आईपीएल फाइनल : राजस्थानका यी ३ खेलाडी जो गुजरातका लागि खतरा हुन सक्छन्

आईपीएल फाइनल : राजस्थानका यी ३ खेलाडी जो गुजरातका लागि खतरा हुन सक्छन्

एजेन्सी  |  खेलकुद  |  जेठ १५, २०७९

इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिका लागि आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदै छ । 

विश्वकै चर्चित लिग आईपीएलको फाइनल रोचक हुने अनुमान गरिएको छ । विश्वका स्टार खेलाडीले भरिपूर्ण दुवै टिममध्ये कसले बाजी मार्ला ? भन्ने अड्कलबाजी सुरु भएको छ ।

आईपीएलमा पहिलो पटक हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको टिम गुजरात उत्कृष्ट लयमा छ । र, उपाधि जित्ने लक्ष्यमा छ ।

गुजरातले यस सिजनमा राजस्थानलाई २ पटक पराजित गरिसकेको छ । तर, राजस्थान पनि बलियो टोली हो । रोयल च्यालेन्जर बैंग्लोरलाई हराउँदै फाइनल पुगेको राजस्थान पनि उपाधि आफ्नो पोल्टामा पार्न चाहन्छ ।

राजस्थानका यी ३ जना खेलाडीले गुजरातको पोल्टाबाट उपाधि खोस्न सक्छन् । र, जुनसुकै बेला खेल परिवर्तन गर्न माहिर छन् । 

जोस बटलर

जोस बटलर आईपीएल, २०२२ मा उत्कृष्ट लयमा छन् । उनले पछिल्लो खेलमा रोयल च्यालेन्जर बैंग्लोरविरुद्ध ६० बलमा १०६ रन बनाएका थिए । बटलरले यस सिजनमा अहिलेसम्म १६ खेलमा ५८ दशमलब ८६ को औसतमा ८२४ रन बनाएका छन् ।  गुजरात टाइटन्सका लागि यो फाइनल खेलमा उनी सबैभन्दा ठूलो खतरा साबित हुनेछन् ।

युजवेन्द्र चहल

युजवेन्द्र चहल गुजरात टाइटन्सका लागि दोस्रो खतरा साबित हुन सक्छन् । युजवेन्द्र चहलले यस सिजनका १६ खेलमा ७.९२ इकोनोमीमा २६ विकेट लिएका छन् ।यससँगै युजवेन्द्रले पछिल्ला २ खेलमा १ विकेट नपाएकाले यस खेलमा उनी थप घातक बलर साबित हुन सक्छन् ।

प्रसिद्ध कृष्ण

युवा फास्ट बलर प्रसिद्ध कृष्णले यस सिजन निकै घातक बलिङ गरिरहेका छन् । दोस्रो क्वालिफायर खेलमा राजस्थानले प्रसिद्धको उत्कृष्ट बलिङको आधारमा मात्र जित हात पारेको छ । 

यस सिजनमा उनले अहिलेसम्म १६ खेलमा ८ दशमलब १८ को इकोनोमीमा १८ विकेट लिएका छन् । उनले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध सिजनको उत्कृष्ट स्पेल फ्याँके । यो सिजन लयमा देखिएका उनी गुजरातका लागि खतरा साबित हुन सक्छन् ।