बंगलादेशविरुद्ध श्रीलंकालाई शृंखला

बंगलादेशविरुद्ध श्रीलंकालाई शृंखला

एजेन्सी  |  खेलकुद  |  जेठ १३, २०७९

घरेलु टोली बंगलादेशलाई पाँचौँँ दिन १० विकेटले  हराउँदै भ्रमणकारी टोली श्रीलंकाले २ टेस्टको शृंखला १-० ले जितेको छ । 

शुक्रबार ढाकास्थित शेर बंगला राष्ट्रिय रंगशालामा १० विकेटको जितसँगै श्रीलंकाले शृंखला आफ्नो कब्जामा पारेकाे हो । पहिलो टेस्ट भने बराबरीमा सकिएको थियो । 

दोस्रो टेस्टको पाँचौँ तथा अन्तिम दिन बंगलादेशको दोस्रो इनिङ १६९ रनमा सीमित भएपछि श्रीलंकाले जितका लागि मात्र २९ रनको लक्ष्य पाएको थियो ।

श्रीलंकाका ओपनर ओसादा फर्नान्डोले ९ बलमा ३ चौका र १ छक्काको मद्दतमा अविजित २१ रन जोड्दा कप्तान दिमुथ करुणारत्नेले ९ बलमा १ चौकासहित अविजित ७ रन बनाए ।  

यसअघि ३४-४ बाट अन्तिम दिनको खेल सुरु गरेको बंगलादेशको दोस्रो इनिङ १६९ रनमा सीमित भएको थियो । बंगलादेशले १३५ रन जोड्दा बाँकी ६ विकेट गुमाएको थियो । बंगलादेशका लिटन दासले ५२ तथा साकिब अल हसनले ५८ रन जोडे । 

श्रीलंकाका आसिथाले १७ ओभर ३ बलमा ५१ रन खर्चेर ६ विकेट लिँदा कसुन राजिथाले २ तथा रामेश मेन्डिसले १ विकेट लिए । 

यसअघि बंगलादेश पहिलो इनिङमा ३६५ रनमा सीमित भएको थियो । श्रीलंकाले एन्जेलो म्याथ्युजको १४५ र दिनेश चन्डिमलको १२४ रन मद्दतमा ५०६ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाले पहिलो इनिङमा बंगलादेशमाथि १४१ रनको अग्रता लिएको थियो । श्रीलंका पछि अब, बंगलादेशले वेष्ट इन्डिजविरुद्ध २ टेष्ट, ३ टी- २० र ३ एक दिवसीय शृंखला खेल्नेछ । यता, श्रीलंकाले अस्ट्रेलियासँग टी- २० र ओडीआई शृंखला खेल्नेछ ।