अरूबेला पार्टीका नाममा झगडा गर्ने, गराउने, चुनावमा उसैलाई भोट हाल्ने, हलाउने‍ !

अरूबेला पार्टीका नाममा झगडा गर्ने, गराउने, चुनावमा उसैलाई भोट हाल्ने, हलाउने‍ !

रूपक अलङ्कार  |  दृष्टिकोण  |  बैशाख २१, २०७९

चोरी चकारी नगरी चतुर्‍याइँ हुन्न
दंगा फसाद नगरी इजतै रहन्न
सोझा र सज्जन कबै नलिनू दलैमा
पार्टी चलाउनु सधैँ छल औ बलैमा ।

भैरव अर्यालको ‘नेता नम्बर एक सय एक’ निबन्धमा एउटा पात्र पार्टी विधान पल्टाएर उपर्युक्त मन्त्र भट्याउँछ । भैरव अर्यालले यो निबन्ध २०३३ सालभन्दा अगाडि नै लेखेका हुन् । भैरव अर्याल पञ्चायतको मध्याह्नमा परलोकी भए । सत्र सालपछि पञ्चायती प्रजातन्त्रको ग्रहण लागेकाले अर्यालको निबन्धमा आएको राजनीतिक प्रवृत्ति सात सालपछि र सत्र सालअघिको हुनुपर्छ । अर्यालले उल्लेख गरेको प्रवृत्ति र अहिलेको राजनीतिमा के कति फरक छ, विचार गर्दै गर्नुहोला । म अर्काे कुरातिर लाग्छु ।

गुरूप्रसाद मैनालीले लेखेको कथा छ ‘कर्तव्य’ । उक्त कथामा एक पात्र छन्- मुरलीधरका भाइ श्रीधर । उनी टीका लगाउनुलाई दासत्वको चिह्न भन्थे, जुल्फी पालेका थिए, एक चौथाइ नेपाली, एक चौथाइ संस्कृत, एक चौथाइ हिन्दी र एक चौथाइ अंग्रेजी मिसाएर बोल्ने हुनाले बूढापाकाहरू उनका कुरा बुझ्दैनथे, हातमा चन्दा बुक लिएर सडकमा ढ्वाङ् फुक्दै हिँड्थे, अड्डा-अदालतका डिठ्ठा बिचारी पनि उनी भनेपछि हच्किन्थे । गुरुप्रसाद मैनालीको यो कथा पनि क्रान्तिपछिकै परिवेशमा लेखिएको हो ।

भर्खर नेपालमा दलीय राजनीति प्रारम्भ भए तापनि त्यसले कस्तो चरित्र बोकेर आएको थियो भन्ने कुरा स्पष्ट संकेत गरेको छ त्यस कथाले ।

मैनाली र अर्यालले आफ्ना रचनामा तत्कालीन राजनीतिको अतिशयोक्तिपूर्ण वर्णन गरेका हुन् कि जस्तो लाग्छ मलाई त । हुनत साहित्य भनेकै अतिशयोक्ति हो । भएको जति मात्र भन्न त किन साहित्य रचना गर्नुपर्‍यो र ? मेरो नजरले मैनाली र अर्यालका रचनामा किन अतिशयोक्ति देखेको हो भने नि, उनीहरूले भनेजस्तो झुर राजनीति अहिले हाम्रो देशमा छँदै छैन । यस्तो वैश्विक नमुना बोकेको हाम्रो देशको वर्तमान राजनीतिको बद्ख्वाइँ गर्नुपर्छ भन्ने भावनाको बीज मेरो मनमा किञ्चित पनि अंकुरण भएको छैन ।

हाम्रो राजनीतिमा यति धेरै धुत्र्याइँ छ कि यहाँ चतुर्‍याइँ जस्तो सामान्य गुणको लेखाजोखा छैन । दंगा फसाद पनि अहिलेको राजनीतिमा ओझेल परिसक्यो । केही वर्ष अगाडिसम्म थियो । एउटा पक्ष अर्काे पक्षको विरोधी हुँदा दंगा फसाद आवश्यक हतियार हुन सक्थ्यो, परन्तु, नयाँ नेपालमा कोही कसैको विरोधी छैन ।

चन्दाको कुरा गर्ने हो भने अहिले पार्टी वा नेतालाई चन्दाको के मतलब ? घर, गाडी र सेवा-सुविधाले सबै मालामाल छन् । सबै सत्तापक्ष भएपछि जनताको चन्दालाई त यिनीहरूले ‘जात फाल्नु गहतको झोलमा’ भन्ने हिसाबले दुत्कार्छन् । जनतासित ५ रुपयाँ, १० रुपैयाँ चन्दा लिएर कार्यक्रम गर्नुपर्ने अवस्थामा कुनै पार्टी र पार्टीका भ्रातृसंगठन छैनन् । कुरा लाखौँमा डिल हुन्छन्, खुद्रा कसले हेरोस् ? नेपाली जनताको आय बढ्यो कि बढेन खोजौँला तर राजनीतिमा आय बढेको स्पष्ट छ ।

अहिलेको नेपाली राजनीतिको पहिचान भनेकै पहिचानमुक्त राजनीति हो । यसलाई वेदान्तको भाषामा नामशून्य, अहंकारशून्य, उपाधिशून्य भने पनि हुन्छ । भन्नलाई त बहुदलीय प्रतिस्पर्धा भनिन्छ तर पार्टीहरू भने ‘आऊ समाऔँ हाम्रा हातहरू’ भन्ने गीतमा मन्द नृत्य गरिरहेका छन् ।

प्रतिस्पर्धा भन्ने कुरा त नेपाली राजनीतिमा आर्यघाटको यात्री भइसक्यो । जनताको मतलाई दलहरूले कसाइले खसी भाग लगाएझैँ भाग लगाइरहेका छन्- कसैलाई टाउको, कसैलाई छाती, कसैलाई पुच्छर बाँडेर, जसलाई सम्मानित शब्दमा गठबन्धन भन्ने गरिन्छ ।

हुनत म मिल्नुपर्छ, सहमति र सहकार्य गर्नुपर्छ भन्ने कुराको कम प्रशंसक होइन । सहमति र सद्भावले समाजमा शान्ति ल्याउँछ । हामी आनन्दपूर्वक बाँच्न पाउँछौँ । यस्तो महत्त्वपूर्ण कुराको विरोध गर्नुपर्छ भन्ने कसैलाई पनि नलाग्दो हो । त्यसमाथि पनि हाम्रा शास्त्रहरूले सँगै बस, मिलेर बस, आपसमा द्वेष नगर, बाँडेर खाओ भन्ने उपदेश दिएका छन् । यही कुरालाई मनन् गर्दै दलहरू चुनावमा पद बाँड्दै छन्- चुनावपछि पदीय ‘प्रोफिट’ बाँड्न सहज होस् भनेर । शास्त्रीय कुरा भएकाले यसमा मन अमिलो बनाउन पनि भएन ।  

जनतामाझ एक्लै जाँदा जित्छु भन्ने आँट नभएर गठबन्धन गर्नुपरेको हो भन्ने कुरा नेताहरूलाई मात्र नभएर जनतालाई पनि थाहा भइसक्यो । यसमा धेरै व्याख्याको आवश्यकता छैन । गठबन्धनको मजा आघिल्लो चुनावमा पनि लिएकै हुन् पार्टीहरूले । गठबन्धन गरेपछि ५ वर्षलाई पाएको अधिकार र पद ढुक्कले उपभोग गर्न पाइहालिन्छ । चुनावपछि गठबन्धन रहोस् कि नरहोस् के चासो ? ‘अपना काम बन्ता, भाँड मे जाए जन्ता ।’

चुनावका बेला मिलेर उठ्ने हो भने अरुबेला छुट्टै पार्टीको अभिनय किन गर्नू ? कि यो नाटक हो, कि त्यो नाटक हो । पार्टी के हो ? कस्तो हो ? हैसियत के हो ? भन्ने कुरा त चुनावमा देखिने हो । त्यतिखेरचाहिँ ‘भिगी बिल्ली’ भएर एउटाको काखीमुनि अर्काेले टाउको लुकाउने, त्यतिबेलाचाहिँ त्यही काखी पनि हरहरी बासना आउने ।

गठबन्धन पनि आलु र पिँडालुको होस् , चम्सुर र पालुंगोको होस् लोक कम हाँस्थ्यो ? यहाँ त मासु र पनिरको गठबन्धन छ । सर्प र न्याउरी मुसोको गठबन्धन छ । पुच्छर जोडिँदाका दिनसम्म मात्र हो यिनीहरू मिल्ने टाउको जोडिएका दिन यिनले एकअर्कालाई ठुँगेनन् या डसेनन् भने मलाई भन्नुहोला ।

चुनावका बेलामा गठबन्धन नगर्ने हो भने यिनको व्यापार व्यवसाय चौपट हुन्छ । कतिपय दल नै चुनावमा गठबन्धन गर्ने सर्तमा निर्माण भएका छन् । कसैले विगतमा गुन लगाएका छन् ‘धानको सिरौँला, दुःख पर्दा लाएको गुनैको पैँचो तिरौँला’ भनेर गीत गाएको हत्तपत्त बिर्सन पनि भएन । कृतघ्न भइन्छ भन्ने पिरलो छ । अर्यालले भनेको ‘पार्टी चलाउनु सधैँ छल औ बलैमा’ भन्ने सूत्रको यहाँ व्यावहारिक प्रयोग भएको होइन । यो त परिस्थितिजन्य दोष मात्र हो ।

मूल कुरो नेपालको दलीय राजनीति निष्ठा, सिद्धान्त र विचारमा चलेको छैन । भाषण गर्नका लागि, किताब लेख्नका लागि, दस्तावेज वा प्रतिवेदन बनाउनका लागि तथा परेका बेला अरूविरुद्ध विषवमन गर्नका लागि यिनीहरूसित विचार छ । त्यो पनि फरक र स्पष्ट । तर, व्यवहारमा भने सबै बाघको छाला ओढेका गधा हुन् ।

सिद्धान्तले विचारले माओवादीलाई कांग्रेससित गठबन्धन गर्न देला त ? एमालेलाई राप्रपासित गठबन्धन गर्न देला त ? ‘स्थानीय तहको निर्वाचनमा हामीले जित्नुपर्छ’ भन्ने भन्दा अरू कुनै  मिल्दोजुल्दो विचार यिनमा छँदै छैन । त्यही एक सूत्रमा बाँधिएर गठबन्धन भएको हो, जितेपछि यसको औचित्य छैन । चितवनलाई स्मार्ट सिटी बनाउन कांग्रेसले रेणु दाहाललाई समर्थन गर्न लागिरहेको छ । काठमाडौंमा मेट्रो रेल बनाउन एमालेले राप्रपासित सहयोग मागिरहेको छ । नेपाली जनताका दुःखका दिन सकिए अब । खुट्टा पसारेर खाए हुन्छ ।

चुनाव आयो, कतिले आफ्नो पार्टीलाई भोट हाल्न पाएका छैनन् । अरू बेलामा मेरो पार्टी, मेरो झण्डा, मेरो चिह्न भन्यो, बगावत गर्‍यो, चुनावमा  भोट हाल्न पाइँदैन । हिजो मुठी उठाएर शपथ ख्वाउने नेता नै अर्काे पार्टीमा भोट हाल्न ठाडो आदेश दिन्छ । अरूबेला पार्टीका नाममा झगडा गराउने, जनताका खप्पर फुटाउने, एउटै पसलमा चिया पिउन नदिने अनि चुनाव आएपछि उसैलाई भोट हाल्न लगाउने । जे भन्यो, त्यही सहनुपर्ने !

भनेबमोजिम नगरे कारबाही गर्ने अरे ! पार्टी कुनै अमुक नेताको निजी सम्पत्ति त होइन नि ! तर, हो भनेजस्तै गर्छन् । यस्तै घटिया दाउपेचबाट आर्जित शक्तिबाट राज्यकोषमा तर मार्न पाएकाले यिनमा यस्तो दम्भ उद्भव भएको हो । सधैँ यस्तै त के होला र ?

चुनावका बेला मिलेर उठ्ने हो भने अरुबेला छुट्टै पार्टीको अभिनय किन गर्नू ? कि यो नाटक हो, कि त्यो नाटक हो । पार्टी के हो ? कस्तो हो ? हैसियत के हो ? भन्ने कुरा त चुनावमा देखिने हो । त्यतिखेरचाहिँ ‘भिगी बिल्ली’ भएर एउटाको काखीमुनि अर्काेले टाउको लुकाउने, त्यतिबेलाचाहिँ त्यही काखी पनि हरहरी बासना आउने । चुनाव सकिएपछिचाहिँ फेरि बहुलाउने ? दलको नाउमा दुनो सोझ्याउन पल्केकाहरूका लागि मात्र हो धेरै दलको आवश्यकता । साँच्चै प्रतिस्पर्धाका लागि यति धेरै दलको के काम छ र ?