रुस-युक्रेन युद्धले अफ्रिकामा संकट

रुस-युक्रेन युद्धले अफ्रिकामा संकट

एजेन्सी  |  विदेश  |  बैशाख २०, २०७९

रुस-युक्रेन युद्धका कारण अफ्रिकाका देशहरूमा आर्थिक तथा खाद्यान्न संकट देखापरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सो कुरा बताएका हुन् । उनले भनेका छन्, 'युक्रेनमा पछिल्ला दिनहरूमा बढ्दै गएको द्वन्द्वका कारण अफ्रिकामा आर्थिकलगायतको समस्या परेको छ ।'

उनले युक्रेनमा रुसले गरेको हमलापछि बढेको द्वन्द्वका कारण अफ्रिकी देशहरूमा खाद्यान्न, ऊर्जा र आर्थिक संकट परेको उल्लेख गरेका समाचारमा जनाइएको छ । महासचिव गुटेरेसले पछिल्लो समय यस्तो संकट झनै बढ्दै गएको भन्दै यसलाई कम गर्नका लागि विश्वका दाता देशहरू, अन्तर्राष्ट्रिय संस्थाहरूलाई पनि आग्रह गरे ।

उनले यस्तो संकटको अवस्थामा कमी ल्याउन युक्रेन सहयोग समूह नै स्थापना भएको र यसमार्फत पनि के कसो गर्न सकिन्छ भनेर तयारी भएको पनि बताएका समाचारमा जनाइएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वमा तेलको समस्या उत्पन्न भएको बताइएको थियो, जसका कारण पछिल्लो समय आर्थिक संकट मात्र नभएर खाद्यान्नलगायतको समस्या पनि उत्पन्न भएको हो ।