राजनीतिक संरक्षणमा कपट पूर्ण खेल: उपत्यका बासीमा पानी वितरणमा मुलाहिजा कहिलेसम्म ?

राजनीतिक संरक्षणमा कपट पूर्ण खेल: उपत्यका बासीमा पानी  वितरणमा मुलाहिजा कहिलेसम्म ?

पूर्ण ओली  |  दृष्टिकोण  |  कार्तिक ११, २०७९

 मेरो घर महाँकाल स्थित  पानी ट्याङ्की बाट करिब ५ सय मिटर तल फाँटमा पर्छ । मेरो घरमा हप्ता दिन देखि पानी आइरहेको छैन । अब ३ दिन पानी आएन भने मैले ट्याङ्करबाट पानी खरिद गर्नुको अरु केही बिकल्प छैन ।

कहिले काहिँ आउने पानीको कुनै बार र समय निश्चित हुने गरेको छैन । पानी अलिअलि धारामा झरेको देखियो भने मोटर लगाएर तान्नै पर्छ । त्यसले गर्दा दिनको ३ पल्ट पानी ट्याङ्कीको बिर्को खोलेर पानी आए नआएको चेक गर्ने  पर्ने  बाध्यता छ । पानी आउने दिन निश्चित नभएपछि आफु बाहिर गएको बेलामा पानी आयो भने ट्याङ्कीमा पानी भर्न सकिँदैन ।  

पानी ट्याङ्कीको कार्यलयमा फोन गर्‍यो भने सबैतिर पानीको अभाव छ भनेर जवाफ दिने गरिएको छ । स्टाफसँग कुरा गर्‍यो भने पाइपको होल फेर्न लगाउँछन् । तैपनि पानी आउने निश्चित हुँदैन । यस्ता समस्या धेरै उपत्यका बासीले भोगिरहेका छन् । अहिले केहि समय अघि हाकिमको बदलि भएको भन्ने सुनिएको छ । तर त्यहाँ यस्तो सेटिङ हुन्छ कुन ठाउँमा कस्तो मानिस बसेका छन् कसलाई पानीको समस्या पर्‍यो भने आफुलाई पनि अप्ठयारो पर्छ त्यो कुराको भने ख्याल गरेको देखिने गरेको छ ।

मलाई एकपटक खानेपानीको स्टाफले हजुरले सचिवको घरमा पानी कहिले आउँछ भनेर सोध्नुहोस् उसले जवाफ दिएपछि त्यहि दिन पानी तान्नुहोस् पानी आउँछ  भनेर जवाफ दिएका थिए । अनि उनै सचिवको घरमा पानी आउने समय बुझ्दा पानी आउने समय थाहा हुने गरेको थियो । आजभोलि ती कर्मचारी पनि लेनदेनमा फसेर कारबाहीमा परेको भन्ने  समाचार सुनिएको  छ । 

 सुन्दरीजलमा मेलम्ची पानी आएपनि खानेपानी बिभागले जनतालाई नियमितरुपमा पानी दिने छैन । यदि पानी नियमितरुपमा दिन थालेमा ट्याङ्करको पानी कस्ले खरिद गरिदिने ? निजी ट्याङ्करको पानी  फोन गरेको १५ मिनेटमा घरमा आइपुग्छ । तर धारामा पानी  हप्ताको एक या दुईपटक दिन नसक्ने कारण के हो खानेपानी बिभागले जवाफ दिन जरुरी छ ? प्रायजसो ट्याङकर वालाले  महाँकाल खानेपानी बाट पानी लाने गर्छन् । कतै ट्याङकर वाला र खानेपानीका स्टाफ बिचमा केही मुलाहिजा त छैन ? यसको छानबीन हुन आबश्यक छ । 

जहाँ 'सिस्टम'ले काम गर्छ त्यहाँका जनताले दुःख पाउँदैनन् । जहाँ 'सिस्टम'लाई हाकिमहरूले आफ्नो तजबिजमा चलाउन थाल्छन् त्यहाँका जनताले अनावश्यक दुःख पाइरहेका हुन्छन् । अहिले खानेपानी कार्यलयमा दैनिक सयौं मानिसहरु धारामा पानी आएन भनेर गुनासो लिएर धाइरहेका हुन्छन् । उता कार्यालय भने नयाँ धाराको स्विकृति दिन तँछाडमछाड गरिरहेको छ । 

अब पनि यस्ता कपट पूर्ण खेल खेल्ने खेलाडीलाई हामी निर्वाचनको दौरानमा जवाफ दिनुपर्छ । जनताले सहि निर्णय गरि क्षमतावान इमान्दार जनप्रिय नेतालाई निर्वाचित गर्न सकेमा नै हामी सबैको भलो हुनेछ । अन्यथा हामी यसरी नै सँधै पानी, बिजुली, गुणस्तरीय शिक्षा तथा स्वास्थ्यको अभावमा यसरी नै पिल्सिरहन बाध्य हुनेछौ  ।

 एउटा एक इन्चको  पाइपबाट सुरुमा १०/१५ घरमा दिएको पानी पछि बढदै गएर ५० भन्दा बढि धारालाई पानी बितरण गरिन्छ अनि कसरी मोटर नलगाइ पानी धारामा खस्छ ?  त्यो पनि सुरुका ४/५ घरले मोटर लगाइसकेपछि अन्त्यका घरहरुमा पानी पुरा रुपमा आउँदैन । अनि खानेपानी कार्यालयले  पानी अभाव भएको भनि बर्षा सकिन साथ भनिन्छ भने चैत बैशाखको सुख्खा मौसममा के हुन्छ ? एकजना पानी बिभागका बरिष्ठ अधिकृतले केहि समय अघि सुन्दरीजलमा अहिले पहिला भन्दा धेरै पानीलाई 'रिफाइन'  गरि बितरण गर्न गरिन्छ । अरु साना साना नदीका पानीपनि जम्मा गर्न थालिएको छ । त्यसैले पानीको अभाव हुंदैन भनेर भाषण गरेका थिए । तर ती सबै जनतालाई उल्लु बनाउने काइदा मात्र थियो । 

 मेलम्चीको पानी त सिर्फ राजनीतिक 'स्ट्याण्ड' मात्र  हुने गरेको छ । लामो समयदेखि मेलम्ची योजनालाई  मन्त्री, सचिब तथा यसका प्रमुखले दुहुना गाइ बनाए वा बनाइरहेका छन् ।   बर्खामा बिग्रेको मेलम्चीको 'इन्टेक' बनाएर दशैंपछि पानी आउनेछ भनियो अब तिहारपनि सकियो तर पानी धारामा आउने छाँटकाँट छैन् । सायद ! मंसिरको चुनावलाई दृष्टिगत गरि चुनावको केहिदिन अघि पानी बितरण गरि जनतालाई झुक्याउने दाउ हुनसक्छ । 

अहिले काठमाडौँ उपत्यकामा मात्र होइन नेपाल भरका शहर गाउँ सबैतिर पानीको पर्याप्त बितरण कतैपनि छैन् । चुनावमा सबैको एजेण्डा यहि पानी र सडक हुन्छ । तर निर्वाचनपछि नेता फर्केर गाउँ जाँदैनन् । नेपालमा यति धेरै नदि खोलाबाट बाह्रै महिना पानी बगिरहन्छ तर जनता सँधै काकाकुल जस्तो बनेर पानीको अभावमा बस्न बाध्य हुनुपर्छ ?   ठुला नदी र पानीको श्रोत नभएपनि अष्ट्रेलियामा प्रत्येक शहर गाउँमा ठुला पानीका ताल बनाएर बर्षाको पानी जम्मा गरेर बितरण गरिएको छ ।

त्यहाँका जनताले पानीको अभाव कहिल्यै झेल्नु पर्दैन । उनीहरुलाई बिजुली, पानी, ग्याँसको अनियमितता कहिल्यै झेल्नु नपर्दा उनीहरु आफ्नो अमूल्य समय आफ्ना नोकरी, ब्यबसायी तथा बौद्धिक बिकासमा लगाउन पाउँछन् । हामी भने बर्षौदेखि एउटै किसिमका समस्याहरु बोकेर जनतालाई सँधै अप्ठ्यारोमा पारेर जनतालाई झुटा आश्वासन बाँडेर राजनीतिको कपट पूर्ण खेल खेलिरहन्छौ ।

अब पनि यस्ता कपट पूर्ण खेल खेल्ने खेलाडीलाई हामी निर्वाचनको दौरानमा जवाफ दिनुपर्छ । जनताले सहि निर्णय गरि क्षमतावान इमान्दार जनप्रिय नेतालाई निर्वाचित गर्न सकेमा नै हामी सबैको भलो हुनेछ । अन्यथा हामी यसरी नै सँधै पानी, बिजुली, गुणस्तरीय शिक्षा तथा स्वास्थ्यको अभावमा यसरी नै पिल्सिरहन बाध्य हुनेछौ  । जनता अब सचेत बन्ने हो कि ?


काठमाण्डौँ-६
२०७९ कार्तिक १०