'ओलीले अध्यादेश ल्याए देश हितमा थियो, अहिले देउवा सरकारले त्यही ल्यायो, त्यही भएर देश हितमा छैन !'

लोकसंवाद टिप्पणी

'ओलीले अध्यादेश ल्याए देश हितमा थियो, अहिले देउवा सरकारले त्यही ल्यायो, त्यही भएर देश हितमा छैन !'

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ९, २०७९


प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयकविरुद्ध एमालेले यतिबेला चर्को स्वर निकालिरहेको छ । महासचिव शंकर पोखरेलले पार्टीको कर्णाली प्रदेशका कार्यकर्ता प्रशिक्षणका क्रममा नागरिकता विधेयकमा आफूहरुको गम्भीर असहमति रहेको भन्दै १६ विधेयकविरुद्ध प्रदर्शन गर्ने बताएका छन् । 

यसअघि शुक्रबार जनकपुर पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नागरिकता विधेयक पारित गरेको समाचार सुनाउँदा आफूलाई खुसी लागेको र नयाँ विधेयक पारित भएपछि अब नागरिकताबाट बञ्चित धेरैले राहत पाउने दाबी गरेका थिए । 

एमालेको विरोध र माओवादीको समर्थन भएको यो नागरिकता विधेयकमा यी दुई दलको दोहोरो चरित्र उदांगो हुन भने धेरै समय लागेन । नेपाली पुरुषसँग विवाह गरेर आएका विदेशी महिलालाई ७ वर्षपछि मात्रै नेपाली अंगीकृत नागरिकता दिने व्यवस्थालाई लिएर दलहरुबीच लामो समयदेखि फरक मत रहँदै थिए । २०७५ भदौमा आएको नागरिकता विधेयकमा नेपालीसँग विवाह गरी आएका विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव २०७७ असार ९ गते राज्य व्यवस्था तथा सुशासन समितिले मतदानमार्फत टुंगो लगाएको थियो । समितिमा त्यसबेला तत्कालीन नेकपाको बहुमत थियो । बहुमत नेकपाको भएका कारण काँग्रेस र मधेश केन्द्रित दलले विपक्षमा मतदान गरे पनि सो प्रस्ताव बहुमतले पारित भएको थियो । 

यतिबेला त्यसबेला एउटै पार्टीमा रहेका एमाले र माओवादीको भूमिका फेरिएको छ । माओवादी गठबन्धन सरकारमा छ भने एमाले प्रतिपक्षमा । त्यसबेला समिति सभापति रहेकी माओवादी केन्द्रकी नेता शशी श्रेष्ठ अहिले मन्त्री छन् । यसअघि समितिले नेपाली पुरुषसँग विवाह गर्ने महिलाले तत्कालै नागरिकता पाउने व्यवस्था हटाएर ७ वर्षे समयसीमा राख्ने विषय बहुमतले पारित गर्ने तत्कालीन नेकपाका एमाले र माओवादीको भूमिका भने नागरिकताजस्तो संवेदनशील विषयमा दोहोरो रहँदै आयो । 

सरकारले असारमा नागरिकताका सन्दर्भमा ७ वर्षे समयसीमा राख्ने प्रतिवेदनसहित नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक ल्यायो । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति हुँदा ७ वर्षे प्रावधान राख्न चर्को स्वर गरेकी शशी श्रेष्ठले सरकारले सो प्रावधान हटाएर विधेयक ल्याउँदा भने विरोध गरेको स्वर सुनिएन । 

नागरिकतामा एमालेको द्वैध चरित्र: संसदीय समितिमा अवरोध, सत्ता सङ्कटपछि अध्यादेश ?

त्यतिमात्रै होइन सरकारमा रहेको माओवादीले विधेयकको पक्षमा मतदान गर्‍यो र पारित भयो । संसदको छलफलमा माओवादीका देवप्रसाद गुरुङ, गिरिराजमणि पोखरेल लगायतका नेताले वैवाहिक अंगीकृतको हकमा ७ वर्षे प्रावधान राख्नुपर्ने बताएका थिए । गुरुङले छिमेकी देश भारतमा पनि वैवाहिक अंगीकृतका लागि ७ वर्षे प्रावधान रहेको र त्यसबेला सम्म कुनै प्रकारको परिचय कार्डको व्यवस्था गरेर ७ वर्षपछि नागरिकता दिँदा उपयुक्त हुने उनको धारणा थिए । 

नागरिकता विधेयकलाई निर्णयार्थ पेस गर्दा भने माओवादीका कुनै पनि सांसदले विपक्षमा मतदान गरेनन् । यो विधेयकमा ७ वर्षे प्रावधान राख्ने विषयमा एमालेले समितिले यसअघि पास गरेको विषय राख्नुपर्ने अडान राखेको थियो । 

नेकपाको एकल बहुमत हुँदा नागरिकता भनेको उहिले रानीको जन्मोत्सवमा  चकलेट बाँडेजस्तो बाँड्ने चिज होइन भनेका ओलीले आफ्नो सत्ता टिकाउन त्यही नागरिकताको चकलेट बाँड्ने दुस्साहस गरेका थिए । तर सर्वोच्चले अध्यादेश कार्यान्वयन नगराउन आदेश दिएपछि उनको योजना सफल भएको थिएन । अहिले एमाले आफ्नो धरातल भुलेर नागरिकता विधेयकको विरोध गरिरहेको छ ।

एमाले महासचिवले सुर्खेतमा पुगेर त नेपाली चेलीहरूले भारतमा जुन अधिकार पाएका छन्, त्यो भन्दा बढी सुविधा दिने कुरा उचित नभएको भन्दै सत्ता र गठबन्धन टिकाउन पारित गरेको नागरिकता विधेयकविरुद्ध आन्दोलन गर्ने धम्की नै दिए । संसदमा ७ वर्षे प्रावधान हटाएको विषयमा चर्को आवाज उठाएको होस् वा फिजीकरण र सिक्किमीकरण गर्न खोजेको विषय पनि उनीहरुले उठाएकै हुन् । यहाँसम्म एमालेको अडानलाई राष्ट्रवादी नै मानि दिउँ । 

तर आफ्नो सत्ता टिकाउन केपी शर्मा ओलीले यही ७ वर्षे प्रावधान हटाएर विधेयक ल्याएको कुरा चै एमाले सांसदहरुले बिर्सिएका छन् यतिखेर । दोस्रो पटक संसद विघटन गरेको भोलिपल्टै ९ जेठ, २०७८ मा तत्कालीन प्रधानमन्त्री ओलीले नागरिकता अध्यादेश ल्याएका थिए । जसमा वैवाहिक अंगीकृत नागरिकता लिने सात वर्षे समयसीमा हटाइएको थियो ।

त्यसबेला ओलीले ल्याएको अध्यादेश र अहिले संसदले पास गरेको नागरिकता विधेयकमा भएका प्रावधान एउटै हुन् । त्यसबेला यी नै एमाले नेताहरु अध्यादेशको बचाउ गर्न न्वारान देखिको बल लगाएर लागेका थिए । अहिले त्यही प्रावधान भएको विधेयकलाई देशको हितमा नभएको बताइरहेका छन् । 

यता माओवादीले भने एमालेले दोहोरो चरित्र प्रदर्शन गरेको बताइरहेको छ । तर यी दुवै दलले विगत र अहिले खेलेको दोहोरो खेलले सत्ता स्वार्थका लागि दलहरु कुन हदसम्म गिर्न सक्छन् भन्ने देखाएको छ । 

यी नेताहरुको दोहोरो चरित्र कतिसम्म छ भने ओली सरकारले यही प्रावधान राखेर अध्यादेश ल्याउँदा परराष्ट्रमन्त्री थिए, प्रदिप ज्ञवाली । तर ओली सरकारले ल्याए कै प्रावधान राखेर विधेयक पारित भएपछि शनिबार बुटवलमा आयोजित कार्यक्रममा उनले सिउँदोमा सिन्दुरसँगै हातमा नागरिकता दिने प्रावधानसहित विधेयक पास भएकाले देश हितमा नभएको बताए ।

ओली सरकारले सत्ता टिकाउन महन्थ ठाकुरसहितको तत्कालीन जसपालाई खुसी पार्न ल्याइएको थियो । एमाले नेताकाे कुरा सुन्दा लाग्छ- ओलीले अध्यादेश ल्याए देश हितमा थियो । अहिले देउवा सरकारले त्यही कुरा विधेयकमा ल्यायो, त्यही भएर देश हितमा छैन ? भन्ने कुतर्क उनले गरेको देखिन्छ । यस्तै चरित्र यी दलले एमसीसीमा पनि देखाएका थिए । देशकै ठूला दल हौं भन्ने कम्युनिस्ट पार्टीहरुले देखाएको यस्तो दोहोरो चरित्रले उनीहरु राष्ट्रप्रति कति संवेदन हीन छन् भन्ने प्रष्ट हुन्छ । 

नेकपाको एकल बहुमत हुँदा नागरिकता भनेको उहिले रानीको जन्मोत्सवमा  चकलेट बाँडेजस्तो बाँड्ने चिज होइन भनेका ओलीले आफ्नो सत्ता टिकाउन त्यही नागरिकताको चकलेट बाँड्ने दुस्साहस गरेका थिए । तर सर्वोच्चले अध्यादेश कार्यान्वयन नगराउन आदेश दिएपछि उनको योजना सफल भएको थिएन । अहिले एमाले आफ्नो धरातल भुलेर नागरिकता विधेयकको विरोध गरिरहेको छ ।

नागरिकताजस्तो संवेदनशील विषयलाई दलहरुले सत्ता स्वार्थको साधन बनाएका छन् । दुई विशाल भूगोल र जनसंख्या भएका देशमा तत्कालै विदेशीलाई नागरिकता दिने हो भने भोलि देश नै खतरामा पर्ने अवस्था हुन्छ । विवाह गरेर नागरिकता दिने बित्तिकै सम्बन्ध बिच्छेद भयो वा जुन आधारमा नागरिकता पाएको हो, सो आधार नै समाप्त भयो भने के गर्ने भन्ने कुनै प्रावधान छैन । नागरिकताजस्तो विषयमा यस्ता फितलो प्रावधानले जनसाङ्ख्यिक अवस्थामा फेरबदल नआउला भन्न सकिदैन । यस्ता प्रावधान देश हितमा पनि हुँदैनन् । तर त्यो भन्दा घातक दलहरुको दोहोरो चरित्रका कारण देशमाथि निरन्तर आघात परिरहेको छ ।