विमान परिचारिकाका दाँत भाँच्ने महिलालाई १५ महिना जेल

विमान परिचारिकाका दाँत भाँच्ने महिलालाई १५ महिना जेल

एजेन्सी  |  विदेश  |  जेठ १५, २०७९

साउथवेस्ट एयरलाइन्सकी परिचारिकालाई उडिरहेको विमानमा मुक्का हानेर दाँत भाँच्ने क्यालिफोर्नियाकी एक महिलालाई सङ्घीय जेलमा १५ महिनाको सजाय सुनाइएको छ । सान डिएगोका सङ्घीय न्यायाधीशले भिभियाना क्विनोनेजलाई २६ हजार डलर क्षतिपूर्ति र ७ हजार ५०० डलर जरिमाना तिर्न आदेश  दिएका छन् ।

न्यायाधीश टोड डब्ल्यू रोबिन्सनले क्विनोनेजलाई व्यावसायिक विमानमा ३ वर्षसम्म उडान गर्न निषेध गरेका छन् भने उनले क्रोध व्यवस्थापन कक्षा वा परामर्शमा भाग लिनुपर्ने आदेश पनि दिएका छन् ।

गत वर्ष २३ मार्चमा  साउथवेस्ट एयरलाइन्सको विमानमा सेक्रेमेन्टोबाट सान डिएगो जाने क्रममा क्विनोनेजले १ जना परिचारिकालाई बारम्बार मुक्का प्रहार गरी उनको अनुहार रगताम्य पार्नुका साथै ३ वटा दाँत भाँचिदिएकी थिइन् ।  आक्रमणको भिडियो सामाजिक संजालमा व्यापक भएको थियो । विमान परिचारकहरूलाई धकेल्ने, प्रहार गर्ने र चिच्याउने यात्रीहरूले अनियन्त्रित र हिंसात्मक व्यवहारको वृद्धिको बीचमा उक्त आक्रमण भएको थियो ।

देशका २ प्रमुख अमेरिकी एयरलाइन्स र साउथवेस्ट एयरलाइन्सले यात्रीका दुर्व्यवहार रोक्ने प्रयासमा उडानका बेला मदिरायुक्त पेय बिक्री बन्द गरेका थिए । हाल दुवै एयरलाइन्सले मदिरा बिक्री फेरि सुरु गरेका छन् ।

गत साता अदालतमा पेस गरिएको पत्रमा क्विनोनेजले उडान परिचरलाई कुटपिट गरेकामा माफी मागेकी छन् । नकारात्मक ध्यानाकर्षणका कारण आफू निराश र अपमानित भएका बेला उक्त घटना भएको उनले उल्लेख गरेकी छन् । उडानका क्रममा परिचारिकाले क्विनोनेजलाई सिट बेल्ट लगाउन, सिटको अघि रहेको ट्रे टेबल बन्द गर्न र उनले लगाएको अनुहारको मास्कलाई उपयुक्त ढंगले लगाउन आग्रह गरेकी थिइन् ।

तर, उनले आफ्नो फोन ती परिचारिकाको फिल्म बनाउन प्रयोग गरिन् र उनलाई धकेलेर मुक्का प्रहार गरिन् । उनले परिचारिकाको कपाल समातेर अनुहारमा धेरै पटक मुक्का हानिन् । यात्रीहरूले क्विनोनेजको लुगा तानेर उनलाई रोक्न खोजे तर सफल भएनन् ।