हार्दिक पटेल अब ‘मोदीको सिपाही’, आजै भाजपा प्रवेश गर्दै

हार्दिक पटेल अब ‘मोदीको सिपाही’, आजै भाजपा प्रवेश गर्दै

एजेन्सी  |  विदेश  |  जेठ १९, २०७९

गत साता कंग्रेस परित्याग गरेका हार्दिक पटेल भारतीय जनता पार्टी (भाजपा) प्रवेश गर्ने भएका छन् । पटेलले बिहीबार बिहान ट्वीट गर्दै आफूले ‘नयाँ अध्याय सुरु गर्न’ लागेको र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा ‘सानो सिपाही’को रूपमा काम गर्ने बताएका छन् । 

२८ वर्षीय पटेलले प्रधानमन्त्री मोदीको प्रशंसासमेत गरेका छन् । ‘म राष्ट्रिय, क्षेत्रीय र सामाजिक हितको भावनाका साथ नयाँ अध्याय सुरु गर्न लागेको छु । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा राष्ट्रिय सेवाको बृहत् कार्यमा म सानो सिपाहीको रूपमा काम गर्नेछु’, उनले भने ।

सन् २०१५ को पटिदार आन्दोलनपछि चर्चामा आएका पटेल सन् २०१९ मा कंग्रेस प्रवेश गरेका थिए । लगत्तै उनी कंग्रेस गुजरात प्रदेशको कार्यवाहक अध्यक्ष बनेका थिए । उनी भाजपाका खरो आलोचकसमेत थिए ।

गत महिना उनले कंग्रेस नेत्री सोनिया गान्धीलाई पार्टीबाट राजीनामा दिएको पत्र बुझाएका थिए ।