श्रीलंका आर्थिक संकटमा: भाइको दबाबमा प्रधानमन्त्री महिन्दा राजापाक्षेको राजीनामा

श्रीलंका आर्थिक संकटमा: भाइको दबाबमा प्रधानमन्त्री महिन्दा राजापाक्षेको राजीनामा

एजेन्सी  |  विदेश  |  बैशाख २७, २०७९

प्रधानमन्त्री महिन्दा राजापाक्षेका समर्थकहरूले राष्ट्रपति गोटाबाया राजापाक्षेको कार्यालय बाहिर सरकारविरोधी प्रदर्शनकारीहरूमाथि हमला गरेपछि कम्तीमा ७८ जना घाइते भएका छन् भने सरकारी अधिकारीहरूले राष्ट्रव्यापी कर्फ्यू लगाएपछि प्रधानमन्त्री महिन्दा राजीनामा दिन बाध्य भएका बताइएको छ ।

केही समाचारहरूमा सोमबारको हिंस्रक झडपमा सत्ताधारी पार्टीका एक सांसदसमेत ३ जना मारिएको र १५० जनाभन्दा बढी घाइते भएका पनि जनाइएको छ ।

श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार आफ्नो पदबाट राजीनामा दिनुभएको हो । यो कदमले उहाँका भाइ राष्ट्रपति गोटाबाया राजापाक्षेलाई इतिहासको सबैभन्दा खराब आर्थिक संकटको सामना गर्नका लागि राष्ट्रिय एकताको सरकार गठन गर्न बाटो खोलिदिएको छ ।

प्रधानमन्त्री महिन्दाले ट्वीटरमा लेख्नुभएको छ, ‘मैले तत्काल लागू हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिने निर्णय गरेको जानकारी गराउन पत्र लेख्दै छु । यही ९ मेमा बसेको मन्त्रिपरिषद्को विशेष बैठकमा तपाईंले सर्वदलीय अन्तरिम सरकार गठन गर्न चाहेको बताउनुभएकामा तपाईंले गर्नुभएको अनुरोधअनुसार यो राजिनामा आएको हो ।'

वर्तमान संकटबाट बाहिर आउनका लागि जनता र सरकारलाई सहयोग गर्न भविष्यमा पनि जस्तोसुकै त्याग गर्न पनि आफू तयार रहने प्रधानमन्त्री महिन्दाले बताउनुभएको छ ।

संकटग्रस्त देशमा द्वन्द्वग्रस्त सरकारको नेतृत्व गर्दै राष्ट्रपति गोटाबाया राजापाक्षेले वर्तमान राजनीतिक गतिरोध समाधान गर्नका लागि अन्तरिम सरकार गठन गर्न महिन्दाको राजीनामा माग्नुभएको थियो ।

सांसद मैत्रिपाला सिरिसेनाले गत महिना राष्ट्रपतिसँगको एउटा भेटपछि बताएअनुसार आफ्ना जेठा दाजुलाई प्रधानमन्त्रीबाट हटाउन सहमत हुनुका साथै राष्ट्रिय परिषद्ले नयाँ प्रधानमन्त्री बनाउने र संसदका सबै दलहरू सम्मिलित मन्त्रिपरिषद्को गठनमा राष्ट्रपति तयार हुनुभएको थियो ।

७६ वर्षीय महिन्दा राजापाक्षेलाई आफ्नै दल श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी)ले राजीनामा दिन दबाब दिएको थियो । तर, उहाँ राजीनामा नदिन आफ्ना समर्थकलाई भेला गर्दै आफ्नो तर्फबाट दबाब दिँदै हुनुहुन्थ्यो ।