जीवनको उज्याला,अँध्यारा पाटाहरूसँग अचानक जुध्नु रहर हैन बाध्यता !

फर्कलान् र ती दिनहरु

जीवनको उज्याला,अँध्यारा पाटाहरूसँग अचानक जुध्नु रहर हैन  बाध्यता !

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  माघ २१, २०७९

जीवनको रफ्तार त गतिशील, अति गतिशील हुने रहेछ । कहिले लाग्छ, जीवनको गति अति धिमा छ । कहिले लाग्छ, जीवन सहजताका साथ चलिरहेको छ । जीवनका वारेमा केही दार्शनिक प्रश्नका उत्तरहरू हामीसँग अनुत्तरित छन् र अहिले प्रचलित विभिन्न दर्शनहरूमा अनेक तर्कहरु राखिएका छन् ।

कसैले अहिलेको जीवनभन्दा पहिले पनि पूर्व जन्म थियो र यो जीवनभन्दा पछि पनि अर्को जीवन हुने पक्कापक्की गरेका छन् र भनेका छन् -अर्को जुनीमा दुःख नपाउने हो भने परमार्थको तयारी गर र अर्को जुनीको दुःखबाट मुक्त होऊ । कसैले भनेका छन् -यो संसार भन्दा अर्को कुनै संसार पनि छैन, पूर्व जन्म पनि हुँदैन, पुनर्जन्म पनि हुँदैन । जे हो अहिलेको जुनीमा नै हो  भन्ने पनि छ ।  

हामी अरु प्राणीभन्दा विवेकको कुरा गर्छौँ र सबैभन्दा बढी विवेकको काम गर्नेमा मानव जाति नै हो भनेर ठोकुवा गरिरहेका छौँ । यसैमा वाद,विवाद,संवाद र वार्तामा रमाउँदा रहेछौँ । 

विवेकको कुरा गर्दा जीवनमा के पहिले गर्ने र के पहिले नगर्ने,  या कहिले त्यो काम गर्ने भन्ने कुनै सीमा नहुने रहेछ । यही प्रसङ्गमा रामायणको एउटा तथ्य बारम्बार भनिँदो रहेछ पूर्वीय संस्कृतिमा । के भएछ रे भने जब मर्यादा पुरुषोत्तम श्रीरामको वाणको पीडाले लंकेश महाबली रावण मृत्यु शय्यामा पल्टिरहेका थिए, या भनौँ छटपटाएर आफूमा नै पश्चातापको ज्वालामा पिल्सिरहेका थिए, श्रीरामले आफ्ना भाइ , शेष नागका अवतार लक्ष्मणलाई भन्नु भएछ - हे लक्ष्मण, रावण त  अत्यन्त विद्वान, शक्तिशाली अनि , ब्रह्माका नाति, ऋषि विश्रवाका छोरा , दिक्पाल कुवेरका भाइ हुन् । तिनको दर्शन गरेर आऊ किनभने यो उनको अन्तिम समय हो ।

नभन्दै लक्ष्मण दाजुको आज्ञा शिरोपर गर्दै रावणका छेउमा पुगे र टाउको तर्फ उभिए । रावणले या त थाहा पाएनन् या वास्ता गरेनन्। लक्ष्मण फर्केर आएछन् र भनेछन्, वास्तै गरेन रावणले त । अनि श्रीरामले भन्नु भएछ -  तिमी कहाँ थियौ र ? रावणले देखेनन् कि ? म टाउको तिर थिएँ, वास्तै गरेनन्, वैद्यहरू ओखती गर्दै थिए, यसो पुलुक्क हेरे तर वास्ता गरेनन् । श्रीरामले भन्नु भएछ - गुरु, विद्वान, पिता, माताको सेवामा जाँदा पाउ मुनि बसेर दण्डवत् गर्नुपर्छ या पाउ मुनि उभिनु पर्छ तर तिमीले त्यसो नगरेकोले सोमत नभएको ठानेर र शत्रुको रुपमा वास्ता नगरेको हुनुपर्छ ।

तिमीलाई त मैले उपदेश प्राप्त गर्नका लागि पठाएको थिएँ महादेव भक्त , ब्रह्माका नातिसँग । जाऊ र उनलाई प्रणाम गरेर पाउ मुनि उभिनु । लक्ष्मण अनिच्छाले भए पनि दाजुको आज्ञा शिरोपर गरेर गए । त्यसै गरे । रावणले रामको गुण गाउँदै भने -किन आउनु भयो लक्ष्मण? उनले दाजुले अन्तिम अवसरमा दर्शन गर्न पठाएको भनेपछि रावणले भने छन् - मेरो एउटा सन्देश संसारलाई सुनाउनु लक्ष्मण, जे गर्ने हो सोचेकै बेलामा गर्नु, नभए समयले पर्खँदैन, मलाई लागेको थियो, स्वर्गसम्म  जानका लागि किन मर्नुपर्ने र ?  जिउँदै स्वर्ग जाने सिँढी बनाउँछु सुनकै सुनको भन्ने लागेको थियो । के केमा अल्झिएँ , केके मा अल्झिएँ, त्यो काम पछि गरौँला भन्दा आजको यो अन्तिम समयमा आएँ ।

न मैले कसैलाई केही दिन बाँकी थियो , शिक्षण,पत्रकारिता गर्दै जेजे उपार्जन गर्न सकेँ त्यही स्वआर्जनमा रमाउँदै थिएँ , आफ्ना पेसामा काम गर्दै थिएँ । बाको धाम गमन,आमाको धाम गमन, भाइको धाम गमन सँगै बाको नामको विमातृ पट्टिका भाइहरुलाई दिएर बाँकी रहेको, मेरा आमातर्पmका लागि बाँड्ने जमिन केही जमिन र मेरा  नाममा रहेको जमिन अहिले मसँग छ ।

मैले यति पृष्ठभूमि बाँधेको पनि केका लागि हो भने म बाको जेठो छोरो, मावलीपट्टि पनि जेठो भानिज, नाति दाजु  । म मुनि ६भाइ,२बहिनी । बाको सबै कुराको जिम्मा लिएको हुनुपर्ने । करिब १२वर्षको उमेरदेखि घरभन्दा बाहिर गएको मान्छे आजसम्म पुर्खौली घरमा स्थायीरूपमा बस्ने अवसर जुरेको छैन । वास्तवमा मैले उमेर पुगेपछि बाको काम गर्नु पर्ने थियो, सबै भाइको अंशबन्डा गराउनु पर्ने थियो ।

तर मलाई के  कुराले सधैँ सजग बनाउँथ्यो भने बा आमाले सक्षम भएर भाइ बहिनी छोराछोरी पढाउनु भन्ने आदेशको पालना गरेँ । कहिले पनि बासँग अंशको कुरा गर्नु त कता हो कता, उच्चारणसम्म गर्न पनि आफूमा हिम्मत नभएको ठाने । बा २०६१सालमा धाम गमन गर्नुहुँदा विमातृ भाइ चुडा कुमारलाई अंशवण्डाको कागज गरेर दिनु भएको थियो भने विमातृ तर्फको अर्को भाइ उत्तर कुमारलाई बाले ब्रह्मले ठिक ठानेको अंश बाँडेर दिनु भएको रहेछ ।

कुनै भाइको नाममा, कुनै बुहारीको नाममा , अविश्वासभन्दा ठुलो केही छैन, अब सबै ठिक छ, तँ सहितको सबै भाग मसँगै छ भन्नुहुन्थ्यो । बासँग कहिल्यै मैले अंशबन्डा मात्र होइन, अरु व्यावहारिक कुरामा पनि कुनै  छलफल गरिँन । अझै पनि मलाई लाग्छ, मैले आफ्नो कर्तव्यमा त्यही ठिक ठानेँ तर मेरो आमाको सधैँ गुनासो रहन्थ्यो कि तेरो बेवास्ता र बा प्रतिको आस्थाले एकदिन दुःख पाउनेछस् ठुला । नभन्दै आज बा पनि हुनुहुन्न, आमा पनि हुनुहुन्न , माहिलो भाइ हिमालय पनि छैन, समयले कसैलाई पनि पर्खने होइन रहेछ । बाले मैले सबै मिलाएँ भनेर छोडेको व्यवहारले मलाई अचानक अदालतको ढोकामा पुर्याएको छ ।

न मैले कसैलाई केही दिन बाँकी थियो , शिक्षण,पत्रकारिता गर्दै जेजे उपार्जन गर्न सकेँ त्यही स्वआर्जनमा रमाउँदै थिएँ , आफ्ना पेसामा काम गर्दै थिएँ । बाको धाम गमन,आमाको धाम गमन, भाइको धाम गमन सँगै बाको नामको विमातृ पट्टिका भाइहरुलाई दिएर बाँकी रहेको, मेरा आमातर्पmका लागि बाँड्ने जमिन केही जमिन र मेरा  नाममा रहेको जमिन अहिले मसँग छ ।

बाले दिएको कुरामा कानुनी   त्रुटि पहिचान गरेर होला, म र मेरा भाइहरु तथा हामीले अंश नै नलिएर बसेका अवस्थामा मेरी पत्नीसहित भाइहरूका पत्नीहरूका नाममा समेत सिन्धुली अदालतमा उजुरी परेको रहेछ । समयक्रममा अदालती  कार्यक्रमले एउटा निर्णयमा पुगिएला, दाजुभाइका बिचमा मेलमिलाप होला या सम्मानित अदालतले न्याय निरुपण गर्ला तर मैले भनेको के हो भने वास्ता नगरी बस्दाको,  नैतिकताका कसीमा कमजोर हुने डरमा बाको , आमाको अनुशासनमा बस्ने हुँदा एकदिन अदालतमा धाउनु पर्ने  पनि हुने रहेछ भन्ने दिव्य ज्ञान पलाएको छ । मेरो  दोष कहाँ हो , थाहा नै पाइन । न मैले अंशबन्डा गरेँ, न मैले कहिल्यै मलाई  यति चाहिन्छ भनेर जिरह गरेँ न कहिल्यै पुगेन भनेँ, न कहिल्यै कसलाई कति दिने भन्ने कुरामा बालाई हस्तक्षेप नै गरेँ ।

बाको र आमाको मृत्यु पछि पनि अझै कति अश बन्डाको जमिन बाँकी छ, हामी अरु अंशियारका नाममा सारिएको छैन । तर हामीले किन अदालती मुद्दामा फस्नु परेको होला ? दोषी को ?  म त हुँला , किनभने हिजो समयलाई वास्ता नगरी  बेपर्बाह रुपमा पेसाको पछि लागेर स्व आर्जनमा लागेँ, शिक्षण गरेँ,  शिक्षण अन्तर्गतका विभिन्न पेशागत काममा लागेँ । पत्रकारिता गरेँ,पत्रकारितामा आफूले जानेको आचार संहितामा रहेर जबाफदेही पूर्ण लेखाइ, बोलाइ प्रयोग गरिरहेको छु,  सामाजिक न्यायका बारेमा आफ्ना धारणाहरू जनसमक्ष प्रस्तुत गरिरहेको छु, अनि मलाई कुनै  भाइ वा बुहारी या सन्तानलाई यो जीवनको उत्तरार्द्धमा न त ठग्नु छ, न त कसैलाई मेरा कारणले  उभ्याउनु छ या कुनै प्रकारको कानुनी झन्झट दिएर दुःख दिनु छ ।

अब मलाई बाबु यसो गर भन्ने बा या आमा हुनुहुन्न , कानुनी झमेला जसरी  पनि सामना गर्नु नै पर्छ । तर जसले बुझेका छन् सही के हो ,  ती पनि किन बोल्न डराउँछन् या रमिता हेर्न तिर लागेका छन्,मैले बुझ्न सकेको छैन । हुन त यो  मेरो परिवारको नितान्त व्यक्तिगत मामिला हो , मेरो बेवास्ताले सृजित मामिला हो र पनि  मेरो जीवनमा घटेका घटनाले अरुलाई पनि पाठ सिकाउला कि भनेर जीवनको पछिल्लो फाँटमा भोगिँदै गरेको अध्यायको एउटा झल्को मात्र दिएको हुँ ।

यसबाट न त मेरो बा प्रति कुनै अनादर छ, न आमाप्रति गुनासो छ, न त मलाई  अदालतसम्म पुर्याउने भाइप्रति नै गुनासो छ । म अदालत पुगेको होइन, भाइले धाम बासी बाप्रति अविश्वास गरेर बाको नाममा नहुने भएपछि म, मेरा अबोध भाइहरु र ती हाम्रा कमाइ र माइतीका सहयोगमा परिवार हुर्काउँदै दुःख जिलो गरेर जीविका गरेका बुहारीहरूलाई अदालतमा उभ्याइएको छ । कुरा मिल्ला या नमिल्ला, जे होला, जति मुद्दा लड्नु पर्ला तर त्यो सबै बाको विरुद्ध नै ठानेको छु मैले । म यति चाहिँ ठोकुवा गरेर भन्छु, मलाई जेजे भएको भए पनि बाको निर्णयको विरुद्ध कुनै भावना पनि मसँग छैन ।सायद मलाई बाले दिएको आदर्श र नैतिकताको पाठ त्यही थियो । हेरूँ अगाडिका दिनहरु कसरी अगाडि बढ्ला । खालि मैले जीवन सधैँ उज्यालो पाटो र खुसीसँग मात्रै बित्दा रहेनछन् भन्ने मैले पाएको पछिल्लो  पाठको स्मरणमात्र गरेको हुँ । बाँकी कुरा क्रमशः आउने नै छ। क्रमशः