रूपक अलङ्कार | साहित्य | श्रावण ७, २०७९
यो भूमिको सुन्दर गीत गाऊ
आलापमा जीवन यो मिलाऊ
यी हातले कर्म गरेर खाऊँ
बेचेर आत्मा गहना नलाऊ ।
तिमी सुनौलो युग हाँक्न सक्छौ
आकाश धर्ती पनि नाप्न सक्छौ
संसार हो केवल तीन पाउ
बुझी तिमी पाउ स्वयम् उठाऊ ।
आई तिमी छेउ अडिन्छ काल
उठ्छन् तिमीभित्र हजार छाल
पीयूषले पूर्ण तिमी तलाउ
पौडेर सानन्द सधैँ रमाऊ ।
यो लोभको जन्जिर काटि देऊ
यो स्वार्थको सिस्नु नि फाँडि देऊ
खोलेर ढोका मनमा चिहाऊ
होला अँध्यारो नि दियो जलाऊ
यसै तिमी छौ नि गुलाफजस्तो
समुद्रको शान्त बहाब जस्तो
चैतन्यको यो बहना चलाऊ
जाऊ तिमी पारी चढेर नाऊ ।