ज्योतिको सीमाविहीन तेज: सूर्य समूहको प्रभाका अगाडि टिक्न नसक्ने अवस्था

ज्योतिको सीमाविहीन तेज: सूर्य समूहको प्रभाका अगाडि टिक्न नसक्ने अवस्था

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  असार ४, २०७९

     दिवि सूर्यसहस्रस्य भवेद्युगपदुत्थिता ।
    यदि भाः सदृशी सा स्याद्भास स्तस्य महात्मनः ।। १२ ।।

अन्वय र अर्थ – यदि = यदि, दिवि = आकाशमा, सूर्य सहस्रस्य = हजार सूर्यको, भाः = प्रभा, युगपत् = एकैसाथ एकै पटक, उत्थिता = उदय, भवेत् = भयो भने, सा = त्यो प्रभा, तस्य = उस,  महात्मनः = विश्वरूपको, भासः = प्रभाको, सदृशी = तुल्य, स्यामात् = होला ।

भावार्थ –यदि आकाशमा हजार सूर्यको प्रभा एकै समयमा उदय भयो भने त्यो प्रभा उस महात्माको प्रभा सदृश हुन सक्छ ।

विशिष्टार्थ – विश्व रूपको यति ज्योति, यति तेज छ कि त्यसको सीमा हुन सक्दैन । कदाचित् एकै समयमा एकै पटक अनन्त सूर्यको उदय भएर त्यस सूर्य समूहको ज्योतिले आकाशमा जुन प्रकारको प्रभा विस्तार गर्ला, त्यो पनि त्यस प्रभाका अगाडि कदापि टिक्न सक्दैन । त्यसको उपमा छैन । तुलना पनि हुन सक्दैन ।

    तत्रैकस्थं जगत् कृत्स्नं प्रविभक्तमनेकधा ।
    अपश्यद्देवदेवस्य शरीरे पाण्डव स्तदा ।। १३ ।।

अन्वय र अर्थ – तदा = त्यस वखतमा, पाण्डवः = अर्जुन, तत्र = त्यस, देवदेवस्य = विश्वरूप हरिका, शरीरे = शरीरमा, अनेकधा = देव, पितृ र मनुष्यादि भेद्ले अनेक प्रकारमा, प्रविभत्तंm = विभक्त भएको, कृत्स्नं = समस्त, जगत् = जगत्लाई, एकस्थं = एकत्र स्थित, अपश्यत् = देखे ।

भावार्थ – तव अर्जुनले उस देवाधिदेव कृष्णको शरीरमा नाना प्रकारले विभक्त समस्त जगत्लाई एकत्र स्थित भएको देखे ।

विशिष्टार्थ – उस वासुदेवको शरीरमा स्थावरजंगमात्मक (एक पार्थिव अणुदेखि लिएर शिवादि कृमि पर्यन्त) विश्वकोशमा जति प्रकारका दृश्यहरू हुन सक्छन्, सबै एकत्र स्थित छन् । साधना सिद्ध अनुभवद्वारा साधक अर्जुनले त्यसलाई प्रत्यक्ष गर्न प्रारम्भ गर्दछन् ।

    ततः स विष्मयाविष्टो हृष्टरोमा धनञ्जयः ।
    प्रणम्य शिरसा देवं कृताञ्जलिरभाषत ।। १४ ।।

अन्वय र अर्थ – ततः = विश्वरूपको दर्शन पछि, सः = ती, धनञ्जयः = अर्जुन, विस्मयाविष्टः = आश्चर्य चकित, हृष्टरोमाः = रोमाञ्चित भएका छँदा, देवं = विश्वरूपधारी परमात्मालाई, शिरसा = शिरले, प्रणम्य = प्रणाम गरेर, कृताञ्जलिः (भूत्वा) = हात जोडेर, अभाषत = भने ।

भावार्थ – त्यसपछि अर्जुनले विस्मयापन्न रोमाञ्चित भएर उस विश्व रूप देवलाई शिरले प्रणाम गर्दै हात जोडेर भन्न लागे ।

विशिष्टार्थ – साधक ! हेर । जब तिम्रो यस प्रकारको अवस्था आउँछ तिम्रा शरीरका रौंहरू काँडा झैँ ठाडा हुन्छन् । चर्म चक्षुका अतीत पदार्थ जसलाई कहिल्यै देखेका थिएनौ, ती समस्तलाई देखेर अश्चर्यान्वित हुन्छौ, यसैलाई विस्मयाविष्ट भनिएको हो । अनि यस अवस्थामा तिमी जन्म, मृत्यु, सुख, दुःख, क्षुधा, तृष्णा प्रभृतिका उत्पादक कुनै कसैसँग संसर्ग नराखेर उनै  परम कार्यका कारणमा विभोर भै दिन्छौ तब तिमी 'धनञ्जय'  हुन्छौ, त्यस अवस्थामा तिम्रो प्राण र अपानको क्रिया यति सूक्ष्म रूपले सम्पन्न हुन्छ कि त्यसलाई तिमीले थाहा पाउन पनि सक्दैनौ, अनि त्यसबेला तिमी सहस्रार–मूल त्रिकोणमा पुगेर सोही अपूर्व चिदाकाशमा मिलेर आकाश सदृश हुन्छौ ।

म यो कुन दृश्य देख्दैछु ! तपाईको ज्वलन्त रूपमा म आफ्नो  दृक्शक्तिलाई स्थिर राख्न सक्दिन । अतुलनीय छ, मानो सूर्य, अग्नि, विद्युत इत्यादिलाई मिलाएर तेज बनाएको हो ।

त्यो जुन प्राण र अपानको क्रिया हो त्यसलाई नै प्रणाम भनिन्छ । एक पटक तल झुक्नु एक पटक माथि उठ्नलाई प्रणाम भन्दछन् । अनि तिम्रो त्यो जुन अवस्थिति हो, त्यही अनिर्वचनीय हो । यदि तिमीले त्यसको वारेमा भन्न चाहन्छौ भने तिमीले त्यो अवस्थाबाट तल ओर्लेर भन्नु पर्ने हुन्छ । त्यस अवस्थामा तिम्रो समस्त क्रिया स्थिर रहन्छ, फेरि निष्क्रियत्व पनि हुँदैन ।

यसरी नै यी दुबैको सन्धि – वायाँ र दाहिने दुबैको संयोजन हो । वाम–विपथ र दाहिने सपथ हो । यी दुबैको संयोगलाई नै सन्धि भन्दछन् र यसै सन्धिलाई नै कृताञ्जलि भनिएको हो । त्यो अचिन्त्य, अव्यक्त, निर्गुण पुनः गुणात्मक अवस्था नै यस जगत्को आधार स्वरूप हो, परन्तु त्यो पनि तिमीदेखि भिन्न छैन, पुनः भिन्न बोधको भ्रमका कारण  'देव' शब्द दिइएको छ । अनि  'अभाषत' ? तिमी जुन यस प्रकार आत्म समर्पण गरेर स्तुति नगरी रहन सक्दैनौ त्यो स्तुति नै तिम्रो  'प्रभाषण' हो ।

अर्जुन उवाच –
    पश्यामि देवांस्तव देव देहे
    सर्वास्ंतथा भूत विशेषसंधान् ।
    ब्रम्हाणमीशं कमलासनस्थ
    मृषींश्च सर्वानुरगांश्च दिव्यान् ।। १५ ।।

अन्वय र अर्थ – अर्जुन उवाच = अर्जुन भन्छन् – देव = हे देव ! तब = तपाईको, देहे = शरीरमा, सर्वान् = सम्पूर्ण, देवान् = आदित्यादि देवहरूरु, तथा = त्यस्तै, भूतविशेषसंघान् जरायुज अण्डजादि नानाविध भूत समूहहरू दिव्यान् = दिव्य, ऋषीन् च = वसिष्ठादि ऋषिहरू र, सर्वान् = सम्पूर्ण, उरगान् च = वासुकि प्रभृति सर्पहरू पनि, कमलासनस्थं = कमलासनस्थित, ईशं = प्रजाका शासन कर्ता, ब्रम्हाणं = ब्रम्हालाई, पश्यामि = देख्दछु ।

भावार्थ – अर्जुन भन्दछन् – हे देव ! तपाईको शरीरमा समस्त देवगण,स्थावर जङ्गमरूप नाना प्रकारका विभक्त आकृतियुक्त भूत समूह, दिव्य ऋषिहरूको समुदाय, वासुकि प्रभृति सर्पहरू र कमलासनस्थित प्रजापति ब्रम्हालाई देख्दछु ।

विशिष्टार्थ – अब साधक (अर्जुन) ब्रम्हमुखी वृत्तिले आफ्नो देहभित्र चित्त पथमा चित्तपटमा विश्व रूप दर्शन गर्दछन् । द्रष्टा नभैकन दृश्यको दर्शन हुँदैन, त्यसकारण साधक अहंरूपले आफ्लाई द्रष्टा मानेर विश्वलाई त्वं रूपले दृश्य बनाएर आफुलाई नै विर्सेर विश्व रुपमा मग्न हुन्छन् । अनि भन्दछन्,  हे देव ! तपाईको दिव्य देहमा सबै नै आकाशको लीला छ । पृथ्वीको गन्ध, जलको रस, तेजको रूप, वायुको स्पर्श र आकाशको शब्द मिलेर शून्यमा नै पञ्चीकरण हुन्छ । सत्व, रज र तमोगुणको त्रिकरणको मिश्रण हेतु यो अद्भुत व्यापार प्रकाश हुन्छ । प्रकृतिका जति कृतित्व छन् सबै एकै स्थानमा इन्द्रजाल जस्तै प्रस्फुरित भएर बाहिर आउँछन् । सृष्टिको सीमा छैन । यथास्थानमा कमलासनमा सृष्टिको ईश्वर ब्रह्मा, देवता समूह, ऋषिकुल, सर्पकुल अवस्थित छन् । यी सबै नै आकाशका आकारधारी विकार हुन् । (हे साधक ! सावधान भएर आफ्नो  कूटस्थको दृश्य समुदयसंग यसलाई मिलाऊ) ।

    अनेकबाहूदरवक्त्रनेत्रं 
    पश्यामि त्वां सर्वतोऽनन्तरूपम् ।
    नान्तं न मध्यं न पुन स्तवादिं
    पश्यामि विश्वेश्वर विश्वरूप ।। १६ ।।

अन्वय र अर्थ – विश्वेश्वर = हे विश्वेश्वर ! विश्वरूप = हे विश्वरूप ! अनेक बाहूदरवक्त्रनेत्रं = अनेकौं भुजा, उदर, मुख र नेत्रयुक्त, अनन्तरूपं = अनन्त रूप सम्पन्न, त्वां = तपाईलाई, सर्वतः = सर्वत्र, पश्यामि = देख्दछु, तव = तपाईको पुनः = फेरि, न अन्तं = न समाप्ति, न मध्यं = न मध्य, न आदिं = न आदि नै, पश्यादि = देख्दछु ।

भावार्थ – हे विश्‍वेश्‍वर ! हे विश्व रूप ! अनेक, बाहु, उदर, मुख नयन युक्त र अनन्त रूप सम्पन्न तपाईलाई सर्वत्र देख्दैछु ।

विशिष्टार्थ – कैयौं हातहरू , कैयौं पेटहरू, कैयौं मुखहरू, कैयौं चक्षुहरू देख्दै छु, तिनीहरुको अन्त कतै छैन । दशै दिशामा देख्छु, कुनै दिशामा पनि आदि, मध्य, अन्त ठीक गर्न सकेको छैन । हे विश्‍वेश्‍वर ! के यो तपाईको विश्व रूप हो ?

    किरीटिनं गदिनं चक्रिणञ्च 
    तेजो राशिं सर्वतोदििप्तमन्तम् ।
    पश्यामि त्वां दुर्निरीक्ष्यं समन्ताद्
    दीप्तानलर्काद्युतिमप्रमेयम् ।। १७ ।।
अन्वय र अर्थ – किरीटिनं = मुकुटधारी, गदिनं = ग्दा हातमा लिएका, चक्रिणं च = चक्र पनि हातमा लिएका, सर्वतः = सर्वत्र, दीप्तिमन्तं = दीप्तिशाली, तेजोराशिं = तेजसमूहयुक्त, दुर्निरीक्ष्यं = देख्न नसकिने, दीप्तानलार्कद्युतिं = प्रदीप्त अग्नि सूर्यका समान प्रकाशमय, अप्रमेयं = अपरिमित, त्वां = तपाईलाई, समन्तात् = सर्वत्र, पश्यामि = देख्दछु ।

भावार्थ – मुकुटवान्,  गदाचक्रधारी, सर्वत्र दीप्तिमान् तेजपुञ्जस्वरूप, दुर्निरीक्षय, प्रदीप्त अग्नि सूर्यवत् प्रभा विशिष्ट र अप्रमेय तपाईलाई सर्वत्र देख्दछु ।

विशिष्टार्थ – कुनै किरीटधारी, कुनै गदाधारी, कुनै चक्रधर छन् । सबै आफ्ना आफ्ना तेजो राशि स्वरूपले युक्त छन्, त्यसैले महान् ज्योतिले गर्दा दृक्शक्ति हार्दछ, स्थिर हुन सक्दैन परन्तु देख्नमा कष्ट भने छैन । म यो कुन दृश्य देख्दैछु ! तपाईको ज्वलन्त रूपमा म आफ्नो  दृक्शक्तिलाई स्थिर राख्न सक्दिन । अतुलनीय छ, मानो सूर्य, अग्नि, विद्युत इत्यादिलाई मिलाएर तेज बनाएको हो ।

    त्वमक्षरं परमं बेदितव्यं
    त्वमस्य विश्वस्य परं निधानम् ।
    त्वमव्यायः शाश्वतधर्मगोप्ता
    सनातन स्त्वं पुरुषो मतो मे ।। १८ ।।

अन्वय र अर्थ – त्वं = तपाई, परमं अक्षरं = पर ब्रम्ह, वेदितव्यं = मुमुक्षुहरूरुद्वारा ज्ञातव्य, त्वं = तपाई, अस्य विश्वस्य = यो समस्त जगत्को, परं निधानं = परम आश्रय, त्वं = तपाई, अव्ययः = अव्यय, शाश्वतधर्मगोप्ता = सनातन धर्मका रक्षक, त्वं = तपाई, सनातनः = सनातन, पुरुषः = परम पुरुष हुनुहुन्छ, मे = मेरो, मतः = दृढ विश्वास छ ।

भावार्थ – तपाई परम अक्षर, ज्ञातव्य, तपाई यस विश्वका परम आश्रय, तपाई अविनाशी र शाश्वत धर्मका पालक, तपाई नै सनातन पुरुष हुनुहुन्छ, यही मेरो स्थिर विश्वास छ ।

विशिष्टार्थ – 'त्वमक्षरं'  तपाई अक्षर कहिल्यै नष्ट हुनुहुन्न (आठौँ अ. को तेस्रो श्लोक हेर्नुहोस्)  'परमं'= ब्रम्ह, 'वेदितव्यं' = जान्नु पर्ने वस्तु तपाई हुनुहुन्छ,  'निधानं' = तपाई यस विश्वका अन्तिम आश्रय हुनुहुन्छ, तपाई अव्यय अपरिणामी हुनुहुन्छ, 'शाश्वत'= तपाई चिरस्थायी हुनुहुन्छ । 'धर्मगोप्ता' = यो विश्व नै तपाई हुनुहु्न्छ, परन्तु तपाईले यस विश्वलाई जसरी धारण गर्नु भएको छ, तपाईको यो जुन आवरण हो, यसैले तपाईलाई आत्म गोपन गर्ने बनाएको छ,  'सनातन' = अनादिसिद्ध चिरन्तन पुरुष तपाई  हुनुहुन्छ, 'पुरुष'= सर्व शब्दको अर्थको अन्तरात्मा तपाई हुनुहुन्छ – यही कुरा मैले सम्झेको छु ।

    अनादिमध्यान्त मनन्तवीर्य
    मनन्तबाहुं शशिसूर्यनेत्रम् ।
    पश्यामि त्वां दीप्तहुताशवक्त्रं
    स्वतेजसा विश्वमिदं तपन्तम् ।। १९ ।।