युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्युः राष्ट्रसंघ

युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्युः राष्ट्रसंघ

एजेन्सी  |  विदेश  |  बैशाख २०, २०७९

संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर)ले २४ फेब्रुअरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युद्धमा ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरको भनाइ छ । युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने ओएचसीएचआरले जनाएको छ । 

अधिकांश पीडितहरू क्षेप्यास्त्र आक्रमण र हवाई हमलाहरू जस्ता विस्फोटक हतियारहरूबाट मारिएका जनाइएको छ । रुसले युक्रेनमा आफ्नो कार्यलाई युक्रेनलाई निशस्त्रीकरण गर्न र फासीवादीहरूबाट जोगाउनको लागि 'विशेष कारबाही' भनेको छ, जसलाई युक्रेन र पश्चिमाहरूले निराधार भनेका छन् । 

युद्ध अन्त्यका लागि दुवै पक्षबीच पटकपटक भएका वार्ता बिनानिष्कर्ष टुंगिएका छन् । युक्रेनले २ देशका राष्ट्रपति तहमा वार्ता हुनुपर्ने बताउँदै आएको छ । रुसले वार्ता र आक्रमण सँगसँगै गर्ने रणनीति लिएको पाइन्छ । एक साताअघि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले तेस्रो चरणको युद्धको संकेत गरेका थिए ।

युक्रेन युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताउँदै आएको रुसले पछिल्लो समयमा पूर्वी युक्रेनमा आक्रमण गरेको छ ।