सर्वसाधारणका लागि देवता 'सर्वशक्तिमान्'! सिद्धिका लागि कि त्रासका कारण गरिन्छ पूजाआजा ?

सर्वसाधारणका लागि देवता 'सर्वशक्तिमान्'! सिद्धिका लागि कि त्रासका कारण गरिन्छ पूजाआजा ?

रूपक अलङ्कार  |  दृष्टिकोण  |  असार २२, २०७९

हाम्रो मामाघरको बारीमा नागको थान थियो र त्यहाँ पहिलो कुवा पनि थियो रे !  जहाँ कुवा वा पानीको मुहान हुन्छ त्यहाँ नाग हुने कुरालाई हाम्रो संस्कृति स्थापित गरेको छ । कुवामा पानी उम्रिन छोडे पनि अलिकति ठाउँ खनजोत नगरी कन ढुंगा थुपारेर छुट्टै पहिचान हुने गरी संरक्षण गरिन्थ्यो ।

 नागा थान वरिपरि गएर मलमूत्र त्याग्नु त परै जाओस् ऐया आत्था सम्म गर्न बन्चित हुन्थ्यो । भनेमा मुख सुन्निने, जिउमा डाबर आउने जस्ता समस्याहरु देखा परिहाल्थे । नागलाई राता अक्षता नफाली धरै भएन । देवता भनेर सम्मान गरिएका नाग राजाबाट यत्रो भय व्याप्त हुने गर्थ्यो । 

देवता दयालु हुन्छन् कि निर्दयी  हुन्छन् भनेर मीमांसा गर्ने हो भने निष्कर्ष के आउँछ होला ? हुन त देवता नै छैनन् । देवता भन्नु एक अफवाह मात्र हो भन्नेहरूका लागि यो विषय नै बेकार हो त्यस्ता मानिसले एक छिन् मौन धारण गरेकै राम्रो । मानव सभ्यताले मानि आएका देवता छन् तिनीहरु दयालु छन् कि निर्दयी छन् या तटस्थ ? देवता भनेको के ? ईश्वर भनेको के ? जस्ता प्रश्नका लागि फेरि अर्कै शास्त्र पल्टाउनुपर्छ । त्यो पनि अहिले भ्याइन्न । 

हिन्दु धर्ममा तेत्तीस कोटि देवताका प्रसंग धेरै ठाउँमा आउँछन् । को प्रधान को अप्रधान ? त्यसका नालीबेली अर्कै छ । बौद्ध धर्मका प्रवर्तक सिद्धार्थ गौतम हुन् भनिए पनि बौद्ध देवीदेवताको सूची निकै लामो छ । संसारका अन्य धर्ममा पनि अनेक देवता छन् । देवताको सम्बन्ध धर्मसित नै हुन्छ र तिनको पूजाआजा तत् तत् धर्मावलम्बीले गर्छन् ।

सभ्यताको विकास हुँदै जाँदा देवताहरू पनि बढ्दै जान्छन् । कर्मले (हाम्रै गौतम बुद्ध मानिस थिए जन्मेर द्यौता बने, भुवन हरि सिग्देल) या विविध कारणले देवता बढ्न सक्छन् ।

जुन समाज र संस्कृतिमा मानिस जन्मिन्छ र हुर्किन्छ त्यहीँका देवतासित मानिसको चिनजान हुने हो । तिनै देवतासितको आस र त्रासमा मानिस घुमिरहेको हुन्छ । कुनै दर्शनको ज्ञाता वा तत्त्ववेत्ताले देवतालाई फरक किसिमले ग्रहण गर्न सक्ला । देवताका विषयमा फरक धारणा बनाउन सक्ला । तर आम मानिसले देवतालाई बुझ्ने तरिका अर्कै हुन्छ ।

हाम्रा लागि पितृ पनि देवता हुन् । कुलदेवता त चर्चित भइहाले, वास्तु, गैडु, द्यौराली, भन्ज्याङ, सिमे, भूमे, धारा, खेत, बारी, आँगन, गोठ, पिँढी, खोपो, करेसो, चुलोचौको, चोटो, बुइँगल सर्वत्र देवताकै वास छ । देवताकै बिचमा हिँड्नुपर्छ । मानिसले देख्ला नदेख्ला देवताले त नदेख्ने कुरै भएन । तन्त्रतिर लाग्ने हो भने त यो शरीर नै देवताको घर हो भन्न थाल्नु पर्ने हुन्छ

साधारण जनताका लागि देवता सर्वशक्तिमान् हुन्छन् । देवताले गर्न नसक्ने कुनै कार्य छैन । भक्तले चाहेका सम्पूर्ण आवश्यकता देवताले पुर्‍याउनु सक्छन् ।  त्यही भएर दुःखमा, सुखमा, घरमा, यात्रामा सर्वत्र मानिसलाई देवताले नै ढाडस दिन्छन् । पाठ पूजा, नैवेद, फूल प्रसादले खुसी पार्दा देवता खुसी हुन्छन् र चिताए अनुसारको फल प्रदान गर्छन् । पूजाआजा गरिएन भने देवताले अनिष्ट गर्नसक्छन् । त्यो दृश्य वा अदृश्य जस्तो पनि हुन सक्छ । 

मानिसले सर्वप्रथम प्रकृतिलाई देवता मानेको देखिन्छ । वैदिक ग्रन्थहरुमा अग्निर्देवता वातो देवता चन्द्रमा देवता भनेर विभिन्न देवताहरूको स्तुति गरिएको छ । अग्नि, वायु, चन्द्रमा, इन्द्र(विद्युत), वनस्पति भनेका प्रकृतिका विभिन्न रुप हुन् ।

रुद्र, वरुणलगायतका देवता पनि प्रकारान्तरले प्रकृतिकै कुनै रुप हुन् भन्ने तथ्य पनि पाइन्छ ।  मानिसका सबैभन्दा ठुलो संघर्ष प्रकृतिसित हुन्छ  र त्यस संघर्षमा कमजोर पनि मानिस नै हो ।

अर्काे कुरा प्रकृतिबिना मानिसले आफ्नो सम्भावना पनि  देख्न सकेन यसरी हुँदा पनि गाह्रो र नभई पनि नहुने चिजका रुपमा मानिसले प्रकृतिको साक्षात्कार गरेको हुनाले मानिसले प्रकृतिलाई देवताका रुपमा सम्मान गर्न थालेको हो । वैदिक समयका तिनै प्रकृति परक देवताहरू पौराणिक कालमा आइपुग्दा हस्तपादादि अवयवसहित उपस्थित हुन आइपुग्छन् । 

 स्वर्ग र मर्त्य छुटिन्छ । मर्त्य मरण शील मानवलगायत अन्य प्राणी बस्छन् भने स्वर्गमा अमरणशील  देवताहरू अक्षय सुख भोग गरेर युगौँ बिताउँछन् । इन्द्रले अप्सरा नचाउन थाले । उनी जब जब भोग विलासको सरोवरमा डुब्छन् त्यति बेला राक्षसहरू स्वर्गमा हमला गर्छन् । देवताहरूमा भागाभाग चल्छ । ज्यान जोगाउनका लागि उनीहरु कहिले ब्रह्मा, कहिले महादेव त कहिले विष्णुको दरबारमा शरणागत हुन्छन् । ब्रह्मा, विष्णु महादेवले देवताको भलो गरेरै छोड्छन् त्यसका लागि बिस पिउन किन नपरोस् ? आइमाई बन्न किन नपरोस् ? 

पौराणिक कालमा बनेको देवताको स्वरुप यस्तै छ । स्वर्गमै पनि देवताका गुट, उपगुट खडा भएका छन् । देवताका पनि देवता देखिएका छन् । भागवत लगायतका पुराणमा हेर्दा मर्त्य लोकका मानिसले आकाशतिर फर्केर स्वर्गवासी देवतासित पुकारा गरेका छन् । पौराणिक देवताहरुको रहस्यमय स्वरुपको वर्णन हजार जिब्रो भएका शेष नागले त गर्न न सक्लान् मजस्तो अकिञ्चनले गर्न सक्ने कुरै भएन । 

पुराणमा देवतालाई पूजा गर्ने मर्त्य लोकका बासिन्दा पनि आज हाम्रो समयमा आइपुग्दा देवता भइसके राम, सीता, कृष्ण, राधा, हनुमान, भीम आदिलाई उदाहरणको रुपमा लिन सकिन्छ । पुराणमा भनिए भन्दा फरक खालका पनि देवता छन् हामीसित । श्री स्वस्थानी देवी कुनै पौराणिक वा वैदिक देवता हुन् जस्तो लाग्दैन । श्री स्वस्थानी देवी नै हाम्री मौलिक देवी हुनाले उनकै ब्रत कथामा जोडिएर आएका गुह्येश्वरी, भालेश्वर जस्ता देवता पनि मौलिक देवता नै हो ।

हाम्रो चेपाङ बारीमा भएकी देवीको बारेमा हामीलाई मात्र थाहा छ । कोइलटार बारीको कान्लामा पनि देवीको दरबार छ । हजुरबा हुँदा सम्म परेवा काटेर पूजा गरिन्थ्यो अहिले परेवा पनि पाउन मुस्किल छ । कुन दिन बा, आमा वा मेरै पनि सपनामा ऐँठन भएपछि देवीको मुखमा माड लाग्न थाल्ने हो थाहा छैन ।

हाम्रा लागि पितृ पनि देवता हुन् । कुलदेवता त चर्चित भइहाले, वास्तु, गैडु, द्यौराली, भन्ज्याङ, सिमे, भूमे, धारा, खेत, बारी, आँगन, गोठ, पिँढी, खोपो, करेसो, चुलोचौको, चोटो, बुइँगल सर्वत्र देवताकै वास छ । देवताकै बिचमा हिँड्नुपर्छ । मानिसले देख्ला नदेख्ला देवताले त नदेख्ने कुरै भएन । तन्त्रतिर लाग्ने हो भने त यो शरीर नै देवताको घर हो भन्न थाल्नु पर्ने हुन्छ । त्यता नलागौँ । 

दक्षिणकाली रिसाइन्, भैरव रिसाए, आकाशदेवी रिसाइन, कुलदेवता भाँडिए, घाटकी देवी रिसाइन् भनेर मान्छेहरु अक्षता पाती बोकेर दौडिने चलन अहिले गाउँदेखि सहरसम्म छँदै छ । उग्र स्वभाव भएका देवताको चर्चा परापूर्व कालदेखि नै भएको पाइन्छ । तिनको स्वभाव यीनमा अनुवाद भएको पनि हुनसक्छ । काँचो पिचास वा वायुलाई पकाउँदै देवता बनाउने विधि हामीसित छ मान्नुस् नमान्नुस् । गर्छ को लोकमा सोझा ग्रहको पूजनादिक भन्ने लेखनाथको भनाइअनुसार पनि लोकले परत्र सिद्धि वा लोककल्याणका लागि मात्र नभएर त्रासका कारण पनि देवतालाई पुज्छन् भन्ने कुरा बुझ्न सकिन्छ । देवतामा पनि दयालु पन र निर्दयी पन हुने नै भए जुन कुरा हाम्रो धार्मिक, सामाजिक क्रियाकलापमा प्रतिबिम्बित भएको पाइन्छ ।