठीक थियो, दुवै प्रत्याशी मेरा परिचित एवं स्वच्छ छविका हुन् भन्नमा किञ्चित पनि सन्देह  छैन । एमाले र कांग्रेसका यी दुवै प्रत्याशी वडाका लागि योग्य हुन् ।  यी २ मध्ये कुन एउटालाई भोट दिने भन्ने दुविधामा थिएँ, फेरि फोन आयो- 'साथी मलाई पार्टीले मेयरको सिफारिस गरेको थियो तर गठबन्धनका कारण मेयर कांग्रेसको खातामा गयो । वडामा यस पटक हाम्रो मिलनसार साथी उठेको छ ।'

'म जिल्ला समन्वय समितिमा जान वडा सदस्यमा उठेको छु, अन्य वडा सदस्य पनि तपाईंका साथीभाइ नै हुन् । तपाईंसँग मैले भोट मागी राख्नु नपर्ला ।' नि:सन्देह माओवादी कित्ताबाट आएको यो फोन यस्तो साथीको थियो, जसका साथ २-४ दिन नर्कमा पनि बस्न सकिन्छ ।

मलाई मात्र होइन, यस्तो नैतिक र धर्म संकट धेरै जनालाई परेको होला, स्थानीय निर्वाचन हो नै यस्तो कुरा ।

नामांकन हुने पूर्वसन्ध्यामा मैले एउटा फेसबुक पोस्ट अपडेट गरेको थिएँ- 'काठमाडौं महानगरपालिकाका लागि मेयर प्रत्याशी घोषणा गरेका छन् पार्टीहरूले ।चर्चामा रहेका २ जना प्रत्याशीमध्ये कांग्रेस नेता प्रकाशमान-पत्नी सिर्जना सिंह कांग्रेसलगायत अन्य दलीय गठबन्धनको रोजाइ एवं केशव स्थापित एमाले नेता ओलीको छनोटमा परेका छन् ।

महानगरवासीलाई जति निराशा भए पनि यी २ मध्ये एक जनालाई रोज्ने बाध्यता हुन्छ ।तपाईं कसलाई रोज्नुहुन्छ, तपाईंको खुसी एवं स्वतन्त्रता । तर, म भने यी २ मध्ये जसले काठमाडौंको फोहोरबाट विद्युत् उत्पादन गर्ने संयन्त्र स्थापना गर्ने प्रतिबद्धता प्रकट गर्छ, उसलाई भोट दिने सोचमा छु । कोइला जस्तै शहरबाट निस्किने फोहोर बालेर विद्युत् उत्पादन गर्न सकिन्छ ।

यस सम्बन्धमा कसैलाई सामान्य जानकारी आवश्यक हुन्छ भने गुगल गरेर अथवा मेरो सेवा लिन सकिन्छ ।

अहिलेसम्म निराशाकै वातावरण छ । कुनै पनि मेयर पदका उम्मेदवारले यस्तो कुनै प्रकारको योजना सार्वजनिक गर्न सकेका छैनन् ।

समीक्षा बाँस्कोटाले दर्शनाझैँ ११ दशमलब ८८ प्रतिशत मत ल्याउँदिनन् । गत निर्वाचनमा रञ्जु र किशोरले पाएको मत परिवर्तन र ठीक ठाउँमा ठीक मानिस चाहने मतदाताको मत थियो । यो मत आफूतिर तान्नमा सिर्जना सिंहभन्दा केशव स्थापित सक्षम छन् । उनको विगतको 'परफर्मेन्स'ले उनलाई उपरोक्त मतदाताले रोज्ने बढी संभावना छ ।

गफ दिनलाई उम्मेदवारले मेट्रो रेल चलाउनेसम्मका कुरा गर्छन् । कुनै पनि उम्मेदवारले शहरमा मेट्रो रेल बनाउन प्रतिकिलोमिटर कति खर्च लाग्छ, त्यसको 'इस्टिमेट'बारे स्वप्नमा पनि केही झल्को पाएको होला जस्तो लाग्दैन । कसैको राष्ट्रियतालाई ठेस पुग्दैन भने अग्रिम क्षमायाचनाका साथ लेख्छु- कुनै महानगरपालिकाका लागि मात्र होइन, आफ्नै क्षमताले नेपाल सरकारले पनि यो स्वप्न पूरा गर्न सक्दैन । काठमाडौंमा मेट्रो बनाउन घटीमा प्रतिकिलोमिटर खर्च ३०-३२ करोड डलर पर्न जान्छ । कुनै रुटमा १२-१५ किलोमिटर मेट्रो बनाउन नै ४८० करोड डलर व्यय हुन जान्छ ।  

मेट्रोसिटीको फोहोरबाट विद्युत् उत्पादन हुन्छ । भारत-चीनलगायत अधिकांश देशले शहरको फोहोर बालेर बिजुली बनाइरहेका छन् । सरदर ३०० मेट्रिक टन फोहोरबाट ५ मेगावाट बिजुली उत्पादन हुन्छ । काठमाडौं तथा वरिपरिका स्थानबाट निस्कने दैनिक झन्डै  एक हजार टन फोहोरबाट १५-१७ मेगावाट बिजुली उत्पादन हुन्छ । यसले फोहोरको समस्या सधैँका लागि समाधान हुन्छ । गत ३० वर्षदेखि रहेको फोहोर र डम्पिङ साइटको समस्या सधैँका लागि हल हुन्छ ।

वडामा मैले एमाले-कांग्रेस-माओवादी जुनसुकै साथीलाई पनि भोट दिन सक्छु । सबै युवा छन्, इनर्जेटिक छन्, इमानदार छन्, सामाजिक छन् । तर, मेयरका लागि म कसलाई भोट दिऊँ ? मलाई मात्र होइन, सबैलाई अवगत नै छ मेयरमा कांग्रेस अथवा एमाले उम्मेदवारले नै विजय हासिल गर्छन् । स्वतन्त्र उम्मेदवार र राप्रपामध्ये तेस्रो को हुने नै प्रतिस्पर्धा हुन्छ ।

गठबन्धनका उम्मेदवार सिर्जना सिंह विद्यार्थीकालमा राजनीतिमा सक्रिय रहे पनि २०४२ सालमा बिहे भए उपरान्त उनी विशुद्ध  'हाउस वाइफ' रही आएकी छन् । उनको राजनीतिक पृष्ठभूमिको चर्चा गर्नेले यति मात्र जबाफ दिऊँ न,  के नेता प्रकाशमानकी पत्नी नभएकी भए कांग्रेसले उनलाई टिकट दिने थियो ? उनी वंश परम्परा, परिवारवादको घृणित प्रचलनबाहेक के नै हुन् कि अहिले आएर उनी मेयरको उम्मेदवार भएकी छन् ?

सिर्जना सिंहसँग आफ्नो व्यक्तिगत के नै आभामण्डल छ, जसका कारण उनलाई कांग्रेसले उम्मेदवार बनाएको हो ? चाहे सुजाता कोइराला हुन्,  चाहे  आरजू देउवा हुन्, रेणु दहाल हुन् अथवा यसबाहेकका अन्य नेता पुत्र-पुत्री,  श्रीमती-साली हुन्, राजनीतिमा यी आफ्नो क्षमता र सामर्थ्यले होइन, परिवारवादको बुइ चढेर आएका हुन् । अर्को चुनावमा हेर्नुहोला प्रकाशमानका पुत्रसमेत अन्य कतिपय नेता गणका परिवार सदस्य देशको कल्याण गर्न अग्रसर हुन्छन् ।

एमालेले केशव स्थापितलाई प्रत्याशी नबनाएको भए सिर्जना सिंहको जित पक्का नै थियो । सिर्जना सिंहले हार्छिन् भनेको होइन, प्रतिस्पर्धा हुने भयो । २०५४ सालमा केशवले मेयर भएर 'पपुलारिटी' कमाएका हुन् भन्नेमा कसैलाई पनि आपत्ति नहोला तर यो अढाइ दशक भइसक्यो ।  

गत १५-१६ वर्षमा प्रचण्ड र बाबुरामको 'पपुलारिटीको ग्राफ' त कहाँदेखि कहाँसम्म पुगिसक्यो, केशव स्थापितको पुरानो ग्राफले काम गर्ला भन्नु अतिशयोक्ति नै हुन्छ । हो, निश्चय पनि मेयरका लागि केशव स्थापित सिर्जनाभन्दा उपयुक्त पात्र हुन् तर राजनीतिक रूपमा गठबन्धनका कारण सिर्जना सशक्त नै छन् । कोइराला खेमा र बानेश्वरले सिर्जनालाई घात गर्ने बलियो संभावना त्यतिकै  छ, यसका यथेष्ट कारणहरू छन् ।बानेश्वरबासीका लागि परिवारवाद नै प्रमुख रोइलो छ भने कोइराला खेमाका सबै कारण छर्लंग  नै छन् ।

स्वतन्त्र बालेन शाहले जति धेरै भोट प्राप्त गर्ने हुन्, सिर्जनाको जित त्यति नै टाढा हुन्छ ।  कथं कदाचित उनले गत निर्वाचनका उम्मेदवारद्वय रञ्जु दर्शना (२३,४३९ ), किशोर थापा (१८,४९६) झैँ मत ल्याए भने केशव स्थापितलाई चिठ्ठा नपर्ला भन्न सकिँदैन । गत निर्वाचनमा कांग्रेसका राजुराज जोशीले खसेको मतको २२ दशमलब ९५  प्रतिशत, माओवादीका सर्वोत्तम डंगोलले ४ दशमलब ०१ प्रतिशत र नयाँ शक्तिका पवित्रा बज्राचार्य ले ३ दशमलब ०७ प्रतिशत मत पाएका थिए ।

अहिले गठबन्धनमा यी सबैको मत जोड्दा ३० दशमलब ०३ प्रतिशत हुन्छ, जुन एमालेका विद्यासुन्दरले पाएको ३२ दशमलब ९१ भन्दा कम नै रहन्छ । माधव नेपालको नेकपा एसले एमालेको कति प्रतिशत भोट लगेर गठबन्धनमा थप्ने हो, त्यो भने सिर्जनाका लागि राहतको कुरा हुन्छ । २-३ प्रतिशत भोट पनि समाजवादीले लैजान सक्यो भने केशव र सिर्जना बराबरी हुन पुग्छन्।

तर तर तर रञ्जु दर्शनाले ल्याएको ११ दशमलब ८८ प्रतिशत र किशोर थापाले ल्याएको ९ दशमलब ३८ प्रतिशत मत कुल २१ दशमलब २६ प्रतिशत मतमध्ये कसले बढी तान्न सक्छ, जित त्यसै पक्षको हुन्छ भन्नेमा किंचित संदेह छैन । गत निर्वाचनमा कुल खसेको १ लाख ९७ हजार २२७ मतमध्ये १५ दशमलब १८ प्रतिशत मत अर्थात् २९ हजार ९४१ मत बदर भएको थियो । यस पटक गठबन्धनका कारण यस प्रतिशतमा झनै वृद्धि हुने संभावना छ । यस पटकका स्वतन्त्र उम्मेदवार बालेन शाहले किशोर थापाझैँ ९ दशमलब ३८ प्रतिशत मत  ल्याउँदैनन् । 

समीक्षा बाँस्कोटाले दर्शनाझैँ ११ दशमलब ८८ प्रतिशत मत ल्याउँदिनन् । गत निर्वाचनमा रञ्जु र किशोरले पाएको मत परिवर्तन र ठीक ठाउँमा ठीक मानिस चाहने मतदाताको मत थियो । यो मत आफूतिर तान्नमा सिर्जना सिंहभन्दा केशव स्थापित सक्षम छन् । उनको विगतको 'परफर्मेन्स'ले उनलाई उपरोक्त मतदाताले रोज्ने बढी संभावना छ ।

यस पटक काठमाडौं महानगरपालिका जित्ने  उम्मेदवारले झन्डै ३८ प्रतिशत मत ल्याउनुपर्ने देखिन्छ । प्रतिस्पर्धा सिर्जना सिंह र केशवबीच नै छ । केशवको पक्षमा उनका लहडी, स्वप्नद्रष्टा, गफास्टक, डिसिजनमेकर, प्लानिङ र विकासबारे स्पष्ट भिजन र कार्यसंपादन क्षमता मतदाता आकर्षित गर्ने ब्रह्मास्त्र छन् भने सिर्जनाको पक्षमा गठबन्धनको उम्मेदवार हुनुबाहेक केही पनि छैन ।

सायद गठबन्धन नभएको भए उनी चुनावमा होमिने पनि थिइनन् । गठबन्धनबाहेकको स्वतन्त्र मत सिर्जनाले कसरी आकर्षित गर्ने हुन्, यो नै उनका लागि सबैभन्दा ठूलो चुनौती हो । उनले यस चुनौतीलाई चिर्न सके काउन्टिङका दिन प्रतिस्पर्धामा रहन्छिन् ।