संसद्को तेस्रो ठुलो पार्टीका लागि समानुपातिकमा हँसिया हथौडा र घण्टी बिच तँछाडमछाड !

आम निर्वाचन २०७९ विशेष

संसद्को तेस्रो ठुलो पार्टीका लागि समानुपातिकमा हँसिया हथौडा र घण्टी बिच तँछाडमछाड !

ज्ञानमित्र  |  समाचार  |  मंसिर १५, २०७९

आम निर्वाचन २०७९ को समानुपातिक तर्फको मतगणना परिणाम आउँदै गर्दा गण्डकी प्रदेशका ११ जिल्लामध्ये गोरखा, म्याग्दी र  मुस्ताङ  गरी तीन जिल्लामा माओवादीले  निर्वाचनको ३ महीना अघि जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात घण्टीलाई समानुपातिक तर्फ जित्यो। मनाङ, लम्जुङ, कास्की, तनहुँ, नवलपरासी पुर्व, बागलुङ र पर्वतमा घण्टीले माओवादीलाई समानुपातिक मतमा परास्त गर्यो। स्याङ्जा २ को मतगणना अवरुद्ध भएर परिणाम आउन क्रममा छ ।

मनाङमा माओवादीले १३३ मत पाउँदा घण्टीले १४६ मत ल्यायो। लम्जुङमा चुनावी समरमा ओर्लेका वरिष्ठ माओवादी नेता देव गुरुङले प्रत्यक्ष तिर ३१,७८१ मत ल्याउँदा समानुपातिकमा जम्मा ६,४८३ मत आयो ।  घण्टीले ८,२१७ मत बटुल्यो। जिल्लामा माओवादी प्रभाव कति बाँकी छ नेतृत्वले आफै मूल्याङकन  गर्नु हुनेछ । 

गण्डकी प्रदेशभरी घण्टीले १,६७,१२१ मत पाउँदा माओवादी सुप्रिमो लडेको यस प्रदेशमा माओवादीले १,०७,२४१  मतमा खुम्चिनु पर्‍यो।

 बागलुङको निर्वाचन क्षेत्र १ मा वयोवृद्ध वामपन्थी  नेता  गठबन्धनका साझा उम्मेदवार थिए।  प्रत्यक्ष निर्वाचनमा २१,४५१ मत ल्याएर विजयी बने।  तर उनको क्षेत्रमा उनको चुनाव चिन्ह गिलासमा जम्मा ४,९८६ मत आयो।  माओवादीको खातामा २,८५७ मत खस्यो। दुबैको योगफल हुन्छ   ७,८४३।  प्रत्यक्षमा जित्न कांग्रेसले झण्डै १४ हजार मत उधारोमा दियो। यस निर्वाचन क्षेत्रमा घण्टीले ७,८७७ मत पायो।

बागलुङ २ मा माओवादीले ८,३४७ मत ल्याउँदा घण्टीले ३,१५६ मत बटुल्यो। बागलुङ जिल्लामा समानुपातिक तर्फ ११,२०४ मत ल्याउँदा घण्टीले माओवादी भन्दा २९ मत बढी अर्थात ११,०३३ मत ल्यायो।

गण्डकी प्रदेशका ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमध्ये ५ निर्वाचन क्षेत्रमा माओवादीले घण्टीभन्दा बढी मत ल्यायो।  अन्य १२ निर्वाचन क्षेत्रमा घण्टीले हसिया हथौडालाई नराम्ररी पछारियो। स्याङ्जामा मत परिणाम आउने क्रममा रहेको छ।  

देशका ७७ जिल्लामा १६५ निर्वाचन क्षेत्र छन। अधिकांश मानिसलाई जिज्ञासा होला, ७७ जिल्ला मध्ये कति जिल्लामा माओवादीले घण्टीभन्दा बढी भोट ल्यायो ? कति जिल्लामा घण्टीले माओवादीहरूको गलामा घण्टी भिराउने सफलता पायो रु यसलाई जिज्ञासा नम्बर एक भन्ने हो भने जिज्ञासा नम्बर दुइ हुन्छ १६५ निर्वाचन क्षेत्र मध्ये कति क्षेत्रमा घण्टीले अग्रता लियो ?

माथि नै गण्डकी प्रदेशको ११ जिल्लाबारे चर्चा भयो। ७ जिल्ला र १२ निर्वाचन क्षेत्रमा घण्टीले अग्रता  लियो।

गण्डकीपछि लुम्बिनी प्रदेशको तस्वीर हेरौं (१२ जिल्ला रहेको यस प्रदेशमा २६ निर्वाचन क्षेत्र रहेका छन। प्रदेशको बर्दिया, प्युठान,रोल्पा र रुकुम पूर्व जिल्लामा माओवादीले घण्टीभन्दा बढी मत ल्याए कै हो, बाँकीका ८ जिल्ला लालकिल्ला नरहेर नीलो गढमा परिणति भएका छन। प्रदेशको गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र नवलपरासी पश्चिमले घण्टीलाई रोजे।

२०६४ को माओवादी, २०७० को माओवादी , २०७४ को माओवादी र अहिले २०७९ को निर्वाचनमा माओवादीको साख र हैसियत कहाँ पुग्यो।  यस निर्वाचनमा माओवादीले प्रत्यक्ष तर्फ १० प्रतिशत  सफलता (१६५ मध्ये १७ मा विजय) र समानुपातिक तर्फ ११ प्रतिशत पाएको छ। २७५ सदस्यीय संसदमा उसको उपस्थिति जम्मा ३१ सदस्यीय हुनेछ , यो भनेको पनि ११ प्रतिशत नै हुन्छ।

२६ निर्वाचन क्षेत्रमध्ये ७ निर्वाचन क्षेत्रमा माओवादीले घण्टीलाई उछिन्ने सफलता पायो।  यी क्षेत्र हुन (गुल्मी १, कपिलवस्तु ३, रुकुम पूर्व, रोल्पा, प्युठान, दाङ १)  यहाँ घण्टीले ११,४१० मत पाउँदा माओवादीले ११,४५२ मत पायो  र बर्दिया २। अन्य सबै १९ निर्वाचन क्षेत्रमा घण्टीले माओवादीभन्दा अग्रता लियो।

समग्र प्रदेशको तस्वीर हेर्दा यस प्रदेशमा माओवादीले १,८४,२५० मत पाउदा घण्टीले २,२०,१३९ मत पाएर यस प्रदेशमा पनि माओवादीलाई मज्जाले धक्का दियो।

पुर्व तिरको वस्तुस्थिति हेरौं (प्रदेश नम्बर १ मा १४ जिल्ला छन भने यहाँ निर्वाचन क्षेत्र संख्या २८ रहेको छ। सबै पहाडी जिल्ला पाँचथर,ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, सोलु, खोटाङ्ग, उदयपुर र ओखलढुंगा यी १० जिल्लामा माओवादी अग्रता कायम रह्यो। तर मोरङ,सुनसरी, इलाम र झापा यी ४ जिल्लामा घण्टीले माओवादीलाई उछिन्यौ।

प्रदेशका २८  निर्वाचन क्षेत्रमध्ये १५ वटा निर्वाचन क्षेत्रमा माओवादीले घण्टीभन्दा बढी मत पायो।  १२ निर्वाचन क्षेत्रमा भने घण्टीले माओवादी सँग अग्रता लिदै समग्र प्रदेशकै मत संख्यामा माओवादीलाई उछिन दियो।  प्रदेशमा माओवादीले कुल मत १,८४,५८३  पाउँदा घण्टीले २,०८,२९०  मत ल्याएर अग्रता कायम गर्यो। प्रदेश १ मा घण्टीको मत अझै बढ्छ किनकी सुनसरी क्षेत्र ३ मा मतगणना हुन बाँकी छ।  

उपरोक्त तीन प्रदेशका ३७ जिल्ला मध्ये माओवादीले १७ जिल्लामा अग्रता कायम गर्दा घण्टीले १९ जिल्लामा अग्रता पायो। स्याङ्जाको मतगणना बाँकी रहेकोले त्यहाँको अन्तिम परिणाम आउन बाँकी छ।

उपरोक्त ३ प्रदेशका ३७ जिल्लाका ७२ निर्वाचन क्षेत्रमध्ये माओवादीले २७ निर्वाचन क्षेत्रमा अग्रता लियो भने अन्य ४४ क्षेत्रमा माओवादीलाई घण्टी बज्यो।

राजधानी काठमाण्डौ स्थित बागमती प्रदेशतिर फर्कौँ । १३ जिल्ला रहेको यस प्रदेशमा ३३ निर्वाचन क्षेत्र रहेका छन। दोलखा जिल्लाको मतगणना लाभान्वित रहेको छ । रामेछाप, सिन्धुली, धादिङ, नुवाकोट, रसुवा,र सिन्धुपाल्चोक यी ६ जिल्लामा माओवादीले अग्रता राखेका छन भने काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, मकवानपुर र चितवन यी ६ जिल्लामा घण्टी माओवादीभन्दा धेरै अगाडि निस्केको छ।

३३ निर्वाचन क्षेत्र मध्ये ११ क्षेत्रमा माओवादीले घण्टीलाई रोक्यो भने २१  निर्वाचन क्षेत्रमा घण्टीको 'लिप जम्प' लाग्यो। पहिलो पटक निर्वाचनमा होमिएको घण्टीले यस प्रदेशबाट प्रत्यक्ष तर्फ ७ सीटमा विजय पनि हासिल गर्यो।

सम्पूर्ण बागमती प्रदेशबाट माओवादीले समानुपातिक तर्फ २,५३,१०३  मत पाउदा घण्टीले लामो छलाङ लगाउँदै ३,७४,६८६ मत ल्याएर सबैलाई अचम्मित तुल्याइ दियो।

अहिलेसम्म उल्लेख  गरिएका ४ प्रदेशका ५० जिल्लामा पर्ने १०५ निर्वाचन क्षेत्रको अन्तिम परिणामअनुसार  ४ वटै प्रदेशमा घण्टीको माओवादीमाथि अग्रता कायम हुनुका साथै माओवादीले २३ जिल्लामा अग्रता राख्न सक्यो भने २५ जिल्लामा घण्टीले माओवादीमाथि प्रभुता कायम गर्यो।  स्याङजा र दोलखा जिल्लाको गणना हुन बाँकी नै रहेको छ। माथि उल्लेखित १०५ निर्वाचन क्षेत्र मध्ये ३८ क्षेत्रमा माओवादीले अग्रता लिँदा ६४ निर्वाचन क्षेत्रमा घण्टीले माओवादीलाई पछाडि धकेलेको छ। सुनसरी ३, स्याङजा २ र दोलखाको अन्तिम परिणाम आउने क्रममा रहेको छ।

अब कर्णाली प्रदेशको उकालो लागौँ। १० जिल्लामा विभाजित यस प्रदेशमा १२ वटा निर्वाचन क्षेत्र रहेका छन। यस प्रदेशमा भने माओवादीले घण्टीको तीव्रतामा गतिलाई पूर्ण रूपमा रोकिने सफलता अर्जित गरेको छ। १० वटै जिल्लाका १२  निर्वाचन क्षेत्रमा नै माओवादीले आफ्नो प्रभुत्व कायम राखेको छ।  कर्णाली प्रदेशमा माओवादीले १,३५,४९६ मत संकलन गर्यो भने घण्टीले जम्मा २०,१६७ मत जम्मा गर्न सक्यो।

सुदूर पश्चिमको तथ्यांक खगाल्दा पनि माओवादीका लागि राहत नै पुगेको छ। ९ जिल्ला भएको यस प्रदेशमा १६ निर्वाचन क्षेत्र रहेका छन। बाजुराको अन्तिम परिणाम आउन बाँकी छ भने अन्य सबै जिल्ला र क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ। ९ वटा  जिल्लामध्ये  ८ जिल्लामा माओवादीले अग्रता कायम राख्यो भने  १६ निर्वाचन क्षेत्र मध्ये कंचनपुर ३ बाहेक अन्य  १४ निर्वाचन क्षेत्रमा माओवादीले घण्टीभन्दा बढी भोट ल्यायो।

यस प्रदेशमा माओवादीले प्रत्यक्षतर्फ १६ निर्वाचन क्षेत्रमध्ये  भागबण्डामा ४  वटा सीटमा लड्ने मौका पाएको थियो।  कैलाली १, कैलाली २, कन्चनपुर ३ र  बैतडी १, तर माओवादीले यस प्रदेशमा गठबन्धनका बाबजुद प्रत्यक्ष तर्फ कुनै सीटमा पनि विजय हासिल गर्न सकेन। गठबन्धनको अर्को दल नेकपा समाजवादीलाई भने भाग्यले साथ दियो।  भागबण्डामा प्रत्यक्ष तर्फ ३ सीट पाएको माधव दलले तीन वटामै विजयश्री वरण गर्यो।

प्रदेशभरी माओवादीले समानुपातिक  तर्फ १,१२,२५६ भोट पाएर घण्टीसँग अग्रता राख्यो। घण्टीले यस प्रदेशमा समानुपातिक तर्फ ४४,७८१ मत पायो। माओवादीले प्रदेश मा १,१२,२५६ भोट ल्याए पनि यस प्रदेश को कुनै पनि निर्वाचन क्षेत्रमा प्रत्यक्ष तरफ जित्ने  हैसियत राख्दैन। १५ आते निर्वाचन क्षेत्रमा माओवादी तेस्रो नम्बर को शक्ति रहेको देखिन्छ।  

पहिलो र दोस्रो नम्बरमा निश्चय पानी कांग्रेस इ एमाले रहेका छान।  तेस्रो शक्ति भनेर माओवादीले मख्ख पर्ने अवस्था भने छैन।  माओवादीको हैसियत पहिलो र दोस्रो नम्बरका शक्ति को झण्डै आधी मात्रै हो। माओवादी पंक्ति एवं त्यस दलसँग सम्बन्धित मित्रहरूलाई लेखन गइरहेको कुरा हजम नहुन सक्छ तर वास्तविकता यही हो।  यस सुदूर पश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले 'डेब्यू' न गरेको भयो समानुपातिक भोटमा घण्टीले बाजी मार्ने थियो। माओवादी घण्टी भन्दा पछि नै हुन्थ्यो।  माओवादी एवं अन्य दलसँग आक्रोशित जनमानसले यी ठुला दलप्रति आफ्नो वितृष्णा पोख्ने अर्को ठाउँ अर्थात् नागरिक उन्मुक्ति पार्टी को चुनाव चिन्ह  ढकिया पाए, अन्यथा ढकियामा गएको भोट रूपी आक्रोश घण्टी तर्फ  मोडिएर घण्टीले माओवादीसँग अग्रता लिने थियो। यस प्रदेशमा ढकियाले डेब्यू मै प्रत्यक्ष तर्फ ३ सीट जित्नुका साथै समानुपातिक मा ९९, ३८१ मत पाएको छ।

मधेश प्रदेशको तथ्यात्मक अवलोकन गर्नु पूर्व एउटा चर्चा गरौ।  सुदूर पश्चिमका भाँति यस प्रदेशमा पनि एउटा नयाँ राजनीतिक दलले डेब्यू गर्यो।  सीके राउतको जनमत पार्टीले रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी झै प्रत्यक्षमा उत्साहजनक परिणाम हात नपारे पनि आफुलाई राष्ट्रिय दलको रूपमा प्रतिष्ठित गरेर तहल्काका मच्चाएको छ।

पुरै प्रदेशको तस्वीर हेर्दा यस्तो देखिन्छ। ८ जिल्लामा ३२ निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा पनि समानुपातिकतर्फ माओवादीले घण्टीलाई उछिनेको छ। ८ वटै जिल्लामा माओवादी अग्रता कायम भयो।  धनुषा ३, धनुषा ४, बारा १, बारा ३ र पर्सा २ बाहेक अन्य सबै निर्वाचन क्षेत्रमा माओवादीले अग्रता लिएको छ। सम्पूर्ण प्रदेशमा माओवादीले १,७८,११६  मत पायो भने घण्टीले ७२,५५६  मत पायो।

यसै निर्वाचनमा डेब्यू गरेको सीके राउतको जनमत पार्टीले प्रत्यक्षमा एक सीट मात्रै जिते पनि समानुपातिक तर्फ प्रदेशमा २,८९,३५७ मत बटुल्दै कांग्रेस, एमाले र जसपापछि चौथो नम्बरको दल बन्ने सफलता पाएको छ। जनमत पार्टीले लेख्दै गर्दा बिहान ११  बजे सम्म जम्मा ३,८६,०९६ मत पाएर संसदको सातौ राष्ट्रिय दलको मान्यता पाएको छ।

अर्थात् यस दलले मधेश  प्रदेश बाहेक अन्य प्रदेशबाट ९६,६३९ मत पाएको हो। प्रदेश १ बाट १७,५०६, बागमतीबाट ४,२४४, गण्डकीबाट १,८२८, लुम्बिनीबाट ७१,८९७  कर्णालीबाट ३९१ र सुदूर पश्चिम प्रदेश बाट ८७३ मत पाएर  कुल ३,८६,०९६  मत पाएको हो।

मधेश प्रदेशबाट माओवादीले प्रत्यक्ष तर्फ ६ सीट पाएको थियो भागमा। सर्लाही २ का महेन्द्र राय यादव बाहेक सबै जनाले पराजित हुनु पर्‍यो। ३ सीट पाएको नेकपा एसले २ जीत र एक क्षेत्रमा पराजय भोग्नु परयो।

मधेश प्रदेशमा जनताले पुराना राजनीतिक दलप्रतिको आक्रोश जनमत पार्टीमा पोखे। अन्यथा यहाँ पनि घण्टीले जोरदार उपस्थिति गर्ने थियो।

सात प्रदेश मध्ये ४ मा घण्टीको अग्रता ३ मा माओवादीको अग्रता, ७७ जिल्ला मध्ये ४९ जिल्लामा माओवादीको अग्रता ,२५ जिल्लामा घण्टीको अग्रता , तीन जिल्लाको अन्तिम परिणाम आउन बाँकी छ । १६५ निर्वाचन क्षेत्र मध्ये ९१ क्षेत्रमा माओवादीको अग्रता ७० क्षेत्रमा घण्टीको अग्रता।  ४ क्षेत्रको परिणाम आउन प्रतीक्षा गर्नुपर्ने हुन्छ।  

समग्रमा देशभरबाट ४८ सीटमा प्रत्यक्ष निर्वाचन लडेको माओवादीले १७ सीटमा विजित हुँदै समानुपातिक तर्फ अहिलेसम्म १ करोड २ लाख ४८ हजार १९७ मत गणना हुँदा  ११ लाख ५५ हजार ४५  मत पाएर तेस्रो स्थान बनाएको छ। घण्टीले प्रत्यक्षमा ७ सीट जित्दै समानुपातिकमा  ११ लाख ७  हजार ७४६ मत ल्याएर पछ्याइरहेको छ। अहिलेसम्म दुबैका बीच झण्डै ४७  हजारको अन्तर छ।  अन्तिम परिणाम आउँदा सम्म यो अन्तर घटे पनि घण्टीको अग्रता हुने छैन।  तर, तर, तर समानुपातिक भोटमा माओवादीको जतिसुकै अग्रता भए पनि दुबैले पाएको मतलाई सीटमा रूपान्तरण गर्दा दुबैको भागमा सामान सीट आउने छ।

२०६४ को माओवादी, २०७० को माओवादी , २०७४ को माओवादी र अहिले २०७९ को निर्वाचनमा माओवादीको साख र हैसियत कहाँ पुग्यो।  यस निर्वाचनमा माओवादीले प्रत्यक्ष तर्फ १० प्रतिशत  सफलता (१६५ मध्ये १७ मा विजय) र समानुपातिक तर्फ ११ प्रतिशत पाएको छ। २७५ सदस्यीय संसदमा उसको उपस्थिति जम्मा ३१ सदस्यीय हुनेछ , यो भनेको पनि ११ प्रतिशत नै हुन्छ।

माओवादी नेतृत्व यसरी नै 'किंग मेकर' बन्ने  र सत्ता गठबन्धनको भावशान्ति लोलुपतामा अल्झी रहोस् अर्को निर्वाचनमा नसही त्यसपछिको निर्वाचनमा उसले पनि अहिलेको नेकपा एस र उसका मठाधीश झै तीन प्रतिशत मत पुग्ने कि नपुग्ने स्थिति सामना गर्नु पर्ने दिन नआउला भन्ने दावी गरी राख्नु पर्दैन। संसदको स्वरूपले गर्दा कथम् कदाचित् देश मध्यावधि निर्वाचनमा गयो भने ठूला दलले थेगी नसक्ने स्थिति आउँछ। त्यस बेला राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र राप्रपाका कार्यालयमा टिकट पाउने आकांक्षीहरुको भीड  नियन्त्रण गर्न पुलिस नै बोलाउनु पर्ने हुन्छ।