रगत, पसिना र आँसुको मूल्यः अवाञ्छित कारोबारमा हजारौँ सपनाहरूको निर्मम हत्या !

रगत, पसिना र आँसुको मूल्यः अवाञ्छित कारोबारमा हजारौँ सपनाहरूको निर्मम हत्या !

पर्वत भट्टराई  |  दृष्टिकोण  |  जेठ १६, २०७९

मानिस होस् वा जीव, एउटा प्राकृतिक जैविक प्रक्रियाबाट यस धर्तीमा प्रकट हुन्छ । ईश्वरको इच्छाले, आमा बाबाको चाहनाले वा वंश वृद्धिको प्राकृतिक चक्रले उसलाई यहाँ उपस्थित हुनै पर्छ । उसका आफ्नै विशेषता र व्यक्तिगत स्वभावहरू हुन्छन् । यहाँ प्रकट हुनु कुनै ठूलो कुरा होइन, तर सामाजिक जीवनको भेलमा पौडिएर बाहिर निस्कनु चाहिँ निकै चुनौतीपूर्ण हुन्छ ।

त्यही चुनौतीको सामना गर्दा रगत, पसिना र आँसुको महँगो मूल्य चुकाएर मात्र अस्तित्वको रक्षा गर्न र सहज रूपमा बाँच्न सकिन्छ । वैज्ञानिक डार्विनको क्रमिक विकासको सिद्धान्तमा जे व्याख्या गरिएको भए पनि एउटा सामान्य मानिस उसको दैनिक जीवनमा थोपा थोपा रगत, पसिना र आँसुका नदीमा पौडिँदै बाँचिरहन्छ, जब पौडिन सक्दैन, तब उसको अस्तित्व त्यही नदीमा डुबेर समाप्त हुन्छ । हजारौं सपनाहरूको जतिसुकै माया लागे पनि मानिसको जीवन त्यसै बगेर जान्छ ।

कार्ल माक्स ले ‘मानिसको पसिनाको मूल्य खाएर एउटा अभिजात वर्ग तिनीहरूका सपनाको हत्या गर्दै समाजमा विभेद कायम गर्छ’ भनेका थिए । आफ्नो रगत र पसिनाको मूल्यका लागि मानिस-मानिसमा चीनको ‘ग्रेटवाल’ जस्तै अग्लो र लामो पर्खाल खडा गरिएको छ । कहिलेकाहीँ त्यो पर्खाल भत्काउने कोसिस त हुन्छ तर सफलता भने कि मिल्दै मिल्दैन मिलि हालेमा पनि बिहानै देखेको सपना जस्तै भताभुङ्ग भएर जान्छ ।

मानिसलाई विभेदका ‘ग्रेटवाल’हरू भत्काउनु भनेको कुहिनोले पहरा भत्काउन खोज्नु जस्तै हुँदो रहेछ । यस्ता पर्खालहरू भत्काउन खोज्दा खोज्दै यहाँ लाखौँ करोडौँ मानिसको रगत यति धेरै बगिसक्यो कि त्यो सबै जम्मा गर्दा अर्को छुट्टै महासागर बन्न सक्छ ।

कुनै पनि प्राणीले एउटा बिचरो सन्तानका लागि कति रगत बगाउँछ, पालन पोषणका लागि कति पसिना बगाउँछ, उसको खुसीका लागि कति आँसु बगाउँछ र भविष्य राम्रो होस् भनेर आफ्ना धेरै सपनाहरू जिउँदै जलाउँछ, तर त्यसको नाफा बिना मूल्य अर्कैले लिन्छ । हरेक मानिस, समाज, देश र विश्वको मन मनमा अनेक अदृश्य ‘ग्रेटवाल’हरू छन् ।

अरूका व्यक्तिगत, सामाजिक र राष्ट्रिय मुद्दाहरूको पसिना र आँसु खोसेर काँचै खाइदिने साना परजीवि देखि ठूलाठूला हिंस्रक जनावरहरू खुला आकाश, जमिन र पानीमा मात्र नभएर पातालभित्र पनि सुरक्षित छँदै छन् । एकातिर सामान्य मानिसलाई सधैँ उसका पसिना र आँसु मात्र पुछ्ने समस्या छ । अर्कोतिर उनीहरूकै पसिना र आँसुलाई खोसेर जमिन, महल, सुख, सुविधा, प्रतिष्ठा र सम्मान जम्मा गर्ने सामाजिक मुसाहरू सक्रिय छन् ।

हरेकजसो मानिसलाई ऊ लडेको जमिनको धुलो शरीरबाट टक्टक्याउन नपाउँदै फेरि पछारिन्छ र खरिद-बिक्रीको बजारमा रमिता हेरिन्छ । एकथरिले अरूको रगत र पसिनाबाट उत्पादित पुँजी सय प्रतिशत छुटमा किनेर जम्मा गर्छ र सय प्रतिशत नै मूल्य बढाएर पुनः पसिना बगाउनेलाई नै खरिद गर्न लगाउँछ । यसैलाई शोषण, दमन र उत्पीडन भनिन्छ ।

यसबाट मुक्ति पाइन्छ भनेर फेरि रगत बगाउन लगाएर उनीहरूका सपना पनि सित्तैमा खरिद गरिन्छ । यही गोलचक्करमा करोडौँ निमुखा मानिसहरूको पसिना र आँसुको व्यापार हजारौँ वर्षदेखि चलिरहेको छ । कतिपयले भन्छन्, यो व्यापार बन्द हुन्छ, तर अब धेरै मानिसलाई विश्वास लाग्न छाडिसकेको छ ।

कसैले भनेका थिए, ‘तिमी मलाई रगत देऊ, म तिमीलाई स्वतन्त्रता दिन्छु ।’ यो भनाइ सत्य होइन रहेछ किनकि हजारौँ मानिसले उनीहरूको रगत, पसिना र आँसु त के सम्पूर्ण जीवन दिएर पनि यहाँ कुनै स्वतन्त्रता मिलेको छैन । किनकि एउटाको रगत पिएर अर्को मोटाउँछ अनि फेरि अर्कोको रगत पिएर पुनः अर्कै मोटाउँछ ।

यही अवाञ्छित कारोबारमा मानिसका हजारौँ सपनाहरूको निर्मम हत्या भइरहेको छ । मानिसले मानिसलाई शोषण गर्ने परम्परालाई वैधानिकता दिइएको छ । सामाजिक प्रचलन, नियम, कानुन र पद्धतिहरूले अरूको पसिनालाई सस्तो र त्यही पसिनाबाट उत्पादित वस्तु, सेवा र पुँजीलाई महँगो पारिदिएको छ । विभेदको यही जाँतोमा मानिसका रगत, पसिना र आँसुका कण कण पिसेर करोडौंको जीवनलाई पिठो बनाइन्छ ।

यो सिलसिला मानव सभ्यताको सुरुदेखि अहिलेसम्म पनि चलिरहेको छ र पछिसम्म पनि चलिरहला । यसको रूप फरकफरक छ तर सार र सिलसिला उस्तै छ । मोटाउनेले एउटा अलग्गै साम्राज्य बनाउँछ । क्षमता, पहुँच, सूचना र सामर्थ्यको अभेद्य किल्लासहितको साम्राज्य, जहाँ रगत र पसिनाकै मूल्य परेको हुन्छ । तर, त्यहाँ रगत र पसिना बगाउनेलाई शान्तिले एक मुठी सास फेर्न पनि मुस्किल पारिएको हुन्छ ।

मानिसको पाइला पाइलालाई पुँजीमा रूपान्तरण गरेर प्रकृतिले सित्तैमा दिएको माटो, पानी, आगो, हावा र आकाश पनि पैसा हालेर किन्नुपर्छ । खाना, नाना, छानादेखि शिक्षा, स्वास्थ्य, सेवा र सुविधाहरू उसैबाट किन्नुपर्छ, जसले उनीहरूकै समय, रगत र पसिना निकै सस्तोमा किनेको हुन्छ ।

हिजोसम्म बिल्कुल असहाय र सामर्थ्यहीन मानिस कुनै मेसो मिलाएर जमिनदेखि आकाशसम्मका प्राकृतिक स्रोतमा अरूलाई पसिना झार्न लगाएर आफू पुँजीपति बनिहाल्छ । परापूर्वकालदेखि आजसम्म पनि मानिस अशिक्षा, रोग, भोक, अभाव, असुविधालाई किनेर सम्पन्न बनिरहेको छ ।

सानोतिनो सम्पन्नता किनेर झन् ठूलो सम्पन्नता कमाउने जमाना पनि आइसकेको छ । हाम्रोमा मालपोत, अदालत, सरकारी निकाय र निगमहरूमा दिनदिनै मानिसको रगत र पसिना खान पाइन्छ । त्यति मात्र कहाँ हो र ? यहाँ खोलाको किनारबाट हाम्रो रगत र पसिनाले भिजेको बालुवा र गिट्टी एकदम सस्तोमा किनेर महँगोमा बेच्नेहरूको कुनै कमी छैन ।

शहरका ठूलाठूला घरमा वैदेशिक रोजगार, ट्युसन, कानुनी परामर्श, अध्यागमन, राहदानी र वैदेशिक अध्ययन केन्द्र जस्ता अनेक सिन्डिकेटहरू खुलेका छन् । यस्ता केन्द्र र सिन्डिकेटमा मानिसका पसिना खरिद-बिक्री भइरहेका छन् ।

यसको एउटा कुरूप नमुना उदाहरणको रूपमा लिन सकिन्छ ‘प्रगतिशील वैदेशिक रोजगार संघ ।’ विपन्न र बेरोजगारीहरूको रगत, पसिना र आँसु किन्ने उसको नाम अगाडि ‘प्रगतिशील’ शब्द राखिएको हुन्छ । जसले अरूको पसिना र आँसु प्रायः सित्तैमा लिन्छ, नाम यस्तो राख्छ । राज्यले त्यसलाई वैधानिकता पनि दिन्छ । यस्तो कुरूप प्रगतिशीलताले मान्छेलाई विदेशमा कि त साँच्चिकै कि त जिउँदै मारिरहेको छ ।

आफ्नो पसिना र रगत बेच्नेहरू गरिब बन्छन् र सस्तोमा अरूको पसिना किन्नेहरू धनी बन्छन् । फेरि, जब पसिना बेचेकाहरू बजारमा केही खरिद गर्न निस्कन्छन्, त्यसबेला उनीहरूलाई ढाड सेकाएर थला पार्ने गरी बजारले ठगिदिन्छ । यसरी मानिसको रगत, पसिना र आँसुको कारोबार भइरहेको छ ।

यही अवाञ्छित कारोबारमा मानिसका हजारौँ सपनाहरूको निर्मम् हत्या भइरहेको छ । मानिसले मानिसलाई शोषण गर्ने परम्परालाई वैधानिकता दिइएको छ । सामाजिक प्रचलन, नियम, कानुन र पद्धतिहरूले अरूको पसिनालाई सस्तो र त्यही पसिनाबाट उत्पादित वस्तु, सेवा र पुँजीलाई महँगो पारिदिएको छ । विभेदको यही जाँतोमा मानिसका रगत, पसिना र आँसुका कण कण पिसेर करोडौंको जीवनलाई पिठो बनाइन्छ ।

हिजोको जंगली युगदेखि आजको अन्तरिक्ष युगसम्म पनि यो आर्थिक-सामाजिक प्रक्रिया जारी छ । यसको मूललाई रोक्नुपर्छ र रोकेरै छाड्छौँ भन्नेहरू नभएका होइनन्, तर रोक्न अघि सर्नेहरू पनि मूलमा पुगेपछि पहिले आफ्नै तिर्सना मेटाउने तिर लाग्छन् ।

यसरी एउटा लाग्छ, अर्को लाग्छ र त्यसपछि हामी सबै लाग्छौँ, तर तिर्सना मेटेर आफ्नो पसिना पुछेपछि कसैलाई पछाडि फर्किन मन लाग्दैन । त्यसरी फेरि पनि पसिना र आँसु बगाउन कोही चाहँदैन । किनकि सबैभन्दा मूल्यवान् कुरा मानिसको रगत, पसिना र आँसु नै हो । आशा गरौँ, कोही त पछाडि फर्किन्छ कि भनेर, किनकि आशाबिना मानिसको रगत, पसिना र आँसु बग्दै बग्दैन ।