हो ! मलाई आत्म दाह गरूँ गरूँ लाग्छ !

हो ! मलाई आत्म दाह गरूँ गरूँ लाग्छ !

ऋतु आशिक  |  साहित्य  |  असार ११, २०७९

देश बाँचिरहेको छ । 
यो अनिश्चितताको भूमरीमा, 
हो ! देश भूमरीमा बाँचिरहँदा
देश हारेर बाँचिरहँदा, 
म कसरी निदाउन सक्छु ? 
सिमानामा छिमेकीले दिनका दिन पिलर लडाउँदै छ । 
सैनिक र प्रहरीहरु यसबेला व्यारेकमा थुनिएका छन् । 
ती ब्यारेकबाट किन निस्कने आदेश पाइरहेका छैनन् ? 
पत्रकारहरु झिना मसिना कुरामा अल्मलिएको छन् । 
सूचनाको खडेरी देशभरि परेको छ । 
देशभरि सिमाना जोडिएका जिल्ला–जिल्लाहरुमा 
नागरिकता यसबेला आलु भन्दा सस्तो भाउमा बिक्री भइरहेको छ । 
देशमा कालो बादल मडारिरहँदा
सुतेको बहानाबाजी गरिरहेका छन् । 
सरकारको लाली पप र छिमेकीको रासन पानीमा
आफूलाई सुपुर्दगी गरिरहेका छन् । 
देश हारिरहँदा 
आफूलाई आत्म तृप्ति हुर्काइरहेका छन् ।
देशद्रोही सरकारको जयगान गाइरहेका छन् । 
म आफैं पत्रकार भएकोमा आफ्नै मुख भरी थुक्न मन लागेको छ । 
मेरो देश हारिरहँदा
म बाँच्नेको कुनै अर्थ छैन । 
हो ! म भन्छु म बाँच्नको कुनै अर्थ छैन । 

म घृणा गर्छु आजको अवस्थित सरकारलाई 
म घृणा गर्छु ती गृहमन्त्रीलाई 
जो नेपाली जनताको अनुमोदन भएर आएकै होइनन् 
म घृणा गर्छु ती न्यायाधीशहरुलाई जो देशको बिरुद्ध फैसला गर्छन् । 
म घृणा गर्छु ती सांसदहरुलाई 
देश लुटिरहँदा तिम्रो मौन स्वीकृतिलाई 
म घृणा गर्छु आजको कम्युनिष्ट पार्टीको कार्यशैलीलाई 
म घृणा गर्छु नेपाली काँग्रेसलाई 
देश हारिरहँदा उसको बुझी नसक्नुको मौनतालाई 
मैले सुनेको छु नेपाली काँग्रेसको निर्णयमा
लैनचौरको मलजलले हुर्काएको हुन्छ । 
म घृणा गर्छु ती कार्यकर्ताहरुलाई 
ती जुनसुकै पार्टीका कार्यकर्ता नै किन नहुन् 
देश व्यथामा थलिँदा पनि मौनता पालिरहेका हुन्छन् । 

हाम्रो पुर्खाले आर्जेको थातथलो 
हामी आफै प्वाल पारिरहेका छौँ । 
नागरिकताको नाममा हामी आफ्नो देशलाई 
इजरायल बनाइरहेका छौ । 
सिक्किम बनाइरहेका छौ । 
फिजीमा रुपान्तरित गरिरहेका छौँ । 
विश्व रंगमञ्चमा हामी पनि कुनै बेला शक्तिशाली थियौँ । 
हामी पनि वैभव शाली थियौँ 
शक्तिशाली चीनलाई झुकाएका थियौँ । 

पञ्चायती शासनको चका चौधमा 
देश सुरक्षित त थियो ।
कलकारखानाले भरिभराउ त थियो ।  
हामी लाखौंको तादात मा विदेशिएका त थिएनौँ नि ? 
यसबेला दिनका दिन सयकडौं तादात मा लाशमा रुपान्तरित भएर 
रातो बाकसमा फर्किएका त थिएनौं नि ? 

मार्क्सवाद प्रतिको मेरो अट लता 
मेरो मरणपछि पनि रहनेछ । 
भारतीय नागरिक हुलका हुल बाँधेर नागरिकता थापिरहेका छन् । 
कम्युनिष्ट सरकारको खोल ओढेर 
नागरिकता बिक्री गरिरहेको छ । 
देश खाली गरिरहेको छ । 
कता गयो कम्युनिष्ट इमानदारी ? 
कम्युनिष्ट सरकारको खोल ओढेर 
तिमीले गरेको जालझेलको पोल खुलेको छ । 

कम्युनिष्टको खोल ओढेको सरकार !
म तिमीलाई मनदेखि नै घृणा गर्छु । 
मेरा पुर्खाको यो विरासत
यो माटो यो हावामा मेरो पुर्खाको रगतले सिँचेको छ । 
चन्द्र सूर्य अंकित झण्डामा आफू बेरिएर 
पार्टी पार्टीमा झुण्डिएका नेपालीहरुलाई 
देशभक्ति स्मरण गराउन
पार्टीभन्दा माथि हुन्छ देशभक्ति 
म पटक पटक भन्छु पार्टी भन्दा माथि हुन्छ देशभक्ति 
यसैले फेरि एक पटक भन्छु 
चन्द्र सूर्य अंकित झण्डामा आफू बेरिएर 
म आत्म दाह गरूँ गरूँ लाग्छ ।  
मेरो आत्म दाहले तिम्रो देशभक्तिलाई बल्झाउने छ कि !  
तिमीमा देशभक्ति भर्न 
हो ! मलाई आत्म दाह गरूँ गरूँ लाग्छ ! 

 

२०७७ वैशाख २४
विराटनगर