आफूलाई चिन्न पूर्वीय साहित्यको अध्ययन : संस्कृत वाङ्मयको अर्थ बुझ्ने गरी पहुँच नहुँदाको पीडा
फर्कलान् र ती दिनहरु
आश्विन १, २०७९

मान्छेले जन्मँदै के पो लिएर आएको हुन्छ र ? भनिन्छ नि, कात्रोमा खल्ती हुँदैन । अर्थात् मरेपछि बेरेर  लैजाने सेतो कपडामा केही  पनि लान सकिँदैन । जति कमाएको भए पनि यहीँ छोडेर जानैपर्छ । कसैले लान सक्ने कुरा पनि भएन र कहाँ लैजाने ? किनभने मरे पछिको गन्तव्यका बारेमा के पो जानकारी छ र ?

हामीसँग उपलब्ध श्रुति स्मृतिले पनि मृत्युपछिका बारेका अनेक तर्क अगाडि सारेको छ ।  हाम्रा चर्म चक्षुले देख्ने गरी परत्रको कुनै आकार प्रकार देखिँदैन । हामीसँग विश्वभर अनेक धार्मिक तथा आध्यात्मिक पन्थहरु छन् विभिन्न धर्म र संस्थाहरुमा । सबैको परिकल्पना फरक फरक देखिन्छ । अहिलेसम्मको प्राप्त सामग्रीमा गरुड पुराणले दिने धारणालाई आधिकारिक मानिन्छ र कतिपय हिन्दूधर्म इतरका धार्मिक व्यक्तित्वहरूले मृत्युपछिको काजक्रियालाई मानेर आफ्नो इहलीला पश्चात् काजक्रिया गर्न र प्रत्येक वर्ष श्राद्ध गर्नका लागि आफ्ना सन्तानलाई अह्राएको सुनिन्छ ।

गीता प्रेसबाट प्रकाशित हुने आधिकारिक कल्याण पत्रिकामा त्यस्ता कुराहरुको उदाहरणसहित तथ्यहरु राखिएको हुन्छ र अहिलेसम्म त्यसको  कतैबाट खण्डन भएको सुनिएको छैन । फेरि गीता प्रेसले हिन्दू धर्मको मात्र प्रचार गरेको छैन कि पूर्वीय संस्कृतिको जगेर्ना गर्नका लागि झकझकाएको पाइन्छ । मेरो बाले धेरै वर्षसम्म कल्याण पत्रिकाको स्थायी ग्राहक भएर पत्रिका मगाउनु हुन्थ्यो र हामीलाई पत्रिकामा लेखेका कुराहरु पढ्न प्रेरित गर्नुहुन्थ्यो । उहाँ आफैँ पनि श्रीवेदव्यास कृष्ण रचित अठार पुराणको वाचन र अर्थसमेत वैदिक विद्वान साम्वभक्त सुवेदी गुरुबाट सुन्नुभयो ।

बा त्यो क्रममा पुस्तक खोज्नका लागि गीता प्रेसमा पनि पुग्नु भएको रहेछ । कुनै पुराणका पुस्तकहरु विशेषाङ्कका रुपमा छापिएका तर उपलब्ध नभएकाले अन्यत्र बाटै मागेर पुस्तक उपलब्ध गराइएको थियो । सिम्रास र भलुवाजोर का पण्डितहरु घरमा रहेका पुराणका पुस्तकहरु ल्याएर वाचन गरिएको थियो । त्यो क्रममा गोरखपुर पुगेर बाले चारै वेदका पुस्तकहरु अर्थसहितका खोज्दा त्यहाँका जो प्रकाशन प्रमुख थिए, तिनले बालाई भनेछन् -हामी वैश्य हौँ ।

हामीले गीता प्रेसको स्थापना गरेको सस्तोमा अन्य श्रुतिस्मृतिको आवश्यकता पूरा गर्नका लागि हो । तर हामी वेद छाप्दैनौँ र विक्री पनि गर्दैनौँ किनभने वैश्यलाई वेद पढ्ने पनि अनुमति छैन, बेच्ने त झन पाइँदै पाइएन । तर उपनिषद् प्रकाशन गर्न  या कल्याणमा आउने वेदसम्बन्धी लेखहरूमा प्रसङ्ग वश छापिएका छन् । एउटा व्यापारिक रुपमा स्थापित प्रकाशन गृहले समेत वैदिक अनुशासन पालना गरेको देखिन्छ । सायद अहिले पनि गीता प्रेसले वेद छापेर विक्री गरेको सुनेको छैन, देखेको छैन ।

आजको समावेशी र व्यापारीहरुले नै सम्पूर्ण राजनीतिलाई आफ्नो मुठ्ठीमा राखेको हाम्रो दक्षिण एसियाको राजनीतिमा आफ्नो स्थापनाकालको प्रतिबद्धतामा अझै गीता प्रेस अडिग रहेको पाइन्छ । त्यसो त सुनिन्छ, अत्यन्त सस्तोमा विक्री गर्ने तर कागत र छपाइमा बढ्दो लागत बेहोर्न नसकेर र विभिन्न निहुँमा हुने हडतालहरूबाट अत्यन्त घाटाका कारणले कुनै पनि दिन बन्द हुन सक्ने हल्लाले आध्यात्मिक तथा धार्मिक पुस्तकहरूको सस्तो मूल्यमा हुँदै आएको आपूर्तिमा पर्नसक्ने अप्ठ्याराको अनुमान सहजै लगाउन सकिन्छ । अन्य प्रकाशनहरूका त्यही प्रकारका पुस्तकहरूको खरिद मूल्यसँग गीता प्रेसको मूल्यको कुनै तुलना नै हुन सक्दैन । अरुको तुलनामा, जसलाई भारत सरकारले सहयोगसमेत दिएको छ, तिनको तुलनामा पनि गीता प्रेसका पुस्तकहरु अत्यन्त न्यून मूल्यमा पाइन्छन् भारतमा पनि, नेपालमा पनि र विश्वमा पनि । 

प्रसङ्ग सस्ता पुस्तकको मात्र होइन, उपलब्धताको हो । हाम्रालागि पठनीय पुस्तकहरु अपरिहार्य होलान्, पुस्तक विनाको समय निरस होला, तर विद्यालयमा पढ्ने सानासाना भाइ वहिनीहरुको पाठ्यपुस्तक बेलैमा उपलब्ध हुन नसक्दाको पीडा कसरी अनुमान गर्न सकिन्छ र ? त्यसको सट्टा अरु क्षतिपूर्तिको अवस्था के हुनसक्छ र ? किनभने हामीले तिनै पाठ्यपुस्तकको भरमा  विद्यार्थी र शिक्षकहरुको दोहोरो सम्बन्ध स्थापना गरेका हुन्छौँ विद्यालयमा । समुदायमा ।

नेपालमा रहेका अमूल्य संस्कृत साहित्य माओवादी जनयुद्धकालमा ध्वस्त पारियो, जलाइयो र कति त त्यसै च्यातेर सकियो भनिन्छ । फेरि त्यस्तो बेला यो देशमा कहिल्यै नआओस् जसले अमूल्य सांस्कृतिक सम्पत्ति सदाका लागि समाप्त होस् । राजनीतिक बदला भनेको संस्कृतिमा सहजीकृत परिवर्तन हो तर अमूल्य सम्पत्तिको नष्टीकरण होइन रहेछ भन्ने कुरा अहिले त उनीहरुले पनि बुझेका देखिन्छन् ।

वास्तवमा आजको प्रविधि जन्य समयमा पाठ्यपुस्तकको किन जरुरत परेको होला भने कसैले लेखेर तयार गरेको अनि निश्चित ठाउँको प्रेसमा छापेर उपलब्ध गराउने भन्ने कुरा त बेलामा उपलब्ध गराउन सधैँ धौधौ छ भने ती विद्युतीय शैक्षिक सामग्रीहरु कसरी उपलब्ध हुन सकेका होलान् र ? खासमा पाठ्यक्रम तयार गर्ने भनेको नै किन पढाउने, पढ्ने , केके पढ्ने पढाउने, अझ केके सिक्नै पर्ने र सिकेकै हुनुपर्ने भन्ने हो । कसरी सिकाउने भन्ने विधिको पनि पूर्व तयारी गर्ने अनि सिकाएको कुरा जीवनमा प्रयोग गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा थाहा पाउने पनि हो जसलाई हामी शैक्षिक मूल्याङ्कन भन्ने गर्छाैं ।

तालिम प्राप्त शिक्षक किन चाहिएको हो भने उसले पाठ्यक्रमका आधारमा नै सहजकर्ताको भूमिका निर्वाह गर्न सक्नेछ । सिकारु ले के सिक्ने भन्ने कुरा धेरै ओटा अनुसन्धानले पहिले नै सकेसम्म पत्ता लगाएका हुन्छन् र त्यसैको जानकारी दिएर तयारी गरेको भनेको नै शिक्षकलाई तालिम दिएर तयारी गरेको भनेको हो । जसरी एउटा व्यक्तिलाई शरीर विज्ञानका बारेमा सिकाएर, शल्यक्रियाको बारेमा पोख्त गराएर मात्र चिकित्सक बनाइन्छ र चिकित्सकको अभ्यास गर्न समाजमा पठाइन्छ । विना प्रमाणपत्र उसलाई शरीर छुन पनि दिइँदैन, ठिक त्यस्तै  हो , एउटा कलिलो मष्तिष्कलाई समाजका लागि , उसैको भविष्यका लागि तयारी गर्नका लागि पक्कै नै तालिम प्राप्त मानिसले मात्र बालकको आवश्यकता अनुसार सहजीकरण गर्न सक्छ भन्ने मनोवैज्ञानिक मान्यता हो ।

धेरै जान्ने सुन्ने हौँ भन्नेले पनि भनेको सुन्छु, लेखेको देख्छु- पाठ्यक्रममा यो पनि राख्नुपर्छ अनि त्यसैलाई विद्यालयमा सिकाउनु पर्छ । पाठ्यक्रम भनेको नै सिकाउने प्रक्रियाको समेत समष्टि प्रक्रिया होइन र ? पाठ्यक्रम भनेको नै पठन पाठनको तयारीको पहिलो चरणदेखि मूल्याङ्कनको चरणबाट समाजमा बच्चालाई पठाउने समयसम्मको तयारी होइन र ?

एकपटक उच्च माध्यमिक परिषद् हुँदै र डाक्टर तीर्थ खनियाँ त्यसको उपाध्यक्ष हुँदै उच्च माध्यमिक परिषद्को पाठ्यक्रमका बारेमा अन्तराष्ट्रिय कार्यशाला गराउनु भएको थियो , त्यसमा प्रमुख वक्ता र सहजकर्ताको रुपमा कुनैबेला युनेस्कोमा शिक्षाविदका रुपमा रहेका एच आर दावे आएका थिए । उनले पाठ्यक्रमको कति मज्जाले अर्थ लगाएका थिए भने , उनले भनेका थिए कि यो त मानवीय आवश्यकताको क्रम हो पाठ्यक्रम भनेको । पहिले मानिसले सुन्यो, सम्झेको जति अरुलाई भन्यो , त्यसैलाई श्रुतिक्रम भनियो । जति सम्झियो र क्रियात्मक प्रक्रिया अपनायो , त्यही नै स्मृतिक्रम भयो ।

मिलाएर सम्झन थाल्यो कुन पहिले र कुन पछि भन्न थाल्यो अनि त्यसैलाई अनुक्रम भनियो । तर पनि मुस्किल के भयो भने के सम्झने, के बिर्सने भन्ने भएपछि टिपोट गर्न थालियो, टिपोटलाई पठनीय बनाइयो , केके कहिले कसरी गर्ने र कसले कसरी कार्यान्वयन गर्ने हो भनेर लिपिबद्ध गरी पढ्ने क्रममा राखियो, त्यही नै  पाठ्यक्रम हो । उनको विचारमा पूर्वीय शिक्षा पद्धति र पश्चिमी शिक्षा पद्धतिमा भनिने करिकुलम र पूर्वीय शिक्षा पद्धतिमा भनिने पाठ्यक्रमको एउटै अर्थ होइन तर विश्वव्यापी करण र संसार सानो भएको बेलामा करिकुलमको संस्कृत , हिन्दी र नेपालीमा पाठ्क्रम नै समानार्थी भएको मात्र हो ।

पूर्वीय शिक्षा पद्धति र पश्चिमी शिक्षा पद्धतिका विद्वान दावेले दाबा गरेका थिए कि पूर्वीय शिक्षा पद्धतिमा, अझ संस्कृत शिक्षा पद्धतिमा, गुरु कुलीय शिक्षा पद्धतिमा योजनाबद्ध सिकाइ हुन्थ्यो, समाजको आवश्यकताका आधारमा, अभिभावक र सरकारको आवश्यकताको आधारमा कृषि शिक्षा, युद्धकला, शास्त्रीय पद्धति, वातावरणीय शिक्षा जसलाई पछि ज्योति विज्ञान, ज्योतिसम्बन्धी शिक्षा भनियो जसमा खगोल शास्त्रको सिकाइ हुन्थ्यो र मानवीय भविष्यसम्बन्धी गणितको शिक्षा दिइन्थ्यो । सङ्गीतको शिक्षाका लागि सामवेद नै मुख्य विधा आधार थियो जस्तो लाग्छ । यस्तै भने दावेले । 

एउटा कला हो कण्ठ गर्ने पनि जुन हिजोको शिक्षाका सुनेर कण्ठ गर्ने परम्पराबाट ज्ञान पुस्तादेखि पुस्तामा सारिन्थ्यो र कति सम्झियो, र त्यसको उपयोग गरेको थियो, त्यही नै ज्ञानको मापन हुन्थ्यो । स्मृति मार्फत् सिकाइ गरिन्थ्यो । अझ त्यो बेलामा झन मूल्याङ्कनसमेत गर्नेगरी । रामायणमा गुरु वशिष्ठ सिकाए पछि राजकाजका लागि तयारी भएका थिए राम, लक्ष्मण, शत्रुघ्न र भरत भने रामलाई विश्वामित्र गुरुले युद्धकला र हतियार विज्ञान सिकाएपछि नै धेरै राक्षसहरूबाट ब्राह्मणहरुको रक्षा गरिएको थियो ।

बाल्मिकी ऋषिले सिकाएको गायनले लव र कुशले गाएर राजा रामचन्द्रलाई खुसीमात्र तुल्याएका थिएनन् कि परिवारको पुनर्मिलनसमेत सम्भव भएको थियो । त्यस्तै महाभारतमा गुरु द्रोणाचार्यले आफ्नो सिकाइको सहजीकरण पछि अभ्यास मार्फत् मूल्याङ्कन गरिएको थियो । आदि शिक्षा प्राप्ति , शिक्षामा गुरु कुलीय प्रभाव साथै शिक्षाको जीवनमा कति उपयोगिता भन्ने बहस त्यो बेलामा पनि थियो र आज पनि छ ।

वैदिक तथा पौराणिक कालमा शिक्षा सीमित वर्गमा मात्र प्रसार गरिन्थ्यो, सहजीकरण गरिन्थ्यो भने अहिले आएर शिक्षा प्राप्तिलाई मानव अधिकारको बाध्यकारी अवस्था मानिएको छ र प्रत्येक राज्यको पहिलो कर्तव्यमा शिक्षा उपलब्ध गराउनै पर्ने र बालअधिकारमा शिक्षा प्राप्त गर्न पाउनु पर्ने कुरा मानवीय प्राथमिकताको विषयमात्र नभएर राज्यको आवश्यक जनशक्तिको आपूर्तिको आधार पनि मानिन्छ । 

जति जति उमेर बढ्दै जाँदो रहेछ, आफ्नो पहिचानको बढी नै खाँचो महसुस हुन थाल्दो रहेछ । म को हुँ, कहाँबाट आएँ हुँला, मेरो देशको अतीत कस्तो थियो होला, मेरा परिवारको आगमन कहाँबाट कहिले यस ठाउँमा भयो होला, मेरो नाम किन राखियो होला, र त्यसको अर्थ के होला ? म अरु जस्तै हुँ कि अरुभन्दा फरक हुँ भन्ने जिज्ञासा आउने रहेछ । बाल्यकालमा अभिभावकको जिम्मा हुने, युवामा पढ्ने, कमाउने , संसारमा हेलिनु पर्ने , दुःख सुखसँग पौँठा जोरी खेल्नु पर्ने, परिवारको आवश्यकता महसुस हुने, पुराना परिवार विस्तारै हराउँदै जाँदा,  अस्ताउँदै जाने  र नयाँ नयाँ सदस्यहरुको संख्या थपिँदै जाँदा समयको गतिसँगै एकअर्कासँग टाढा हुँदै जाँदा पनि आफूसँग आफू त सँगै हुने अनि प्रश्नमाथि प्रश्न आफैँसँग आफैँले आफैँलाई सोधिने हुँदोरहेछ ।

त्यो बेलामा अनि ममा पूर्वीय परम्पराको बारेमा जिज्ञासा, सोधखोज गर्न मन लाग्ने, वेद-पुराणका बारेमा अध्ययन गर्न मन लाग्ने तर संस्कृत वाङ्‍मयको अर्थ सिधै बुझ्ने गरी पहुँच नहुँदा आफैँलाई धिक्कार लाग्छ र पनि अध्ययनको सानो मात्रालाई पूर्वीय ज्ञानको धारामा बगाउन मन लाग्छ जसले कम्तीमा पनि आफैँले आफैँलाई चिन्न मद्दत पुर्‍याउने रहेछ । । यो मेरो व्यक्तिगत धारणामात्र पनि हुनसक्छ । नेपालमा रहेका अमूल्य संस्कृत साहित्य माओवादी जनयुद्धकालमा ध्वस्त पारियो, जलाइयो र कति त त्यसै च्यातेर सकियो भनिन्छ । फेरि त्यस्तो बेला यो देशमा कहिल्यै नआओस् जसले अमूल्य सांस्कृतिक सम्पत्ति सदाका लागि समाप्त होस् । राजनीतिक बदला भनेको संस्कृतिमा सहजीकृत परिवर्तन हो तर अमूल्य सम्पत्तिको नष्टीकरण होइन रहेछ भन्ने कुरा अहिले त उनीहरुले पनि बुझेका देखिन्छन् । तर ती दिनहरुमा भएका गल्ती अहिले माफी मागेर मात्र नफर्किने रहेछन् । क्रमशः

 


अधिकारी दर्शन, राजनीति र साहित्यमा कलम चलाउनुहुन्छ ।