लोभको कसीमा पैतृक सम्पत्तिको बाँडफाँट : कानुनको डन्डा कि स्वविवेकी अधिकार ?

फर्कलान् र ती दिनहरु

लोभको कसीमा पैतृक सम्पत्तिको बाँडफाँट : कानुनको डन्डा कि स्वविवेकी अधिकार ?

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  माघ २८, २०७९

लोभ के हो ? प्राणीहरूमा लोभ किन उत्पन्न हुन्छ ? अनि मानिसमा लोभ कसरी पलाउँछ ? लोभ किन कुन बेलामा बिलाउँछ ? निर्लोभ कहिले हुन सकिन्छ ? हामीसँग कर्मेन्द्रिय , ज्ञानेन्द्रियहरू छन् र तिनमा जीवन सञ्चालनका लागि सापेक्ष तथा निरपेक्ष क्षमता प्राप्त छ ।

कति क्षमता जन्मसिद्ध हुन्छ र कति क्षमता बानी व्यवहारले आर्जन गर्न सकिन्छ । आनन्द नै त्यसको परिणाम हो । आनन्दका पनि आफ्ना आफ्ना मानक हुन्छन् तर मानिसहरुको जीवन बाँच्नका लागि र जीवनका लागि भनेर तयार गरिएको मानक पूरा गर्नका लागि आनन्दको खोजी जहिले पनि हुन्छ ।

त्यसैले जसरी पनि मानसिक आनन्द, भौतिक आनन्द र पारमार्थिक आनन्द प्राप्त गर्नका लागि आफैँमा आन्तरिक तथा वाह्य रुपमा होड चल्छ , त्यसैले आफैँमा सायद आनन्दको खोजी गरिन्छ र त्यो आनन्द बारम्बार प्राप्तिका लागि आनन्दका विभिन्न उपायहरुको खोजी गरिन्छ ।

त्यसमा लागि भौतिक साधनहरुको आवश्यकता चाहिँ बढी देखिन्छ तर आनन्दको खोजीमा मानसिक शान्ति, शारीरिक तन्दुरुस्त र शारीरिक इन्द्रिय रुको तुष्टि जसलाई प्रचलित समाजमा कानुन र चलनमा मान्यता प्राप्ति भएको हुन्छ । अनि भोकको तुष्टिका लागि पेटको ज्वाला निभाउन खानेकुरा चाहिन्छ जसको प्राप्ति जल, जमिन, जंगल, श्रमका कारणले मात्र प्राप्त हुन्छ र सम्पत्तिका आधारमा बजारमा पाइन्छ र त्यही सम्पत्तिको संग्रह नै लोभको आधार हो । निर्लिप्त लोभ र  आवश्यकता अनुसारको मात्र संग्रह ।

संग्रह किन गरिन्छ भने त्यसको जुनबेला आवश्यकता पर्छ, त्यही बेलामा किन्ने पैसा नहुँदा या किन्न नपाउने समयमा पनि आफूलाई आवश्यक पर्ने सामान नहुँदा गाह्रो पर्छ । तत्काल किन्न नपाए वा विरामीलाई उपचार गर्न नपाउँदा मर्ने सम्भावना पनि हुन्छ, त्यसैले रकम, सामान तथा अन्य आवश्यक पर्ने चिजहरु संग्रह गर्ने बानी र उपायलाई नै लोभको नाम दिन सकिन्छ । 

कस्ता कुरामा लोभ गर्ने र कस्ता कुरामा लोभ नगर्ने भन्ने कुनै सीमा पनि हुँदैन र आधार पनि हुँदैन । सायद त्यसैका कारणले होला, हामीमा लोभ बढेको हुन्छ अनि त्यसैको कारणले पाइने कुरा छ भने अलि धेरै किन नपाउने ? दिनेले अलि धेरै किन नदिने ? या पाएर पनि अरु अझ पाउने कानुनी आधार कतै छ भने कानुनले नै त्यसको उपलब्धता गराउँछ भने कानुनी उपाय अपनाउने चलन जहिले पनि छ । कानुनी उपाय भनेको बहुमुखी हुन्छ किनभने कानुनले हुनसक्ने सम्भावित अप्ठ्याराहरूको अनुमान गरेको हुन्छ र सकेसम्म कसैलाई पनि अन्याय नपरोस् भनेर न्याय निरुपण गर्ने उपाय खोजेको हुन्छ । लोभको एउटा सीमा हुन्छ तर लोभको सकारात्मक र नकारात्मक पक्ष दुवैको आधार भनेको आवश्यकताको परिपूर्ति अनि आनन्दको खोजी नै हो । 

ती आफ्ना सन्तानका लागि केही जगेडा गरेर निधन हुने आमाबाबु कि अहिले आएर स्वर्गीय आमाबाबुको आत्मालाई समेत अशान्ति हुने गरी आपसमा झगडा गर्दै न्यायालयमा अधिकार माग्ने भनेर परिवारको एकतालाई भाँड्न चाहने हामी ? यो साधारण तर यक्ष प्रश्न हो आफैँसँग । सचेत अनि सामाजिक न्यायका लागि संघर्षरत  हामीले यसका लागि नयाँ कानुनको माग किन नगर्ने ?

सहज तरिकामा लोभ गरेर संग्रहित भएन भने सम्पत्तिको पनि अर्थ हुँदैन र आवश्यता भन्दा बढी नै लोभ गरेर विभिन्न तरिकाले संग्रह गर्दाका समस्या भनेको सामाजिक रुपमा बदनाम हुनु पनि हो । 

हामीले भन्ने गरेको अंश बन्डामा या साझेदार हरुका बिचमा गरिने सम्पत्तिको भाग बन्डामा पनि त्यस्तै हुने रहेछ । कानुनले को मर्कामा परेको छ भनेर हेर्दा कानुनी प्रक्रियामा बढी ध्यान दिएको हुन्छ जसका कारणले सत्य छोपिएर असत्यको विजय हुन्छ ।

त्यसको मापन गर्ने कुरा पनि त्यति सजिलो नहुने रहेछ । एकातिर आपसमा छलफल र नरम गरम मिलाएर अंशबन्डा हुने अनि कति औपचारिक, कति अनौपचारिक छलफलबाट आपसमा निधो गरेर बाँडफाँट हुने रहेछ । अनि कतिलाई दिने दाताप्रति यति आस्था र विश्वास हुने रहेछ कि त्यसमा कुनै शंका उप शंका नगरिने रहेछ । अझ झन अंशबन्डामा विमातृ सन्तानहरूका बिचमा एउटा मनोवैज्ञानिक नकारात्मक असर परिरहेको हुँदो रहेछ । एका तर्फकाले सकारात्मक आधारमा व्यवहार गरे पनि सकारात्मकता भित्र नकारात्मकताको खोजी बारम्बार गरिँदो रहेछ र मौकाको खोजी गरिने रहेछ जसले गर्दा लोभको नयाँ संस्करणको जन्म हुने रहेछ ।   

हामीले आदर्शका लागि मानेका, भगवान विष्णुका अवतारका रुपमा धरा धाममा आउनु भएका अयोध्याका राजा दशरथका प्रथम सुपुत्रका रुपमा अवतरण गर्नु भएका पुरुषोत्तम श्रीरामले पनि आफ्नो जीवनकालमा पाउनु भएको दुःखको कारण सौतेनी मामिला रहेको देखिन्छ । महाभारतमा पनि यो क्रम टुटेको पाइँदैन । हाम्रा लोकोक्तिमा र लोक चलनमा पनि बहुविवाहको चलन हुनुमा अनेक कारणहरु देखिन्छन् जसमा मानवीय मनोविज्ञान, सामाजिक विकृति, समाजलाई सञ्चालन गर्नका लागि सन्तानको आवश्यकता या सामाजिक परिवेशले निम्त्याएको परिबन्दले पनि काम गरेको हुने रहेछ । 

जसरी पनि जायजन्म भएका सन्तानहरूलाई बाबुआमाले, सँगै बस्न नचाहँदा अंश दिने चलन छ हाम्रो अर्ध सामन्ती समाजमा । अर्ध सामन्ती समाज मैले किन भनेको भने जमिन राज्यको हुन्छ तर हामीले आफ्ना नाममा सीमा किल्ला तोकेर र त्यसको प्रचलित कर तिरेर राज्यसँग अनुमति मागेर भोग चलन गरेका हुन्छौँ । पैतृक सम्पत्तिमा हक लाग्ने चलनलाई हामीले अनेक तरिकाले बाँड चुँड गरेका हुन्छौँ र अझै पनि हाम्रा गाउँठाउँमा आपसको विश्वासका आधारमा जग्गा जमिन बाँडेर भोग चलन गरेका हुन्छौँ ।

सबै जग्गा एकनासका पनि हुँदैनन् उर्वरताका हिसाबले, मूल्यमा हिसाबले र पहुँचका हिसाबले । बाबु आमाले ती कोही पनि सन्तानले चित्त नदुखाई आफ्ना सन्तान पालून् भन्ने अभिप्राय हुन्छ र तिनका लागि कुनै मानक तयार गरेर बाँड चुँड गरेका हुन्छन् जस्तो कि हाम्रा बाहरुले पनि गर्नु भएको थियो र हाम्रो घरमा पनि बाको इच्छामा जसलाई जति दिनु पर्ने हो दिनु भएको रहेछ ।  

म घरको जेठो भएकाले र सामाजिक न्यायका लागि सामाजिक रुपमा अभियान नै चलाउँदै आएको कलम जीविका रुपमा पनि कसैलाई पनि सामाजिक रुपमा अन्याय नहोस् भन्ने चेतना ममा छ । झन म अभिभावक भएको परिवारमा कसैलाई कुनै पनि अन्याय भएको सुन्न, देख्न र भोग्नु नपरोस् भन्ने छ । झन म नै अभिभावक भएको परिवारमा मेरा भाइ बहिनी छोराछोरी,भतिजा भतिजी कसैलाई पनि कसैले अन्याय नगरोस् भन्ने चाहना राखेकै छु र पनि बेलामा ध्यान नदिँदा कानुनको कठघरामा उभिन पुगेको छु । जहाँ मेरो कुनै सल्लाह थिएन र बाको न्यायिक चाहनालाई स्वीकार गर्ने नैतिक अवस्था थियो, त्यसको मैले न त अब अवज्ञा गर्न सक्छु , न त आपसमा गरिएको सहमति र सम्झौतालाई फेरि पुनर्जीवन दिन सक्छु ।  

न्याय र सामाजिक न्यायका बारेमा मेरो बुझाइ के हो भने मलाई अन्याय भयो, अन्याय गरियो भन्ने अधिकार नै मानव अधिकार हो । मानव अधिकारको खोजी र प्राप्तिको आधार भनेको तर्क, आधार र विश्वासमा अडिएको हुन्छ । न्याय सम्पादनमा एउटाले जित्छ र अर्काले हार्छ पनि । हार स्वीकार गर्न नसक्दा मुद्दा मामिला हुने गर्छन् तर अतीतका कतिपय सम्पादित कुराको आधारमा अहिलेको अवस्थामा परिणत गरेर हिजोको विश्वासमा न त अविश्वास गरेर स्वर्गीय आत्माहरूप्रति अविश्वास गर्न सकिन्छ, या उनीहरुको हिजोको प्रतिष्ठालाई नै समाजमा नकारात्मक असर पर्ने गरी हामी जीवित सन्तानले कुनै काम  गरिनु हुँदैन ।

आपसमा बसेर कसरी परिवारलाई एक बनाएर राख्न सकिन्छ, कसरी समाजमा प्रतिष्ठित आत्माहरूलाई कुनै लान्छना नलाग्ने गरी काम हुनुपर्छ भन्ने मेरो मान्यता छ । सायद मेरा परिवारका अन्य सदस्यहरुमा पनि एउटा अनावश्यक लोभ नगर्ने अभिभावकको भावनाको कदर गर्नेछन् भन्ने विश्वास गर्न सकिन्छ । मेरो कुरा मेरो परिवारको मात्र सीमामा नहेरियोस् । सबै परिवारमा यस्तो आवश्यक र अनावश्यक झमेला हुन्छ नै । 

यदि हामीले लोभको सीमालाई आपसमा बसेर समाधान गर्न सक्यौँ भने कुनै पनि परिवारमा, समाजमा विवादभन्दा शान्तिपूर्ण समाजको सृजना हुन्छ । त्यसैले पैतृक सम्पत्तिको बाँडफाँटको चलनलाई अंश बन्डाको रुपमा खण्डित गरेर आपसमा विवादको रुप दिनुभन्दा त्यसको सही उपाय कानुनीरुपमा निरुपण गर्ने चलन आवश्यक छ । त्यस्तो कसरी होला भन्ने विषयमा नयाँ बहस आवश्यक छ ।

जीवनभर खाई नखाई सन्तानको हितमा लाग्ने अभिभावकको इच्छाभन्दा कानुनको डण्डाको सहारा लिएर सन्ततिले गर्ने कानुनी उपचारले कति हृदय व्यथित भएका होलान् , कतिले आत्महत्याको सहारा लिएका होलान् र त्यही युवा अवस्थामा कतिले दुःख गरेर कमाएको सम्पत्ति अनावश्यक विवादमा परेर मृत्यु पश्चात् पनि परिवारको विशृखलताका लागि को दोषी ?

ती आफ्ना सन्तानका लागि केही जगेडा गरेर निधन हुने आमाबाबु कि अहिले आएर स्वर्गीय आमाबाबुको आत्मालाई समेत अशान्ति हुने गरी आपसमा झगडा गर्दै न्यायालयमा अधिकार माग्ने भनेर परिवारको एकतालाई भाँड्न चाहने हामी ? यो साधारण तर यक्ष प्रश्न हो आफैँसँग । सचेत अनि सामाजिक न्यायका लागि संघर्षरत  हामीले यसका लागि नयाँ कानुनको माग किन नगर्ने ? क्रमशः