इरानमा भवन भत्किँदा २९ जनाको मृत्यु, ३८ जना बेपत्ता

इरानमा भवन भत्किँदा २९ जनाको मृत्यु, ३८ जना बेपत्ता

एजेन्सी  |  विदेश  |  जेठ १६, २०७९

इरानको राजधानी तेहरानमा एउटा भवन भत्किँदा त्यसमा परेर कम्तीमा पनि २९ जनाको ज्यान गएको बताइएको छ । साथै, सो भत्किएको भवनमा अरू कम्तीमा पनि ३८ जना पुरिएको आशंका गरिएको छ । ती ३८ जना हराइरहेका प्रारम्भिक सूचनामा जनाइएको छ ।

आइतबार भत्किएको सो १० तले भवनमा परेर अरू केही व्यक्ति घाइते पनि भएका छन् । त्यहाँको तासनिम समाचार समितिले दिएको समाचारअनुसार सो भवनमा परेकाहरूको उद्धारको कार्य भने जारी छ । इरानको खुज्रिस्तान प्रान्तका गभर्नर सादिक खालियानले दिएको जानकारीअनुसार सो प्रान्तको अब्दान शहरमा दुर्घटना भएको हो ।

गभर्नर खालियानले उक्त दुर्घटनाग्रस्त क्षेत्रको भ्रमण गरेर यहाँका समाचारदाताहरूलाई आइतबार राति दिएको जानकारीअनुसार सो भवन भत्किँदा त्यसमा परेर २९ जनाको ज्यान गएको छ भने अरू ३८ जना हराइरहेका छन् । त्यसमा परेर मृत्यु भएका २९ जनाको शव निकालिएको छ । तीमध्ये केहीको पहिचान खुल्न बाँकी रहेको जानकारी पनि उनले दिएका छन् ।

सो भवन निर्माणाधीन अवस्थामा रहेको थियो । शहरको बीच भागमा निकै भिडभाड हुने क्षेत्रमा सो भवन निर्माण गरिएको बताइएको छ ।हराएकाहरूको खोजीका लागि ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरिएको छ । तर, भवनको बाँकी भाग पनि भत्किएला जस्तो रहेकाले निकै सावधानीपूर्वक उद्धारको काम गरिरहनुपरेको अधिकारीहरूले जनाएका छन् ।