अमेरिकी पूर्वराष्ट्रपति रेगनको हत्या प्रयासका दोषी ४१ वर्षपछि रिहा

अमेरिकी पूर्वराष्ट्रपति रेगनको हत्या प्रयासका दोषी ४१ वर्षपछि रिहा

एजेन्सी  |  विदेश  |  असार २, २०७९

सन् १९८१ मा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको हत्या प्रयास गर्ने जोन हिन्क्ले मानसिक अस्पतालबाट छुटेको ६ वर्षपछि बुधबार पूर्णतया स्वतन्त्रता प्राप्त गरेका छन् । यस महिनाको सुरुमा वासिंगटनको अदालतले उनलाई रिहा गर्न अनुमति दिएको थियो  । ‘अन्ततः ४१ वर्ष २ महिना र १५ दिनपछि स्वतन्त्रत !!!’, उनले बिहीबार ट्वीट गरेका छन् ।

हाल ६७ वर्षीय हिन्क्लेले ३० मार्च १९८१ मा वासिंगटनको एउटा होटलबाहिर रिभल्भरले पूर्वराष्ट्रपति रेगन र अन्य ३ जनालाई गोली हानेका थिए।

चलचित्र ‘ट्याक्सी ड्राइभर’ हेरेपछि अभिनेत्री जोडी फोस्टरप्रति 'पागल'  बनेका हिन्कोले उनलाई प्रभाव पार्न गोलीकान्ड गरेको बताएका थिए । उनले गोली हानेका सबै जना बाँचेका थिए । यद्यपि, रेगनका प्रेस सेक्रेटरी जेम्स ब्राडीलाई आंशिक रूपमा पक्षाघात भएको थियो । 

सन् १९८२ मा भएको सुनुवाइमा उनको मानसिक समस्यालाई आधार मान्दै हिन्कलाई निर्दोष सावित गर्दै वासिंगटनस्थित सेन्ट एलिजाबेथ अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनी ३४ वर्ष रहे । 

उनी सन् २०१६ को सेप्टेम्बरमा रिहा भएका थिए । तर, प्रतिबन्धहरूको लामो सूचीअन्तर्गत उनी ६ वर्ष भर्जिनियाको एउटा गेट समुदायमा आफ्नी वृद्ध आमासँग बस्न बाध्य भएका थिए ।