आशा र अपेक्षामा शिक्षा शास्त्रको प्रशिक्षण : किन सकिएन शिक्षार्थीको मनोभाव बुझेर सिकाउन ?

फर्कलान् र ती दिनहरु

आशा र अपेक्षामा शिक्षा शास्त्रको प्रशिक्षण : किन सकिएन शिक्षार्थीको मनोभाव बुझेर सिकाउन ?

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  माघ १४, २०७९

शिक्षा शास्त्रको अर्थ रहेछ शिक्षासम्बन्धी विवेचना गरिएको शास्त्र । यसको मतलब हो शिक्षा या विद्या प्रदान गर्नका लागि जुन विधिको मनोवैज्ञानिक तरिकाको प्रयोग गरिन्छ, त्यसबारेमा गरिएको शोध, प्रयोग र परिणामको समेत मूल्यांकन गरेर राखिएको लक्ष्य पूरा भयो या भएन भन्ने नै शिक्षा शास्त्रको मर्म रहेछ । रहँदा बस्दा र समयक्रममा शिक्षाशास्त्र एउटा तरिकामात्र नभएर विधाको रुपमा मानियो र शिक्षा शास्त्रको अध्ययन नगरी शिक्षार्थीको बारेमा जानकारी पाउनै नसकिने अवस्था देखियो । अनि भन्न थालियो-यो शिक्षकको तयारीमा दिइने प्रविधि पनि हो, योग्यताको मापन पनि हो र परिणामको मापन पनि हो । 

जस्तो कि रोगका बारेमा, शल्यक्रिया गर्नका लागि र रोगका बारेमा ओखती दिने जानकारी राख्ने व्यक्तिमात्र जो चिकित्सकको रुपमा वैधानिकता पाएको हुन्छ , त्यसले मात्र चिकित्साको जिम्मा लिने गरिन्छ । त्यस्तै सडकको, भवनको, पुलको जसले अध्ययन गरेको हुन्छ र प्रयोग गर्ने हैसियत राख्छ , उसैलाई अभियन्ता(इन्जिनियर)को रुपमा मानिन्छ । ठिक त्यस्तै हो, जसले थाहा पाउँछ, अध्ययन गरेर आफूलाई शिक्षार्थीको बारेमा अद्यावधिक गरेको हुन्छ, उसको मनोभाव पढ्न, त्यसैको आधारमा चिकित्सकले ओखती लेखे जस्तै गरी उसको आवश्यकताको शिक्षा प्रदान गर्छ ,उही नै गुरु हो, अन्धकार चिर्ने व्यक्ति हो जसलाई हामी आजभोलि शिक्षक भनेर भन्ने गर्छौँ । यदि ओखती गर्नका लागि चिकित्सा शास्त्रको अध्ययन जरुरी हुन्छ, जसरी अभियन्ताको लागि इन्जिनियरिङको अध्ययन जरुरी हुन्छ, ठिक त्यसैगरी मानव मस्तिष्कको तत्कालको आवश्यकता पहिचान गरी उसका आवश्यकता पत्ता  लगाउने र उसलाई (बालक, वयस्क या प्रौढ जो होस् , महिला, पुरुष या अन्य जो होस् )चित्त बुझाएर जीवन र जगतको लागि तयारी गर्ने शिक्षाको कर्तव्य हो । 

सायद यही गुरुत्तम जिम्मेवारी बोध गरेर होला, मजस्ता लाखौँ मानिसहरुले शिक्षा प्रदान गरेर अन्धकारबाट उज्यालो तर्फको  यात्रा गर्ने र गराउने काममा आफूलाई समर्पण गरेका हौँ । आधुनिक समाजमा शिक्षित, प्रशिक्षित जनशक्तिको आवश्यकता, उपयोगिता र त्यसले पार्ने सकारात्मक र नकारात्मक असरको वारेमा सिकाउने गुरु साँच्चै नै डाक्टर राजेन्द्रकुमार रोंगोंग नै हुनुहुन्थ्यो । त्यसक्रममा अरु धेरै गुरुहरू, साथीहरु र विद्यार्थीहरु जोडिएका छन् तर युवा वयमा अनेक कल्पनाको तरेलीमा । तर शिक्षा शास्त्रको महत्व, परिणाम र समाजमा त्यसको प्रभावको भने अझै लेखाजोखा हुन सकेको छैन । तर रोंगोंग सरको एउटा सूत्र थियो, शिक्षकले कस्तो पढायो भन्दा पनि त्यो शिक्षकको सामाजिक दायित्व कस्तो रह्यो भन्नेमा स्वयं के ठान्छ भन्ने हो । 

बेलाबेलामा शिक्षा र राजनीतिको कुरा जोडिन्छ । राजनीतिका लागि शिक्षा आवश्यक छ कि शिक्षाका लागि राजनीति जरुरी छ ? यस वारेमा नयाँ भाष्यको जरुरत छ । खासगरी निर्वाचनताका शिक्षक र राजनीतिको नयाँ अर्थको खोजी सुरु हुन्छ र राजनीतिक चेतलाई गाली गर्दै सत्तोसराप गरिन्छ । अनि राजनीतिलाई कसरी परिभाषित गर्ने र त्यो परिभाषालाई कसरी व्याख्या गर्ने भन्ने अन्यौलमा समाज छ, शिक्षाविद्हरु छन् र स्वयं राजनीतिज्ञहरू छन् ।

नेपालको परिप्रेक्ष्यमा भन्ने हो हिजोको पञ्चायती कालमा कल्याणकारी राज्यको वारेमा जनतालाई जानकारी दिने, प्रजातन्त्रका पक्षमा चेतना भर्ने सीमित मात्रामा शिक्षकहरु थिए ,थियौँ । विद्यालयमा, क्याम्पसमा, विश्व विद्यालयमा । त्यो वेलामा शिक्षक र राजनीतिको साइनो पानी र तेलको जस्तो थियो र पनि तेलसँग पानीले तादात्म्यता कायम गरी जनतामा प्रजातन्त्रको बिगुल फुक्ने हामी सीमित थियौँ र पनि आज मुलुक प्रजातान्त्रिक करण हुँदा हामीलाई त्यसबाट भाग बन्डामा केही पाउने भन्दा पनि प्रजातन्त्रले बाटो बिराएको देख्दा ग्लानि हुन्छ ।

खासगरी शिक्षा शास्त्रमा जनशक्ति तयारीमा कमजोरी भएको मानिएको हुन्छ किनभने तिनले नै हो भोलि भावी युवाहरुको जीवनलाई निर्देशन गर्ने । हो यहाँनेर हो , शिक्षा र राजनीतिलाई एकाकार गराउने र एकअर्काको पर्याय बनाउने । 

तर शिक्षा शास्त्रका हामी विद्यार्थीहरुको अधिकार कायम गरेका थियौँ विद्यालयमा शिक्षक हुन । त्यही कुरा क्याम्पस र विश्व विद्यालयमा लागू हुन सकेन । अर्थात् विषय विज्ञ हुनु र शिक्षा शास्त्रको ज्ञान लिएर मात्र कक्षा कोठामा विद्यार्थीहरुको , शिक्षार्थीहरूको, प्रशिक्षार्थीहरूको मनोभाव, सामाजिक परिवेश, व्यक्तिगत आवश्यकता समेतको ख्याल गरी सिक्ने सिकाउने काम फरक हो । खासगरी विश्व विद्यालयमा होस् या विद्यालयमा होस्, शिक्षार्थीको मनोभाव उही हुन्छ र सिकाउने विषय फरक भए पनि शिक्षार्थीहरूको मनोभाव बुझेर उनीहरुको आवश्यकता पूरा गर्नु चाहिँ जरुरी छ ।

सायद त्यही भएर होला, विश्व विद्यालयमा अध्यापन गर्ने शिक्षकहरु, प्राध्यापकहरुको गल्तीलाई ध्यान दिइँदैन र पनि गलत निर्देशनले होला, उच्च शिक्षाका विद्यार्थीहरुबाट आवश्यक सहयोग पाउन सकिएको छैन भन्ने गुनासो आउँछ । झन अहिले त विद्यालय शिक्षा दियो, उच्च शिक्षा दियो र सकेसम्म सक्षम बनायो अनि त्यसको फाइदा विकसित देशहरुले लिइरहेका छन् र हामी विदेशी विज्ञको भरमा देश विकासको लहडमा लागेका छौँ । 

त्यसो त हाम्रो पुस्ताका धेरै साथीहरुले साँच्चै राजनीतिमा लागे बापत सांसद, मन्त्री जस्ता पदहरु ओगट्न भ्याए तर जति शिक्षक हुँदा उनीहरुको इज्जत थियो, जसरी भोकभोकै राजनीतिक सिद्धान्तसँग प्रजातन्त्रको पक्षमा जनतालाई सचेत गराउँदा र विद्यार्थीहरुको मनोभाव बुझेर सिकाउँदा उनीहरुको अनुहारमा निष्काम कर्मको उज्यालो देखिन्थ्यो ।

भावी पि‌ंढीँको चिन्ता लिइन्थ्यो र विद्यालयमा नै भावी नेपालको चिन्तन गरिन्थ्यो । विद्यार्थीहरुलाई यन्त्र मानव बनाउनु भन्दा सक्षम मानव बनाउन हामी लागेका हुन्थ्यौँ र हामी प्रशिक्षार्थीका रुपमा हुँदा होस् कि प्रशिक्षकको रुपमा हुँदा होस्, रोंगोंग सरको चिन्ता हुन्थ्यो भावी पुस्ताले नेपाललाई कसरी स्वीकार गर्ला ? कस्तो शिक्षा भयो भने आजको युवाले भोलिको नेपाललाई काँधमा बोक्न सक्ला ? उहाँले पहिले स्कुलमा पढाउनु भएछ, पछि रोज्न पाउँदा विश्व विद्यालयम जानु भएछ ।

तत्कालीन राष्ट्रिय विकास सेवाको निर्देशक भएर र नेपालको स्काउटको राष्ट्रिय प्रशिक्षक हुँदै नेपालको प्रतिनिधित्व गरेर नेपालमा विदेशका युवाहरुलाई आकर्षित गर्नु भएको थियो । धेरै वर्ष त्रिभुवन विश्व विद्यालयको पाठ्यक्रम विकास केन्द्रमा निर्देशक भएर सेवा गर्नु भयो । जहिले पनि उहाँको चिन्ता हुन्थ्यो- भावी पुस्ताको । भन्नुहुन्थ्यो, पहिलेभन्दा आजको पुस्ता धेरै चलाख छ र धेरै प्रविधिमैत्री छ । उनीहरुलाई सही निर्देशनको जरुरी छ , त्यसको नेतृत्व शिक्षकले नै लिनु  पर्छ किनभने शिक्षक नै समाजको नेता हो । 

हामीले उहाँकै प्रेरणा र आफ्ना संकल्पका आधारमा काठमाडौँ शिक्षा क्याम्पसको अवधारणा ल्याएका थियौँ र उहाँलाई आफ्नो शैक्षिक नेताको रुपमा मानेका थियौँ । नभन्दै उहाँबाट पाएको प्रेरणा र हाम्रा अनुभवलाई समेत समेट्दै भन्नै पर्ने भएको छ- नेपालमा धेरै विश्व विद्यालय गठन भए, सबै दलहरुलाई भागबन्डाको ठाउँ त भयो तर साँच्चै शिक्षा शास्त्रका वारेमा मात्रै चिन्तन गर्ने संस्था भएन । त्यसो त शिक्षाशास्त्र संकायहरु कतिपय विश्व विद्यालयहरुमा देखिन्छ । तर केका लागि? उद्देश्य स्पष्ट छैन ।

विद्यालय र विश्व विद्यालयहरूका आवश्यक शिक्षकहरुको कुनै तथ्याङ्क राखेर प्रशिक्षण दिइएको छ त ? कसका लागि हामी जनशक्ति तयार गर्दैछौँ ? हामीले तयार गरेको जनशक्ति कसका लागि हो ? शिक्षा आयोगहरु भन्छन्- आवश्यक शिक्षक  संख्या पाउन सकिएन, गुणात्मक शिक्षकहरुको संख्या आकर्षित भएन । या त गुणस्तरीय शिक्षा दिन सकिएन या त सक्षमहरु बाहिरिन बाध्य हुन थालेका छन् । विदेशमा विना लगानी लाखौँ युवाहरु सेवाका लागि आउँछन् भने रेड कार्पेट ओछएर स्वागत गर्ने नै भए । 

के हामी योजनाबद्ध रुपमा विश्व  विद्यालयहरुमा मानव संसाधनको विकास गर्दैछौँ ? छौँ भने आवश्यक जनशक्ति किन बाहिर जाला र ? त्यसैले त्यस्तो विश्व विद्यालयको कल्पना गरौँ जहाँबाट गरिएको  योजनाअनुसार सरकारले लगानी गरोस् र ती जनशक्तिलाई आफू कहाँ खपत हुने भन्ने  पूर्वजानकारी समेत दिन सकियोस् । 

खासगरी शिक्षा शास्त्रमा जनशक्ति तयारीमा कमजोरी भएको मानिएको हुन्छ किनभने तिनले नै हो भोलि भावी युवाहरुको जीवनलाई निर्देशन गर्ने । हो यहाँनेर हो , शिक्षा र राजनीतिलाई एकाकार गराउने र एकअर्काको पर्याय बनाउने । 

 नयाँ बेला आएको छ शिक्षा शास्त्रको पुनर्परिभाषा गर्ने,आवश्यक जनशक्तिको मापन गरेर मात्र विषयविज्ञ बनाउने र जो विषयविज्ञ प्रशिक्षक तयारी हुन्छ, त्यसले बाँच्नका लागि काम या जागिर खोज्दै भौँतारिने होइन कि उसलाई खोज्दै उसको योजना मुताबिकको लगानी भएकोले समयले खोज्दै आओस् र उसको योग्यताको कदर गरोस् । क्रमशः