पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

एजेन्सी  |  लोकरञ्जन  |  जेठ १६, २०७९

कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्या भएको छ । गोली लागेर अन्य २ जना घाइते भएका छन् । पञ्जाब सरकारले मुस वालासहित ४२४ जनाको सुरक्षा फिर्ता लिएको भोलिपल्ट यो घटना भएको हो । 

पञ्जाबका मुख्यमन्त्री भगवन्त मान नेतृत्वको सरकारले भीआईपी संस्कृतिलाई रोक्न भन्दै उनीहरूको सुरक्षा हटाएको थियो । मुस वाला र उनका २ साथीहरू पञ्जाबको जवाहर के गाउँमा जीपमा चढ्दै गर्दा आक्रमण भएको थियो । मुस वाला गाडीको सिटमा ढलिएको र धेरै रगत बगिरहेको अवस्थामा फेला परेका थिए ।

उनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले यो आक्रमणको जिम्मेवारी क्यानडामा रहेका एक गुण्डाले लिएको जनाएको छ ।
‘उनको हत्यामा लरेन्स बिश्नोई गिरोह संलग्न छ । गिरोहका सदस्य लक्कीले क्यानाडाबाट जिम्मेवारी लिएको छ’, पञ्जाब डीजीपी विके भवराले भने ।