साउन अर्थात् शिवको महिना : विष पान गरेर मात्र शिव देवताका पनि देवता महादेव बन्न सफल !

साउन अर्थात्  शिवको महिना : विष पान गरेर मात्र शिव देवताका पनि देवता महादेव बन्न सफल !

रूपक अलङ्कार  |  दृष्टिकोण  |  श्रावण ४, २०७९

साउन महिना शिवको महिना भन्छन् । साउनलाई श्रावण भन्दा पनि कुरो उही नै हो । साउनमा शिवको विशेष पूजा आराधना गरिने भएकाले यसलाई शिवको महिना भनिएको होला । यद्यपि शिव नेपाली हिन्दूहरूका घरमा नित्य प्रतिष्ठित र पूजित छन् । पाञ्चायन पूजा नगरी हाम्रो दैनिक व्यवहार चल्दैन । पाञ्चायन देवताभित्र शिवलगायत सूर्य, गणेश, देवी र विष्णु पर्दछन् । बिहान बेलुकी पाञ्चायन देवताको पूजा आरती गर्नु हाम्रो नित्य कर्म रहिआएको छ । 

सधैँ गुरुलाई नमस्कार गरे पनि गुरु पूर्णिमाका दिन विशेष महत्त्व दिएजस्तै साउन महिनामा शिवलाई महत्त्व दिइएको छ । हामी नेपालीहरुको शिवप्रति विशेष लगाव छ । हामी पशुपतिनाथलाई राष्ट्र देव मान्छौँ । पशुपतिनाथको मन्दिरलाई भनेको होइन । शिवको अर्काे नाम पशुपति हो । जहाँ जहाँ शिवालय छ त्यो पशुपति हो भन्ने बुझ्नु जरुरी छ । हाम्रा देशमा  शिव र देवीका मन्दिर धेरै छन् । भक्तको पहिलो प्राथमिकतामा शिव छन् । हामी भागवत सप्ताह लगाएर शिवालय बनाउँदै छौँ । इतिहासमा वैष्णव, शैव, शाक्त जस्ता विभिन्न सम्प्रदायका बिच वैमनस्य भयो होला तर अहिले हामी सबै देवता एकै हुन् एकै देवता सबै हुन् भन्ने बिन्दुमा आइपुगेका छौँ । 

 शिव कल्याणका देवता हुन् । शिवका नामै हजारौँ छन् । कामअनुसार नाम राख्दै जाँदा नाम पनि बढ्दै गएका हुन् । शिवलाई पशुपति, रुद्र, महादेव, लगायत हजारौँ नामले चिनिन्छ । कतिपय अल्प ज्ञानीहरूले पशुका पतिलाई हामी मानिसले किन पुज्ने ? भन्नेजस्तो तर्क पनि गर्न सक्लान् तर पशु शब्दको अर्थ जीव हो । गाई, अश्व, पुरुष आदिलाई पशुका रूपमा अथर्व वेदले  परिभाषित गरेको छ तिन कै पतिका रूपमा शिवलाई पशुपति भनिएको हो । शिवको अर्काे नाम शङ्कर पनि हो शं अर्थात् कल्याण गर्ने भएकाले शङ्कर भनिएको हो । अत्यन्तै छिटो खुशी हुने भएकाले उनलाई आशुतोष भनिएको हो ।

पूजाआजाका पनि हाम्रा आफ्नै तरिका छन् । विष्णुका रूपमा शालिग्राम शिला र महादेवका रूपमा शिवलिङ्ग शिलाको पूजा गर्ने परम्परा आफैँमा आश्चर्यजनक खालको छ ।

शिवको मूर्तिभन्दा पनि सृष्टि मुद्रामा रहेको योनि तथा लिङ्गको संयोगाकार युगल आकृतिलाई शिवका रूपमा पूजा गर्ने चलनलाई हामीले सनातन हिसाबले स्वीकार गरेका छौँ ।

लिङ्ग योनिको अर्घौतोले परिवेष्टित हुन्छ । उत्तरतिर जल प्रवाहित हुने गरी वा उत्तर तिरै फर्काएर शिवलिङ्ग स्थापना गरिएको हुन्छ । सृष्ट्रिक्रमका  गूढरहस्यलाई प्रतिविम्वित गराउने शिवलिङ्ग शास्त्रीय वा तान्त्रिक मान्यता यस आलेखमा अटाउँदैन । 

नेपाली हिन्दूहरुको हृदयलाई शिवप्रति आकर्षित बनाउने कार्यमा मुख्य भूमिका पनि स्वस्थानी कथाकै छ । पुराण आदिमा मात्र वर्णित महादेवलाई हाम्रो धर्तीमा ल्याएर केटी फकाउने, फलफूलका बोटमा चढेर कैलास जाने हाम्रै छिमेकीजस्ता महादेव बनाएर महादेवको लौकिक अलौकिक चरित्र निर्माण गर्ने काम स्वस्थानीले गरेको छ । 

शिवलिङ्ग अर्काे विशेषता भनेको लिङ्गमा मुखाकृति छ भने रामेश्वर र मुखाकृति छैन भने नर्मदेश्वर भन्ने चलन पनि छ । कालीगण्डकीको शिला शालिग्राम भएजस्तै नर्मदाको शिला शिवलिङ्ग मानिन्छ । जहाँ शिव लिङ्गको स्थापना गरिएको छ त्यस शिवालयको नामको पछाडि प्रायः ईश्वर लगाइएको हुन्छ । गोकर्णेश्वर, भालेश्वर, कुम्भेश्वर आदि यसको उदाहरण हुन् । 
 
वैदिक साहित्य देखि नै शिवको महिमा र गरिमा वर्णन हुँदै आएको पाइन्छ । वैदिक वाङ्‍मयमा शिवभन्दा पनि रुद्र बढी चर्चित छन् । रुद्रलाई अग्नि वायुजस्ता प्राकृतिक तत्त्वका रूपमा देखाउन खोजिएको छ । आँधी बेहरीजस्ता प्रकृतिको उग्र रूपलाई रुद्रसित तुलना गरिएको छ । रुद्रको भाव रौद्र हो जसको अर्थ रिस, क्रोध  उत्तेजना भन्ने हुन्छ । प्रकृतिको उग्र वा रौद्र रूपमा विनशलीला देखेका मानिसले विनाश वा संहारका गर्ने तत्त्वका रूपमा रुद्रलाई पूजा गर्न थालेका हुन् । त्यही रहस्यमय रुद्रले नै पौराणिक तथा त्यसपछिको वाङ्मयमा विभिन्न चरित्र ग्रहण गरेको हो । 

हुन त जसलाई प्रधानता दिएर शास्त्र वा दर्शनको चिन्तन गरिन्छ । त्यही देवतालाई सृष्टिको आदि मध्य र अन्तको एक मात्र कारण मान्ने गरिन्छ । त्यस्ता  शिवलाई नायकत्व दिइएका चिन्तनले शिवलाई नै सृष्टि स्थिति लयको नियन्ता वा कारणका रूपमा व्याख्या गरेका छन् । तथापि आम मानिसले ब्रह्मा, विष्णु र महेश्वर वा शिवले क्रमशः  सृष्टि, स्थिति र लयको विभाग सम्हालेका छन् उपाधि भेदले यी तीनमा पृथकता देखिए तापनि पनि सूक्ष्म हिसाबले एकै हुन् भन्ने कुरा बुझेका छन् । 

शिवका आयूध,  बाहन, आकृति, आभूषणहरू माथि ध्यान लगाउँदा मानिस यसै पनि आश्चर्यमा पर्दछ । हात्तीको छाला ओढ्ने, बाघको छाला बेर्ने, सर्पको माला लगाउने, मुण्ड माला लगाउने, जटामा गंगा धारण गर्ने, चन्द्रमा शिरमा सिउरिने, त्रिशूल र कमण्डलु बोक्ने, वृषभमाथि आरोहण गर्ने, भांग धतुरो मात्र होइन विषै पनि पिउन सक्ने महादेवको जुन चित्र र चरित्र छ यसभन्दा विचित्रको कल्पना गर्न मुस्किल छ । अवश्य पनि शिवको यो रूप एकै कल्पमा तयार भएको होइन । 

शिवको विशेष आकृतिको विम्ब हाम्रा मनमा श्री स्वस्थानी को व्रत कथाले तयार पारेको हो । नेपाली हिन्दूहरुको हृदयलाई शिवप्रति आकर्षित बनाउने कार्यमा मुख्य भूमिका पनि स्वस्थानी कथाकै छ । पुराण आदिमा मात्र वर्णित महादेवलाई हाम्रो धर्तीमा ल्याएर केटी फकाउने, फलफूलका बोटमा चढेर कैलास जाने हाम्रै छिमेकीजस्ता महादेव बनाएर महादेवको लौकिक अलौकिक चरित्र निर्माण गर्ने काम स्वस्थानीले गरेको छ । 

शिव भनेको कल्याण हो । सारा अनिष्टको नाश गरेर मानिसलाई कल्याणको मार्गमा लाग्न प्रेरित गर्ने शिवको चरित्र साँच्चै नै अवर्णनीय छ । समुद्र मन्थनका बेला निस्किएका सुन्दरी, हात्ती आदि आकर्षक वस्तु देवताहरूले आपसमा बाँडे । जब विष निस्कियो त्यसलाई लिन कोही तयार भएन । संसारै विषको प्रकोपमा बर्बाद हुन लागेपछि शिवले उक्त विष पान गरे त्यही भएर शिव देवताका पनि देवता महादेव भए । जसले अरुको कल्याणका लागि विष पिउँछ त्यो महादेव बन्छ । कोही छ अहिले अरुको कल्याण खातिर विष पिएर महादेव बन्न चाहने ?