युक्रेनको मारिओपोल शहरमा २०० शव फेला

युक्रेनको मारिओपोल शहरमा २०० शव फेला

एजेन्सी  |  विदेश  |  जेठ १२, २०७९

युक्रेनी शहर मारिओपोलमा २०० वटा शव फेला परेका छन् । एउटा भत्किएको भवनको भग्नावशेष निकाल्ने मजुदरले भवनको बेसमेन्टबाट करिब २०० वटा शव फेला पारेको मारिओपोलका मेयरका सल्लाहकारले बताएका छन् । 

शवहरू सडेका र छिमेकमा दुर्गन्ध फैलिएको मारिओपोलका मेयर पेट्रो एन्ड्रयुश्चेन्कोले बताए । शव फेला परेको विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । 

रुसले आजोभ सागरको तटमा रहेको युक्रेनको प्रमुख बन्दरगाह शहर मारिओपोलमाथि आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ । २४ फेब्रुअरीमा सुरु भएको हमलापछि रुसले कब्जा गर्न सफल भएको एक मात्र शहर हो मारिओपोल । 

रुसी बम विस्फोटले मरिओपोल शहर क्षतविक्षत बन्यो । एजोभस्टल स्टील कारखाना युक्रेनी प्रतिरोधको अन्तिम स्थल बनेको थियो । तर, त्यहाँको प्रतिरोध फौजले पनि अहिले आत्मसमर्पण गरेको छ ।