इतिहासमा लोकसभा निर्वाचन

इतिहासमा लोकसभा निर्वाचन

बसन्त कुमार उपाध्याय  |  दृष्टिकोण  |  जेठ ९, २०७६

भारतको लोकसभा निर्वाचनको मत परिणाम आज सार्वजनिक हुँदै गर्दा विगतमा भएका लोकसभा निर्वाचनलाई पनि सम्झनै पर्ला । भारतमा लामो समयपछि जवाहरलाल नेहरू र इन्दिरा गान्धिको बहुमत सरकार यता नरेन्द्र मोदी नेतृत्वमा फेरि बहुमतको सरकार बन्ने अवस्था आएको छ ।

भारतमा भएको पहिलो लोकसभा सन् १९५१–५२ मा भएको निर्वाचनमा ४ सय ८९ सिट मध्ये ४५ प्रतिशत मतसहित ३ सय ६४ सिटमा जवाहरलाल नेहरूको नेतृत्वमा इण्डियन कांग्रेसले सफलता हासिल गरेको थियो ।

सन् १९५७ को लोकसभा निर्वाचनमा ४ सय ९४ सिटमध्ये ३ सय ७१ सिटमा ४७.७८ प्रतिशत मतका साथ विजयी भएको थियो । सन् १९६२ को लोकसभा निर्वाचनमा कूल सिट संख्या ४ सय ९४ मध्ये ३ सय ६१ सिट सहित ४४.७२ प्रतिशत मतसहित कांगे्रस विजयी भएको थियो । भारतमा लगातार जवाहरलाल नेहरूको सत्तालाई मतदाताहरूले ३ पटक साथ दिएका थिए ।

त्यसैगरी सन् १९६७ मा भएको ५ सय २० सिटका लागि भएको चुनावमा ४०.७८ प्रतिशत मतसहित २ सय ८३ सिट संख्या सहित विजयी भएको थियो । ४३.६८ प्रतिशत मत प्राप्त गर्दै ५ सय १८ लोससभा सिटमा ३ सय ५२ सिट जितेर कांग्रेसले चुनाव जितेको थियो । सन् १९७७ मा भएको लोकसभा निर्वाचनको ५ सय ४२ सिटमा जनता पार्टीले २ सय ९८ सिटमा ४३.१७ प्रतिशत मतसहित विजयी भएको थियो । १९८०मा भएको भारतको लोकसभामा ४२.६९ प्रतिशत मतसहित ३ सय ५१ सिट जितेर कांग्रेस सत्तामा पुग्यो । सन् १९८४ मा भएको निर्वाचनको ५ सय १४ सिटमध्ये ४९.१० प्रतिशतसहित ४ सय ४ सिटमा कांग्रेस विजयी भएको थियो ।

लोकसभा चुनाव १९८९ मा ५ सय २९ सिट मध्ये कांग्रेसले ३९.५३ प्रतिशत मत प्राप्त गर्दै २ सय ४४ सिटमा विजयी हासिल गरेको थियो । भारतमा भएको दशौं लोकसभा निर्वाचन सन् १९९१ मा भएको ५ सय २१ सिटमध्ये २ सय ४४ सिटमा ३५.६६ प्रतिशत मत प्राप्त गरेको थियो । तर, कांग्रेसको सत्तालाई उल्टाउँदै भारतीय जनता पार्टीले सन् १९९६ मा भएको ५ सय ४३ सिटमध्ये १ सय ६१ सिटमा २०.२९ प्रतिशत मतले विजयी हासिल गरेको थियो ।

लगातार १९९८मा भारतीय जनता पार्टीले चुनाव जित्यो । ५ सय ४५ सिटका लागि भएको उक्त निर्वाचनमा १ सय ८२ सिटमा भारतीय जनता पार्टीले २३.७५ प्रतिशत मत प्राप्त गर्दै निर्वाचन जितेको थियो ।

सन् २००४मा आएर कांग्रेस सत्तामा फर्कियो । ५ सय ४३ सिटमध्ये १ सय ४५ सिटसहित समीकरणमा सरकार बनायो । सन् २००९ मा भएको ५ सय ४५ सिट मध्ये २ सय ६ सिट सहित कांग्रेसको युपिए गठबन्धनको सरकार बन्यो । तर, सन् २०१४मा आएर ५ सय ४५ सिट मध्ये ३१.३४ प्रतिशत मत प्राप्त गर्दै २ सय ८२ सिट सहित भारतीय जनता पार्टी (भाजपा)ले नरेन्द्र मोदीको बहुमतको सरकार बनाउँदै सत्तामा फर्कियो । यसरी विश्वभरमा लोकतन्त्रको उदाहरणीय देशका रूपमा रहेको भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनको परिणाम आज अबेर रातीसम्म सार्वजजिक भइसक्ने छ ।