रूपक अलङ्कार | दृष्टिकोण | जेठ २५, २०७९
राजनीतिमा लाग्नका लागि विचार र सिद्धान्त पनि चाहिन्छ भन्यो भने भन्ने मान्छेले पहिला लाज मान्नुपर्ने अवस्था सृजना भएको छ । वाद र सिद्धान्तका अनुच्छेद रटान लगाएर खारिएका नेता तथा बुद्धिजीवी पनि पुराना दिन सम्झिएर बारम्बार झस्किरहन्छन् होला अर्थात् केही नेताका त बरबराहट सुन्ने गरिएकै छ ।
कोही भने ‘वो भि क्या दिन था’ भनेर सिद्धान्तको सितनसित नैतिकताको ह्विस्की घुट्क्याई रहेका होलान् । कोही चौतारीमा बसेर मोबाइलमा पुँजीवादी र मजदुरको बाघ चाल खेलिरहेका होलान् ।
‘संसार परिवर्तनशील छ’ भन्ने वाक्यबाहेक सारा कुरा परिवर्तनशील छ । यो पनि परिवर्तनको एउटा सिद्धान्त नै हो र यसलाई कसैले अनुसरण गरिराख्नु पर्दैन, सिद्धान्तले नै संसारलाई अनुसरण गरिदिन्छ कुनै प्रशिक्षण, अध्यापन विनै । यस अधारमा मानिसका आचार व्यावहार, चिन्तन, जीवनशैली सम्पूर्ण परिवर्तन भइरहेको हुन्छ जुन परिवर्तनको तथ्य पूर्ण ज्ञान स्वयम् मानिसलाई नै नहुन सक्छ । यो भयो परिवर्तनको सामान्य नियम । यसलाई सुख दुःखको चक्रीय नियम भनेर चित्त बुझाउन सकिन्छ ।
परिवर्तनको अर्काे आशय क्रान्ति पनि हो । क्रान्ति भनेको सामान्य परिवर्तन होइन । एघार दिनको बच्चो बाइस दिनको वा छ महिनाको जस्तो हुनुलाई क्रान्ति भन्न सकिन्न । यो त एउटा प्रकृया हो । क्रान्तिमा भने प्रक्रियालाई फड्किने काम पनि हुन्छ ।
काम गरिरहनुपर्छ एकदिन मालिक खुसी भएर आफैँ तलब बढाउँछन् भनेर बस्नु क्रान्ति होइन । तलब बढ्न पनि सक्छ नबढ्न पनि सक्छ । यस्तालाई सजिलोका लागि आदर्शवाद भने पनि हुन्छ । भाग्य वाद पनि भने हुन्छ । यो आशीर्वादभन्दा केही पनि होइन । नेपालको राजनीति विस्तारै आशीर्वादको घनचक्करतिर लागेको देखिँदै छ ।
आशीर्वादको आधार चाप्लुसी, चाटु कारिता, दासता हो । यसलाई गणेश प्रवृत्तिभन्दा पनि रिसाइहाल्नु पर्दैन । हनुमान गिरी भन्दा पनि झुर प्रवृत्तिमा यसलाई राख्न सकिन्छ किनभने हनुमान गिरीमा अलिकति भने पनि पाखुरी बजार्नुपर्दछ । गणेश प्रवृत्तिमा मात्र हात जोडे पनि पुग्छ । यस किसिमको सौन्दर्य पूर्ण अवस्थामा विचारको मृत्युमा सिद्धान्तहरू मलाम जान्छन्
धेरै पार्टीहरुको विधानमा वा घोषणापत्रमा समाजवाद हुँदै साम्यवादमा पुग्ने भनेर लेखिएकै पाइन्छ । भन्नुपर्ने ठाउँमा तिन बित्ता उफ्रेर कराइन्छ पनि । ताली बजाउन र माहोल तताउन यस्ता कुराले खुराकको कमि छैन । तर माइक छोडेर सोफामा विराजमान भएपछि यी कुरा मनबाट अगुल्टोले हानेको कुकुर जसरी भाग्छन् अर्काे पटक माइक नसमाउन्जेलका लागि ।
हुन त साम्यवाद सबैको चासोको विषय होइन । श्रमजीवी वर्गका लागि साम्यवादसम्मको यात्रा भन्दा पनि बेलुका भातको थालसम्म यात्रा गर्न सके हुन्छ । कांग्रेस जस्ता समाजवादीलाई साम्यवादसम्म पुग्नु परेको छैन । तर पार्टीका नामका अगाडि कम्युनिस्ट जोडिएकाका लागि भने साम्यवाद शब्द प्रिय मात्र होइन नाम नलिइ सुखै छैन । दलाल पुँजीवादको जुठो पुरो डकारे रै भए पनि यिनले साम्यवादी गन्तव्यलाई काँध हाल्न छोडेका छैनन् ।
न यिनमा जाँगर छ न बुद्धि ! पार्टीका नाममा भक्तजनको भिड खडा गरेर प्रवचन दिने र अनि नमरुञ्जेल प्रवचनको आसन ओगट्ने तरिका भने यिनलाई राम्रोसित थाहा छ । इतिहासको कुनै मोडमा यिनीहरुमा नेता बन्ने सम्भावना देखिएको थियो तर सकेनन् । अब यिनले आफूभन्दा पछिकालाई पनि नेता बन्न दिँदैनन् किनभने यिनीहरु उत्तराधिकारी बनाउने होडमा छन् ।
खासमा यी पार्टीका नेतृत्वमा पुगेका नेताले उतिखेर माक्र्सवाद गुरुकुलमा समाजवाद, साम्यवाद, वर्ग द्वन्द्वजस्ता सूत्रहरू घोकेका थिए कोही कोही सूत्रको लहरो तान्दा गर्जिने पहरोसम्म पनि पुगेका थिए होला । तिनै शब्द अहिलेसम्म पनि बिर्सिन नसकेका मात्र हुन् ।
‘स्वस्तिश्रीगिरिराजचक्रचूडामणि’ भनेर प्रशस्ति सुरु गरेजस्तै यिनका कथनमा र लेखनमा मार्क्सवादी शब्दावलीको सम्पुटित हुने गरेको छ । पछिल्लो पुस्ताका अनुयायीले पनि यस्ता शब्दावलीहरू कण्ठ गरेका त छन् तर तिनलाई यी शब्दको प्रकृति प्रत्यय छुट्याउन भने आउँदैन तैपनि गोपी 'किस्न काउ' को शैलीमा गाउन चाहिँ जान्दछन् ।
वर्ग चरित्र, वर्ग द्वन्द्वजस्ता शब्दहरु खिया लाग्दै गएका छन् । जतीयता, भौगोलिकताजस्ता साम्प्रदायिक भावना उत्पादन गर्ने चिन्तनले यिनलाई हिलोले छोपेको कमल बनाएका छन् । हाम्रो जस्तो जातीय मुलुकमा वर्ग भनेको आर्थिक मात्र होइन जातीय पनि हो भनेर भाष्य गर्ने वाम बुद्धिजीवीहरूको यहाँ कमि छैन । यस्तो भाष्य निश्चय पनि सकारात्मक स्वार्थबाट प्रेरित हुने कुरा होइन ।
निश्चय पनि हाम्रो समाज जातीय, भौगोलिक तथा सांस्कृतिक विभेदबाट मुक्त छैन । यसबाट मुक्तिको उपायका रुपमा सामाजिक विद्वेष फैलाएर त्यसैलाई दुरुपयोग गरिनु हुन्न । विवेकको उपयोग गर्नुपर्ने ठाउँ यही हो । व्यक्तिको नितान्त मानसिक पागल पनबाट भएका आपराधिक घटनालाई पनि जात, धर्म, बाहुन वाद वा पुरुष सत्ताको लेप लगाएर अनियन्त्रित भिड मार्फत मुद्दा छिनोफानो गराउन खोज्ने र त्यसबाट आफूलाई अगाडि ल्याउने कुचेष्टा गर्ने अगुवा पनि हाम्रा वरिपरी धेरै छन् । तीनबाट हामी जोगिनुपर्ने आजको आवश्यकता हो कि होइन ?
विस्तारै धार्मिक साम्प्रदायिकले पनि प्रभाव पार्यो भने स्थिति सम्हालिने अवस्थामा नरहने पनि निश्चित छ । यो अलि पछिको कुरा हो तर त्यो दिन नआउला भन्न सकिँदैन । वर्ग चरित्र विघटन हुँदै गएको अहिलेको अवस्थामा कुन बेला को गद्दार बनेर निस्किन्छ के थाहा ?
वर्ग चरित्र परिवर्तन हुन्छ कि हुँदैन वा कसरी हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो । वर्ग चरित्र सम्पूर्णतामा परिवर्तन भयो भने त्यसलाई राजनीतिक दर्शनको सफलता मान्नुपर्छ । हामीले चाहेको पनि यही हो । कतिपय पाल्सी विद्वानहरू 'कम्युनिस्ट नेताहरु वर्ग समाप्त गर्न चाहँदैनन् किनभने वर्ग द्वन्द्व सकिएपछि यिनले कसका नाउँमा राजनीति गर्ने ?' भनेर जान्ने पल्टिन्छन् । यिनका कुरामा विश्वास गर्नुपर्ने ठाउँ छैन तर कम्युनिस्ट पार्टीका नेताका चरित्रले भने यस्तै पाल्सी व्याख्यालाई सत्यापन गरिरहेका छन् ।
यिनले वर्ग चरित्रको नेतृत्व गर्छन् त ? उनीहरुका कुरा सुन्ने हो भने यिनीहरु जस्ता सामन्तका दुस्मन र मजदुर किसानका मित्र कोही छैनन् भन्ने लाग्छ । तर यिनको व्यवहार त्यस्तो केही देखिँदैन । यिनले हामीलाई समेत कुरा गरा काम गरे गर नगरे नगर भन्ने अवस्थामा पुर्याएका छन् । गफ गर्न यिनलाई कसैले भ्याउँदैन तर काम भने गर्नै सक्दैनन् ।
न यिनमा जाँगर छ न बुद्धि ! पार्टीका नाममा भक्तजनको भिड खडा गरेर प्रवचन दिने र अनि नमरुञ्जेल प्रवचनको आसन ओगट्ने तरिका भने यिनलाई राम्रोसित थाहा छ । इतिहासको कुनै मोडमा यिनीहरुमा नेता बन्ने सम्भावना देखिएको थियो तर सकेनन् । अब यिनले आफूभन्दा पछिकालाई पनि नेता बन्न दिँदैनन् किनभने यिनीहरु उत्तराधिकारी बनाउने होडमा छन् ।