स्कन्दमहापुराणमा नेपाल केदार खण्डको वर्णन: अतीतको अस्तित्वलाई कसरी जोगाउने भन्ने हुटहुटी

फर्कलान् र ती दिनहरु

स्कन्दमहापुराणमा नेपाल केदार खण्डको वर्णन: अतीतको अस्तित्वलाई कसरी जोगाउने भन्ने हुटहुटी

हरिविनोद अधिकारी  |  समाज  |  कार्तिक २६, २०७९

मन न  हो कता पुग्छ कता पुग्छ तर जब जब म जन्म ठाउँभन्दा बाहिर हुन्छु, त्यही गाउँ ठाउँ, वन जंगल, खोला, ढाँड, डाँडा , पाखा पखेरा नै सधैँ सम्झनामा आइरहन्छ । हिजोको बेला पनि रहेन, अब गाउँमा बसेर मात्र पनि जीविका सम्भव रहेन र पेसाको महत्व बढेर आएको बेला छ ।त्यसो त मैले बारम्बार आफ्ना सम्झनामा लेख्ने गरेको छु, म जातका हिसाबले बाहुनको छोरो, म जन्मेको बेलामा बाहुनको छोराले ब्रतबन्धपछि पढ्नु पर्ने हो रुद्री , चण्डी र गीता । खासमा रुद्री किन पनि कण्ठ गराइन्थ्यो भने बाहुनको अर्को मुख्य पेसा भनेको पुरोहित हुनु पनि हो । 

जुन परिवारलाई यजमान, अझ स्थानीय भाषामा जजमान बनाउने हो, उसको अनुमति र अनुरोधमा मात्र पुरोहित हुने हो । स्थानीय भाषामा भन्दा पुरेत । मावलमा, या अरु जातमा या कुनै नाता नपर्ने परिवारमा समान तह मानिन्छ । भन्ने पनि गरिन्छ, एउटा बाहुन र अर्को बाहुनका लागि दुवै बाहुन हुन योग्य हुनेछन् ।  जसले जुन दिन कर्मकाण्ड गराउने हो, त्यस दिनमात्र त्यो पूज्य हुने हुन्छ ।

बाहुनले ब्रतबन्धपछि वेद पढ्नु पर्ने हुन्छ । वेदको एउटा अंशको रुपमा रुद्री हो । शुक्ल यजुर्वेदको रुद्रको वयान र पूजाको बारेमा जुन अंश हो, त्यसैलाई रुद्री भनिएको हो । तर मैले ब्रतबन्ध पछि लगत्तै जस्तो गाउँमा लगाइएको चतुर्मासामा पण्डितको रुपमा कान्छा बा पण्डित यज्ञेश्वर उपाध्याय कोइराला आउनु भयो । उहाँलाई आनन्द पण्डित पनि भन्नुहुन्थ्यो बाहरुले । अर्थात् पण्डित बाको नाम यज्ञेश्वर खासमा रहेछ तर आनन्द पनि भनिँदो रहेछ ।

मेरो ब्रतबन्ध २०१९ सालको चैत्र २८  गते भएको थियो । २०२० सालको हरिशयनी एकादशीदेखि हाम्रो गाउँमा चतुर्मासा पुराण लगाइएको थियो सायद महाभारतको बाँकी अंश पुराणका रुपमा भनिएको जस्तो  लाग्छ किनभने अघिल्लो साल जहाँ रोकिएको हुन्थ्यो, त्यहीँबाट  सुरु गरिन्थ्यो । हाम्रो गाउँमा पण्डित पाल्ने पनि पालो थियो । त्यो पालो खासगरी हाम्रा घरहरुमा, हाम्रो घर, हाम्रो मूलघर माहिला बाको घर, कान्छा बाको घर, डिट्ठा जिबा गुणराज बरालको घर, जिम्वाल जिबा पुण्यप्रसाद बरालको घरमा पालै सँग बस्ने चलन थियो । चौमासको पालो लगाइएको थियो । 

मैले सम्झेका पण्डित बाहरुमा सिन्धुली घ्याम्पाका पण्डित ज्वालाप्रसाद कोइराला, रामेछाप केवलेश्वरका तर नेपालमा नै सुप्रसिद्ध विद्वान र वरिष्ठ शिक्षकको रुपमा सम्मानित गुरु साम्बभक्त शर्मा सुवेदी र सिन्धुली घोक्सिलाका कान्छा पण्डित बा यज्ञेश्वर कोइरालाले पुराण भनेको सम्झना छ ।  हुन त हामी पढ्न बाहिर गएपछि आएका पण्डितका बारेमा मलाई थाहा नभएको पनि हुनसक्छ तर पछि सायद महाभारतका १८ पर्वको वाचन र अर्थ समाप्त भएपछि भने चतुर्मासमा विद्यालयको परिसरमा पुराण भन्ने चलन थिएन जस्तो लाग्छ । त्यसको कारण हुनुपर्छ, विद्यालय १० बजेबाट सुरु हुने, पुराणको मण्डप सफा गर्दा समय लाग्ने अनि मण्डपको सुरक्षा पनि सम्भव हुने जस्तो थिएन होला ।

त्यसलाई सेतो लुगाले घेरेर राखिन्थ्यो तर त्यहाँ दिउँसो कुकुर पनि पस्न सक्ने पनि हुन्थ्यो । पछि २०२३सालदेखि हाम्रै घरमा गुरु साम्बभक्त शर्मा सुवेदीले मेरो बाको अनुरोधमा  अठार पुराण सुरु गर्नुभयो । त्यो नै अठार पुराण समाप्त नहुँदासम्म निरन्तर पाठ र अर्थ चलेकाले विद्यालयको परिसरमा लगाउनु परेन होला । मेरो ब्रतबन्धपछिको चौमासको बेलामा कान्छा पण्डितबाट यज्ञेश्वर कोइरालालाई अनुरोध गरिएको थियो । उहाँलाई पाल्ने पालो कान्छा बाको थियो । पाल्ने कान्छा बा कमला कान्त अधिकारी,  पुराण भन्ने पण्डित कान्छा पण्डितबा यज्ञेश्वर कोइराला । मैले उहाँसँगै वेद अध्ययन गरेँ । त्यसैले अहिले पनि म वेद गुरुलाई तर्पण गर्दा कान्छा पण्डित बाको नाममा दिने गर्छु ।

हाम्रा गाउँमा सबैलाई कुलचन्द्र कोइराला पण्डित बाको मुखार विन्दबाट पुराण सुन्ने मन थियो तर काकाको समय नमिलेकोले पनि होला, उहाँले आफ्नो भाइ यज्ञेश्वरलाई जा जा यो पटक तैँले पुराण भन्दे, म अर्को साल भ्याएमा भनौँला भन्नु भएको भनेर मेरो बाले भन्नुहुन्थ्यो । कुलचन्द्र काका वरिष्ठ राजनीतिज्ञमात्र नभएर एउटा  संस्कृत र आधुनिक शिक्षाको सुपरिचित विद्वान  र सुललित भाषामा कथावाचन गर्ने प्रख्यात पण्डित पनि हुनुहुँदो रहेछ । मैले उहाँका तीन दाजु भाइहरुलाई चिनेको हुँ । उहाँका जेठा दाजुको बारेका थाहा भएन तर माहिला दाजु पण्डित दिव्य देव कोइराला भाषा पाठशालाको मुख्य पण्डित नै हुनुहुँदो रहेछ गढीको विद्यालयमा ।  त्यो बेलाका किशोरहरुको मुख्य गुरु नै उहाँ नै हुनुहुँदो रहेछ । अर्थात् तीन दाजुभाइ नै पण्डित हुनुहुँदो रहेछ । त्यसो त त्यो पण्डित परिवारको कथा नै रहेछ, पाँच पुस्तादेखिका पण्डितहरूको परिवार ।

हामी सानामा सुन्थ्यौँ उहाँहरु साहिँला पण्डित बाका छोराहरु हुनुहुन्थ्यो । त्यस्तैगरी जेठा पण्डितको सन्तानमा लक्ष्मीप्रसाद पण्डित बाको पनि पेसा शिक्षण र पुराण भन्ने नै मानिन्थ्यो । अझ पुराण, वेदको मात्र विद्वान मानिने उहाँले ज्योतिषीको काम पनि सायद लक्ष्मीप्रसाद पण्डित बाले गर्नुहुन्थ्यो । त्यसपछिको पुस्तामा संस्कृत पढेर पुराण भन्ने चाहिँ त कुनै त्यो कोइराला परिवारको सदस्य देखिएको छैन तर पठित तथा विद्यावारिधि गर्ने र शिक्षण पेसा गर्ने त अरु पनि भए । पछिल्लो अवधिमा राजनीतिलाई समाजसेवाको आधार बनाएर समाजमा प्रतिष्ठित भएका थिए कुलचन्द्र काकाको साहिँलो छोरो भाइ जीवन चन्द्र जसले जीवनको कीर्ति ज्योति मात्र हामीलाई  छोडेर कोरोनाको कहरकै कारणले हामीलाई यतै छोडेर पोहोर गए । 

कुल चन्द्रकाकाले पुराण भनेको मैले सुनेको थिएँ बाल्यकालमा जुन मेरा लागि अहिले पनि सम्झनामा आउँछ हाम्रै घरमा । त्योबेलामा घडी लगाउने मानिसहरु कमै हुन्थे । खासगरी ज्योतिषीहरुले, पण्डितहरुले घडी लगाउँथे भन्ने म सम्झन्छु । त्यसो त कुलच न्द्रकाका त नेपाली राजनीतिको केन्द्रीय नेता नै हुनुहुन्थ्यो ।  उहाँको घडी म सम्झन्छु किनभने मेरो माहिलो भाइ हिमालय जन्मँदा उहाँ मतानमा गफ गरेर बसिरहनु भएको रहेछ । मैले जब गएर सबैलाई भनेँ, आमाले त भाइ पाउनु भयो, अनि काकाले आफ्नो घडी हेरेर भन्नुभयो- विहानको ९ बजेछ । त्यो दिन थियो २०१४सालको फागुन १९ गते ।

जति परिवर्तन र क्रान्तिकारी भए पनि र समयसँग मिले पनि विनाकारण शोषक सामन्त र पुरातन वादीको रुपमा बाहुन र क्षेत्रीले गाली खानु परेको देखिन्छ । नेपाल अब आफ्ना पुराना सबै ज्ञानको सदुपयोग गर्ने गरी अनुसन्धान गर्ने चरणमा प्रवेश गर्नु जरुरी छ । त्यो ज्ञान सबै जात जाति, संस्कृति र धर्मको परिवेशमा देखिन्छ । सायद नेपाल जति यति उदार समाज संसारमा वहु संस्कृतिहरु, वहु भाषा र वहु धर्म भएको देशमा होला र ?

त्योबेलामा बाहरु बरखी बारिरहनु भएकाले सेतो लुगामा हुनुहुन्थ्यो ।अनि काकाले यसो पात्रो पल्टाएर उसको नाम हि बाट राख्न सकिने समेत भन्नुभयो- दाइलाई पाल्ने छोरो जन्मियो, यसले खेती किसानी गर्नेछ र दाइलाई पाल्नेछ । एक किसिमले उहाँको भनाइ पुग्यो भने पनि हुन्छ । ऊ बासँग थियो मधेसमा बाको अन्तिम  समयमा पनि र बाको खुट्टा मिचेर सुतेको थियो २०६१साल भाद्र ३१ गते राती । त्यो भाइ पनि २०६९ साल चैत्र २८ गते विहान आफैँले रिजर्भ गरेर ल्याएको बोेलेरो जिप रोकी राखेको ट्रकमा बज्रेर दुर्घटनामा ऊ सहित अरु दुई जना साथीहरुको मृत्यु भएको थियो । 

मैले संस्कृत पढिन तर वेद पढ्नै पर्ने चलनअनुसार मैले यज्ञेश्वर गुरुसँग शुक्ल यजुर्वेद पढेँ तर अर्थ नबुझीकनै । त्यसो त कान्छी बहिनी जगदम्बाका छोरा मेरा भानिज आश्विन जो संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्यको सियाटलमा २०६१ सालको भदौको अन्त्यमा जन्मे र हालैमात्र उनको ब्रतबन्ध वैदिक रीतिअनुसार उहीँ नै भयो । उनलाई मन्त्र तथा वेदको शुभारम्भ उनकै हजुरबा  विद्वान पीताम्बर दाहालले नै वैदिक रीतिअनुसार गर्नुभएको रहेछ । हाम्रो चलन अझै पनि छ । अझ मैले पाएको सूचना र अनुभवले भन्छ, जहाँ जो गए पनि संस्कृति लिएर गएको हुन्छ र उसले आफ्नो संस्कृतिको कति भाग सम्पन्न गर्ला, तर संस्कार र चलनको मान्यता दिएकै हुन्छ । सायद यही नै हामी मानव जातिको विशेषता हो ।

पुस्तौँ पुस्ता भइसकेका र धर्मसमेत मेरो के हो भन्ने थाहा नपाउने सन्तानहरुले पनि नेपाली हौँ भन्ने र दसैँ मनाउने चलन संसारमा जताततै छ। अहिले त संयुक्त राज्य अमेरिका, अस्ट्रेलियाजस्ता विश्वप्रसिद्ध देशहरुमा नेपाली चाड भनेर दसैँ र तिहारको बारेमा त्यहाँको सरकारले वधाई समेत दिन थालेको छ। मलाई मेरा भाइ सुपरिचित वरिष्ठ पत्रकार तथा सञ्चार मार्फत् सामाजिक सुधारका अभियन्ता तारानाथ दाहालले  भन्नुभएको थियो - दाजु, नेपालको सम्मानमा म्युनिख सहरको मध्यमा नेपालको पशुपतिनाथको मन्दिर बनाएर पूजाआजा गर्न र दर्शन गर्नका लागि समय दिइने रहेछ ।

त्यतिमात्र होइन, सहरको मध्यमा शिवजीको मूर्ति छ र उनलाई पानीको देवता भनेर लेखिएको रहेछ । त्यसो त मैले पनि बर्लिनमा शिवजीको ठुलो मूर्ति देखेको थिएँ जहाँ विष्णुका अवतारहरूले शिवजीलाई घेरेर स्तुति गरेको जस्तो लाग्थ्यो र अप्सराहरूले नमस्कार गरेर बसेका देखिन्छन् । त्यसको केही मिटर पर गणेशको ट्याम्को बजाएको मूर्ति छ  जहाँ मुसो ध्यान दिएर सुन्दैछ । अर्थात् शिवजीलाई मान्नेमा जर्मनीका शासक तथा समाजसेवी र प्राज्ञहरू देखिन्छन् ।

अचेल शल्यक्रियाका जनक मानिनु हुने ऋषि सुश्रुतको सालिक बनाउने , प्राज्ञिक हैसियतका लागि गीता र उपनिषद्का श्लोक तथा मन्त्रहरु लेखेर विश्वविद्यालयका भित्तामा टाँस्ने या सिंगमरमरमा कुँदेर लेख्ने चलन पनि चलेको रहेछ । बरु भारत र नेपालका विश्वविद्यालयहरुमा यस बारेका ध्यान दिएको देखिँदैन, सायद नजिकको तीर्थ हेला भनेजस्तै होला । 

त्यसो त पूर्वीय वाङ्मयको चर्चा र प्रयोगका बारेमा संसारभर एउटा लहर देखिन्छ , झन त्यसमा पनि जर्मनी त पूर्वीय वाङ्मय र विज्ञानका बारेमा अनुसन्धानसमेत गरेर त्यसबाट फाइदा लिएको देशको रुपमा मानिन्छ । मैले बुझे अनुसार रेडियोका संस्कृतमा समाचार भन्ने पहिलो देश पनि जर्मनी नै हुनुपर्छ । हामीले विद्यालयमा पढ्दा एउटा हाजिरी जबाफको प्रश्न सामान्यतः सोधिन्थ्यो—संसारमा कुन विश्वविद्यालयमा संस्कृत अनिवार्य गरिएको छ ? भनिन्थ्यो- काबुल विश्वविद्यालय । र संसारमा बोलिने धेरै भाषाको मूलमा संस्कृत भाषा छ भन्ने मानिन्छ ।

विश्वका कतिपय विश्वविद्यालयमा नेपालका प्राज्ञहरुले प्राध्यापन गर्न थालेको सुनिएको छ । नेपालमा कतिपय स्थानहरुलाई ऐतिहासिक तथा पौराणिकरुपमा व्याख्या गर्न मिल्नेगरी नामाकरण गरिएको र सप्रमाण देखिएको मानिन्छ । मेरा बालसखा भोजराज ढकाल जो सिन्धुलीको मरिनखोलाको चौँराईँमा बस्नुहुन्छ, उहाँल हालैमात्र मरिन खोला वरिपरिको मात्र ऐतिहासिक तथा पौराणिक महत्वको सप्रमाण जुटाई प्रकाशन गर्न लाग्नु भएको सुनिन्छ । जगज्जननी सीताको जन्मस्थलको रुपमा पौराणिकरुपमा नै मानिएको र महाभारत महाकाव्यमा वर्णित धेरै कुराहरुको नेपालमा सम्मिलन हुने मानिन्छ ।

महाभारतमा हिमाली राज्य नेपाल र त्यो बेलाका किराँती शासकसँग मिल्ने बयानले पनि नेपालको अनुसन्धान अझै भएको छैन भन्ने अनुमान गर्न सकिन्छ । अझ यसो पनि भनिन्छ, पुरानो लेखोटमा अठार पुराणभित्र, अझ  स्कन्द महापुराणमा नेपालको वयान नै रहेको केदार खण्डको पछि हटाइएको थियो । वेद, उपनिषद् , रामायण , महाभारत तथा पुराणहरुमा, धर्म सिन्धु, निर्णय सिन्धुहरुमा या अन्य धार्मिक पुस्तकहरुमा गरिएको वर्णनले जनमानसमा विश्वास पैदा गरेको हुन्छ । अनि त्यसैमा तलमाथि गरिए त्यसलाई अक्षम अपराध मान्नुपर्ने हुन्छ तर तलमाथि गरिएको हो कि होइन भन्नका लागि त मूल लेखाइ नै प्रस्तुत गर्नुपर्ने हुन्छ । 

संस्कृति र संस्कार जस्तो भए पनि परिवर्तन हुनेमा नेपालको परिप्रेक्ष्यमा बाहुन र क्षत्रीहरू नै देखिन्छन् भन्ने गरिन्छ । तर जति परिवर्तन र क्रान्तिकारी भए पनि र समयसँग मिले पनि विनाकारण शोषक सामन्त र पुरातन वादीको रुपमा बाहुन र क्षेत्रीले गाली खानु परेको देखिन्छ । नेपाल अब आफ्ना पुराना सबै ज्ञानको सदुपयोग गर्ने गरी अनुसन्धान गर्ने चरणमा प्रवेश गर्नु जरुरी छ । त्यो ज्ञान सबै जात जाति, संस्कृति र धर्मको परिवेशमा देखिन्छ । सायद नेपाल जति यति उदार समाज संसारमा वहु संस्कृतिहरु, वहु भाषा र वहु धर्म भएको देशमा होला र ? क्रमशः