२०७६ साउनदेखि २०७७ असारसम्म ८३ वटा अध्ययन, अनुसन्धान, अनुवाद र ग्रन्थलेखन

२०७६ साउनदेखि २०७७ असारसम्म ८३ वटा अध्ययन, अनुसन्धान, अनुवाद र ग्रन्थलेखन

लोकसंवाद संवाददाता  |  साहित्य  |  असार २७, २०७९

नेपाल प्रज्ञा-प्रतिष्ठानबाट आर्थिक वर्ष २०७६/०७७ मा पनि विभिन्न विभागबाट अनुसन्धान र प्रकाशनका कार्यहरू सम्पन्न भएका छन् ।

नेपाल प्रज्ञा-प्रतिष्ठानले आ.व. २०७६/०७७ मा विभिन्न योजनाहरू पूरा गर्ने लक्ष्य लिई कार्यक्रम तथा बजेट निर्माण गरेको थियो । यी कार्यक्रमहरूमध्ये भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रलगायतका विषय क्षेत्रसँग सम्बन्धित अध्ययन, अनुसन्धान र अनुवादहरूमा विभिन्न विद्वान्हरू संलग्न हुनुभएको थियो । नेपाल प्रज्ञा-प्रतिष्ठानबाट आ.व. २०७६/०७७ अन्तर्गत २०७६ श्रावणदेखि २०७७ आषाढ मासान्तसम्म सम्पन्न अध्ययन, अनुसन्धान, अनुवाद र ग्रन्थलेखन ८३ वटा सम्पन्न भएका छन् ।

भाषा (नेपाली भाषा, कोश र व्याकरण) विभागअन्तर्गत यस आ.व.मा ३ वटा अध्ययन, अनुसन्धानका कार्य सम्पन्न भएका छन् । कर्णाखर खतिवडाले ‘भाषा विज्ञान कोश’, डा. बलराम प्रसाईंले ‘नेपाली बृहत् शब्दकोश २०७५ को विश्लेषण तथा समीक्षा’, डा. रमेशप्रसाद भट्टराई र डा. प्रेमप्रसाद चौलागाईंको सहयोगमा संयोजक प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलद्वारा ‘प्रज्ञा-नेपाली शैक्षणिक व्याकरण’ अध्ययन, अनुसन्धान कार्य सम्पन्न भएका देखिन्छ ।

यस विभागबाट यस आ.व.मा डा. कर्णाखर खतिवडाले तयार पार्नुभएको ‘घिमाल भाषाको व्याकरण’, हरिचन्द्र लावतीले तयार पार्नुभएको ‘तुलनात्मक रूप-व्याकरण’ (नेपाली, लिम्बू, याक्खा र राजवंशी भाषा) र प्रा.डा. रमेश भट्टराई र डा. प्रेमप्रसाद चौलागाईंले तयार पार्नुभएको ‘नेपाली शैक्षणिक व्याकरण’ गरी ३ वटा पुस्तक प्रकाशन गरिएका छन् ।

संस्कृति विभागबाट यस आ.व.मा ५ वटा अध्ययन, अनुसन्धानका कार्यहरू सम्पन्न भएका छन् । डी.बी. नेपालीले ‘गण्डकी प्रदेशका कामी, दमाईं समुदायमा प्रतलित मन्त्रतन्त्रको अध्ययन’ सम्पन्न गर्नुभएको छ भने बुद्धिबहादुर रायमाझीले ‘प्रदेश नं. ५ मा प्रचलित देउराली पूजा’, डा. राजकुमार सुवेदीले ‘नेपालका चिडिमार समुदायको धार्मिक आस्था र जीवनदर्शन’ विषयमा अध्ययन, अनुसन्धान गर्नुभएको पाइन्छ ।

यसरी नै यसै विभागअन्तर्गत तुलसीराम खनाल ‘प्रभास’ले ‘कुसुण्डा समुदायको सांस्कृतिक जीवन’ र प्रा.डा. डिल्ली ओलीले ‘शारदा सभ्यता’बारे अनुसन्धान सम्पन्न गर्नुभएको छ ।

यस आ.व. मा संस्कृति विभागबाट चतुर्भुज केवरतले तयार पार्नुभएको ‘केवरत लोकजीवन’, पूरनसिंह दयालको ‘खपर्‍या एवम् देवताहरूबीचको द्वन्द्व र सृजित विभेद’, डा. कान्छी महर्जनको ‘मनमैजु क्षेत्रको सांस्कृतिक सम्पदा’, डा. मीन श्रीस मगरको ‘नेपाली राष्ट्रिय संस्कृतिको विकासमा मगर पुजारीहरूको भूमिका’, डा. रामदयाल राकेशको ‘वैश्य समुदायको मानवशास्त्रीय अध्ययन’, प्रा.डा. मुकुन्दराज अर्यालको ‘पौरस्त्य संस्कृतिमा प्रकृति संरक्षण’, प्रा.डा. वीणा पौड्याल र प्रा.डा. डिल्लीराज शर्माको ‘नेपाल उपत्यकाका जात्रा’ र शान्ता मानवीको ‘नेटुवा समुदायको सांस्कृतिक जीवन’ प्रकाशन भएका छन् ।

दर्शनशास्त्र विभागबाट यस आ.व.मा ६ वटा अध्ययन, अनुसन्धान कार्य सम्पन्न भएका छन् । अशोकविक्रम जि.सी (समीर सिंह)ले ‘साङ्ख्य दर्शन र माक्र्सवादको तुलनात्मक अध्ययन’, डा. एकारत्न आचार्यले ‘गणित दर्शनमा नयराज पन्तको योगदान’, डा. वेदुराम भुसालले ‘वैदिक समाज र दर्शन’, प्रकाशचन्द्र गजुरेलले ‘दर्शनशास्त्रमा भौतिक विज्ञान’, शिवहरि मरहठ्ठाले ‘न्याय तथा वैशेषिक दर्शनका समता र विषमता : एक अध्ययन’, प्रधानसम्पादक प्रा. जगत्‌साद उपाध्यायले ‘नेपाली दर्शन’ विषयक ग्रन्थ निर्माण गर्नुभएको पाइन्छ ।

यस विभागबाट यस आ.व.मा प्रा. जगत्‌साद उपाध्याय र विष्णु प्रभातको सम्पादनमा ‘दर्शनावली’ भाग ७, प्रा.डा. दुर्गाप्रसाद दवाडीको ‘वैदिक संस्कृतिमा राष्ट्रवाद’, नारायणप्रसाद आचार्यको ‘द्वन्द्ववाद र पौरस्त्य दर्शन’ र केशवशरण अर्यालको ‘माथुरी मञ्चलक्षणी’ गरी ४ वटा पुस्तक प्रकाशन भएका छन् ।

यसरी नै सामाजिक शास्त्र विभागबाट पनि यस आ.व.मा उल्लेख्य कामहरू भएका पाइन्छ । यस विभागले यस आ.व.मा ११ वटा अध्ययन, अनुसन्धानका कार्य सम्पन्न गरेको छ ।

माधवप्रसाद लामिछानेले ‘पशुपति क्षेत्रमा प्रचलित जात्रा-पर्वहरूको समाजशास्त्रीय अध्ययन’ सम्पन्न गर्नुभएको छ भने हिरण्यलाल श्रेष्ठले ‘नेपाल-बङ्गलादेश सम्बन्ध’, डा. ढाकाराम सापकोटाले ‘चितवन जिल्ला, राप्ती नगरपालिका- १३ स्थित चेपाङ जातिका महिलाको शैक्षिक अवस्था’, डा. डोलराज काफ्लेले ‘काठमाडौँ जिल्ला चन्द्रागिरि नगरपालिका- ९ का गोपाली जातिको सामाजिक-सांस्कृतिक अध्ययन’ यस विभागबाट सम्पन्न गर्नुभएको देखिन्छ ।

यसैगरी यसै आ.व.मा यस विभागबाट उद्धवप्रसाद भट्टराईले ‘राजनीतिमा चेतना, शान्ति र स्वतन्त्रताको खोज’, सीताराम घिमिरेले ‘नेपालका निर्वाचनहरूमा महिला वर्गको प्रतिनिधित्व’, डा. नवराज कट्टेलले ‘नेपालमा संस्कृत शिक्षा (वैदिककालदेखि मल्लकालसम्म)’, सत्यदेवी खड्काले ‘किङ्गडिया समुदायको सामाजिक-सांस्कृतिक अध्ययन’, डा. चन्द्रप्रसाद ढकालले ‘दलित र गैरदलितबीचको सामाजिक र आर्थिक सम्बन्ध’ (कालिका न.पा. चितवन) अध्ययन, अनुसन्धान सम्पन्न गर्नुभएको छ ।

शिवराज श्रेष्ठ मल्लले ‘मानवयात्रा : सृष्टिदेखि आर्यहरूको प्रथमा संस्कृतिसम्म’ र प्रा.डा. प्रेमकुमार खत्रीको सम्पादनमा ‘नेपालका जातीय संस्कार’ भाग ६ ग्रन्थ निर्माणको कार्य पनि यस विभागबाट यसै आ.व.मा सम्पन्न भएको देखिन्छ ।

सामाजिक शास्त्र विभागले यस आ.व.मा प्रा.डा. प्रेमकुमार खत्रीको ‘नेपालका जातीय सामाजिक संस्कार’ भाग ६, हिरण्यलाल श्रेष्ठको ‘नेपाल-बङ्गलादेश सम्बन्ध’, प्रा. दिनेशराज पन्त र प्रा.डा. क्लाउड मेगानको ‘ए प्रोसिडिङ अफ इन्टरनेसनल सेमिनार अन फिलोसफी’, प्रा.डा. टेकबहादुर श्रेष्ठको ‘फर्पिङको ऐतिहासिक रूपरेखा’, सहप्रा.डा. नीलप्रसाद पन्तको ‘बाग्लुङ नगरपालिकाका दमाईं जातिका सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक अवस्थाको अध्ययन’, शिवराज श्रेष्ठको ‘मानवयात्रा : सृष्टिदेखि आर्यहरूको प्रथमा संस्कृतिसम्म’, भोजविक्रम बुढामगरको ‘प्युठानका कोटहरूको अध्ययन’ र डा. देवी क्षेत्री दुलालको ‘नेपालका प्रमुख राजनीतिक विचारक र विचारधारा’ गरी ८ वटा पुस्तक प्रकाशन गरेको छ ।

यसै आ.व.मा भाषा (मातृभाषा, कोश र व्याकरण) विभागबाट २ वटा महत्त्वपूर्ण अनुसन्धान कार्य सम्पन्न भएका छन् । डा. बलराम प्रसाईं, डा. तारामणि राई र प्रा.डा. दुविनन्द ढकालले ‘बिब्लियोग्राफी अफ नेप्लिज ल्याङ्ग्वेजिज एण्ड लिङ्ग्विस्टिक्स’’ तथा प्रा.डा. योगेन्द्रप्रसाद यादव र डा. कर्णाखर खतिवडाले ‘मातृभाषाको रूपरेखा’ (भाग २) तयार पार्नुभएको छ ।

कोषनाथ देवकोटाको ‘नेपाली निघण्टु :’, बालचन्द्र शर्माको ‘चीनका प्राचीन कथा’, देवेन्द्रराज अर्यालको ‘चूयाँ’, भवानी भिक्षुका ‘मैयाँ साहेब’, ‘गुनकेशरी’, ‘आवर्त’, ‘छाया’, ‘अवान्तर’ र ‘परिष्कार’ पनि यस आ.व.मा यस विभागबाट पुन : प्रकाशन गरिएको पाइन्छ ।

यसरी नै यस विभागबाट यस आ.व.मा ३ वटा पुस्तक प्रकशन भएका छन्- प्रा.डा. योगेन्द्रप्रसाद यादव र अन्यद्वारा तयार पारिएको ‘अ क्लासिफाइड बिब्लियोग्राफी अफ नेप्लिज ल्याङ्ग्वेजिज एण्ड लिङ्ग्विस्टिक्स’ र प्रधानसम्पादक : प्रा.डा. योगेन्द्रप्रसाद यादव र सम्पादक डा. कर्णाखर खतिवडाले तयार पार्नुभएका ‘मातृभाषाको रूपरेखा’ (भाग १) र ‘मातृभाषाको रूपरेखा’ (भाग २) ।

साहित्य (पद्य/काव्य) विभागले पनि यस आ.व.मा महत्त्वपूर्ण अध्ययन, अनुसन्धानका कार्यहरू सम्पन्न गरेको देखिन्छ । यस विभागबाट सुकुम शर्माले ‘समकालीन नेपाली कवितामा युगचेतना’, डा. भरतकुमार भट्टराईले ‘समकालीन नेपाली कवितामा मिथकको प्रयोग’, डा. विन्दु शर्माले ‘समकालीन नेपाली कवितामा समावेशीकरण’, डा. राजेन्द्र खनालले ‘उत्तरवर्ती नेपाली कविताका प्रवृत्ति’ विषयमा अध्ययन, अनुसन्धान सम्पन्न गर्नुभएको पाइन्छ ।

यसरी नै डा. हरिप्रसाद सिलवालले ‘समकालीन नेपाली कवितामा दलित चेतना’, डा. रामप्रसाद ज्ञवालीले समकालीन नेपाली छन्दकवितामा प्रयुक्त प्रकृति’, डा. उर्मिला शर्माले ‘कवि विश्वेश्वरप्रसाद कोइराला र उनका काव्यप्रवृत्तिहरू’, रेणुका भट्टराईले ‘प्रज्ञा नेपाली नारी मुक्तक’ विषयक अध्ययन, अनुसन्धान यस विभागबाट सम्पन्न गर्नुभएको छ ।

महेश प्रसाईंले ‘महानन्द सापकोटाका सम्पूर्ण कविताको सङ्कलन र सम्पादन’ र ज्ञानु अधिकारीले ‘समकालीन नेपाली कवितामा पहिचानको स्वर’ विषयक अध्ययन पनि यसै आ.व.मा यस विभागबाट सम्पन्न गर्नुभएको देखिन्छ ।

साहित्य (पद्य/काव्य) विभागबाट यस आ.व.मा ७ वटा पुस्तक प्रकाशन भएका छन् । महेश प्रसाईंले सम्पादन गर्नुभएको ‘महानन्द सापकोटाका कविता’, प्रा.डा. हेमनाथ पौडेलले सम्पादन गर्नुभएको ‘काव्य विमर्श’, २०७७, रेणुका भट्टराईले सम्पादन गर्नुभएको ‘प्रज्ञा नारी मुक्तक’ यस आ.व.मा यस विभागबाट प्रकाशित पुस्तकहरू हुन् ।

यसरी नै डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ र गोपाल अश्कले सम्पादन गर्नुभएको ‘प्रज्ञा आधुनिक प्रतिनिधि नेपाली गजल’, ‘समकालीन नेपाली कविता’, प्रा.डा. हेमनाथ पौडेल र डा. अमर गिरीले सम्पादन गर्नुभएको ‘समकालीन नेपाली कविताको शिल्प’ र डा. उर्मिला शर्माले तयार पार्नुभएको ‘विश्वेश्वरप्रसाद कोइरालाका कविता र प्रवृत्ति’ पुस्तक पनि यसै आ.व.मा पद्य विभागबाट प्रकाशन भएका छन् ।

साहित्य (अनुवाद) विभागबाट यस आ.व.मा ७ वटा अध्ययन, अनुसन्धान र अनुवादका कार्यहरू सम्पन्न भएका देखिन्छ । आनन्दकुमार गुप्ताले ‘शिरीषको पूmल’ उपन्यास भोजपुरी भाषामा अनुवाद गर्नुभएको छ भने मेघप्रसाद खरेलले डङ्गौरा थारू जातिको ‘रामविहग्रा’लाई अङ्ग्रेजीमा अनुवाद गर्नुभएको पाइन्छ ।

यसरी नै डा. नवराज न्यौपानेले अनुवाद विभागद्वारा आयोजित गोष्ठीहरूमा प्रस्तुत १५ वटा कार्यपत्रहरूको अङ्ग्रेजी अनुवाद सम्पन्न गर्नुभएको छ भने अनुराधा शर्माले ‘नेपाली बालकथाहरू’को अङ्ग्रेजी अनुवाद सम्पन्न गर्नुभएको छ ।

कृष्णराज सर्वहारीले ‘बसाइँ’ उपन्यासको थारू भाषामा अनुवाद गर्नुभएको पाइन्छ भने प्रा.डा. अम्मराज जोशीले ‘हिटलर र यहुदी’ उपन्यास अङ्ग्रेजीमा अनुवाद सम्पन्न गर्नुभएको देखिन्छ । यसरी नै प्रा.डा. उषा ठाकुर र प्रा.डा. गोविन्दराज भट्टराईको सम्पादनमा ‘अनुवाद सन्दर्भ ग्रन्थ’ पनि यसै आ.व.मा यस विभागबाट तयार भएको छ ।

प्रकाशनतर्फ अनुवाद विभागबाट ७ वटा पुस्तक प्रकाशन भएका पाइन्छ । गोपाल अश्कको सम्पादनमा ‘प्रज्ञा भोजपुरी कथा’, केशव सिग्देलको अनुवाद र प्रा.डा. उषा ठाकुरको सम्पादनमा ‘सेड अफ कलर्स’, क्यारोल टेन्जीको पुस्तकको सुरेश हाचेकालीको अनुवाद ‘नेपालको धड्कन : पन्चेबाजा’, अनुराधा शर्माको अनुवाद र प्रा.डा. उषा ठाकुरको सम्पादनमा ‘सेलेक्टेड चिल्ड्रेन स्टोरिज फ्रम नेपाल', डा. नवराज न्यौपानेको अनुवाद र प्रा.डा. उषा ठाकुरको सम्पादनमा ‘डिस्कोर्स अन ट्रान्सलेसन्स’, मेघप्रसाद खरेलको ‘रामविहग्रा’ थारू लोक रामायणको अङ्ग्रेजीमा अनुवाद र प्रा.डा. उषा ठाकुर र प्रा.डा. गोविन्दराज भट्टराईको सम्पादनमा ‘अनुवाद सन्दर्भ ग्रन्थ’ यस विभागबाट यस आ.व.मा प्रकाशन भएका पाइन्छ ।

साहित्य (गद्य/आख्यान) विभागबाट यस आ.व.मा १० वटा विभिन्न विषयमा अध्ययन, अनुसन्धान सम्पन्न भएका छन् । प्रा.डा. सावित्री कक्षपतिले ‘नेपाली कथाको सांस्कृतिक अध्ययन’, डा. साधना पन्तले ‘उत्तरवर्ती नेपाली नारी आख्यानमा पहिचान र विद्रोह’, नन्दु उप्रेतीले ‘नेपाली लघुउपन्यासमा सामाजिक पक्ष’, डा. विष्णु न्यौपानेले ‘नेपाली ऐतिहासिक उपन्यासमा पात्रविधान’मा अध्ययन, अनुसन्धान कार्य सम्पन्न गर्नुभएको छ ।

यसरी नै डा. रजनी काफ्ले ढकालले ‘समकालीन नेपाली कथामा विचार र शिल्प’, गीता त्रिपाठीले ‘समकालीन नेपाली कथाको भाषाप्रयोगमा लैङ्गिक विभेद’, वासुदेव ढुङ्गेल र शक्तिराज नेपालले ‘नेपाली महिला कथाकारका कथामा सामाजिकता’, गणेशराज अधिकारी, सीताकुमारी ओझा र तारा पाण्डेले ‘समकालीन नेपाली महिला कथाकारहरूका कथा’, ईश्वरा पौडेलले ‘समकालीन नेपाली कथामा सीमान्तीयता (२०३६-२०४६)’ र डा. षडानन्द पौडेलले ‘नेपाली आख्यानमा शरीर राजनीति’ विषयमा अध्ययन, अनुसन्धान यस आ.व.मा यस विभागबाट सम्पन्न गर्नुभएको पाइन्छ ।

यस आ.व.मा यस विभागबाट विभिन्न विषयका ६ वटा पुस्तक प्रकाशन भएका छन् । डा. षडानन्द पौडेलले तयार पार्नुभएको ‘आधुनिक नेपाली कथामा सामाजिक सम्बन्ध’, ज्ञानु अधिकारीले सम्पादन गर्नुभएको ‘प्रज्ञा समकालीन नेपाली कथा विमर्श’, डा. लेखराज खतिवडा र महेन्द्र भण्डारीले तयार पार्नुभएको ‘आधुनिक नेपाली कथाका उत्तरवर्ती चरणका प्रवृत्ति’, डा. षडानन्द पौडेलले तयार पार्नुभएको ‘नेपाली आख्यानमा शरीर राजनीति’, प्रा.डा. दयाराम श्रेष्ठले तयार पार्नुभएको ‘नेपाली लघुकथा र कथाकारहरू’ र डा. गणेश अधिकारी, सीता ओझा र तारा पाण्डेले सम्पादन गर्नुभएको ‘आधुनिक नेपाली नारी कथाकारहरू’ पुस्तक यस आ.व.मा यस विभागबाट प्रकाशन भएका छन् ।

साहित्य (समालोचना र निबन्ध) विभागबाट यस आ.व.मा १० वटा विभिन्न विषयका अध्ययन, अनुसन्धान सम्पन्न भएका छन् । रामचन्द्र फुयालले ‘समकालीन नेपाली आत्मवृत्तान्त लेखनको सर्वेक्षणात्मक अध्ययन’ सम्पन्न गर्नुभएको छ भने राजबहादुर कुँवर र तेजविलास अधिकारीले ‘सहिद स्रष्टा परिचय कोश’, डा. ढुण्डीराज पहाडीले ‘समकालीन नेपाली निबन्धमा हास्यव्यङ्ग्यको प्रयोग’, डा. नेत्रमणि सुवेदी (नेत्र एटम)ले ‘नेपाली समालोचनाको इतिहास (२०४६ सम्म)’, डा. मधुसूदन गिरीले ‘नेपाली समालोचनाको उत्तरार्द्ध (२०४६-२०७६)’ विषयमा अध्ययन, अनुसन्धान सम्पन्न गर्नुभएको देखिन्छ ।
यसरी नै रणेन्द्र बराली र दुर्गादत्त अधिकारीले ‘दलित साहित्यलेखनको इतिहास र प्रवृत्ति’, इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ले ‘प्रज्ञा समकालीन संस्मरणको सङ्कलन एवम् सम्पादन’, डा. नारायणप्रसाद गड्तौलाले ‘पूर्वीय काव्यशास्त्रको प्रायोगिक पद्धति’, प्रा.डा. धर्मराज अधिकारीले ‘श्यामप्रसादका साहित्यिक रचनाको सङ्कलन र सम्पादन’ र डा. सुकुम शर्माले ‘समाजवादी यथार्थवादी नेपाली निबन्ध’ विषयमा अध्ययन, अनुसन्धान कार्य यसै आ.व.मा यस विभागबाट सम्पन्न गर्नुभएको पाइन्छ ।

साहित्य (समालोचना र निबन्ध) विभागबाट यस आ.व.मा ६ वटा पुस्तक प्रकाशन भएका देखिन्छ । यस आ.व.मा यस विभागबाट विष्णु प्रभात र सुदर्शन श्रेष्ठको सम्पादनमा ‘गोविन्द भट्टका निबन्धहरू’, प्रा.डा. गोपीन्द्र पौडेल र डा. धनप्रसाद सुवेदीको सम्पादनमा ‘प्रज्ञा समकालीन नेपाली समालोचना’, वन्दना ढकालको सम्पादनमा ‘प्रज्ञा समकालीन नेपाली नियात्रा’, रणेन्द्र बराली र दुर्गादत्त अधिकारीको सम्पादनमा ‘दलित साहित्यको इतिहास’ पुस्तक प्रकाशन भएका छन् ।

यसरी नै डा. नारायणप्रसाद गडतौलाले तयार पार्नुभएको ‘पूर्वीय काव्यशास्त्रको प्रायोगिक पद्धति’ र डा. ढुण्डिराज पहाडीले तयार पार्नुभएको ‘समकालीन नेपाली हास्यव्यङ्ग्य निबन्धका प्रवृत्ति’ पनि यसै आ.व.मा यस विभागबाट प्रकाशन भएका छन् ।

साहित्य (मातृभाषा) विभागबाट यस आ.व.मा विभिन्न विषयका ५ वटा अध्ययन, अनुसन्धान कार्य सम्पन्न भएका देखिन्छ । यस विभागबाट यस आ.व.मा सम्पन्न भएका अध्ययन, अनुसन्धानका कार्यहरूमा गणेशकुमार कुमालले गर्नुभएको ‘कुमाल साहित्यको इतिहास’, निष्णु थिङले गर्नुभएको ‘तामाङ लोकसाहित्य’, लक्ष्मी माली र भोगीराज चाम्लिङले गर्नुभएको ‘किराती लोकसाहित्य’, लक्ष्मी माली र तिलक चाम्लिङले गर्नुभएको ‘मातृभाषा साहित्यको इतिहास भाग २’ र प्रा. प्रेमशान्ति तुलाधरले गर्नुभएको ‘नेपाल भाषा आख्यान साहित्यमा नारी स्रष्टाहरू’ विषयक अध्ययन, अनुसन्धान पर्छन् ।

साहित्य (मातृभाषा) विभागबाट यस आ.व.मा ६ वटा विभिन्न विषयका पुस्तक प्रकाशन भएक छन् । राजेन्द्र महर्जनले तयार पार्नुभएको ‘सिलुह्मे र सामाजिक प्रतिरोध’, भोगीराज चाम्लिङले तयार पार्नुभएको ‘क्रियामा-मोचुङ्मा मुन्दुम’, वीरबहादुर महतोको सङ्कलन एवम् सम्पादन रहेको ‘मगही लोकथासङ्ग्रह’, मुक्तिनाथ घिमिरे सङ्कलक एवम् सम्पादक रहेको ‘दुरा जातिका लोककथाहरू’, लक्ष्मी माली र भोगीराज चाम्लिङले सम्पादन गर्नुभएको ‘किराती लोकसाहित्य’, लक्ष्मी माली र तिलक चाम्लिङले सम्पादन गर्नुभएको ‘मातृभाषा साहित्यको इतिहास भाग २’ यस आ.व.मा यस विभागबाट प्रकाशित पुस्तकहरू हुन् ।

साहित्य (लोकवार्ता र बालसाहित्य) विभागबाट यस आ.व.मा ९ वटा अध्ययन, अनुसन्धानका कार्यहरू सम्पन्न भएका छन् । यस आ.व.मा यस विभागबाट शीतल गिरीले ‘प्रदेश नं. ३ का लोककथाको सङ्कलन र अध्ययन’, प्रा.डा. कुसुमाकर न्यौपानेले ‘गण्डकी प्रदेशका नेपाली लोककथाहरूको सङ्कलन र विश्लेषण’, हरिप्रसाद तिमिल्सिनाले ‘प्रदेश नं. ५ का लोककथाको सङ्कलन र अध्ययन’, गोपाल अश्कले ‘प्रदेश नं. २ का लोककथाको सङ्कलन र अध्ययन’ कार्य सम्पन्न गर्नुभएको देखिन्छ ।

यसरी नै यसै विभागबाट यस आ.व.मा डा. देवी क्षेत्री दुलालले ‘प्रदेश नं.१ का लोककथाको सङ्कलन र अध्ययन’, प्रा.डा. कपिलदेव लामिछानेले ‘लोकसाहित्यको सैद्धान्तिक अध्ययन’, डा. ध्रुवप्रसाद भट्टराई, डा. भक्त राई, दिव्येश्वरी जोशी, प्रतिभा पुन र वीरबहादुर महतोले ‘लोकवार्ता कोश’ निर्माण गर्नुभएको छ भने डा. भागवत ढकालले ‘बाल निबन्धसङ्ग्रह’ र डा. अलका आत्रेय चुडालले ‘युद्धबन्दी नेपाली सेनाबाट भनिएका लोकसामग्र्री’को सङ्कलन गर्नुभएको पाइन्छ ।

साहित्य (लोकवार्ता र बालसाहित्य) विभागबाट यस आ.व.मा २ वटा पुस्तक प्रकाशन भएका छन्- डा. कपिलदेव लामिछानेको ‘लोकसाहित्य सिद्धान्त’ र डा. देवी नेपालको सम्पादनमा ‘नेपाली लोककथा ।’

यसरी नै केन्द्रीय योजनाअन्तर्गत यस आ.व. २०७६/०७७ मा ७ वटा अध्ययन, अनुसन्धानका कार्यहरू सम्पन्न भएका छन्, जसमा प्रा.डा. तेजरत्न कंसाकार, प्रा.डा. ओमकारेश्वर श्रेष्ठ, श्री सुरेश किरण मानन्धर र श्री रमेशकाजी स्थापितले ‘नेपाल भाषा-नेपाली-अङ्ग्रेजी शब्दकोश’ निर्माण गर्नुभएको छ भने विष्णु प्रभातको सम्पादन र अन्यको सहयोगमा ‘लेखक-कलाकार परिचय कोश’ परिमार्जन कार्य सम्पन्न भएको छ ।

यसरी नै प्रा.डा. प्रेमकुमार खत्री र अन्य १० जना लेखकहरूबाट ‘प्रदेश नं. २ को परिचयात्मक ग्रन्थ’ निर्माण परियोजना सम्पन्न भएको छ भने प्रा. केशव सुवेदीले ‘प्रदेश नं. २ को परिचयात्मक ग्रन्थ’को सम्पादन, प्रा.डा. अभि सुवेदीले ‘पाश्चात्य काव्य सिद्धान्त’, कमलसिंह राना र अन्यले ‘रानाथारू-अङ्ग्रेजी-नेपाली शब्दकोश’ निर्माण गर्नुभएको छ ।

यसै आ.व.मा यस विभागबाट नयाँ यात्रा प्रा.लि.बाट ‘नेपाली बृहत् शब्दकोशलगायतका शब्दकोशहरूको एकीकृत डाटावेस तथा सफ्टवेयर’ निर्माण सम्पन्न भएको छ भने शिरीष पाण्डेले ‘नेपाली बृहत् शब्दकोश एप्स’ निर्माण गर्नुभएको देखिन्छ ।

केन्द्रीय योजनामार्फत यस आ.व.मा लेखक भरतको ‘भरतमुनिको नाट्यशास्त्र’ गोविन्दप्रसाद भट्टराईद्वारा अनुवाद गराई पुन : प्रकाशन गरिएको छ भने अमरसिंह बाँडाको पं. कुलचन्द्र गौतमद्वारा सम्पादित ‘अमरकोश’को पनि पुन : प्रकाशन गरिएको छ ।

कोषनाथ देवकोटाको ‘नेपाली निघण्टु :’, बालचन्द्र शर्माको ‘चीनका प्राचीन कथा’, देवेन्द्रराज अर्यालको ‘चूयाँ’, भवानी भिक्षुका ‘मैयाँ साहेब’, ‘गुनकेशरी’, ‘आवर्त’, ‘छाया’, ‘अवान्तर’ र ‘परिष्कार’ पनि यस आ.व.मा यस विभागबाट पुन : प्रकाशन गरिएको पाइन्छ ।

यसरी नै ज्ञानमणि नेपालको ‘नेपाल निरूपण’, मुक्तिनाथ खनालको ‘नेपाल माहात्म्य’, माधवलाल कर्माचार्य र लीलाप्रसाद शर्माको ‘आई.ए. रिचर्ड्सको साहित्यिक सिद्धान्त’, गुमानसिंह चाम्लिङको ‘एरिस्टोटल र उनको काव्यशास्त्र’, पण्डितराज सोमनाथ सिग्द्यालको अनुवाद रहेको ‘कौटलीय अर्थशास्त्र’, लीलाप्रसाद शर्माको अनुवाद रहेको ‘जर्ज लुकासको साहित्य सिद्धान्त’, चूडामणि बन्धुको सम्पादन रहेको ‘नेपाली साहित्यको इतिहास’ पनि यसै आ.व.मा यस विभागबाट पुन : प्रकाशन भएका छन् ।

यस आ.व.मा केन्द्रीय विभागबाट पुन : प्रकाशन भएका अन्य पुस्तकमा ईश्वर बरालको सम्पादन रहेको ‘नेपाली साहित्य-कोश’, अभि सुवेदीको ‘पाश्चात्य काव्यसिद्धान्त’, गोविन्दप्रसाद भट्टराईको ‘पूर्वीय काव्यसिद्धान्त’, नयराज पन्तको ‘लिच्छवि संवत्को निर्णय’, डमरुवल्लभ पौडेलको अनुवाद रहेको ‘शुक्रनीति’, मोहनराज शर्माको ‘शैली विज्ञान’, नयराज पन्तको ‘हिन्दु ज्योतिष सिद्धान्त र ग्रिक ज्योतिष सिद्धान्तको तुलना’ छन् ।

यीसँगै हरिराम जोशीको ‘नेपालका प्राचीन अभिलेख’, हेमराज शाक्यको ‘नेपाली लिपि प्रकाश’, ‘विश्व साहित्यको रूपरेखा’, विनोदप्रसाद धितालको ‘दाँतेको डिभाइन कमेडी’, ‘लिम्बू काव्यको प्रवृत्तिगत समालोचना’, डा. शिवप्रसाद पौड्यालको ‘नेपाली उखानको विषयात्मक अध्ययन’, विष्णुचरण श्रेष्ठको ‘सुमती’, मधु कर्माचार्यको ‘इन्द्रेणी’, कृष्णप्रसाद घिमिरेको अनुवाद रहेको ‘श्रीमद्वाल्मीकिरामायण’ (नेपाली भाषा, पद्यानुवाद) यस आ.व.मा यस विभागबाट पुन : प्रकाशन भएका छन् ।

‘नेपाली बृहत् शब्दकोश’ (पुनर्मुद्रित दशौँ संस्करण), ‘दोस्रो चीन-दक्षिण एसिया साहित्यिक मञ्च, २०१९' मा प्रस्तुत गोष्ठीपत्र’ र शेख मुजिबर रहमानको ‘बङ्गबन्धुको जेल डायरी’ पनि यस आ.व.मा केन्द्रीय विभागबाट प्रकाशन भएका देखिन्छ ।

यसरी नै यस आ.व.मा प्रतिष्ठानबाट विभिन्न १२ वटा नियमित पत्रिका प्रकाशन भएका पाइन्छ, जसमा अनुसन्धानमूलक पत्रिका ‘प्रज्ञा विज्ञसमीक्षित जर्नल’ (अर्धवार्षिक), गद्यप्रधान पत्रिका ‘समकालीन साहित्य’ (त्रैमासिक), कविताप्रधान पत्रिका ‘कविता’ (चौमासिक), बहुभाषिक पत्रिका ‘सयपत्री’ (अर्धवार्षिक), अनुसन्धानमूलक अङ्ग्रेजी पत्रिका ‘जर्नल अफ नेप्लिज स्टडिज’, नेवारी भाषाको साहित्यिक पत्रिका ‘थाय्भु’ वार्षिक, मैथिली भाषाको साहित्यिक पत्रिका ‘आङन’ (वार्षिक), लिम्बू भाषाको साहित्यिक पत्रिका ‘फक्ताङ्लुङ’ (वार्षिक), भोजपुरी भाषाको साहित्यिक पत्रिका ‘महुआ’ (वार्षिक), नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा अनुवादमूलक पत्रिका ‘रूपान्तरण’ (वार्षिक), प्रज्ञा-प्रतिष्ठानको समाचारमूलक पत्रिका ‘प्रज्ञा गतिविधि’ (त्रैमासिक) र बालसाहित्यिक पत्रिका ‘बालप्रज्ञा’ (अर्धवार्षिक) छन् ।

यिनका अतिरिक्त यस आ.व.मा ‘प्रज्ञा गतिविधि’ (प्रज्ञा-प्रतिष्ठानको गतिविधिप्रधान पत्रिका), वर्ष २३, अङ्क- २, २०७६ (साउन-असोज), वर्ष २३, अङ्क- ३, २०७६ (कात्तिक-पुस) र वर्ष ३, अङ्क- ४ (संयुक्त), (२०७६ माघ-२०७७ असार) पनि प्रकाशन भएका छन् ।

यस अवधिमा नेपाल प्रज्ञा-प्रतिष्ठानले आफ्ना केन्द्रीय तथा विभागीय कार्यक्रमअन्तर्गत विभिन्न विषयमा तयार भएका पाण्डुलिपिहरूको आवश्यक मूल्याङ्कन गरी प्रकाशनका निम्ति निर्णय गरेको र पूर्वप्रकाशितमध्ये कतिपय महत्त्वपूर्ण ग्रन्थहरू पुन : प्रकाशन गर्ने कार्य गरेको पाइन्छ । यस अवधिमा पुनर्मुद्रण भएका अन्य पुस्तकहरूमा ‘नेपालको इतिहासका स्वर्णिम पृष्ठ’, ‘नेपालको इतिहासका विविध पक्ष’, ‘नेपाली अलङ्कार परिचय’, ‘नेपाली उखान र गाउँखाने कथा’, ‘नेपाली वाङ्मय : केही खोजी, केही व्याख्या’, ‘माध्यमिककालीन कवि र कविता’, ‘माध्यमिककालीन नेपाली गद्याख्यान’, ‘समको दु :खान्त नाट्यचेतना’, ‘संस्कृत साहित्यको सिंहावलोकन’ ‘ईशादि नौ उपनिषद्’ छन् ।

यसरी नै ‘नेपाली मूर्तिकलाको इतिहास’, ‘नेपाली धातु मूर्तिकलाको इतिहास’, ‘टपिक्स इन नेपाली लिङ्ग्विस्टिक्स’, ‘गीत कसरी लेख्ने ?’, ‘भ्वाइस अफ नेपाल (सेलेक्टेड नेपाली पोयम्स)’को पुन : प्रकाशन गरिएको छ ।

यो पनि
अनुसन्धान र प्रकाशनका कसीमा नेपाल प्रज्ञा-प्रतिष्ठानकाे आ‍‍.व‍. २०७५/०७६

(प्रकाशोन्मुख पुस्तक 'प्रज्ञा-कर्म'बाट)