सबै धार्मिक ग्रन्थहरूको एकरूपता: ब्रह्माण्डको नियन्त्रण एउटा अव्यक्त र अदृश्य अनुशासनमा कैद !
फर्कलान् र ती दिनहरु
श्रावण २१, २०७९

मानवीय अवस्थाको तुलना अरु प्राणीहरूसँग हुन सक्दैन । आपसमा मिलेर बस्ने बानी जति मानिसहरुमा देखिन्छ, त्यति अरु प्राणीमा देखिँदैन । तर किन मानिस किन आपसमा मिल्दैन ? अनि किन मानिसबाट नै मानिस सबैभन्दा बढी डराउँछ ? कारण होला, मानिस सचेत छ, आफैँमा धेरै कुराहरुको जानकारीको सिक्री तयार गर्छ अनि त्यसैलाई तर्कका आधारमा ज्ञानको भण्डारमा लैजान्छ र प्रयोग गर्छ । 

सबै गतिशील प्राणीहरूमा पाइने विशिष्टता नै के हुन् भने निद्रा, डर, खाना र पुनरुत्पादन हुने स्वतः प्रक्रिया या मैथुन । मैथुनलाई मात्र लाजको कुरा, घिनको कुरा र गोप्यताको कुरामात्र नसम्झिऊँ, यसलाई संसारमा नियमितरुपमा प्राणीको पुनरुत्पादन हुने दैवी प्रक्रिया । दैवी भन्दा विवाद हुनेगर्छ किनभने देवताको अस्तित्व स्वीकार नगर्नेहरू पनि त यो संसारका प्राणीहरू मध्ये मानिस नै हो ।

दैवको अस्तित्वका बारेमा सबैभन्दा बढी प्रचार गर्ने र इहलोक अनि परलोकका बारेमा प्रचार प्रसार गर्ने पनि मानिस नै हो । तर मैले दैवी प्रक्रिया किन भनेको भने यो कसरी भयो भन्ने कुराको अर्थ, आधार र प्रक्रियाका बारेमा वेद, उपनिषद् र पुराणहरूले विस्तृत रुपमा वयान गरेका छन् ।

तिनको हाराहारीमा, झट्ट हेर्दा स्वतन्त्ररुपमा जस्तै लाग्ने तर अलि पछि नयाँ तरिकाले वेदकै अनुसरण गर्ने अनि  नयाँ तरिकाले वेदलाई व्याख्या गर्ने पूर्वीय दर्शन, ताओ, कन्फ्युसियन दर्शन, नेपाली दर्शन मुन्धुम, इस्लाम दर्शन कुरान, यहुदी र अन्य क्रिस्चियनहरुको पवित्र ग्रन्थ बाइबल आदि धार्मिक ग्रन्थहरूले पृथ्वीको उत्पत्ति, प्रक्रिया र अस्तित्व अक्षुण्ण रहेको बारेमा आफ्ना आफ्ना धारणा राखेका छन् ।

संसारमा पाइने विभिन्न आधारमा मान्ने र दर्शनलाई मानव समक्ष प्रस्तुत गर्ने धार्मिक ग्रन्थहरूले एउटा कुरामा अचम्मको समानता देखाएका छन् । यो संसारको, ब्रह्माण्डको नियन्त्रण एउटा अव्यक्त र अदृश्य अनुशासनमा छ र त्यो अनुशासनको प्रशासक सर्वज्ञाता परमात्मा परमेश्‍वरको कृपामा छ । कसैले देखेको छैन तर अनुभूत गरेको के हो भने त्यसको उपस्थिति हामीसँगै छ जस्तो कि प्राणवायु हामीसँगै छ, त्यो नभई हामी बाँच्दैनौ तर देखेको कसैले छैन तर त्यो नभए मानिस वा अन्य प्राणीको अस्तित्व रहने छैन भन्नेचाहिँ अनुसन्धान गरेर वा नगरेर पत्ता लगाइएको छ ।

भगवान वा अल्लाह वा पिता परमेश्‍वरको नाम, अथवा मान्ने देवता वा अदृश्य तर महान क्षमतावान तागतको नामाकरण जसरी गरेको भए पनि तर त्यसको कृपा प्राप्त गर्न अविच्छिन्न सेवाको जरुरत छ भनिन्छ । त्यसैले होला, अविच्छिन्न सेवाको लागि मन्दिर, मस्जिद, गुम्बा, गिर्जाघर वा त्यस्तै अर्थमा अरु नै नाममा जेजे स्थापना भए पनि त्यहाँ आराधना र मानव सेवा, प्राणी मात्रको सेवा र ब्रह्माण्डको सेवाको कुरा सिकाइन्छ ।

अहिले प्रकृतिको रक्षा गर्ने र पर्यावरणीय सुरक्षाबाट मात्र मानव र अन्य प्राणीको रक्षा सम्भव छ भनेर सर्वत्र त्यसैको चर्चा गरिन्छ । पहिले नै भनिएको थियो, पानीमा शान्ति, हावामा शान्ति, सूर्यको किरणबाट शान्ति  र सर्वत्र शान्ति शान्ति आवश्यक छ भनेर कुनै पनि आराधना, अध्ययनको सुरुमै भनिने नै थियो- ओम् शान्ति शान्ति शान्ति !! 

अझ त्योभन्दा पनि वेद र यसका सहायक ग्रन्थहरूले, भनौँ श्रुति र स्मृति मार्फत् जे जे ज्ञानको  विज्ञानको पुस्तौँ पुस्ताको हस्तान्तरणबाट आजसम्म जेजे पाइएको छ, ती सबैको अहिले खोजी सुरु भएको छ र त्यति लयमा कसैले पनि केही भनेको रहेनछ भन्ने खोजीले पत्ता लागेको छ । संसारभर अहिले संस्कृत साहित्यको पठन पाठनमा लगानी सुरु भएको छ र ती हजारौँ वर्ष देखिकै ज्ञान र विज्ञानका स्रोतहरुको उत्खनन् सुरु भएको छ ।

अनि सबैको ज्ञानको अजस्र श्रोतको रुपमा महाभारतमा वर्णित अर्जुनलाई श्रीकृष्णले दिएको ज्ञान विज्ञानको सूत्र श्रीमद्भागवत गीतालाई मानिएको छ । सायद त्यही भएर होला, आधुनिक कालमा पूर्वीय दर्शनका पुस्तकहरूमध्ये गीताको धेरै भाषामा अनुवाद र करोडौँ प्रति प्रकाशनको काम भएको सुनिन्छ । मलाई एकजना पोल्याण्डको नागरिकले शाकाहारी भोजनको वयान गरेको र गीताको अर्थ लगाउँदै जीवन र जगतको बारेमा सबैभन्दा बढी उसलाई प्रभाव पारेको गीताले हो भनेर खल्तीमा गीता प्रेसले छापेको सानो गुटिका गीताको प्रति देखाएका थिए र ढोगेर फेरि आफ्नै पासपोर्ट राख्ने सानो झोलामा राखेका थिए ।

सबै भाषा, कला , धर्म ,संस्कृति र विचारमा कुनै न कुनै दर्शन लुकेको हुन्छ र हाम्रो काम भनेको त्यसको प्रयोग गर्ने या पत्ता लगाएर तिनको ऐतिहासिकताको प्रमाण खोज्ने हो । पूर्वीय दर्शनमा सायद त्यही भएर भनेको होला, वसुधैव  कुटुम्बकम् । पृथ्वीमा सबै आफन्तहरु मात्रै छन् र सबैलाई आफ्नै मान्नुपर्छ । समानताका आधारमा, समताका आधारमा र सबैको उत्तिकै महत्व मानेर ।

अनि आफ्नो छोराको नाम हनुमानको नाम पवन पुत्र भनेर पुकार्दै थिए र आफूलाई पवन भन्न रुचाउँथे । जसरी आजभोलि नेपालमा नामको अर्थ नखुल्ने गरी पश्चिमा नामहरूको अनुसरण गर्ने गरिएको छ, त्यस्तै गरी पश्चिमाहरुले पनि आफ्नो नाम पूर्वीय दर्शनको आधारमा अर्थ खुल्ने गरी राख्न थालेको सुनिन्छ, पाइन्छ । एकपटक मैले नै हल्यान्डको एउटा पर्यटकलाई मुस्ताङको जोमसोममा भेटेको थिएँ र उसको नाम देवी थियो ।

अनि मैले सोधेँ- यो नाम त नेपाली हो र महिलाले राख्ने नाम हो । अनि उसले प्रतिवाद गरेको थियो र भनेको थियो- देवी भनेकी 'गडेस' को संस्कृतको अर्थ हो र नेपालमा पनि देवीप्रसाद राखिन्छ । मेरो पिताजी नेपाल घुम्न आउँदा कालिन्चोक जानु भएको थियो रे । त्यहाँ रमाइलोका लागि सोधियो रे ! कि यहाँ जे माग्नुहुन्छ त्यही पुग्छ । अनि मेरो पिताजीले मलाई देवीले छोरो दिऊन् ।

त्यसपछि म जन्मेकोले उहाँले मलाई देवीप्रसाद भन्ने नाम दिनु भएको थियो । देवीको प्रसाद अर्थात् गिफ्ट अफ काली देवी । देवीको प्रसादको रुपमा म जन्मिएकाले मैले आफ्नो नाम देवी नै थाहा पाएँ तर हाम्रो देशमा 'डेभि'  भन्छन् डेभिड जस्तै गरी । प्रसाद त मलाई पिताजीले सम्झाएको हो । हाम्रो पारिवारिक नाम अर्कै तर म 'डेभि'  मात्रै भन्छु आफ्नो नाम ।

हामी जोमसोमदेखि हावाको झोक्कामा गफ गर्दै कागबेनीसम्म गएका थियौँ र उसले देवी भागवतको पनि अध्ययन गरेको रहेछ डच भाषामा नै । तर पेसाले इन्जिनियर रहेछ । ऊ भन्थ्यो, म उठेर नुहाइ धुवाइ देवीको पूजा गरेर मात्र चिया खान्छु, विहानको खाजा खान्छु । मुस्ताङ आएको पनि मुक्तिनाथको दर्शन गर्न अनि एकपटक कालिन्चोक जान्छु र म जसको प्रसाद हुँ , देवीलाई दर्शन गर्छु र मसँग रहेकी मेरी प्रेमिका सधैँ मेरी होऊन् भनेर आशीर्वाद माग्छु ।

एकजना हल्यान्डबासी ले भनेको आधारमा सामान्यीकरण गर्न खोजेको होइन, बरु ओस्लोको सडकमा ओइरिएका क्रिस्चियनहरुको त्यो जमातको कुरा गरेको हुँ जसले हरिशयनी एकादशीमा ओस्लोको सडकमा कृष्णको मूर्ति रथमा राखेर तान्दै थिए र पूर्वीय दर्शनको बारेमा जिज्ञासा राख्दै थिए । संसारमा क्रिस्चियन धर्मलाई निर्यात गर्ने र अर्बौँ डलर लगानी गरेर चर्च बनाउने, पैसा बाँडेर क्रिस्चियन बनाउने देशहरुमा आएको यो परिवर्तनले हामी पूर्वीय दर्शन मान्नेहरूका लागि गौरव नै लाग्छ ।

अझ ती देशहरुमा हिन्दू, मुस्लिम र क्रिस्चियन  मिलेर आफ्ना आफ्ना धर्मको रक्षा आफ्नै तरिकाले गरेको देख्दा र मिलेको देख्दा लाग्छ, विश्व विश्वबन्धुत्वका लागि धार्मिक आस्था र नैतिक बलले नै काम गर्ने रहेछ । पश्चिमा देशहरुको विश्वविद्यालयहरुमा गीताका श्लोकहरु लेखिनु, शिक्षण अस्पताल र मेडिकल विश्वविद्यालयहरुमा शल्यक्रियाका पिता सुश्रुतको सालिक राखिनु पनि पूर्वीय श्रुति र स्मृतिको कार्यान्वयनमा युरोपियन र अन्य पश्चिमाहरुले देखाएको तत्परता नै मान्नुपर्छ । 

अचेल विश्वभरका जाति, जनजाति, आदिवासीहरूमा नै आफ्ना संस्कृतिसँग पूर्वीय दर्शन र संस्कृतिको कति प्रभाव परेको रहेछ भन्ने खोज सुरु भएको छ । अझ ती संस्कृतिको दर्शन निर्माणमा कसरी मानव जातिको देन रहने छ भनेर एकाग्रताका साथ विचार गर्ने ठाउँ चाहिँ अहिलेको नेपालको भूगोलमा पर्ने रहेछ कि भन्ने चर्चा पनि नृशास्त्र र समाजशास्त्रका विद्यार्थीहरूमा जिज्ञासा देखिन्छ । 

कति सरल दर्शन तर जटिल रहेछ कार्यान्वयनमा- बाबुलाई देवता मात्र, आमालाई देवता मात्र, गुरुलाई देवता मान, पाहुनालाई देवता मान, गुरुबाट प्राप्त ज्ञानलाई जीवनको महत्वपूर्ण आधार मानेर अघि बढ र भावी सन्तति उत्पादन गरेर ती मार्फत् संसारमा अमर होऊ र ती चलन- ज्ञान बाँड्न र पुनरुत्पादन मार्फत् सन्तति तन्तु बढाउने चलनलाई नचुँडाऊ । सत्य बोल, प्रिय बोल तर अप्रिय हुनेगरी सत्यलाई पनि प्रकाशन नगर ! 

वास्तवमा सत्य बोल्नु कति कठिन छ । प्रिय बोल्नु पनि कठिन छ । झन प्रिय तर असत्य बोल्नु झन कति कठिन छ । नबोल्नु पनि भएन, बोल्दा कतै न कतै बिग्रेला भन्ने डर हुन्छ । एउटा तस्बिर अचेल सामाजिक सञ्जालमा फैलिएको देखेको छु नाङ्गो स्वरुपमा सत्य रुपी माताको तस्बिर । झुठले सत्यको लुगा कस्तो हुँदो रहेछ भनेर छलेर लगाएको र सत्यको स्वरुपमा समाजमा हेलिएकीले बिचरी सत्य चाहिँ नाङ्गी भएकी र लाजले कतै जान नसक्ने भएकी छिन् । र, उनको माग छ, लौ न, त्यो झुठ जसले मेरो लुगा लगाएर भागेकीले मेरो लुगा दिएमा म समाजमा सत्यको स्वरुप देखाउन जान सक्ने थिएँ भन्ने  आशयको कलाकारको भावना देखिन्छ । भएको पनि त्यस्तै छ, सत्य हराएको छ र झुठले नै सत्यको स्वरुप मै हुँ भनेर विश्वभर फैलिएको बेला छ । कति मिठो, कति यथार्थ धरातलमा तयार गरिएको चित्रकला ।  

कलाकारले गरेको कल्पनामा सत्य लुकेको हुन्छ । कल्पनाको आधारमा एउटा कागजमा कला, ढुंगा या धातुको मूर्ति या काठमा कुँदेर तयार गरेको हुन्छ कलाकारले आफ्नो कलालाई । हाम्रै नेपालमा त्यस्ता कला कति छन् कति । अर्थ्याउनु र तिनको रक्षा गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो । संसारमा भएका सबै संस्कृति, भाषा, साहित्य, कला सबै हामी मानव जातिका लागि गर्वको विषय हो ।

तिनको सुरक्षा र प्रयोगमा हाम्रो मानवीय अधिकार हो र कर्तव्य पनि हो । सबै भाषा, कला , धर्म ,संस्कृति र विचारमा कुनै न कुनै दर्शन लुकेको हुन्छ र हाम्रो काम भनेको त्यसको प्रयोग गर्ने या पत्ता लगाएर तिनको ऐतिहासिकताको प्रमाण खोज्ने हो । पूर्वीय दर्शनमा सायद त्यही भएर भनेको होला, वसुधैव  कुटुम्बकम् । पृथ्वीमा सबै आफन्तहरु मात्रै छन् र सबैलाई आफ्नै मान्नुपर्छ । समानताका आधारमा, समताका आधारमा र सबैको उत्तिकै महत्व मानेर ।

हाम्रा मन्दिरका टुँडालहरूमा जीवन र जगतलाई स्पष्ट पार्ने गरी कुँदिएका चित्रहरूले, राखिएका प्रस्तर तथा काठमा मूर्तिहरूले धेरै कल्पनाशिलता र इतिहासको प्रमाण दिएका छन् जसको न त हामीले प्रचार गर्न सकेका छौँ, न त हामीले त्यसको ऐतिहासिकतालाई प्रमाणको आधार बनाउन सकेका छौँ । तर पनि कतिपयले त्यसलाई आधार बनाएर केही सीमित भए पनि गरेका छन्, तिनलाई धन्यवाद दिनैपर्छ । विश्वभर त्यस्ता मूर्त, अमूर्त कलाको भरमार छ । कति भवनको संरचनाले अचम्म पारेको छ कसरी सयौँ हजारौँ वर्ष अघि पनि त्यस्तो कल्प नाशीलता आयो होला ? तर मानवीय स्वभाव हो जिज्ञासाको र त्यसलाई मूर्तरुप दिने । 

धेरै उदाहरण छन् आँखामा, मनमा र मस्तिष्कमा थोपरिएर बसेका । त्यस्तै एउटा मलाई जानकारी हुन नसकेको एउटा मूर्ति हो- मैले चेक गणतन्त्रको राजधानी प्राग सहरमा आफ्ना सुरले घुम्दा चेक राज्यका महान लेखक जो ४० वर्षको उमेरमा नै कथाकार र उपन्यास कारका रुपमा चर्चित थिए , फ्रान्ज काफ्का । इस्वी सन् १८८३ जुलाई ३ तारिखमा जन्मिएका र १९२४ जुन ३ तारिखमा मृत्यु । मैले खासै भन्नुपर्दा उनका कथा र उपन्यासको स्वाद लिएको छैन अर्थात् पढेको छैन । त्यसको कारण हो उनको मातृभाषा जर्मन हो । त्यसमा लेखेको तर अनुवाद साहित्यको स्वाद पनि पाएको छैन । काफ्काको एउटा मूर्ति देखेँ प्रागको बिच सहरमा तर अलि कुनामा । त्यहाँ लेखिएको थियो फ्रान्ज काफ्का ।त्यहाँ थियो एउटा कोट लगाएको, हात आधा मात्र देखिने तर टाउको नभएको,  शरीरको काँध माथि अर्को व्यक्ति सुट टाई र टोप लगाएको पात्र बसेको ।

सायद, पथ प्रदर्शक र दोभासे व्यवस्था नगरी हामी त्यसै घुम्दै थियौँ र देख्यौँ काफ्काको नाममा एउटा मूर्ति । सायद उनको कथा वा उपन्यासको कुनै पात्रको वा कथाको आधारमा त्यो मूर्ति थियो कि ? तर लाग्थ्यो उनी विना टाउकोको बोली बोल्दैछन् आफ्नो काँधमा राखेको बेतालको बोलीमा । हामीसँग । कसैलाई यसबारेमा थाहा छ भने मलाई जानकारी दिनुहुन्न अनुरोध छ । क्रमशः


अधिकारी दर्शन, राजनीति र साहित्यमा कलम चलाउनुहुन्छ ।