कुरा असारको, दु:ख किसानको, अकर्मण्यता सरकारको

कुरा असारको, दु:ख किसानको, अकर्मण्यता सरकारको

रूपक अलङ्कार  |  दृष्टिकोण  |  असार १७, २०७९

जलको पहिलो स्पर्श मट्टीमा हर्हराउँछ 
मेरो अन्तरको स्वप्ना बाली भै लहराउँछ

वर्षासँगै किसानको मनमा र जीवनमा देखिने उमंगलाई प्रस्तुत पंक्तिले व्यक्त गरेका छन् साथै पर्यावरणीय चक्र एवं सृष्टिक्रमलाई पनि माथिको कविताले संकेत गरेको छ । 

वर्षाऋतु साउन-भदौ भए पनि पानी अत्यधिक पर्ने समय नै वर्षायाम हो । हाम्रो देशमा जेठदेखि नै वर्षा लागिजान्छ । वर्षा लागेपछि धान रोप्ने वा खेत रोप्ने समय आउँछ । हाम्रो लोकजीवनमा खेत रोप्ने समयलाई असार भनिन्छ । ठाउँअनुसार जेठदेखि साउनसम्म खेत रोप्ने समय लाग्छ । धान त चैतमा रोप्छन् तर चैतलाई असार भन्ने चलन भने छैन । 

धानका लागि पानी चाहिन्छ । जहाँ खोला वा मूलको पानी लाग्दैन, त्यस्ता खेतमा अकासे पानी पर्खिनुपर्ने हुन्छ । त्यस कारण पनि धानका लागि असार नै कुर्नुपर्ने हुन्छ ।

खोलाको पानी लाग्ने भन्दैमा जहिले रोपे पनि धान फल्छ भन्ने होइन । धान फल्ने कुरो हाम्रो हातमा छैन, प्रकृतिको नियन्त्रणमा छ । त्यही भएर कर्म गर फल तिम्रो नियन्त्रणमा छैन भनिएको हो ।

पानी पर्न थालेपछि पृथ्वीको उर्वराशक्ति बढ्छ । माटोको खुकुलोपन बढेर आउँछ । असारमा खेत खन्दा कति सजिलो हुन्छ र साउन दोस्रो हप्तापछि खेत खन्दा कति गाह्रो हुन्छ भन्ने कुरा क्यालेन्डर बनाउनेलाई थाहा हुँदैन, खेतमा कोदाली लिएर पसिना चुहाउनेलाई थाहा हुन्छ ।

असारमा पृथ्वी महिनावारी हुने ४ दिन खनजोत गर्न नहुने भन्ने धारणा पनि कृषि समाजमा विद्यमान छ । यसबाटै किसानले त्यसै असारलाई पूजा गरेका होइनन् भन्ने थाहा हुुन्छ । अर्को कुरा, माटो र जलवायु सम्बन्धका बारेमा पहिलेका मानिस चुप लागेर बसेका थिएनन् भन्ने पनि थाहा हुन्छ बरु अहिलेको आधुनिक भनिएको कृषि विद्या हाम्रो माटो सुहाउँदो छैन । त्यही भएर सरकारले बाँढेको बिउमा बाली नलाग्ने समस्याबाट किसान पीडित छन् । 


संसारको इतिहासमा सबैभन्दा ठूलो क्रान्ति भनेको कृषि क्रान्ति हो । सिकारी युगबाट कृषियुगमा आइपुग्दा मानिसले मारेको फड्को नै अविष्मरणीय क्रान्ति हो । कृषिमा प्रवेश गरेदेखि नै मानिसले माटो र पानीको महत्त्वलाई हृदयंगम गरेको हो । 

वेदका मन्त्रहरूले पर्जन्यलाई पिता र पृथ्वीलाई माता भनेर वणर्न गरेका छन् । पर्जन्य भनेको वर्षा हो । वृष्टि र माटोको सम्बन्धबाट बीज अंकुरित हुने तथ्य अनुभूत गरेर अथवा प्रकृतिको यही ज्ञानलाई साक्षात्कार गरेरै ऋषिहरूले मन्त्र देखेका हुन् । 

मनुले पनि ‘वृष्टेरन्नं ततः प्रजा’ वा वृष्टिका कारण अन्न उब्जिने र अन्नले गर्दा मानिसलगायत अन्य जीवहरूलाई पोषण प्राप्त हुने कुरा गरेका छन् । यति मात्र होइन, अनेकौँ पटक अनेकौँ स्थानमा वर्षा र अन्नको सम्बन्ध वणर्न गरिएका वाक्यहरू पढ्न पाइन्छ ।

हुनत यस धर्तीमा धानका अतिरिक्त गहुँ, मकै, कोदो, जौलगायतका अनेकौँ अन्नबाली हुन्छन्् तर पनि धानको महत्त्व बढी छ । धान अन्न मात्र नभएर औषधि हो । धानलाई यति धेरै महत्त्व दिनुको कारण यसको स्वाद नै हो साथै धान त्यति सजिलै उत्पादन हुने बाली होइन ।

अरू बालीका तुलनामा धान फलाउन निकै कठिन छ । यो त हाम्रो जीवनमा वर्षौंदेखि एकाकार भएकाले विचार नगरिएको मात्र हो । जीवनभर बिहान-बेलुकै खाएर पनि धानबाट मानिस अघाएको छैन । 

खासमा धानको वणर्न गरेर पार पाउन मुस्किल छ । यस्तो जीवनाधार तत्त्वका रूपमा सर्वपूजित धान लगाउने मौसम भएकाले किसानका लागि असार सबैभन्दा ठूलो महोत्सव हो घरमा बसेर मिठोमिठो खाएर रामाएर समय बिताउने सुखमय मेला होइन । भोलि बसौँला, भोलि रमाऔँला आज काम गर्नुपर्छ भनेर मेलामा हानिने बेला हो । मरेको मान्छेलाई गुन्द्रीले छोपेर मेलो भ्याउने बेला हो । बेलामा पानी परोस् । बिउ पाइयोस् । मल पाइयोस् । बस्, किसानको चाहना यत्ति हो । 

देशमा असार लागेको छ । यो बजेट सिध्याउने असारको कुरो होइन, दुनियाँको पेट भर्ने असारको कुरा हो । असार कृषिप्रधान देशका लागि उत्सवमय महिना हो । हुनत कृषिप्रधान मुलुकका लागि सबै महिना उत्सवमय नै हुनुपर्ने हो । एक महिना काम गरेर सधैँभर खान पुग्दैन तैपनि यसो औपचरिकताका लागि सरकारले १५ असारलाई राष्ट्रिय धान दिवस घोषणा गरेको छ । 

सरकारी तहबाट सम्पन्न हुने औपचरिकता यसै दिन देख्न पाइन्छ, कुरो यही हो । बगैँचामा वा गमलामा हातमा पन्जा लाएर धान रोप्ने अनि दही-चिउुराका नममा केरा, आँप, मासु, रसबरीसमेतले पेटपूजा गरेर धान दिवस मनाउनेहरूका विषयमा धेरै शब्द खर्च नगरौँ होला ।

यहाँ कुरो किसान र कर्मको हो । किसान कर्मशील प्राणी हुन् । मानो रोपेर मुरी फलाउने (जुनसुकै कम्पनीको शेयर किन्नुहोस्, यति धेरै शेयरको मूल्य बढ्दैन । यो संसारमा सबैभन्दा धेरै मुनाफा दिने भनेको माटोले हो) । आफू बाँचेर अरूलाई बचाउने किसान यस धर्तीका साक्षात् भगवान् हुन् ।

तर, हामी आफू त माटोमा मिसिन चाहँदैनौँ नै, किसानको सम्मान गर्न पनि जान्दैनौँ । काम गर्नेले भन्दा बिचौलिया दलालले धेरै कमाउने अहिलेको बानियाँगिरीको युगमा किसानहरूले धुरुधरु रुनुपरेको छ । आफूलाई पासोमा झुन्ड्याउनुपरेको छ । भएको जमिन धितो राखेर मुग्लान जानुपरेको छ । कस्तो बिजोग छ हाम्रो !

किसान जस्तो उपकारी, परोपकारी प्राणीलाई चोर, डाका, लुटाहा, फटाहा बनाउने कार्य हाम्रो राज्य संयन्त्र र व्यापारीहरूले गरिरहेका छन् । ४ असारमा धादिङको धार्केमा  गाडीमा ल्याउँदै गरेको मल किसानले लुटे भन्ने हल्ला फैलियो । अचम्म छ- किसान लुट्न जाने, चोर्न जाने जात हो ? बाँडेर खान किसानले जति कसले जानेको छ ? बेच्न थालेको त कति भयो र ? 

भोलिपल्ट समाचार आयो- तस्करले मल ल्याउन सक्छन्, सरकाले ल्याउन सक्दैन भनेर । कुरो यही हो, त्यो मल सरकारले ल्याएको थिएन । हुनत को सरकार, को तस्कर ? छुट्याउन सजिलो छैन । जे होस्, किसन लुटाहा होइनन् । लुट्न लगाइएको हो ।

मल कहाँ आउँदै छ ? कसले ल्याउँदै छ ? कहिले आउँछ ? भन्ने कुरा किसानलाई थाहा हुँदैन । केही सय किसान राजमार्गमा जम्मा भएर मल ल्याउने मात्र गाडी छानेर बोराका बोरा मल लुट्ने काम हठात् हुने होइन । लुटेर सकिनेसकिने बेलामा पुलिस आइपुग्नु जस्तो क्रियाकलाप कि नेपालमा हुन्छ कि हिन्दी कमेडी फिल्ममा ।