डा. तुलसी भट्टराईज्यू, शरम पनि लाग्दैन ?

डा. तुलसी भट्टराईज्यू, शरम पनि लाग्दैन ?

अनुरोध शर्मा  |  दृष्टिकोण  |  मंसिर २७, २०७९

नेपाल मात्र यस्तो देश लाग्छ, जहाँ योग्य र योग्यताको ठाउँमा आसेपासे, हुक्के–बैठके र निकटका झोलेहरूले अवसर पाउँछन् । केही सीमित शक्तिकेन्द्रका वरिपरि घुमेपछि उनीहरूले जस्तासुकै लाभ प्राप्त गर्न सक्छन्, त्यो पनि एक पटक होइन, पटकपटक ।

यस्तै व्यक्तिमा पर्ने नाम हो– डा. तुलसीप्रसाद भट्टराई ।

केही समय बनारसमा वीपी कोइरालासँग केही कप चिया खाएको र केही दिन वीपीले खाना खाएका भाँडा माझिदिएको फाइदा उनले जीवनभर लिँदै छन् । ठूलै लोकतन्त्रवादी हुँ भनेर हाँक दिने उनको वीपीकै पार्टी नेपाली कांग्रेसमा कति योगदान छ भनेर चाहिँ खोज्नै पर्छ । तर, उनी सधैँ कांग्रेसबाट फाइदा लिइरहने व्यक्तिमा पर्छन् ।

साहित्यकार, समालोचक आदि अनेक चिज आफ्ना नामका अगाडि जोडे पनि कुनै विशिष्ट योगदान दिन नसकेका भनेर ती क्षेत्रका व्यक्तिहरूबाटै खिसीका पात्र बनिरहने डा. भट्टराईले यसअघि नै राज्यका ३ वटै विशिष्ट निकायमा बसेर राज्यकोषमा तर मारिसकेका छन् । उनले साझा प्रकाशनको महाप्रबन्धक बनेर अवसर लुटिसकेका छन् भने पत्रकारितामा कुनै योगदान र विशिष्टता नभएका डा. भट्टराईले पहुँच र कृपाकै भरमा नेपालकै पुरानो सरकारी सञ्चार संस्था गोरखापत्र संस्थानका अध्यक्षसमेत पड्काइसकेका छन् । यता, नेपाल प्रज्ञाप्रतिष्ठानमा सदस्य सचिव पनि भ्याइसकेका डा. भट्टराईले सोही प्रतिष्ठानबाट आजीवन सदस्यतासमेत लिएर मासिक आधा लाख रुपैयाँभन्दा बढी रकम राज्यको दुरुपयोग गरिरहेका छन् ।

तर, उनले जहाँजहाँ नियुक्ति खाए यसबीचमा, त्यहाँ कुनै उल्लेख्य काम गरेर देखाउन सकेनन् । खाली राजनीतिक पहुँचका भरमा नियुक्ति खाएर राज्यको पैसा दोहन गर्ने काम मात्र गरे ।

अहिले उनै डा. भट्टराई नेपाल प्रज्ञाप्रतिष्ठानमा कुलपति नियुक्तिका लागि दौडधुपमा छन् ।

नेपाल प्रज्ञाप्रतिष्ठान नेपाली लेखक, स्रष्टा, कलाकारहरूको साझा संस्था हो । तत्कालीन साहित्य प्रेमी, कला प्रेमी राजा महेन्द्रले स्थापना गरेको रोयल नेपाल एकेडेमी नै आजको नेपाल प्रज्ञाप्रतिष्ठान हो ।

लेखक, स्रष्टाको सर्वाङ्गीण वृत्ति विकासका साथै नेपाली र नेपालमा प्रचलित भाषा, साहित्यको श्रीवृद्धिको पवित्र उद्देश्यले स्थापना गरिएको प्रतिष्ठानमा पञ्चायतपछिका दिनमा दरबारको सोझो हस्तक्षेप र नियन्त्रण रह्यो । यसमा नियुक्तिका सन्दर्भमा समेत दरबार हावी भयो । राजा स्वयं कुलपति/संरक्षक बने ।

जनताका नाममा सीमित दरबार निकटहरूले प्रतिष्ठानमा नियुक्ति पाए र राज्यकोषमा हालीमुहाली गरे । २०४६ सालको राजनीतिक परिवर्तनपछि राज्यका संरचना, निकायहरूलाई समेत सुधार र सुदृढीकरणका प्रयास भए । तर, यस्ता प्रयासमा अन्ततः राजनीति हावी बन्यो । प्रतिष्ठान जस्ता विशुद्ध प्राज्ञिक निकायमा पनि दूषित राजनीतिको कुप्रभाव प्रष्ट परेको देखियो ।

पञ्चायतकालमा दरबारबाट आफू निकटकालाई नियुक्त गरिने प्रवृत्तिको पुनरावृत्ति २०४६ सालको परिवर्तनपछि पनि कायम रह्यो । सत्ताधारी राजनीतिक दलका निकट व्यक्तिहरूले यहाँ नियुक्ति पाउन थाले । यसले प्रतिष्ठानको प्राज्ञिक गरिमा र विश्वासमा कमी आउनु स्वाभाविक हो ।

प्रज्ञाप्रतिष्ठानमा ५ वटा विशेष विभाग छन्– भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्र । यी विभागलाई पनि टुक्र्याएर अन्य ६ वटा बनाई ११ वटा विभाग पुर्‍याइएको छ । यी विभागको व्यवस्थाअनुसार यहाँ यी ५ वटा विषय क्षेत्रका विशेषज्ञ वा यी क्षेत्रमा लामो योगदान, काम गरेका व्यक्तित्वहरूलाई नियुक्त गरिनुपर्ने हो । तर, हालसम्मको अवस्थालाई हेर्दा प्रतिष्ठानमा अमूक राजनीतिक दल, तिनका नेताका पुजक, झोले र भक्तहरूलाई पहुँच र नाता/कृपाका आधारमा नियुक्त गरिँदै आएको छ ।

विषय क्षेत्रका विज्ञहरू पटकपटक यस्ता निकायमा नियुक्त हुनबाट बञ्चितीमा परिरहेका छन् । असल, कुशल र इमान्दार लेखक, स्रष्टाले कुनै दल र नेताका दैलोमा नियुक्तिका निम्ति चहार्दैन, ढुक्दैन । तर, डा. तुलसीप्रसाद भट्टराई प्रवृत्तिले समग्र लेखक, स्रष्टाहरूको बदनाम गरिरहेको छ । क्षमता र कौशल नभएकाहरूले नियुक्ति र अवसरका निम्ति चाकडी, चाप्लुसी गर्ने हुन् भन्ने आरोप पटकपटक खेपिरहँदा पनि डा. भट्टराईहरू निर्लज्जताका साथ नाङ्गो नाच देखाइरहेका छन् नियुक्तिका लागि ।

डा. दुवसु क्षेत्री यस्ता ‘प्रभावशाली’ व्यक्तिमा पर्छन्, जसले गत चैतमा सम्पन्न नेपाली लेखक सङ्घको अधिवेशनमा काठमाडौंबाट गाडी खर्च बेहोरेर लेखक सङ्घका केही प्रतिनिधिलाई पोखरा पुर्‍याए । पोखरामा राम्रै ‘खानपान’को प्रबन्ध गरिदिए र आफ्ना कान्छा भाइ, जो नेपालको परराष्ट्र सेवामै कार्यरत छन्, कृसु क्षेत्री, उनलाई अन्तर्राष्ट्रिय उपाध्यक्ष मनोनीत गराए, जबकि कृसुको नेपाली लेखक सङ्घमा कुनै उल्लेख गर्न लायकको योगदान देखिँदैन ।

सत्ता नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्तिका लागि प्रभाव पार्न डा. भट्टराई कहिले बालुवाटार त कहिले बूढानीलकण्ठ धाइरहेका छन् । प्रधानमन्त्री देउवा कै सचिवालयसमेत डा. भट्टराईको नामसमेत सुन्न चाहँदैन तर उनी जापानमा रहेका नेपाली राजदूत डा. दुवसु क्षेत्री, जो उनका जिल्लावासी हुन्, उनीमार्फत प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवालाई प्रभाव पार्न प्रयत्नरत रहेका प्रधानमन्त्री सचिवालय स्रोतकै दाबी रहँदै आएको छ ।

भर्खरै मात्र नेपाली लेखक सङ्घका अन्तर्राष्ट्रिय उपाध्यक्ष कृसु क्षेत्रीले सामाजिक सञ्जालमा गरेको कमेन्टबाट पनि यो तथ्य पुष्टि हुन्छ । उनले डा. भट्टराईलाई नै कुलपति बनाउने कुरामा जोड दिँदै लेखेका छन्, ‘सकेसम्म, लागेसम्म बनाउने नै हो ।’

साथै, डा. भट्टराईले यही नेपाल प्रज्ञाप्रतिष्ठानबाट आजीवन सदस्यतासमेत लिएर मासिक तलब, भत्तासमेत खाँदै आएका छन् । सोही संस्थाबाट आजीवन तलब, भत्ता खाएर पनि पुनः कुलपति वा कुनै पदमा नियुक्तिका लागि दौडधुप गर्नु, र्‍याल चुहाउनु कतिसम्म निकृष्ट कार्य हुन सक्छ ? कतिसम्म लोभ र पापको घडा भरिएको होला डा. भट्टराईमा ? के यस्तो सोच र व्यवहारका मानिसमा प्रज्ञा हुन्छ ? प्रज्ञा र बौद्धिकता नभएका मानिस कसरी प्राज्ञ हुन सक्छन् ? कसरी यतिको महत्त्वपूर्ण सम्मानित प्राज्ञिक निकायमा यस्ता तुच्छ सोच र प्रवृत्तिका व्यक्तिलाई राखेर असल, इमान्दार, कुशल र भद्र लेखक, स्रष्टा नेपाल प्रज्ञाप्रतिष्ठानप्रति गर्व गर्न सक्छन् ? कसरी नेपाल प्रज्ञाप्रतिष्ठानको आँगनमा यस्ता स्वाभिमानी लेखक, स्रष्टाहरू छिर्न सक्छन् ?

डा. दुवसु क्षेत्री यस्ता ‘प्रभावशाली’ व्यक्तिमा पर्छन्, जसले गत चैतमा सम्पन्न नेपाली लेखक सङ्घको अधिवेशनमा काठमाडौंबाट गाडी खर्च बेहोरेर लेखक सङ्घका केही प्रतिनिधिलाई पोखरा पुर्‍याए । पोखरामा राम्रै ‘खानपान’को प्रबन्ध गरिदिए र आफ्ना कान्छा भाइ, जो नेपालको परराष्ट्र सेवामै कार्यरत छन्, कृसु क्षेत्री, उनलाई अन्तर्राष्ट्रिय उपाध्यक्ष मनोनीत गराए, जबकि कृसुको नेपाली लेखक सङ्घमा कुनै उल्लेख गर्न लायकको योगदान देखिँदैन ।

उसो त, डा. दुवसु क्षेत्रीले प्रज्ञाप्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने राष्ट्रिय कविता महोत्सवमा आफ्ना लगभग सबै भाइहरूलाई पुरस्कृत गराइसकेका छन् । कृसु स्वयं पनि उक्त महोत्सवमा प्रथम बनाइसकेका छन्, दाजुमार्फत ।

नेपाली लेखक सङ्घमा पनि दुवसुकै श्रीमती र भाइहरू लगभग सबै आजीवन सदस्य छन्, जो डा. तुलसी भट्टराई सङ्घका अध्यक्ष हुँदा बनाइएका हुन् । उनीहरूले नेपाली लेखक सङ्घमा के योगदान गरे ? भनेर खोज्दा केही पनि भेटिँदैन तर सङ्घलाई पछाडिबाट ‘ड्राइभ’ गर्ने उनै देखिन्छन् ।

पैसा र पदको बलमा एउटा लोकतान्त्रिक लेखक, स्रष्टाहरूको आस्थाको संस्थालाई पारिवारिक संस्था बनाइरहँदा पनि नेपाली लेखक सङ्घका सदस्य र जिम्मेवारहरू त्यसतर्फ ध्यान दिइरहेका छैनन् । यही कारण लोकतान्त्रिक लेखक, स्रष्टाहरूको विश्वास र भरोसाको संस्था बन्न सकेको छैन नेपाली लेखक सङ्घ ।

प्रज्ञा भएका वा विशेष क्षेत्रमा विशिष्टता प्राप्त गरेका, विज्ञता भएका कुशल, असल र इमान्दार व्यक्तित्वहरू रहनुपर्ने यस्ता निकायमा राजनीतिक र व्यक्तिगत पहुँचका भरमा जस्ता पायो त्यस्तै मानिसलाई नियुक्त गरिँदा प्रज्ञाप्रतिष्ठान रमिताको थलो मात्र बनिरहेको छ ।

विगतमा पटकपटक नेतृत्वमा रहेर, नियुक्ति खाएर कुनै उल्लेख्य काम नगरी जागिर मात्र खाएर बिदा भएकाहरूलाई पुनः पुनः नियुक्ति दिइँदै आउनुले सम्बन्धित राजनीतिक दल र नेतृत्वको अदूरदर्शिता प्रष्ट हुन्छ । पटकपटक परीक्षित र असफल भइसकेका व्यक्तिबाट कुनै अपेक्षा र आस हुनै सक्दैन तर निकटता र पहुँचका आधारमा राजनीतिक दल र नेतृत्वबाट यस्तो काम भइरहेको छ, जुन दुर्भाग्यपूर्ण हो ।

पुरानो परिषद्को अवधि यही मङ्सिर महिनामै सकिँदै छ र नयाँ सरकार बन्ने बित्तिकै नयाँ परिषद् नियुक्त हुनेछ । अहिले नेपाली राजनीति, समाज वा अन्य सबैजसो क्षेत्रमा नयाँ पुस्ता, नयाँ जोश र उत्साह भएका युवाको आवश्यकता महसुस भएको छ । अब राज्यका हरेक संरचनामा नयाँ जोश र दीर्घकालीन योजना भएका, सशक्त, युवा र जिम्मेवार नेतृत्व आवश्यक भइसकेको देखिन्छ । यस्ता प्राज्ञिक संरचना र अन्य निकायमा पनि सक्षम र सशक्त, कुशल र इमान्दार युवा पुस्तालाई जिम्मेवारी दिइनु जरुरी छ ।