साहित्यको अर्थमा कनजुस्याइँ किन ? नयाँ अर्थको आवश्यकता पर्ने होइन र ?

फर्कलान् र ती दिनहरु

साहित्यको अर्थमा कनजुस्याइँ किन ? नयाँ अर्थको आवश्यकता पर्ने होइन र ?

हरिविनोद अधिकारी  |  साहित्य  |  पुष ९, २०७९

साहित्य के हो ? यसको प्रयोग किन र कसले गर्छ ? वास्तवमा साहित्य स्वयं इतिहासको बारेमा जानकारी दिने सृजना हो कि ? या मनमा आएका कुलबुल कुलबुलहरुको प्रस्फुटनमात्र हो ? यदि त्यस्तो मात्र हो भने विश्वभर किन साहित्यको  यति धेरै महत्व छ ? अनि को हो त साहित्यकार ? के सबै सृजना साहित्य हुन् ? कि कथा, कविता, उपन्यास, महाकाव्य र नियात्राका वर्णनात्मक सुललित अनुभवहरूको मिठास मात्र साहित्य हुन् ? पत्रकारले सधैंभरि लेख्ने हजारौँ शब्दहरूले साहित्यको नाम पाउँछन् कि पाउँदैनन् ? हामीले लेख्ने गरेका कविता, कथा, निवन्ध, यात्रा वर्णन र समसामयिक लेखहरु साहित्यभित्र पर्छन् कि पर्दैनन् ? 

हामी कुनै लेखाइलाई अमर साहित्य भन्छौँ, कुनै लेखाइलाई तत्कालका लागि जीवनोपयोगी मान्छौँ र कुनै लेखाइलाई हामी जीवनको बाटोको रुपमा दर्शन ठान्छौँ र  चित्ताकर्षक र लोभलाग्दो मानेर जीवनका लागि अत्यन्त आवश्यक ठान्छौँ । वास्तवमा साहित्य के हो त ?

कहिले आफूले आफ्नो आत्म रतिका लागि लेखेका मनका भावहरू जब समाजमा प्रकाशित हुन्छन् र तिनले विश्वमा तहल्का मच्चाएको पनि पाइन्छ । यसो जेलमा बस्दा आफ्ना मनका कुराहरु लेखेको टिपोटले इतिहासलाई पनि अर्कै स्वरुपमा व्याख्या गर्न सहयोग पुर्‍याउने हुन्छ । अनि ती एकान्तबासमा लेखिएका मनका उच्छवासहरु साहित्य हुन् कि होइनन् ? जसलाई सार्वजनिक भएपछि लाखौँ पाठकहरुले पढेका छन् र त्यसका बारेमा हजारौँ टिप्पणी गरेका छन् ।

त्यसो त साहित्य भनेकै के हो भनेर मैले शब्दकोशको सहारा लिएँ किनभने म भाषा र साहित्यको विद्यार्थी होइन तर शब्दहरुको खेलमा लागेको पाँच दशक भएको एउटा लेखन्ते मात्र हुँ । नेपाली बृहत् शब्दकोश- नेपाल प्रज्ञा प्रतिष्ठान, दसौँ संस्करणले भन्दो रहेछ - साहित्य- १. सहित हुनाको भाव,गुण वा अवस्था। साथ रहेको स्थिति ।२. कुनै देश वा जातिको व्यावहारिक वा भावनात्मक विषयसम्बन्धी ग्रन्थ,लेख आदि, वाङ्मय । ३. जीवन जगत्सँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रुप, गुण, भावुकता आदिका दृष्टिले अभिव्यक्त हुने वा रचिने हृदय स्पर्शी लेख, ग्रन्थ आदि । ४. इतिहास, पुराण, पुराकथा वा समाज आदिबाट उपजीव्य वस्तु लिएर रस,छन्द, अलङ्कार आदिले यथासम्भव सजाई रचिएको गद्य वा पद्य कृति, काल्पनिक र भावुकतापूर्ण पद्यमय या गद्यमय रचना( कविता, खण्डकाव्य, महाकाव्य, नाटक, कथा , उपन्यास आदि) । ५. परस्पर सापेक्ष पदको एउटै क्रियामा हुने अन्वय । ६. गद्य वा व्यक्तिहरुबाट हुने रसको आस्वाद । 

तत्सम नेपाली व्युत्पत्ति शब्दकोश (लेखन सम्पादन टीका दत्त बराल)का अनुसार साहित्य भन्नाले हितेन सह-हित हुने वा हितसहित-सहितस्य भावः-  हितसहित हुनाको भाव वा अवस्था -, नेपालीमा लेखिएको छ - मेलमिलाप, साहचर्य, सँगै रहनको स्थिति, हितसहित हुनाको अवस्था,रस तथा अलङ्कारले भरिएको गद्य-पद्यात्मक साहित्यिक लेख तथा रचना, कविहरूद्वारा विरचित साहित्यिक ग्रन्थ विशेष । र उदाहरणमा दिइएको छ साहित्यसंगीतकलाविहीनः साक्षात् पशु पुच्छ विषाणहीनः । 

यसैगरी व्युत्पत्ति मूलक संस्कृत नेपाली शब्दकोश- प्राध्यापक नीलमणि ढुङ्गाना-मा साहित्यलाई यसरी अर्थ दिइएको पाइयो । साहित्यम्—शब्द र अर्थको सहभाव । यसको क्षेत्र अत्यन्त व्यापक छ । साहित्यलाई वाङ्मयको अर्थमा पनि प्रयोग गरिएको छ । संस्कृत वाङ्मयमा साहित्यको परिभाषा गर्ने व्यक्ति कुन्तक हुन् —साहित्यमनयोः शोभाशालितां प्रति काप्यसौ । अन्यूनानतिरिक्तत्वमनोहारिण्यवस्थितिः।। (कुन्तक) राज शेखरले साहित्यलाई पन्ध्रौं विद्याको रुपमा लिएका छन् । पाश्चात्य काव्य शास्त्रमा साहित्यलाई दुई भागमा बाँडिएको छ- सामान्य र विशेष साहित्य । सामान्य साहित्यभित्र सम्पूर्ण वाङ्मय आउँछ भने विशेष साहित्यभित्र काव्य कलाहरु पर्दछन् । साहित्यको प्रमुख अर्थ-१. एक साथ रहनु, २. कुनै पनि भाषामा निबद्ध शास्त्रीय ग्रन्थ, ३. श्रव्य तथा दृश्यकाव्य, ४.शब्द र अर्थको प्रतिस्पर्धात्मक सौन्दर्यले परिपूर्ण रचना विशेष । 

साहित्यका बारेमा यसो किन गरेको भने म आफू कविता, कथा, निवन्ध र सामयिक रचना गरिरहन्छु । तीमध्ये कुनचाहिँ साहित्य हो र कुनचाहिँ साहित्य होइन भन्नेमा सधैँ म द्विविधामा पर्छु । मेरो बाले बारम्बार आत्म रतिका लागि कविता लेख्नुहुन्थ्यो । कहिले आदर्शका कुरामा, कहिले विकासका कुरामा, कहिले नयाँ वर्षका उपलक्ष्यमा त कहिले कुनै नयाँ ठाउँबाट फर्केर आएपछि त्यस ठाउँको बारेमा ।

त्यतिमात्र होइन, कुनै गाईको स्वभाव मन परेमा पनि गाईको प्रशंसामा कविता लेख्नुहुन्थ्यो । ती कता गए र मेरो स्मृतिमा पनि ती कविताहरु छैनन् तर बारम्बार लेख्नुहुन्थ्यो । उहाँका लागि दुई जना व्यक्तिहरु प्रेरणाका श्रोत हुनुहुन्थ्यो । एउटा गुरु साम्बभक्त शर्मा सुवेदी र अर्को नातामा भाइ भए पनि उहाँका लागि सिद्धान्त र राजनीतिको एउटा ज्ञाता पण्डित कुलचन्द्र कोइराला । नेपाली राजनीतिको मात्र नभएर साहित्य र सांस्कृतिक फाँटकै अनुसन्धाता । कवि, कथाकार, निबन्धकार, व्यंग्य विधामा लेखक आदि आदि ।

साहित्यलाई जसरी परिभाषित गरे पनि त्यो समाज चियाउने ऐना नै हो जसले तत्कालीन इतिहासको निर्ममताका साथ जानकारी दिएको हुन्छ । सायद त्यसैले होला, रामायणलाई संसारको पहिलो महाकाव्यको रुपमा लिइएको होला र महाभारतलाई सबैभन्दा बृहत् काव्य तथा पौराणिक इतिहासको विश्वसनीय श्रोतको रुपमा लिइएको होला ।

 कुलचन्द्र काकाले लेख्नु भएका काव्यहरुको उहाँनै पहिलो श्रोता हुनु हुँदो रहेछ २०१७सालसम्म । जब पञ्चायती व्यवस्था आयो, सबै राजनीतिक नेता तथा कार्यकर्ताहरु छिन्नभिन्न भएर को कता पुग्यो को कता । अनि मेरो बाले पनि केही समय तत्कालीन  पञ्चायती व्यवस्थाको प्रधानपञ्च भएर बसे पनि २०२३सालबाट सम्पूर्ण राजनीतिबाट आफूलाई मुक्त गरेर आध्यात्मिक जीवन बाँच्नु भयो र घरमा नै अठार पुराण लगाउनु भयो । वक्ता हुनुहुन्थ्यो नेपालमा नै नामुद गुरु साम्बभक्त सुवेदी । अचम्मको  सम्झना शक्ति थियो गुरुमा ।

त्यतिमात्र होइन, हामी त्योबेलामा किशोरहरूमा पठन संस्कृति र लेखन  संस्कृतिको सुरुवात गर्ने पनि उहाँ नै हुनुहुन्थ्यो । त्यसो त गुरुले आफ्नो किशोरावस्थामा नै भिनाजु कृष्णलाल अधिकारीका लागि मकैको खेती पुस्तकका लागि कविता लेखिदिनु भएको रहेछ जुन कारणले सुब्बा कृष्णलाल अधिकारी राणाको कोपभाजन बनेर जेलमा नै सहिद हुनु भएकाले नेपालमा साहित्यिक सहिदका रुपमा कृष्णलाललाई लिइन्छ पनि । 

मलाई पनि पुस्तक पढ्न र केही लेख्नका लागि गुरुले नै सिकाउनु भएको थियो । पहिलो कविता मैले लेखेँ गुरुको प्रेरणाले २०२३-२४सालमा रामेछापको गौरीशंकर माविको कक्षा ८ मा पढ्दा विद्यालयको अतिरिक्त क्रियाकलापमा । एउटै हरफ याद छ-गौरीशंकर भनेर छ नाम जसको , .....। छन्दमा गुरुले सिकाउनु भएको थियो र मैले वाचन पनि गरेँ र प्रशंसित पनि भएँ ।

त्यसपछि कमला हाइस्कुलमा कक्षा ९ र १०मा पढ्दा विभिन्न समयमा कविता वाचन गरेर पुरस्कार पनि पाएको थिएँ तर सबैभन्दा पहिलो प्रकाशित कृति चाहिँ जनकपुरबाट प्रकाशित हुने लीलासिंह कर्माजीको सम्पादनमा उषा नामको साहित्यिक मासिक पत्रिका थियो, त्यसैमा २०२८ सालको  सायद भदौ महिनामा कुरीति नामको कथाबाट सुरु भएको हो । यी हरफ लेख्दा सम्म साहित्यिक भनेर मानिँदै आएका कुनै पुस्तक कारमा कृति प्रकाशित भएका छैनन् तर कुन्ती नामक एकालाप उपन्यास कृति पुस्तककारका लागि प्रसव वेदनामा छट पटिएको चाहिँ छ ।

त्यसो त मैले यी ४५  वर्षमा धेरै लेखेँ हुँला, धेरै कोरे हुँला । कति कति पत्रिकामा छापिएका होलान् । कति कथाका रुपमा, कति कविताका रुपमा  । कति यात्रा वर्णनका रुपमा । कति समसामयिक लेखका रुपमा । कति शैक्षिक लेखका रुपमा । कति अनुसन्धानात्मक लेखका रुपमा । माथि मैले खोजेका केही स साहित्यका परिभाषा हेर्दा साहित्यको घेरा व्यापक देखिन्छ तर केलाई चाहिँ साहित्य मान्ने भन्ने देखिएन । तर बीपी कोइराला भन्नुहुन्थ्यो- साहित्यमा बादशाह पनि नाङ्गो हुन्छ । सायद उहाँको इसारा डेनिस कथाकार ह्यान्सएन्डर्सनको द एम्परर्स न्यु क्लथ हुनुपर्छ । बादशाहको नयाँ लुगा । कथा साँच्चै मज्जाको छ र त विश्व कथाको रुपमा गणना भएको होला । 

साहित्यलाई जसरी परिभाषित गरे पनि त्यो समाज चियाउने ऐना नै हो जसले तत्कालीन इतिहासको निर्ममताका साथ जानकारी दिएको हुन्छ । सायद त्यसैले होला, रामायणलाई संसारको पहिलो महाकाव्यको रुपमा लिइएको होला र महाभारतलाई सबैभन्दा बृहत् काव्य तथा पौराणिक इतिहासको विश्वसनीय श्रोतको रुपमा लिइएको होला । साहित्यले जसरी मनोरञ्जन दिन्छ, ज्ञान र विज्ञानको जानकारी दिन्छ, त्यसैगरी जीवन र जगतको बारेमा संसारको छर्लङ्ग हुनेगरी भएका, सम्भावित स्वरुपको अनुमानका लागि बाटो खुला गर्छ र जीवनको डोरेटोका लागि नयाँ विषय दिनसक्ने रहेछ । क्रमशः