बोल न छिमेकी ! किन बोल्दिनौँ ?

बोल न छिमेकी ! किन बोल्दिनौँ ?

धनचन्द्र राई  |  साहित्य  |  असार ११, २०७९

हिजो रात 
मेरो गोरु दाम्लो चुँडाएर उम्किएछ
छिमेकिको खेतको बालि मस्त खाएछ
मेरो गोरु क्या फटाहा,
आफ्नै बाली खानुनी
किन अर्काको बाली खाको ??

बालि लगाउँदा,
गोरुको पर्म गोरु
हलिको पर्म हलि
रोपाहारको रोपाहार
बाउसेको बाउसे गर्दै
ठट्टा–ठट्टामा भुईँ चुट्दै
झोंका–झोंकमा गोरु कुट्दै
रात–साँझ 
मेलो गरियो ।

जाँड खाँदै जुहारी खेलियो
हारेपछि हिलोमा कुस्ति खेलियो
हिलो दल्नुमा
तिमीले मलाई कहाँ बाँकि राख्यौ ?
मैले पनि 
तिमीलाई कहाँ बाँकि राखेँ र ?
सुन्नेलाई लाज लाग्छ
भन्नेलाई बात लाग्छ
बिचरा, 
ती निर्दोष हिलो
तिमीसँग बेसरम
लपक्कै टालियो 
हिलोलाई के दोष ?

पात्ले को पातमा बेरेको सुर्ती
'धुवाँको जुठो हुँदैन' भन्दै
पालैँ–पालो गन्दै
कति तानियो के गन्नु र ?
‘ कि देउ थपनी , कि लेउ छ पनि
तिमी जस्तो, उस्तै म पनि ’
गीतको निहुँमा
कति दङ्गाईयो के भन्नु र ?
‘ आकाशबाट तारा झ–यो , कल्ले के ग–यो
घामले पनि डाहा ग–यो , दिउँसै रात प–यो ।’
तिमीले पनि नघुर्कीको कहाँ हो र ?

हिजो गोरुले लाको पर्म 
गोरुले ति–यो
आज गोरुले लाको खेति 
गोरुले खाँदा
किन बोल्दनौं छिमेकी  ?
हेर न,
यी गोरुहरू
आजपनि जुवामा सँगै नारिएका छन्
एउटै थलोमा खाका छन्
तिमी र म पो
हुँक्रा–हुँक्रि भो
छाति पिटा पिट भो
झन्नै हानाहान भो
तिमीले पनि दाम्लो चुँडाए झैं गर्‍यौँ
म पनि सिंगौरि खेले झैं गरें
ति थलाका गोरुहरु
घास खानै छोडेर छक्क परे
जे हुने भै गो
बोल न छिमेकी, किन बोल्दैनौँ ? 

तिम्रो आँगनमा पैरो झर्दा
मेरो अगेनामा आगो मर्दा
गैंती झ्याम्पल गर्नु
झुलो चकमक पार्नु
दुःख–सुख
तिमी र म 
मिलेकै थियौं ।

तिम्रो सामलको मानो सकिँदा
मेरो परालको छानो मक्किँदा
ऐँचो–पैँचो सार्नु
टालाटुली बार्नु
दुःख–सुख 
तिमी र म
मिलेकै थियौं ।

हिजो गोरुले लाको पर्म 
गोरुले ति–यो
आज गोरुले लाको खेति 
गोरुले खाँदा
किन बोल्दैनौ, छिमेकी ? बोलन ।

गोरुले
बालि लाउन्जेल
आलि भत्काएन
फालि बङगाएन
हलो भाँचेन
हली लडाएन
बरु
भोक तिर्खा सह्यो
झरि बादल सह्यो
हलो धसेको र हलले डसेको सह्यो
रात–दिनको खटाई र हलीको कुटाई सह्यो
शायद गोरुले
आफ्नो कर्म सम्झेर सह्यो
या त, धर्म  सम्झेर सह्यो
बित्था मा
तिमी र म पो,
छाति पिटा पिट भो
हुँक्रा–हुँक्री भो
झन्नै हानाहान भो
तिमीले पनि दाम्लो चुँडाए झैं गर्‍यौँ
मैले पनि सिंगौरी खेले झैं गरें
ति थलाका गोरुहरू
घास खानै छोडेर छक्क परे
जे हुने भै गो
बोल न छिमेकी, किन बोल्दैनौँ ? 

                                २०७९, असार ७ धरान्